डाँडामा झुरुप्प मिलेको बस्ती। सदियौंदेखि हामी गुरुङहरू डाँडापाखामा बस्दै छौं। डाँडाको काखमा थुपक्क बसेको छ ताङतिङ पनि। हाम्रो बस्ती वरपर बारी छ। धान उब्जाउ हुने खेतचाहिँ बेंसीमा छ।
रोपाइँ गर्न असार दोस्रो साता बेंसीमा झर्ने परम्परा छ। रोपाइँ गर्दा केही दिन बेंसीमै बस्न 'आसा टौ' बनाइन्थ्यो। हामी गाउँले तल्लो बेंसी र माथिल्लो बेंसीमा यस्ता अस्थायी घर बनाउँथ्यौं।
मकैबारी, काले खेत र पुरानस्वाँरातिर कोदो तथा धान रोपेपछि गाउँका सबै जना बेंसी झर्थ्यौं। गाउँ नै खाली गरेर हलोजुवा र गोरुसहित आसा टौ (टौ बरवल) मा बसिन्थ्यो। यस प्रकार रोपाइँ गर्ने चलन कायमै छ।
असारका बेला परिवारै बेंसीमा झर्ने भएकाले गाउँ सुनसान हुन्थ्यो। बेंसीतिर भने हूलका हुल मान्छ भेटिन्थे। त्यसैले गाउँका विद्यालयमा ४५ दिन मिनपचासको बिदा दिइन्थ्यो। विद्यार्थी पनि बाबाआमासँगै बेंसीमा झर्थे।
हाम्रोमा रोपाइँ गर्दा, झारा लाउँदा वा दाउरा काट्न वनजंगल पस्दा सामूहिक रूपमा गर्ने चलन छ। भनाइ नै छ, 'राजाको नीतिभन्दा गुरुङको थिति ठूलो।'
रमाइलो देखिन्थ्यो रोपाइँको दृश्य। मगमगाउँथ्यो रोपाइँको हिलो। आकाशे पानीले साथ दिए बेलैमा हुन्थ्यो रोपाइँ। खडेरी पर्दा कुलोमा देखिन्थ्यो कमिलाको जन्ती। टाढाबाट कुलोको पानी ल्याउँदा गाउँलेबीच हानथाप हुन्थ्यो।
मुसलधारे पानी पर्दा बाढी आउँथ्यो र जताततै पानी नै पानी हुन्थ्यो। सबैले स्याखु ओढेर रोपाइँ गर्थे। आपसमा हिलो खेल्थे। बाउसे र रोपाहार बीउ र जीउ राखे काम लाग्छ भन्दै ख्यालठट्ठा गर्थे। स्कुले नानीहरू भाइबहिनी हेर्न आसा टौमा बस्थे। भाइबहिनी हेर्नु नपर्नेहरूचाहिँ रोपाइँमा सघाउँथे। कुलाबाट पानी खेतसम्म ल्याउने, कुलाको पानी अरूले लान्छ कि भनेर कुर्ने, आली लगाउने र धान रोप्ने गर्थे।
आसा टौको धनसारमा सुत्थ्यौं हामी। माथि गाउँमा हुँदा सधैं आमाले खाना पकाउनुहुन्थ्यो। रोपाइँका बेला भने बिहान चार बजे नै उठेर बाबाले पकाउनुहुन्थ्यो। गाउँलेहरू बेलुका दालभात खाँदैनथे, हल्का खानाको रूपमा मकै र रोटी खान्थे।
बेंसीमा हामी २० दिन जति बस्थ्यौं। सम्झेर ल्याउँदा आसा टौ हाम्रा लागि 'आउटडोर स्कुल' थियो। बेलुका आमा, बाबा र दाइदिदीहरूले हामीलाई देउता र राक्षसका कथा, गुरुङ संस्कृति, इतिहासदेखि पल्टने कुरा, बाँच्न गर्नुपरेका संघर्षका कथा अनि असारे योजना, कार्यनीति र रणनीति सिकाउँथे।
रोपाइँमा गोरु जोत्ने, खेतमा आली लगाउने, धान रोप्ने सबै काम गर्न आमाबाबाले सिकाउँथे। रुटिन बनाएर काम गरिन्थ्यो। प्रत्येक बिहान पाँच–छ बजे खाना खाएर आमा, दिदीबहिनी धानको बीउ उखेल्न जान्थे। बुबादाजु पानीको जोहो गर्न कुलोतिर लाग्थे। हलो जोत्ने गर्थे। हामी पनि झिसमिसेमै खाना खाएर असार गर्न जान्थ्यौं।
दिनभरको कामले थकित भए पनि उपल्लो बेसी टौबखलको चौतारामा राति रमाइलो कुराकानी चल्थ्यो। पोहोर कसको भकारीमा धान र कोदो धेरै भयो, गाउँमा कसले मकैको सुली ठूलो हाल्यो, पुराना, कुन्द्रतिर आलुबारीबाट आलुको बीउ, कालिकाथान, माझठाना, पोखराबाट आउने बाहुनहरूलाई कसले धेरै बेचे? पोहोर कसको असार छिटो सकियो?
यस्तैयस्तै कुराकानी चल्थ्यो। कुराकानीमा सामेल हुँदा औधी रमाइलो लाग्थ्यो।
अचम्मको कुरा, आकाशे पानी नपर्दा अग्रजहरूले मूलबाट आएको पानी माथिको ठूलो गरामा जमाउँथे र बिहानीपख त्यसलाई खोलेर रोपाइँ गर्थे। कहिलेकाहीं रातभर अनिदो बसेर जम्मा गरेको ठूलो गराको पानी बिहानीपख अर्केले सुटुक्क लगेर रोपाइँ गर्थे। त्यस्तो हुँदा कोदाली हानाहान समेत हुन्थ्यो।
बेसीं झरेका गाउँले साउने संक्रान्तिको मुखमा गाउँ फर्कन्थे। रोपाइँ सकेपछि धानको बीउले गोरुलाई नुहाउँदै 'यसपालि असार राम्रो भयो' भन्दै गोरुलाई धन्यवाद दिन्थे। ठूलो परिवारहरू आफैं र साना परिवारहरू अरूसँग मिलेर रोपाइँ गर्थे।
साउने संक्रान्ति आउनुअघि रोपाइँ सक्ने प्रतिस्पर्धा चल्थ्यो। असार ढिलो सक्नेहरूलाई निको मानिन्नथ्यो। हाम्रो गाउँको राम्रो पक्ष भनेको एकले अर्कालाई सहयोग गर्नु हो। ढिलो भएकालाई आफ्नो रोपाइँ सकेकाहरूले सघाउँथे।
असार अन्तिम साता हामी थाकिसकेका हुन्थ्यौं। पछिपछि गाउँलेहरू रोपाइँ सकेर गाउँ फर्किदै जाँदा मान्छे कम हुँदै जान्थे। त्यस्तोमा आसा टौमा बस्ने हामी केटाकेटी आत्तिन्थ्यौं।
साउने संक्रान्ति अघि नै सबै जना गाउँ फर्कन्थे। तिनताका गाउँमा सबैका घरमा २०-२५ मुरी धान हुन्थ्यो। कसैको खेत बाँझो हुँदैनथ्यो।
कुनै विनाबाधा रोपाइँ सकेको खुसीयालीमा संक्रान्तिका दिन भाले काटेर भोज खाने चलन छ। त्यो साँझ अब कोही बिरामी नपरून् भनेर नौनीको धूप हालेर अगुल्टो फाल्ने चलन छँदैछ।
फर्केर हेर्दा, 'आसा टौ' हाम्रो बर्खे स्कुल बनेको थियो। त्यहाँ बस्दा मैले जीवन संघर्ष बुझ्न पाएँ। म १४ वर्षको हुँदा नै कोचिती र स्युईको खेतमा रोपाइँ गर्न जान्थें। बाजे सालेज्यूको परिवारसँग तुँ बेंसीको आसा टौमा बसेर असार गरेको सम्झना आउँछ।
ती बाजे बैंसमा साथीसँग भारतमा बसेका थिए। छुट्टीमा गाउँ आएपछि परिवारले उनलाई मुग्लान फर्कन दिएन। तिनै बलवान् बाजेले मलाई धेरै कुरा सिकाए। असारमा बाजेसँगै बिहान चार बजे उठेर साँझ सात बजेसम्म काम गर्थे।
उनी भन्थे, 'कहिल्यै धैर्यको बाटो नछोड। बिस्तारै काम गर। बीचैमा नछोड।' आसा टौमा हामी सुतिसकेपछि उनी एक्लै गीत गुनगुनाउँदै मकैका झुत्ता बनाउँथे। रातोदिन काम गर्ने कस्तो शरीर पाएका हुन्!
बाजेको गाईगोठ पनि थियो। चार महिना जति त हिमाली भेगमा गाईसँग बस्थे। साँच्चिकै मेहेनती थिए। गाउँलाई औधी माया गर्थे। त्यसैले मैले उनको नाम 'लेकाली चाँप' राखिदिएको थिएँ।
जेठा बाबा मारसाई गुरुङ र मेरा ससुरा पूर्णबहादुर गुरुङसँग पनि मनसुन स्कुल (आसा टौमा) धेरै वर्ष बिताएँ। मैले लगनशील र सकारात्मक सोच भएका बुबाहरूबाट धेरै कुरा सिक्ने अवसर पाएँ।
कुतोचे, स्योई, काउची ति, कलिती खु खेतहरूमा असार गरेका सम्झनाहरू आँखामा झल्झली आइरहन्छ।
(गुरुङ हिमालय मिलन मावि, ताङतिङ, कास्कीका प्रधानाध्यापक हुन्।)