सामाजिक सञ्जालमा जोडिएका धेरै साथी तथा आफन्तले लकडाउनका बेला आफ्ना श्रीमानले काम गरेको भिडिओ राखेको देखेर मैले पनि श्रीमानले घरायसी काम गरेका भिडिओ एकत्रित गरी एउटा भिडिओ बनाउने निर्णय गरें।
श्रीमानले खाना बनाएको, भाँडा माझेको, लुगा धोएको अनि बारी खनेर तरकारी रोपेको भिडिओ तयार गरें। भिडिओ राख्नका लागि क्याप्सन पनि लेखेर मोबाइलको नोट्समा सेभ गरें।
क्याप्सन थियो ‘लकडाउनमा मेरो श्रीमान घरायसी काममा व्यस्त’ अनि पछाडिपट्टि स्माइली र लभ इमोजी। तर भिडिओ अपलोड गर्ने क्रममायी काम त जीवनशैली नै भइसकेको छ, केबल लकडाउनले जुराएर मात्र गरेको होइन भन्ने सोची अपलोड गर्न थालेको भिडिओ डिस्कार्ड गरिदिएँ।
सधैंजसो घरबाट बाहिर व्यस्त हुने जीवन सार्वजनिक बिदा वा शनिबारमात्र घरपरिवार एकैठाउँ बसिन्थ्यो। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ फैलन नदिन सरकारले गरेको लकडाउनका कारण भने मलगायत प्राय:जसो घरपरिवार एकैठाँउ बस्न पाएका छन् र उक्त समयको कुनै न कुनै ढंगबाट सदुपयोग भइरहेको छ।
यो समयको सदुपयोग गर्दै धेरैले अहिले सामाजिक सञ्जालमा विभिन्न खालमा कुरा पोष्ट गरिरहेका छन्। तीमध्ये एउटा पोष्ट श्रीमानले काम गरेको भिडिओ र फोटो पनि हो।
खास गरेर फेसबुकमा आफ्ना श्रीमानले घरायसी काम गरेको भिडिओ राखेर श्रीमान खाना बनाउँदै, श्रीमान भाँडा माझ्दै, श्रीमान लुगा धुँदै, श्रीमान बारी खन्दै, श्रीमान घरको सरसफाइ गर्दै आदि इत्यादि क्याप्सन दिई फोटो र भिडिओ धेरै श्रीमतीले हालिरहेका छन्।
हामी अहिले एक्काइसौं शताब्दीमा छौं। हाम्रो कानुनले नै महिला र पुरूष बराबरी हो, केहीमा फरक गर्न पाइन्न भनेको छ। जसको धावा दिँदै हामी महिला पनि बराबरीका लागि कहिले कलमबाट, कहिले भाषणबाट त कहिले कामबाट आफ्नो आवाज बुलन्द गरिरहेका छौं।
एकातिर हामी महिला र पुरूष बराबरी हो भनी बोलिरहन्छौं तर अर्कोतिर श्रीमानले घरको काम (जुन काम हामी प्रत्येक दिन गरिरहेका हुन्छौं) त्यो पनि अत्यन्तै फुर्सदको बेला (लकडाउनमा) गर्दा चन्द्रमामै पुगेर आएको जस्तो गरी मख्ख पर्दै सेयर गर्छौं।
अहँ मैले यहाँ तपाईंहरूलाई मात्र भनेकी हैन। म आफैंलाई पनि मेरो श्रीमानले काम गर्दा एकदम मज्जा आउँछ, गौरव महशुस हुन्छ र मैले पहिलो हरफमै लेखिसकेकी छु- उनले गरेको घरायसी काम सेयर गर्न म पनि तम्सिसकेकी थिएँ।
हाम्रो समाजले बनाएको हो कि हामी आफैंले आफ्नो सहजताका लागि बनाएको कामको नियममा यो काम पुरूषको र यो काम महिलाको भनेर छुट्याइएको छ।
शारीरिक बल बढी लाग्ने काम पुरूषले अनि शारीरिक बल कम पर्ने भनिएका काम महिलाले गर्ने भन्ने नियम सदियौंअघि बनाइएको थियो। त्यही बमोजिम नै अहिलेसम्म पनि कम बल पर्ने भनिएका घरभित्रका सारा काम महिलाले गर्ने गरेका छन्।
तर मानसिक बल पर्ने काममा भने महिलाको यो र पुरूषको यो भनेर छुट्याइएको छैन। कार्यालयमा काम गर्दा महिला र पुरूषका लागि उस्तै प्रकृतिका कामहरू हुन्छन्, जुन काम दुबैले एकै किसिमको इफोर्ट लगाई पूरा गरिरहेका छन्।
तर हामी एक्काइसौं शताब्दीमा आइपुग्दा विज्ञानको चमत्कारका कारण शारीरिक परिश्रम पर्ने काम आधुनिक यन्त्रबाट हुन थालेको छ। जसका कारण अहिले जुनसुकै शारीरिक बल पर्ने भनिएका काम महिला र पुरूषका लागि सहज र बराबरी छ र हुनुपर्छ।
लिंगको आधारमा काम छुट्टिनु हुँदैन। हिजो हेक्टरौं खेत खन्नका लागि बलिया पुरूषहरूले काम गर्थे भने आज ट्रयाक्टर वा आधुनिक यन्त्रको प्रयोगले एक बटन दबाएर एउटा चालकले गर्न सक्छ, त्यो चालक पुरूष वा महिला जो पनि हुनसक्छ।
खेतमा रोपाइँ गर्दा हिजो हलो जोत्ने, बाउसे गर्ने, खेत खन्ने काम पुरूषले र रोप्ने काम महिलाले गर्थे तर यी काम आज महिला वा पुरूष जसले पनि सहजै गर्न सक्छ।
शारीरिक बल पर्ने काम आज आधुनिक यन्त्रले गर्न थालेको छ र यन्त्रले लैङ्गिक विभेद गर्दैन। महिला वा पुरूष जसले यन्त्र चलाए पनि काम गर्ने यन्त्रको क्षमता उस्तै हुन्छ।
तर बिडम्बना नै मान्नुपर्छ, यो युगमा पनि नेपाली महिला भने हिजोको अवस्थामा नै आफ्नो खुसी खोजिरहेका छन्। श्रीमानले भान्छामा भात पकाउन सघाउँदा, लुगा धुन सघाउँदा, सरसफाइ गर्न सघाउँदा आज पनि यी हाम्रा (महिलाका) काम हुन् र पुरूषले सघाएर हामीलाई सहयोग गरे भनेर गौरवान्वित हुन्छन्।
तर यो सोच्दैनन् यी काम त घरमा बस्ने सबै सदस्यको दायित्व र जिम्मेवारी हो नि, चाहे त्यो पुरूष होस् वा महिला।
हिजो महिलाको शिक्षा दिक्षामा पहुँच थिएन। उनीहरूको दिनचर्या घरायसी काममै बित्थ्यो। काममा जाने र पैसो कमाएर ल्याउने काम पुरूषको थियो। यसो हेर्दा हिजोको समयमा घर व्यवहार चलाउने काम महिलाको र घर चलाउन चाहिने आवश्यक सामग्रीको जोहो गर्ने काम पुरूषको थियो।
एक प्रकारले सोच्दा कामकाजको हिसाबले सन्तुलन थियो चाहे समाजले घरायसी कामलाई त्यति महत्व नदेओस्। तर आज महिलाहरूको शिक्षामा पहुँच भयो।
उनीहरू पनि वैज्ञानिक, डाक्टर, इन्जिनियर, पाइलट, शिक्षक जस्ता नोकरीमा संलग्न भए। यी पेशासँगै घरायसी काम पनि उनीहरूले नै सम्हाल्नु परिरहेको छ।
हिजो पुरूषले गरेका काममा आज महिलाको भूमिका देखियो तर महिलाले गरेका घरायसी काम आज पुरूषले गर्दा चाहिँ कथा बन्ने, अचम्म मान्नुपर्ने, मख्ख पर्नुपर्ने अवस्था छ।
समयले दिएको उपलब्धताका आधारमा आफूलाई व्यस्त बनाउनु नै अहिलेको शताब्दीको समानता हो। चाहे त्यो घरभित्रको शारीरिक परिश्रम नलाग्ने काम होस् वा घरबाहिरको परिश्रम लाग्ने काम।
हामी महिला पुरूषले हामीमाथि अन्याय गरे, विभेद गरे भनेर बारम्बार आलोचना गर्छौं। अझ महिला अधिकारकर्मी जो फ्रन्टलाइनमा बसेर नारी अधिकारको कुरा गर्नुहुन्छ, उहाँहरू पुरूषलाई गाली गरेरै आफ्नो कर्म गरिरहनुभएको छ। तर बुझ्नुपर्ने कुरा के हो भने, विभेद पुरूषले मात्र गरेका छैनन् महिलामाथि, न महिलाले महिला माथि मात्र, यहाँ तपाईं र मैले आफैंमाथि विभेद गरिराखेका छौं।
भन्न त हामी पुरूषभन्दा कम छैनौं, हामी पनि जागिर खान्छौं, पुरूषले जस्तै पैसा कमाउँछौं, पुरूषहरूसँग काँधमा काँध मिलाएर हिँड्न सक्ने हिम्मत राख्छौं भनी कुर्लन्छौं तर आफैंलाई नियालेर हेर्नुहोस् त एकपटक।
महिनावारी भएको बेला ४ दिन श्रीमानले खाना पकाइदिँदा अनि कहिलेकाहीँ अर्थात् महिनामा वा तीन महिनामा एकपटक खाना बनाउन वा लुगा धुन सघाइदिँदा खुसी हुनु,भान्छामा एकदिन तरकारी काटिदिँदा मनै फुरूङ्ग हुनु। अब सोच्नुस्, के यही हो त तपाईं हामीले खोजेको र मनदेखि चाहेको बराबरी?
हामी अफिस त दिनदिनै जान्छौं, जसरी हाम्रा श्रीमान जान्छन्। कामको प्रकृति पनि उस्तै हो। महिलाका लागि यो र पुरूषका लागि यो काम भनेर कार्यालयले छुट्याउँदैन।
अनि घरायसी काममा चाहिँ किन महिलाले दिनरात अनि पुरूषले चाहिँ महिना वा तीन महिनामा एकपटक गर्दा पनि महिला मख्ख पर्दै फोटो र भिडिओ बनाएर सामाजिक सञ्जालमा अपलोड गर्नुपर्ने?, तपाईं हामी महिला अझै यति कुरामा नै खुसी हुनुपर्ने?
महिलाले कमाएको पैसा घरखर्च चलाउन प्रयोग गर्न हुने तर त्यही घरको काम महिलाले मात्र गर्नुपर्ने अनि महिलाले दिनै गर्ने काम पुरूषले महिनामा एकदिन गर्दा समाचार बन्ने!
हामी त्यस्तो देशमा बस्छौं जहाँ महिला राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख भइसकेका छन् तर पढेलेखेका, आफ्नो खुट्टामा उभिएका स्वावलम्बी महिला अझै श्रीमानले एकदिन खाना बनाइदिँदा, एकदिन लुगा धोइदिँदा खुसी हुँदै त्यो कुरा सेयर गरिरहेका छौं।
हामीले खोजेको बराबरी पक्कै यो होइन-मैले श्रीमानका लागि भात पकाएँ, उसले मेरो लागि बजारबाट लिपिस्टिक लेराइदिओस्।मैले श्रीमानका लुगा धोइदिँए उसले मलाई नयाँ सारी किनिदेओस्।
हामीले खोजेको बराबर भनेको त आत्मसम्मानमा हो। जसरी महिलाले सदियौंदेखि पुरूषका सोच अनि शैलीलाई सम्मान गर्दै आइरहेका छन्, त्यसरी नै पुरूषले पनि महिलाको सोच अनि शैलीलाई मनैदेखि सम्मान गरिदेओस्।
यो कुरा तपाईं हामी महिलाले नबुझ्ने हो भने हामी आत्मनिर्भर भएर पनि आत्मनिर्णय र आत्मसम्मान गर्न सक्ने छैनौं, न त पुरूषले हाम्रो आत्मसम्मानको रक्षा नै गर्न सक्नेछन्।