मुलुकको समृद्धि र दिगो आर्थिक विकासको लागि वरदानै सावित हुनसक्छ पर्यटन क्षेत्र। प्राकृतिक, सांस्कृतिक र भौगोलिक हिसावले अत्यन्तै उर्वर र फराकिलो सम्भावना अनि अनेकौं अवसर बोकेको यो क्षेत्रको योजनावद्ध विकासले दशकभर मै मुलुको कायापलट हुनसक्ने तर्क छ विज्ञहरुको।
यसै सन्दर्भमा सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर बीस लाख विदेशी पर्यटक भित्र्याउने तयारीमा जुटेको छ मुलुक। तर, आन्तरिक पर्यटन विकासमा भने किन यति उदासिन छ मुलुक?
सन् २०१८ मा एघार लाख विदेशी पर्यटक भित्र्याउनुलाई ठूलै उपलव्धी मान्ने हाम्रा सरकारी, गैरसरकारी निकायहरुले आजसम्म पनि राष्ट्रिय अर्थतन्त्रमा आन्तरिक पर्यटनको कस्तो योगदान रहदै आएको छ, यसका सम्भावना र चुनौती के के हुन प्राथमिकताका साथ यसको सुक्ष्म अध्ययन, विश्लेषण गरेको देखिदैन्। जब कि मुलुकको दिगो आर्थिक विकासको लागि गैरउत्पादन क्षेत्रमा खर्चिने धनराशी र निष्क्रिय रुपमा छरिएर रहेका पूँजिलाई एकीकृत गरी उत्पादनमूखी क्षेत्रमा लगानी गरी रोजगारीका लागि खाडी धाउन विवस श्रमिकलाई स्वदेश फकाउनु अपरिहार्य छ।
त्यसको लागि देशमा उद्योग, व्यापार, व्यवसाय तथा रोजगारीको अवस्था सृजना गरी मुलुकलाई आत्मनिर्भर बनाउन आन्तरिक पर्यटन भरपर्दो माध्यम हुन सक्छ। तसर्थ लगानी सम्मेलन र वाह्य पर्यटन बिकासमा विशेष चासो र महत्व दिदै आएको हाम्रो सरकारले नेपाल भ्रमण वर्षकै उद्घाटनकै अवसरमा सन् २०२० देखि २०३० सम्मको दशकलाई आन्तरिक पर्यटन दशक घोषणा गरेर योजनाबद्ध रुपमा केही प्रभावकारी कार्यक्रमहरुको कार्यान्वयन गर्ने सके भ्रमण वर्षको समाप्ती पश्चात पनि मुलुकमा पर्यटकीय गतिविधिले निरन्तर प्राथमिककता पाउने थियो।
दशकको सात वर्ष क्रमश प्रत्येक प्रदेशमा केन्द्रित भई बाकी तीनवर्ष सिंड्डो मुलुकमा विभिन्न पर्यटकीय गतिविधि सञ्चालन गर्न सके पुरै दशक पर्यटकीय उत्सवमय बन्न सक्छ। फलतः हाम्रो आन्तरिक पर्यटन विकासले एउटा ऐतिहाँसिक छलाङ मार्नुका साथै समृद्धिको हाम्रो लक्ष्य हासिलमा समेत अझै सहजता थपिने थियो। त्यसको निम्ति केही नविन र प्रभावकारी कार्यक्रमहरु प्राथमिकताका साथ कार्यान्वयन गर्नु जरूरि छ।
१. घुमफिरलाई संस्कृतिमा रुपान्तरणः
मान्छेका आ–आफ्नो सौख र रुची हुन्छन्। केही सौख जन्मसिद्ध वा वंशाणुगत हुन्छन् भने केही मानिसले सामाजिकीकरणको प्रक्रियाबाट ग्रहण गर्छ।
यस्तै सौख मध्ये नयाँनयाँ ठाउँ घुमफिर गरेर विविध पक्षको अवलोकन र अनुभवको आनन्द लिनु पनि मानवीय सौख र रूचिका महत्वपूर्ण पाटो हुन्। जुन सौख र रुची बद्लिदो सामाजिकीकरणका प्रक्रियासँगै मानवीय स्वभावमा परिणत हुँदै समाजमा संस्कृति कै रुपमा स्थापित हुनेगर्छ।
जसरी पश्चिामाहरुमा घुमफिर निजी सौख भन्दा नी समाजको संस्कृति नै बनिसकेको छ। जसको लागि राज्यले सरकारी, गैरसरकारी लगायत निजी क्षेत्र समेतका कर्मचारी तथा श्रमिकहरुलाई घुमफिरका लागि वार्षिक काज वा छुट्टीका साथै अन्य सहुलियत र सुविधा उपलव्ध गराउनुका साथै उक्त सहुलियत र सुविधा सोही प्रयोजनको लागि भयो, भएन भनेर उचित अनुगमनको पनि व्यवस्था गरिनुपर्छ।
त्यस्ता सुविधा नपाउने आम नागरिकको आयस्तरमा सुधार नल्याइ घुमपिरलाई संस्कृतिमा रुपान्तरण गर्न कसरी सकिन्छ भन्ने सवाल स्वभाविक रुपमा उठ्न सक्छ तर आर्थिक पक्ष नै प्रमूख कारण हुदो हो त एउटै थलोमा बसेर खानपान र जुवामा लाखौ रुपैयाँ सक्ने चलन हाम्रो समाजमा मौलाउदैनथ्यो होला।
साथै दिनानु दिन एशिया लगायतका यूरोप, अमेरिकाका बिभिन्न राष्ट्र भ्रमणमा नेपालीको बढ्दो मोहले पनि यो तथ्यलाई पुष्टि गर्छ। तसर्थ जोसँग पैसा र समय छ तर घुम्ने संस्कृति छैन्, घुम्नेहरुमा पनि देश घुम्ने संस्कृति छैन्, त्यस्ता व्यत्ति र समुदायमा देश घुम्ने संस्कृतिको विकासको खाचो छ। साथै आम नागरिकको आर्थिक हैसियतले घुमफिर संस्कृतिको विकासमा वाधा पुग्दैन भन्ने होइन तर यदी घुमफिरलाई संस्कृतिमा परिणत गर्न सके हरेक नागरिकले अन्य फजुल खर्च कटौती गररे पनि आफ्नो गक्ष अनुसार वर्षको एकपटक भए पनि देश घुम्ने परम्पराको वानी वसाल्छ। जसले प्रत्यक्ष रुपमा आन्तरिक पर्यटनलाई थप गतिशिलता प्रदान गर्ने छ। तसर्थ यो दशकभरी राज्यले घुमफिरको सौखलाई संस्कृतिमा रुपान्तरण गर्न विशेष रुपमा आफ्नो ध्यान केन्द्रि गर्नुका साथै अन्य प्रोत्साहनका कार्यक्रमहरु कार्यन्वयन गर्नु जरूरि छ।
२. सामाजिक, सांस्कृतिक सद्भाव र सहिष्णुताः
हाम्रो समाज पछिल्लो राजनीतिक प्रभावका कारण विग्रह र विभाजन तर्फ उन्मुख देखिन्छ। मुलुकभित्रका धार्मिक, सांस्कृतिक, पुरातात्विक, प्राकृतिक, भौगोलिक महत्ववका श्रोत र सम्पदाहरुलाई राष्ट्रिय सम्पतिको रुपमा भन्दा पनि कुनै जाति, धर्म, समुदाय, क्षेत्र विशेषको एकल अधिकारको रुपमा बुझने गरिन्छ। परिणाम स्वरुप हाम्रो भन्दा नि तेरो र मेरो जस्तो संकिर्ण र अनुदार भावनाले प्रश्रय पाउदै आएको छ। कुनै जाति वा समुदाय विशेषको धार्मिक वा सांस्कृतिक पर्वप्रति राष्ट्रिय स्वामित्व वोध र चेतनामा हस आइरहेको छ।
कुनै जाति, धर्म वा समुदायको प्रतिनिधित्व गर्ने पुरातात्विक महत्व बोकेका धार्मिक तथा सांस्कृतिक मठ, मन्दिर, गुम्ब, मस्जीतको संरक्षणमा राष्ट्र व्यापी अभियान आरम्भ हुन सकेको छैन्। राष्ट्रिय नीतिमा त्यो विषयले प्राथमिकता पाइहाले पनि राज्यकै व्यवहारिक पक्ष र आम नागरिकले त्यो यथार्थलाई आत्मसाथ गर्ने गरेको पाइदैन्।
यसर्थ यो आन्तरिक पर्यटन दशकले देशको जुनसुकै कुनामा भएको धार्मिकक, सांस्कृतिक, पुरातात्विक, प्राकृतिक, भौगोलिक महत्ववका श्रोत र सम्पदाहरुलाई राष्ट्रिय सम्पतिको रुपमा ग्रहण गर्ने अवस्था श्रृजना गरोस्।
जुनसुकै जाति, धर्म, समुदायको धार्मिक, सांस्कृतिक पर्वलाई हरेक नागरिकले अपनत्व ग्रहण गरी सम्भव भए प्रत्यक्ष रुपमा सहभागीता जनाओस् नभए त्यसप्रति गौरवान्वित महसुस गरोस्। यसरी देशमा विद्यमान प्राकृतिक, सांस्कृति, धार्मिक, पुरातात्विक, भौगोलिक महत्वका श्रोत र सम्पदालाई तेरो, मेरो नभनी पर्यटन मार्फत देशको समृद्धिको लागि प्रयोग, परिचालन र संरक्षण गर्ने फराकिलो र उदार सोचका साथ राष्ट्रिय एकतालाई समेत बलियो बनाउनु पर्ने खाचो छ।
३. सामाजिक सुरक्षामा सुधारः
हाम्रो मुलुकमा निजी सम्पति आर्जन, संचितिकरण, त्यासको भोगचलन र हस्तान्तरण नागरिकको संविधान प्रद्धत अधिकार हो। तर राज्यले दिनु पर्ने उचित र समय सापेक्ष सामाजिक सुरक्षाको अभावमा अन्य विकसित मुलुकको तुलनामा हाम्रा नागरिक माझ निजी सम्पति संचितिकरणको परम्परा आज पनि उतिकै लोक प्रिय रुपमा प्रचलनमा छ। न त सम्पतिको कुनै हद छ, न त नागरिक विश्वस्थ हुन सक्ने राज्यको सामाजिक सुरक्षा कार्यक्रम। राज्यको यही कमजोरी हरेक नागरिलाई पुस्तौ पुस्ता पुग्ने सम्पती आर्जन र संचितीमा प्ररेणा र अवसर दुवै बनिरहेको छ। साथै भष्टाचारको मूल जड पनि।
यसका अलवा वृद्ध र अशक्त अवस्थामा आफ्नो सुरक्षा आफै गर्नु पर्ने अवस्थाका कारण पनि एउटा व्यक्ति खाई नखाई केही नगद तथा जिन्सी सम्पतिको जोहो गर्न विवस हुँदै आएको छ। जुन विवसताको उपज सामाजिक विकृति, विसंगती पारिवारिक बेमेल र कलह श्रृजना हुनुका साथै घुमफिरको संस्कृति विकासमा समेत वाधा पुग्न गएको देखिन्छ।
तसर्थ राज्यले यो दशकभित्र विशेष प्राथमिकताका साथ सामाजिक सुरक्षाको कार्यक्रमद्धारा नागरिकलाई सुरक्षित महसुस गराइ सम्पति संचितीमा भन्दा देश घुमफिरमा प्रेरित गर्न सके आन्तरिक पर्यटन प्रर्वधन हुदा निष्क्रिय पूजीमा हस आउनुका साथै रोजगारी श्रृजना हुन गइ देश आत्मनिर्भर तर्फ अगाडि बढ्न सक्छ।
४. नयाँ गन्तव्यको अनवेषण, प्रचार र सुलभ पौहुचः
मुलुकमा अनगिन्ती कुमारी गन्तव्यहरु अथाहा पर्यटकीय सम्भावना बोकेर उचित प्रचार प्रसारको पर्खाइमा बसिरहेका छन्।
अनेकौ सांस्कृति तथा धार्मिक सम्पदा र तिर्थस्थलहरु संरक्षणको अभावमा लोपोन्मुख छन्। त्यस्ता सवै धरोहरहरुको खोज र प्रचारप्रसार अनि राष्ट्रिय सूचिकरणको प्रवन्धमा यो दशकैभरी विशेष प्राथमिकता दिइयोस्।
साथै त्यस्ता कुमारी गन्तव्यहरुमा आवश्यक पूवाधार तथा सूचना प्रविधिको विकासका साथै अन्य मानव निर्मित पर्यटकीय आकर्षण र सुविधाहरुको निमार्ण गर्नसके नयां गन्तव्यको पर्खाइमा बसेका हजारौं आन्तरिक पर्यटकको लर्को लाग्ने छ।
तसर्थ पर्यटन विकासको लागि स्थापित राज्यको निकायमा एउटा छुट्टै संयन्त्र खडा गरी यस्ता गन्तव्य, धार्मिक तथा सांस्कृतिक महत्वका विविध पक्षका खोज र अन्वेषणमा केन्द्रित गराउनु जुरूरि छ।
५. सुलभ दरका भ्रमण प्याकेजको उपलव्धताः
मुलुकमा विद्यमान बिभिन्न पर्यटन व्यवसायीहरु मुलत विदेशी प्रर्यटक र विदेश टुर प्याकेजहरुमा केन्द्रित हुदै आएको देखिन्छ। यदी मुलुकका विभिन्न पर्यटकीय गन्तव्यहरुको लागि सुलभ र उपयुक्त टुर प्याकेजहरु तयार गरी सहज पौहुच सृजना गर्ने हो भन्ने पक्कै पनि आन्तरिक पर्यटनमा उल्लेख्य सुधार आउन सक्छ। साथै विदेशी पर्यटकका लोकप्रिय गन्तव्यहरु जहाँ पर्यटकको चाप निश्चित अवधि मात्र हुने गर्छ त्यस्ता स्थानका पर्यटन व्यवसायीहरुले उक्त अवधिमा नेपालीलाई लक्षित गरी सुलभ दरका बिभिन्न प्यकेजहरु उपलव्ध गराउने हो भने व्यवसायीहरुले पनि बाह्रै महिना आफ्ना व्यवसायबाट लाभ लिन सक्नुका साथै आन्तिरिक पर्यटनमा पनि व्यपक सुधार आउने छ।
६. डिजिटल पर्यटन क्यालेण्डर वा साइटको निमार्णः
देश गरिव भए पनि प्रसस्त पैसा र समय दुवै हुने मान्छेहरुको कमी छैन् यहाँ। फरक यति हो कोही पारिवारिक समारोह वा सप्ताहअन्त मनाउन चाहन्छन् त, कोही ढल्दो उमेरसंगै तिर्थ तथा धार्मिक यात्रामा। कोही देश बुझ्ने उत्कण्ठामा देश घुम्न चाहन्छन् त, कोही तन्नेरी मानलाई अझै रड्डिन बनाउन।
यस्ता उमेर समूह र रुची राख्ने सवैलाई सम्बोधन गर्ने गरी देशका जुनसुकै स्थानहरुमा हुने विविध सांस्कृति, धार्मिक, ऐतिहांसिक गतिविधिलाई मुखरित गर्ने वार्षिक डिजिटल क्यालेण्डर वा साइट निमार्ण गर्नु जरूरि छ। जसले त्यस क्षेत्रको अन्य भौगोलिक, प्राकृतिक, सांस्कृति लगायतका विशेषता र आकर्षणलाई पनि उजागर गरोस्।
उक्त स्थानसम्म पुग्ने हवाइ, सडक सञ्जाल तथा अन्य बैकल्पिक उपाएहरु पनि सुझाओस्। देशको नयाँ ठाउँ हेर्ने, घुम्ने पर्खाइमा बसेका लाखौं मानिसहरु इच्छा, पैसा र समय हुदा हुदै पनि गन्तव्यको उचित प्रचारप्रसार वा नयाँ गन्तव्यको प्रभावकारी खोजको अभावका कारण रहर मारेर बस्न विवस छन्।
तसर्थ यो डिजिटल पर्यटन क्यालेण्डर वा साइट आन्तिरिक पर्यटनलाई मात्र नभएर वाह्य पर्यटनको लागि समेत कोसेढुड्डो सावित हुन सक्छ।
७. देश हेरौ, देश फेरौ अभियान सञ्चालनः
हाम्रो जस्तो विकासोन्मुख मुलुकको विकास र समृद्धिका गतिविधिलाई कतै न कतै राष्ट्रियतासंग जोडेर समग्र देशबासीमा उत्साह र जागरण ल्याउन सके त्यो झनै सशक्त र प्रभावकारी सिद्ध हुन सक्छ।
लाग्छ विगतका अभियान यो अर्थमा दुवै हिसावले अपुरो रह्यो। तसर्थ यो आन्तरिक पर्यटन दशकभरी “देश हेरौं, देश फेरौं” जस्तो राष्ट्रियता वोकेको सरल र अर्थपूर्ण नारा सहित यस्तो एउटा अभियान सञ्चालन गर्नु जुरूरि छ जसले देश हेर्न र देश फेर्न दुवैका लागि राज्यले आफूलाई प्रमूख भूभिकामा राखेको अनुभूत हरेक नागरिकले गर्न सकोस्। यो अभियानले देश व्यापी रुपमा देश घुम्नु भनेको देशको विकास र समृद्धिमा योगदान गर्नु हो भन्ने सन्देश प्रवाह गरोस्।
फलतः देश, विदेश जहाँ सुकै बस्ने नेपालीलाई कम्तीमा एक पटक, आफ्नो गक्ष अनुसार देशको कुनै न कुनै स्थान घुम्न उत्पे्ररित गरोस् र देश घुम्ने हरेक नागरिक आफूले देश घुमेरै देशको विकास र समृद्धिमा योगदान गरे भन्ने हिसावले गौरव महसुस गर्न सकोस्।
यो दशकभरी देशका कुनै पनि स्थान घुम्ने व्यक्ति वा परिवारलाई सम्बन्धित लज, होटल, होम स्टेय, क्याम्प साइटले देश हेरौं, देश फेरौं अभियानमा सहभागीता जनाए वापत सम्मान स्वरुप मायाको चिनो प्रधान गर्ने नविन परम्पराको आरम्भ गरेर नागरिकलाई देश घुमेर देशको आर्थिक विकासको हिस्सा बन्न प्रोत्साहित गर्न सकिन्छ।
त्यसको लागि राज्यले नै सहुलियत दरमा मायाको चिनो तयार गरी सम्बन्धित होटल, लज तथा होम स्टेयलाई उपलव्ध गराउने व्यवस्था मिलाउदा अझै प्रभावकारी हुन सक्छ। यसो गर्दा राज्यको कालीगढीलाई आर्थिक लाभका कारण पेशालाई निरन्तरता दिन प्रोत्साहन समेत मिल्ने छ।
उक्त दशकको प्रत्येक वर्ष देश घुमेर देशको आर्थिक विकासमा योगदान गर्ने व्यक्ति वा परिवारको सूचि सम्बन्धित निकायको आधिकारिक साइटमा प्रकाशित गर्ने परम्पराको पनि थालनी गर्न सके देशवासीलाई आफ्नो देश घुम्न झनै आकर्षित गर्ने छ। यसले राष्ट्रिय एकतालाई सुधृढ पार्नुका साथै देशको पूजीलाई चलायमान पार्न पनि मद्धत पुर्याउन सक्छ।
आन्तरिक पर्यटनको प्रवर्धन हुन गई व्यवसाय र रोजगारी मार्फत राष्ट्रिय उत्पादनमा विपन्न वर्गको पनि पहुच र योगदान दुवैको सम्भावनालाई फराकिलो पारेर धनी र गरिवबीचको खाडललाई समेत घटाउन मद्धत पुग्ने छ।
साथै नागरिकमा देश घुम्ने संस्कृतिको बिकास हुनुका साथै सार्वजनीक सम्पतिप्रति सवैमा अपनत्व र स्वामित्व ग्रहणको भावना विकास भई देशको प्राकृतिक तथा सांस्कृतिक सम्पदा संरक्षणमा समेत जागरण आई साचो अर्थमा एउटा समृद्ध मुलुक निमार्णको आधारशिला तयार हुने छ।