साउन २५ गते शुक्रबार बिहान २ बजेर ३० मिनेटमा बुध पूर्वमा उदय भनेर हाम्रो सबै पात्रोहरूमा लेखिएको छ। शास्त्रमा भनिएको छ कि बुधको उदय कहिल्यै पनि उपद्रव विहीन हुँदैन।
सामान्यतया, बुधको उदय हुने समय वर्षा, अग्निकाण्ड, वायु दुर्घटनाको सम्भावना हुन्छ। कात्तिक, श्रावण र आश्विनमा बुधको उदयास्त (एक पल्ट उदय भएपछि फेरि अस्त हुने दिन सम्मको अवधि) प्रायः युद्धको आधारभूमि तयार गर्छ पनि भनिएको छ।
प्रमुख शुभ ग्रह मानिएको बुध, बृहष्पती, शुक्रको उदयास्तको विषयमा ज्योतिषको संहिता (समाजमा सबैको समान हितको कुरा गर्ने) ग्रन्थहरूमा प्राचीन ऋषीहरूले महत्वपूर्ण जानकारी गराएका छन्।
पाँचौं सताब्दीका वराह मिहिरले रचेको ज्योतिषीय ग्रन्थ बृहत् संहिता विश्वको सर्वश्रेष्ठ तथा एक मात्र उपलब्ध सर्वोत्तम संहिता ग्रन्थ हो। दसौं शताब्दीका इरानी मुसलमान अलबरुनी जसले पूर्वीय ज्योतिषको सिद्धान्त ग्रन्थ लगायत बृहत् संहिताको पनि अरबीमा भाषानुवाद गरेका थिए ।
बृ.सं प्रति मोहित डा. कर्णले यो ग्रन्थको अंग्रेजी भाषानुवाद पनि गरेका थिए ।
प्राचीन समयदेखि नै बिभिन्न विद्वानहरूद्वारा यो ग्रन्थको हिन्दी व्याख्या पनि हुँदै आएको छ।
त्यसमध्ये करिवन २० वर्षअघि भारतीय विद्वान डा. सुरेशचन्द्र मिश्रले व्याख्या गरेको बृहत् संहितामा उल्लेख गरेका छन् कि यो महत्वपूर्ण ग्रन्थको प्रचीनतम हस्तलिपिको एक प्रति नेपाल काठमान्डौंको वीर पुस्तकालयमा छ। जुन लिपिको अन्तमा लिपि काल सं ६५८ श्रावण शुक्ल षष्टी, स्वाती नक्षत्र गुरूवार भनेर लेखिएको छ। वि.सं १९४७ मा वीर शमशेर जङ्गबहादुर राणाले वीर पुस्तकालयको स्थापना गरेका थिए।
बृहत्संहिता फलित ज्योतिषको आचार्य तहमा अनिवार्य पढ्नुपर्ने विषय हो। यो ग्रन्थ हाम्रो नेपालको वाल्मिकी क्याम्पसमा पनि आचार्य तहको मूख्य पाठ्यक्रममा निकै वर्ष अघिदेखि राखिएको छ।
वास्तवमा गणितरूपी जराहरूले जेलिएको ज्योतिषरूपी वृक्षको स्वादिस्ट फल मानिने संहितामा वास्तुशास्त्रको पनि जानकारी गराइएको छ।
सयभन्दा बढि अध्याय रहेको यो ग्रन्थको पाँचौ अध्यायको ग्रहण सम्बन्धित चर्चा मैले शताब्दीकै ठूलो चन्द्र गहण दिन गरेको थिएँ।
बृ.सं को सातौं बुधचाराध्यायःको २० वटा संस्कृत श्लोकमा वराहले विशेषगरी मात्र बुधको उदय अस्तको पृथ्वीमा कस्तो प्रभाव पर्न सक्छ भन्ने कुराको संकेत गरेका छन्।
वराहले आफूभन्दा पूर्ववर्ती ऋषीहरू पराशर, देवल, बृद्ध गर्गका मत पनि प्रस्तुत गरेका छन्। म आज बुधको उदयास्तको बारेमा जनमानसले बुझ्नुपर्ने केही संक्षिप्त प्रमाणीक कुराहरूको जानकारी गराउनेछु।
जल तत्वीय राशि कर्कट अश्लेषा नक्षत्रमा गोचर गरिरहेको पृथ्वी तत्वीय ग्रह बुध साउन ९ गते मध्यरात पछि अस्त भर्इ २५ गते बिहान उदय भएको थियो।
उदयको बेला बुध तिष्य नक्षत्रमा रहेको देखिन्छ। फेरि भदौ १८ गते पूर्वमा अस्त भएको हेर्न सक्छौं।
हामी बसेको पृथ्वीलार्इ सूर्यको सम्पूर्ण परिक्रमा गर्नलार्इ १ वर्ष लाग्छ जबकि बुधले ८८ दिनमा नै परिक्रमा गरि सक्छ किनकि हाम्रो पृथ्वी भन्दा बुध आकारमा निकै सानो छ।
सूर्यको सबैभन्दा नजिक रहेर सूर्यको सबैभन्दा छिटो परिक्रमा गर्ने ग्रह बुध वर्षमा धेरै पल्ट उदय हुन्छ, पृथ्वी र बुधको गति भिन्नताले गर्दा हरेक वर्ष महिनाहरू भने अलि फरक पर्न जान्छन्।
हाम्रो पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेका सूर्य सिद्धान्तमा आधारित बिभिन्न पात्रोहरूको निरीक्षण गर्दा यो वर्षमा जेठ ५ गते बुध पू.अ. असार ३ गते प.उ. साउन ९ गते प.अ. साउन २५ गते पू.उ. देखिन्छ।
यसै प्रकार भदौ १८ गते पू.अ., असोज १९ गते प.उ.,कात्तिक ३०गते प.अ. मंशिर १४ गते पू.उ. हुन्छ।
पुष २२ गते पू.अ., माघ २४ गते प.उ., फागुन २२ गते प.अ. तथा चैत ६ गते पूर्वमा उदय भएको देखिन्छ।
यो वर्षमा जम्मा ६ उदय मध्ये ४ उदय अलि नराम्रो देखिन्छ। त्यसमा पनि यो साउनको बुध उदय विश्व परिवेशमै जनमानसमा बढी डर-भय उत्पन्न गराउने खालको हुन सक्ने बुझिन्छ।
जब जब बुध सूर्यरश्मिबाट निक्लेर उदित हुन्छ, तब तब उत्पात हुन्छ। यो एउटा सामान्य नियम हो।। बृ.सं ७-१।।
उत्पात भनेको पानी आगो र वायुको डर भय तथा बजारमा मूल्यको घट-बढ हुन्छ। जहिल्यै पनि यसको उल्लंघन अपवाद स्वरूपमै हुन सक्छ।
वृद्ध गर्गको मत स्वीकारेर वराहले बुध अस्त हुँदा जे जस्तो अवस्था हुन्छ त्यसको विपरित स्थिति उदयको समयमा हुन्छ भनेर भनेका छन्।
पराशरले प्रस्तुत गरेको गतिहरूको बराहले नाम मात्र स्वीकारेका छन् गतिको अवधीलार्इ भने स्वीकारेका छैनन्।
संक्षिप्तमा भन्नु यो पल्ट बुधको उदयास्त २४ दिनको छ।
२४ दिनको उदयास्त अति वक्र संज्ञक दुर्भिक्ष (अकाल) कर्ता, भनिएको छ। प्रभावको कुरा गर्दा बुध उदय भएको भोलिपल्टै शनिबारको पत्रिकामा अस्ट्रेलियामा खडेरी भनेर समाचार छापिएको छ।
पराशरले भनेका छन्ः पुषमा बुध उदय भए मार-काट,माघमा वायु प्रकोप, वैशाखमा जनहानी र आषाढ र साउनमा दुर्भिक्ष (अकाल) हुन्छ। वृद्ध गर्गले पशुहरूमा रोग, अकाल जस्ता अशुभ फल भनेका छन्।
वराहले भनेका छन्: वैशाख, आषाढ, श्रावण,पुष र माघ महिनाको उदय भयकारक र यि महिनामा बुध अस्त भयो भने शुभफल कर्ता हुने हुन्छ।
वराहले कार्तिक र असोजमा बुधको उदय शस्त्रभय, चोरभय, अग्निभय, रोगभय, जलभय र अन्नको कमी गराउँछ भनेका छन्।
उदयको बेला कुनै अन्य ग्रहयोग पनि अशुभ छ भने व्यापक कुप्रभाव हुन सक्ने बुझिन्छ।
यो वर्ष बुध असार ३ गते उदय हुँदा शनिले पूर्ण सप्तम् दृष्टिले बुधलार्इ हेरेको थियो । ३ गते पछि नै भक्तपुर डुवानमा पर्यो ।
७४ मा वैशाख १ गते अस्त भएर १६ गते उदय भएको थियो।
तर त्यो बेला शुभ ग्रह शुक्रको साथ र बृहष्पतिसँग परस्पर बेध (दृष्टि) को कारणले गर्दा कुनै ठूलो अप्रिय घटनाको आभास भएन र नेपालमा पहिलो चरणको स्थानीय निर्वाचन पनि राम्रोसँग सम्पन्न भएको थियो।
७४ मा फेरि असार १८ गते उदय हुँदा आफ्नो राशि मिथुनमा बलियो भएर बसेको बुधसँग मंगल पनि साथमा थियो। उदयपछि साउन २९ गते विहान फेरि बुध अस्त हुने ३ दिन अगाडिदेखि परेको अविरल वर्षाको कारण नेपालको बिराटनगर लगायत नेपालको पूर्वी क्षेत्र पुरै डुबानमा परिसकेको थियो।
२९ गतेको त्यो दिन समाचारमा पूर्वी तरार्इ ब्ल्याक आउट ठाउँ ठाउँका सबस्टेशन डुबे भनेर ब्यापक थियो।
७२ वैशाख ६ गते बलियो पापी ग्रह मंगलको साथमा रहेको बुध उदय भएको १ सप्ताह भित्र ठूलो वायु संबन्धित भूकम्पीय प्रकोपको सामना गर्नु परेको थियो।
७२ को साउनमा पनि बुधको उदय भएपछि हाम्रो देशले नाकाबन्दीको सामना गर्नु परेको थियो बजार भाउ पनि उच्च थियो त्यो बेला बुध मिथुन राशिमा मंगलसँग बसेको थियो।
७३ को साउनमा पनि बुध उदय भएको थियो तर त्यो बेला अरू कुनै पाप ग्रहको प्रभाव परेको थिएन।
२०७५ साउन २५ को बुध उदयको समयमा राहुसँग बसेको छ।
पाप ग्रह मंगल एवं बुध र राहुको परस्पर पूर्ण दृष्टि पनि परेको देखिन्छ।
नजिकका दिनमा उत्पातरूपी घटनाले जगत (विश्व)मा अनेक प्रकारले जनमानसलाई दु:ख दिनसक्छ।
साउन अन्तिम सप्ताहदेखि भदौ तेस्रो सप्ताहसम्म यस्तो प्रभाव रहन्छ। सूक्ष्म विचार गर्दा विशेषगरी भदौ १ गते देखि भदौ १८ गते सम्मको समयमा विशेष सावधान रहनुपर्ने बुझिन्छ।
यो समयमा सवै पक्ष प्राकृतिक उत्पातरुपी घटनाबाट आफू सजग रहेर जोगिनु राम्रो हुनेछ।
बुधलार्इ पौराणिक कथा अनुसार चन्द्रमा र बृहष्पती पत्नी ताराको नाजायज तथा अत्यन्त वुद्धिमान पुत्र मानिएको छ।
पराशरका पुत्र एवं १८ पुराणहरूका रचयिता वेद व्यासले बुध शान्तिको मन्त्रमा भनेका छन्।
उत्पातरुपो जगतां चन्द्रपुत्रो महाद्युति:।
सूर्यप्रियकरो विद्वान् पीडां हरतु मे बुध ।।
सम्पूर्ण जगतलाई उत्पातबाट जोगाउने, चन्द्रमाका पुत्र, अत्यन्त कान्तिमय, सूर्यदेवका प्रियपात्र, विद्वान् बुध देवताले सम्पूर्ण पीडाहरु नाश गरून् !
वास्तु-ज्यो.शिव पोखरेल