बीचमा सानो घर छ। दुई डाँडामा एकातर्फ सेना र अर्कोतर्फ माओवादीहरू छन्। माओवादीहरू क्रान्तिको खोजीमा छन्। सेनाहरूले क्रान्ति रोक्ने जिम्मा पाएका छन्। उनीहरू माओवादी तर्फको बाटो सर्वसाधारणलाई खोल्न चाहन्छन्। क्रान्तिका पक्षधर माओवादीहरू छोड्ने पक्षमा छैनन्।
उनीहरू बीच सम्झौता भएन भने कतिखेर गोली चल्छ, कतिखेर बम पड्किन्छ भन्न सकिन्न। त्यही बीच सानो घरमा अन्तरजातीय विवाह गरेका दुई दम्पति आफ्नो प्रेम हुर्काउन संघर्षरत छन्। घरमा कहिले माओवादीहरू खाना खान, सोधखोज गर्न आउँछन् त कहिले सेनाको गस्ती चल्छ।
सिनामंगलस्थित पुरानो घरमा मञ्चन भइरहेको नाटक ‘खत’ हेर्न जानुभयो भने तपाईंलाई आफैं पनि त्यसभित्रको पात्रजस्तै लाग्न सक्छ। तपाईं बसेकै कुर्सी निजकबाट सेना, माओवादी र मान्छेहरू हिँड्छन्। बम, गोली चल्छ। बारूदको गन्ध आउँछ। लासहरू ढलिरहेका हुन्छन्। तपाईंहरूलाई तिनै लासहरू नाघ्दै हलबाट बाहिर निस्कन भनिन्छ। त्यसरी लासहरू नाघ्दै हामीले जनयुद्धबाट अगाडि बढ्न पनि सिकिसक्यौ।
नाटकमा एउटा संवाद नै छ, ‘यहाँ कति मरे कसैको हिसाब हुँदैन, किनकी क्रान्तिले रगत माग्छ।’
तपाईंहरूले पनि ति लासबाट अगाडि बढ्दै जाँदा स्विकार्नु पर्ने छ- क्रान्तिले रगत माग्छ।
सुलक्षण भारतीको लेखन तथा निर्देशनमा तयार भएको यो नाटकले जनयुद्धको खतलाई पुन: आलो बनाइदिएको छ।
दश वर्षे तत्कालीन जनयुद्धको परिवेशलाई पुन: स्मरण गराउँदै नाटकले नयाँ पुस्तालाई युद्धकालको नजिक पुर्याउन खोजेको छ।
एउटा सामान्य मान्छे विभेद, अन्याय र बाध्यताले कसरी क्रान्तिमा धकेलिन्छ भन्ने तपाईंले थाहा पाउन सक्नुहुनेछ। अनि त्यो क्रान्तिले कसरी आफ्नैलाई पनि सिध्याउँछ भन्ने देख्नुहुन्छ। त्यही भएकाले भनिएको हुनुपर्छ, युद्धले कसैको पनि राम्रो गर्दैन्।
नाटकमै पनि अरूलाई क्रान्तिको ठूला गफ दिने प्रमुख पात्र (दया) ले आफ्नो परिवारजन युद्धमा गुमाउँछ। र उसले लाचार भएर भन्छ, ‘हामीले यो कस्तो युद्ध जित्यौ? म युद्धमा जिते कि हारे भनिदिनुस् न।’
त्यतिबेला साथीले उसैले भन्ने गरेको संवाद उसलाई भन्छ, 'क्रान्तिले रगत माग्छ। बलियो हुनुस् कम्रेड।'
लेखक तथा निर्देशक सुलक्षण भारतीले करिब एक महिनाको तयारीमा यो नाटक बनाएका हुन्। अहिलेको समयमा यो नाटक देखाउनुको कारणबारे उनी भन्छन्, ‘देशमा विभिन्न राजनीतिक उतारचढाब भइरहेको बेला यो नाटक देखाउनु पर्छ भन्ने लाग्यो। गएको द्वन्द्व के-का लागि थियो? माओवादी र आर्मीको बीचमा पिल्सिएका जनताको बारे मात्र थियो वा भविष्यमा हुनसक्ने घटनाको बारेमा? यस्ता यावत कुराहरू सम्झाउनलाई पनि यो नाटक अहिले देखाएको हो।’
निर्देशक भारतीले आफैले जनयुद्ध भोगेका, देखेका होइनन्। सुनेका, समाचारमा पढेका हुन्। तर अन्य नाटकका काममा उनी विभिन्न गाउँ पुग्थे। युद्ध भोगेका पात्रहरू भेट्थे। उनीहरूका कथा सुन्थे। अनि त्यही कथाबाट प्रभावित भएर नाटक ‘खत’ तयार भएको उनी बताउँछन्।
‘यो नाटक बनाउने भनेर सोचेको १२ वर्ष भयो। बल्ल समय मिल्यो,’ उनले भने, ‘जति नै समय बिते पनि युद्धको खत त आलै हुने रहेछ।’
नाटकमा मञ्च परिकल्पना बेजोड छ। ध्वनी संयोजन र प्रकाश परिकल्पना उत्कृष्ट छ। दर्शकले नाटक हेर्ने होइन नाटकको अनुभव गर्न पाउँछन्।
नाटक हेर्न उपस्थित भएका अर्का लेखक श्याम शाहले यो नाटक निकै जीवन्त लागेको बताए। उनले भने, ‘जनयुद्धलाई सेनाले एक किसिमले बुझे, माओवादी लडाकूहरुले एक किसिमले बुझे। खासगरी २०५८ सालपछि जनयुद्धले भयानक रुप लियो। ६२/६३ को जनयद्धको असरलाई यस नाटकमार्फत जस्ताको त्यस्तै देखाएझैं लाग्छ।’
उनले अगाडि भने, ‘यो नाटकले जनयद्धको सम्झना गरायो। यस अर्थमा यो नाटक धैरै उत्कृष्ट र प्रभावकारी लाग्यो।’
परिवर्तनको नाममा मुलुकको क्रान्ति र क्रान्तिले निम्त्याएको लडाईले बसाएको घाउको खत सम्झाउने नाटक काठमाडौंको पुरानो घर, सिनामंगलमा मञ्चन भइरहेको छ।
सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको नाटक ‘खत’ ले समाजमा क्रान्तिको उत्पत्ती र युद्वले निम्त्याएको घाउलाई जस्ताको तस्तै उतारेको छ।
क्रान्तिले युद्व माग्छ अनि रगत बग्छ तर रगतको हिसाब किन हुँदैन? देश परिवर्तन गर्ने सपनामा क्रान्तिको उदाहरण ‘खत’ हरेक दिन साँझ ५ बजे पुरानो घर सिनामंगलमा मन्चन भइरहेको छ।
नाटकमा बेजोड मञ्च परिकल्पना गरिएको छ। ध्वनी संयोजन र प्रकाश परिकल्पना उत्कृष्ठ छ। दर्शकले नाटक हेर्ने होइन नाटकको अनुभव गर्न पाएको दर्शक बताउँछन्।
वैशाख २५ गतेसम्म मञ्चन हुने नाटक ‘खत’ मा अरूण पौडेल, आभास अधिकारी, जयराम ढकाल, रमेश बज्राचार्य, सन्देश कार्की, प्रकाश गुरागाईं, आदि योगी, सागर भट्टराई, श्रवण यादव, चर्चित ढुंगेल, प्रितमसागर शर्मा, निशा दाहाल, नुज महर्जन, उत्तम अधिकारी, रितेश कार्की, शिशिर गिरी, अर्नभ घिमिरे, राजकमल, सरिता भुजेल लगायतको अभिनय छ।
नाटकका केही तस्बिरहरू:
सबै तस्बिरहरू: नवीनबाबु गुरूङ