एकसाथ चौधवटा मौलिक तीजगीत विमोचन गरिएको छ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्वारा बिहीबार राष्ट्रिय नाचघर जमलमा आयोजित समारोहमा एकसाथ चौधवटा गीतको पोस्टर र भिडिओ विमोचन गरिएको हो।
विमोचन हुने गीतहरुमा भगवान भण्डारीको 'धनमाया मनमाया', विशाल महरको 'तीज मनाउँछौं', भीमसेन खतिवडाको 'यो तीजमा भाइरल हुनी हो', भीमकुमार ओझाको 'नौगेडी', कस्तुप पन्तको 'पापी तीज भाग– २', सचिन भट्टराईको 'जय जय शिव भोला', खुश्बु सुनारको 'ए आमा', यामप्रसाद निउरेको 'चोली फाटेको', गोविन्द पौडेलको 'माछा मासु केही खाँदिनँ', मुना सुवेदी तिवारीको 'मेरो त देसै माइती भयो', माया पार्देको 'चाहिँदैन रानी हार', मदन ढकालको 'माइतीको दैलो', विजय अनुरागीको 'ए मैयाँ' र सन्जु न्यौपानेको 'निलो आकाशैमा बादलु' रहेका छन्। यी अधिकांश गीत युट्युबमा सार्वजनिक छन्।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम, संस्थापक अध्यक्ष गोबिन्द गिरी, प्रमुख अतिथिका रूपमा उपस्थित सांसद सोविता गौतम, कलाकारहरू गायक राजु परियार, घमेश दुलाल, बद्री पंगेनी, प्रकाश कटुवाल, गायिका लक्ष्मी न्यौपाने, शर्मिला गुरूङ, सीता थापा, टिका पुन, मन्जु थापा लगायतले गीतहरूको सामुहिक विमोचन गरेका हुन्।
समारोहमा बोल्दै सांसद गौतमले गीत संगीतमा विकृति र विसंगती बढ्नु चिन्ताजनक विषय भएको भन्दै सर्जकलाई मौलिकतामा ध्यान दिन आग्रह गरिन्।
'पछिल्लो समय भ्युजका लागी पनि गीतहरू केन्द्रित छन्। दीर्घकालिन सोचेर सर्जक आफैले ध्यान दिनुपर्ने हुन्छ', उनले भनिन् 'गीत संगीतमा पनि सेन्सर बोर्डको आवश्यकताको चर्चा धेरै कलाकारले गर्दै आउनु भएको छ। तर कसैको बन्दनमा रहनुभन्दा सर्जक आफैले संवेदनशील भएर उत्तरदायी भइयो भने त्यो धेरै राम्रो हुन्छ।'

समारोहमा लोक गायिका लक्ष्मी न्यौपानेलाई लोक गायनको क्षेत्रमा लामो योगदान पुर्याएको भन्दै मौलिक गायन सम्मान प्रदान गरियो। त्यस क्रममा उनले मौलिक गायनलाई आफूले सधै आत्मसाथ गर्ने बताइन्।
उनले भनिन्, 'धेरैबाट समय परिवर्तनसंगै परिवर्तन हुनुपर्छ भन्ने कुरा सुनिन्छ। हो, परिवर्तन हुनुपर्छ तर लोक, मौलिकपनलाई परिवर्तन गर्नुहुँदैन।'
गायक राजु परियारले कुनै पनि गीत सिर्जना गर्ने क्रममा सर्जकले लोकरसलाई भुल्न नहुने बताए।
राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष गायक प्रकाश कटुवालले कलाकारलाई मौलिकतामा जोड दिन आग्रह गरे।
गायक बद्री पंगेनी, गायिका शर्मिला गुरूङ, मन्जु थापा लगायतले पछिल्लो समयका गीतहरूमा मौलिकता हराउँदै गएको गुनासो गर्दै सर्जकहरूले ध्यान दिनुपर्ने धारणा राखे।