साउन सुरू भएसँगै तीजका गीत धमाधम सार्वजनिक हुन थालेका छन्।
हिजोआज दिनकै तीज गीत रिलिज भइरहेका छन्। युट्युबमा दुई दर्जन बढी तीज गीत आइसकेका छन्।
केही गीतले राम्रो भ्युज पाइरहेका छन्। केही चर्चाको क्रममा छन्।
गायिका समीक्षा अधिकारी र गायक मोहन खड्काको स्वर रहेको तीज गीत 'बरिलै' ले युट्युबमा २८ लाख बढी भ्युज पाइसकेको छ।
डान्सिङ शैलीको गीतमा विमल अधिकारीको शब्द एवं संगीत छ। आश्मा विश्वकर्मा र विमलको नृत्य रहेको भिडिओ शंकर बिसीको कोरियोग्राफीमा बनेको हो।
यसपालि सबैभन्दा धेरै तीज गीत शान्तिश्री परियारका देखिएका छन्।
उनका आधा दर्जन बढी तीज गीत सार्वजनिक भइसकेका छन्। अफिसियलसहित केही गीत सार्वजनिकको तयारीमा छन्।
खेम सेञ्चुरी र शान्तिश्रीको स्वरमा 'रेलिमै' गीत आएको छ। रमेश परियारको शब्द एवं संगीत रहेको गीतको भिडिओमा पुष्प खड्का र प्रिन्सिका श्रेष्ठले नृत्य गरेका छन्। भिडिओलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन्।
शान्तिश्री परियारको स्वरमा 'थोरै थोरै लाज' बोलको गीत सार्वजनिक छ।
रमेश क्षेत्रीको शब्द, ऋषि खड्काको संगीत रहेको गीतमा विमल अधिकारी, अञ्जली अधिकारी र स्मारिका ढकालको नृत्य छ। यसलाई मौसम हिमालीले निर्देशन गरेका हुन्।
शान्तिश्री परियार र जमुना सनमको स्वरमा 'साडी गुलाबी' सार्वजनिक छ। राजु सुनामको शब्द, संगीत रहेको गीतको भिडिओमा अञ्जली अधिकारी, गीता ढुंगाना, अभिषेक खड्का र मौसम हिमाली फिचर्ड छन्। भिडिओलाई मौसम हिमालीले निर्देशन गरेका हुन्।
शान्तिश्री परियार, मोहन खड्का, योगराज पोखरेल र महेन्द्र भण्डारीको स्वरमा 'आफ्नै पारामा' सार्वजनिक छ।
विक्रमबाबु विश्वकर्माको शब्द, योगराज पोखरेलको संगीत रहेको गीतको भिडिओमा दुर्गेश थापा र नारायण खत्रीले नृत्य गरेका छन्। विनोद भण्डारी भिडिओका निर्देशक हुन्।
शान्तिश्री परियारको स्वर रहेको 'काली पसम की' यतिबेला चर्चामा देखिन्छ। प्रेम सापकोटाको शब्द एवं संगीत रहेको गीतको भिडिओमा स्मारिका ढकाल र जोन बम ठकुरी फिचर्ड छन्। युट्युब ट्रेन्डिङमा रहेको गीतको भिडिओलाई जेरी भण्डारीले कोरियोग्राफी एवं निर्देशन गरेका हुन्।
शान्तिश्री परियारको स्वरमा 'मै हुँ शिवको शिवानी' सार्वजनिक छ। गीता गिरीको शब्द, भद्र ओलीको संगीत रहेको गीतको भिडिओमा स्मारिका ढकाल फिचर्ड छिन्। भिडिओलाई कृष्णदेव रूपाखेतीले निर्देशन गरेका छन्।
खुमन अधिकारी, शान्तिश्री परियार, देवी घर्ती र अर्जुन कुवँरको स्वरमा 'कुरा काट्नेहरू' सार्वजनिक छ। यसमा खुमन अधिकारी, लोमश शर्मा, ओबी रायमाझी, अञ्जली अधिकारी, सारिका केसी र अर्जुन कुवँरको अभिनय छ। गायत्री थापाले भिडिओलाई निर्देशन गरेकी हुन्।
पशुपति शर्माले प्रिया भण्डारीसँगको स्वरमा 'मै लुरी' सार्वजनिक गरेका छन्।
आफ्नै शब्द एवं संगीत रहेको गीतको भिडिओमा पशुपतिले मोडल जुना विश्वकर्मासँग नृत्य गरेका छन्। भिडिओलाई मौसम हिमालीले कोरियोग्राफी गरेका हुन्। पशुपतिका अन्य तीज गीत पनि सार्वजनिक भएका छन्।
अस्ट्रेलियामा रहेकी गायिका एलिना चौहानले पनि तीज गीत सार्वजनिक गरिसकेकी छन्। सूर्य खड्का र सुनिता बुढा क्षेत्रीको स्वरमा 'सीताका माइती' सार्वजनिक छ। शिव अखेलीको शब्द एवं संगीत रहेको गीतलाई युट्युबमा १२ दिनमा १० लाखभन्दा बढी पटक हेरिएको छ।
जीवन कुमार ज्ञवालीको निर्देशन रहेको भिडिओमा विजय पुन र जुना विश्वकर्माले नृत्य गरेका छन्।
सुनिता बुढा क्षेत्रीको स्वरमा 'बिजुली चमक्क' गीत पनि सार्वजनिक छ। कस्तुप पन्तको शब्द एवं संगीत रहेको गीतको भिडिओमा अञ्जली अधिकारीको नृत्य छ।
स्मृति तिमिल्सिनाले भिडिओलाई निर्देशन गरेकी हुन्।
युट्युबमा अरू पनि थुप्रै तीज गीत सार्वजनिक भइसकेका छन्। सार्वजनिक केही गीतलाई लिएर आलोचना समेत भइरहेको देखिन्छ।
कतिपयले तीज गीत ल्याउने तयारी गरिरहेका छन्। सिन्धु मल्ल, राधिका हमाल, बद्री पंगेनी, अर्जुन सापकोटा, पूर्णकला बिसी, अस्मिता अधिकारी, रचना रिमाल लगायतले तीज गीत ल्याउने तयारी रहेको फेसबुकमा जानकारी दिएका छन्।
यसपालि तीज भदौ २१ गते परेको छ।