गायन रियालिटी शो 'द भ्वाइस किड्स' सिजन ३ भोलि (शुक्रबार)देखि प्रसारणमा आउँदैछ। राती ८ बजेदेखि हिमालय टिभीमा ब्लाइन्ड अडिसनबाट यो सिजन सुरू हुनेछ।
सिजन ३ मा दुई जना कोच परिवर्तन भएका छन्। गायक प्रमोद खरेल, छेवाङ लामा, गायिका मिलन नेवार र मेलिना राई कोचका रूपमा छन्। छेवाङ र मेलिना यो सिजनमा भित्रिएका हुन्।
होस्टका रूपमा सुशील नेपालको स्थानमा रोनिस्मा श्रेष्ठको प्रवेश भएको छ।
बुधबार वान सिनेमाज हलमा ‘द भ्वाइस किड्स’ को प्रिमियर समारोह गरिएको थियो। यस सिजनको पहिलो एपिसोड स्क्रिनिङ गरिएको प्रियियरमा प्रसारण च्यानल हिमालय टिभी र प्रायोजकबीच लिखित सम्झौता समेत गरिएको थियो।
प्रिमियरमा कोचहरुको तर्फबाट प्रमोद खरेल र छेवाङ लामा उपस्थित थिए।
यो सिजनमा ब्लाइन्ड अडिसनबाट ४८ जना प्रतिस्पर्धी छनोट हुनेछन्। द ब्याटल, लाइभ शो, सेमीफाइनल र फिनाले तय छन्।
दुई महिना चल्ने यो सिजनको साउन ३२ गते फिनाले हुनेछ। शोलाई लक्ष्मण पौड्यालले निर्देशन गर्दै आएका छन्।
६ देखि १४ वर्ष उमेरसम्मका बालबालिकाले यसमा प्रतिस्पर्धा गर्न पाउनेछन्। भ्वाइस किड्स शुक्रबार र शनिबार प्रसारण हुनेछ।