राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले उश्रृंङखल दोहोरी गाएको भन्दै १२ जनासँग स्पष्टीकरण मागेकोमा ९ जनाले गल्ती स्वीकार गरेका छन्।
अपाच्य शब्द र प्रस्तुतिमार्फत दोहोरीमा विकृति भित्र्याएको भन्दै प्रतिष्ठानले केही दिनअघि स्पष्टीकरण मागेको थियो।
जसमध्ये शर्मिला रायमाझी, शंकर सुनार, नवराज काप्री (धादिङे भाले), सुशीला लामा, तारा थापा, सागर बीसी, सीताराम परियार, सलिना नेपाली र विशाल सोनीले लिखित स्पष्टीकरण बुझाइसकेको प्रतिष्ठान अध्यक्ष रिता थापा मगरले बताइन्। 'उहाँहरूले आफूहरूको गल्ती स्वीकार्दै आगामी दिनमा नदोहोर्याउने प्रतिबद्दता गर्नुभएको छ,' उनले भनिन्। नवीना सिलवाल (खुइली), रिया खड्का र गोपाल जिसीले स्पष्टीकरण दिएका छैनन्।
उनीहरूलाई अझै केही दिन कुर्ने र त्यतिञ्जेल सम्पर्कमा नआए फेरि पत्र काट्ने प्रतिष्ठानले जनाएको छ। 'त्यसपछि पनि उहाँहरूले गल्ती रियलाइज नगरे बाँकी कदमहरू चाल्छौं। विकृति न्यूनिकरण गर्ने राज्यको पनि दायित्व भएकाले कारबाहीका लागि प्रहरी प्रशासनसम्म पनि जाने सोचेका छौं,' अध्यक्ष थापाले भनिन्।
पछिल्लो समय दोहोरी गीतमा देखिएको विकृति न्यूनिकरण गर्न प्रतिष्ठानले सक्रियता देखाएको छ। दोहोरीमा विकृति भित्र्याएको भन्दै निर्वाचित केन्द्रीय सदस्य गायक बालचन्द्र बराललाई ६ महिनाका लागि संस्थाबाट निलम्बन गरेको प्रतिष्ठानले गृहमन्त्री रवि लामिछानेलाई समेत भेटेर यस विषयमा जानकारी गराएको थियो।
पछिल्लो समय विशेष गरी प्रत्यक्ष (लाइभ) दोहोरीमा विकृति भित्रिएको गुनासो बढेपछि प्रतिष्ठानले त्यसको न्यूनिकरणमा सक्रियता देखाएको हो।