पछिल्लो समय दोहोरी गीतमा देखिएको विकृति न्यूनिकरण गर्न राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले सक्रियता देखाएको छ।
गत साता लोकदोहोरीमा विकृति भित्र्याएको भन्दै निर्वाचित केन्द्रीय सदस्य गायक बालचन्द्र बराललाई ६ महिनाका लागि संस्थाबाट निलम्बन गरेको प्रतिष्ठानले थप १२ जनालाई स्पष्टीकरण सोधेको छ।
जसमा शर्मीला रायमाझी, नवीना सिलवाल 'खुईली', रिया खड्का, शंकर सुनार, नवराज काप्री 'धादिङे भाले', सुशीला लामा, तारा थापा, सागर बि.सी, सिताराम परियार, सलिना नेपाल, विशाल सोनी र गोपाल नेपाल 'जीएम' छन्। यीमध्ये केहीलाई प्रत्यक्ष दोहोरी र केहीलाई अफिसियल गीतमा विकृति भित्र्याएको भन्दै स्पष्टीकरण सोधिएको हो।
प्रतिष्ठानले लोक दोहोरीका नाममा सार्वजनिक उक्त श्रव्यदृश्य युट्युब लगायत सामाजिक सञ्जालबाट हटाइ आगामी दिनमा त्यस प्रकारका गतिविधि नगर्न सचेत गराएको छ। 'उहाँहरूले ७ दिनभित्र लिखित स्पष्टीकरण पठाउनुभयो, आगामी दिनमा त्यस प्रकारका गीत नगाउने प्रतिबद्दता जनाउनुभयो भने ठीक छ। अनुरोध बेवास्था गर्नुभयो, सच्चिनुभएन भने हामी हाम्रो तरिकाले कानुनी उपचारमा जाने सोचेका छौं,' प्रतिष्ठान अध्यक्ष रिता थापा मगरले सेतोपाटीसँग भनिन्।
प्रतिष्ठानले दुई साताअघि एक विज्ञप्ति जारी गर्दै अपाच्य शैलीका दोहोरी बन्द गराउन सम्बन्धित कलाकार, स्टुडिओ र युट्युब च्यानल सञ्चालकलाई सचेत गराएको थियो।
अपाच्य शैलीमा दोहोरी प्रस्तुतीकरण गरिएको र यसले दोहोरीको मूल मर्म र भावनामा प्रहार भएको भन्दै प्रतिष्ठानले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको समेत ध्यानाकर्षण गराएको थियो।