प्रत्यक्ष (लाइभ) दोहोरीको नाममा अपाच्य शैलीमा दोहोरी प्रस्तुतीकरण गरिएको र यसले दोहोरीको मूल मर्म र भावनामा प्रहार भएको भन्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएको छ।
बिहीबार प्रतिष्ठानको टिम मन्त्रालय पुगेर लाइभ दोहोरीमा देखिएको विकृतिबारे गृहमन्त्री लामिछानेलाई जानकारी गराउँदै ज्ञापनपत्र समेत बुझाएको छ।
अध्यक्ष रिता थापा मगर, पूर्व अध्यक्ष बद्री पंगेनी, वरिष्ठ उपाध्यक्ष पशुपति शर्मा, उप महासचिव शिरीष देवकोटा लगायतले मन्त्रालय पुगेर ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका हुन्।
ज्ञापन पत्रमा लोक तथा दोहोरी गीत पछिल्लो केही समययता अत्यन्तै अभद्र, असभ्य एवं सामाजिक सहिष्णुतालाई समेत खलल पुर्याउने खालको हुँदै गएको र लोक तथा दोहोरीका नाममा दोहोरी र्याप र ब्याटल दोहोरीको नाममा मौलिकता नष्ट गर्न थालिएको भन्दै चिन्ता ब्यक्त गरिएको छ।
भेटका क्रममा गृहमन्त्री लामिछानेले लोक तथा दोहोरीगीतको क्षेत्रका विकृति नियन्त्रणमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग पनि छलफल गर्ने/गराउने बताएका छन्।
दोहोरीगीत प्रतिष्ठानले केही दिनअघि एक विज्ञप्ति जारी गर्दै अपाच्य शैलीका दोहोरी बन्द गराउन सम्बन्धित कलाकार, स्टुडिओ र युट्युब च्यानल सञ्चालकलाई सचेत गराएको थियो।
प्रतिष्ठानले अपाच्य गीत गाएको भन्दै केन्द्रीय सदस्य एवं गायक बालचन्द्र बराललाई ६ महिनाका लागि संस्थाबाट निलम्बन समेत गरेको छ। बिहीबार बसेको कार्यसमितिको बैठकले उनलाई निलम्बन गरेको हो।