पछिल्लो पुस्ताकी चर्चित गायिका एलिना चौहान यति बेला अस्ट्रेलियामा छिन्। गत महिना विवाह गरेकी उनी श्रीमान विष्णु सापकोटासँग केही साताअघि अस्ट्रेलियाको सिड्नी पुगेकी हुन्।
बागलुङका विष्णु सिड्नीमा रहेर व्यवसायसँगै सांगीतिक गतिविधिमा समेत सक्रिय छन्।
नेपाली सांगीतिक क्षेत्रमा उचाइमा रहेकी गायिका एलिना विवाहपछि अस्ट्रेलिया गएसँगै उनको अबको करिअर कसरी अगाडि बढ्छ भन्ने धेरैले चासो समेत व्यक्त गरेका छन्।
यसैबीच, एलिनाले शनिबार सिड्नीमा एकै दिन ४ वटा गीत रेकर्ड गराएकी छन्। आगामी साता फेरि ३ वटा गीत रेकर्ड हुने उनले बताइन्।
विष्णुले एलिना जहाँ बसे पनि आफ्नो गायन यात्रानरोक्ने बताए। उनले अहिलेको प्रविधिको युगमा विदेशमा रहेर पनि गायनलाई निरन्तरता दिन सकिने बताए।
'प्रविधिको विकाससँगै गीत रेकर्डका लागि जहाँ रहे पनि समस्या छैन। यहाँ नेपालीकै स्टुडिओ छ। यहीँबाट रेकर्ड गरेर पठाउन मिल्छ,' विष्णुले सेतोपाटीसँग भने।
एलिना त्यहीबाटै विभिन्न स्टेज शोमा सहभागी हुन सक्ने उनले बताए।
उनले भने, 'कार्यक्रमको कुरा गर्दा एलिनाले भर्खरै दुबईको कार्यक्रम सकेर आउनुभयो। अब, अस्ट्रेलियामा हुन लागेको नेपाल फेस्टिभलमा उहाँको प्रस्तुति छ। लगत्तै जापान टुर छ। त्यसपछि फेरि अस्ट्रेलियामा तीज मेलाको टुर छ। त्यसपछि अरू–अरू देशका लागि पनि अफर आइरहेको छ। यहीँबाटै जाने–आउने गर्न सक्नुहुन्छ।'
नेपालमा मेला–महोत्सवको सिजन सुरू हुँदा यता आएर स्टेज कार्यक्रम एवं रेकर्डिङलाई निरन्तरता दिनेछिन्।
'उहाँले नेपाली संगीत क्षेत्र छोड्नुहुन्न। जहाँ रहे पनि सांगीतिक करिअर, आफ्नो पेशालाई निरन्तरता दिनुहुनेछ,' विष्णुले भने।
एलिना र विष्णुले केही समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए।