प्रत्यक्ष (लाइभ) दोहोरीका नाममा देखिएको विकृति रोक्न राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
प्रतिष्ठानले आइतबार विज्ञप्ति जारी गर्दै प्रत्यक्ष दोहोरीका नाममा अपाच्य शैलीमा गरिएको दोहोरी प्रस्तुतिकरण रोक्न आग्रह गरेको हो।
पछिल्लो समयमा विभिन्न युट्युब च्यानललगायतका सामाजिक सञ्जालहरूमा प्रत्यक्ष दोहोरीका नाममा अपाच्य शैलीमा दोहोरी प्रस्तुतिकरण गरिएको र यसले समाजमा अत्यन्तै नकारात्मक प्रभाव परेको प्रतिष्ठानले जनाएको छ।
यस प्रकारका गतिविधिले नेपालको विशिष्ट पहिचानका रूपमा रहेको लोक संस्कृति, त्यसमध्ये पनि सदियौंदेखि चल्दै आइरहेको दोहोरीको मूल मर्म र भावनामै प्रहार भएकोबारे जनगुनासो आइरहेको समेत प्रतिष्ठानले जनाएको छ।
'यस प्रकारका अराजक प्रवृत्तिको घोर भत्र्सना गर्दै संस्कृतिमाथि हुने अतिक्रमण एवं अराजकता तत्काल बन्द गर्न/गराउन सम्बन्धित कलाकार, स्टुडियो, युट्युब च्यानल सञ्चालकहरूलाई सचेत गराइन्छ,' विज्ञप्तिमा भनिएको छ।
आगामी दिनमा यस प्रकारका गतिविधि दोहोर्याए संस्थाको साधारण सदस्य समेत खारेज गरी सेवा सुविधाबाट बञ्चित गर्ने प्रतिष्ठानले चेतावती समेत दिएको छ।