म्युजिक भिडिओकी चर्चित मोडल एवं फिल्मकी अभिनेत्री गरिमा शर्माले विद्युतीय कार किनेकी छन्।
करिअर सुरू गरेको छोटो समयमै रोजाइमा परेकी यी मोडलले ४० लाख रुपैयाँ मूल्यमा बीवाइडी कम्पनीको कार खरिद गरेकी हुन्।
कार किनेपछि सामाजिक सञ्जालमा तस्बिर राख्दै उनले आफ्नो कर्मक्षेत्रप्रति गर्व रहेको उल्लेख गरेकी छन्। 'जुन सपना देखेर म्युजिक क्षेत्रमा प्रवेश गरेँ, यहाँका अग्रजले मलाई पत्याएर विश्वास गरिदिनुभयो। सबैप्रति आभारी छु,' गरिमाले लेखेकी छन्, 'दर्शकले दिनुभएको मायाप्रति नतमस्तक छु। हजुरको प्रेरणा र हौसला अनि मेरो परिश्रमले गर्दा आज मेरो सहयात्रीको रूपमा एउटा सदस्य थप्न सफल भएको छु।'
उनले आगामी दिनमा समेत दर्शकबाट मायाको अपेक्षा गर्दै भनेकी छन्, 'मलाई गर्व छ मेरो कर्मक्षेत्रप्रति अनि अगाढ माया पनि।'
कामको कुरा गर्दा दर्जनौं भिडिओमा मोडलिङ गरेकी गरिमाले केही फिल्ममा समेत अभिनय गरिसकेकी छन्। उनको डेब्यु फिल्म 'लन्डन टु पेरिस' यही जेठ २५ गतेदेखि प्रदर्शनमा आउँदैछ।
उनी अभिनीत फिल्म 'ह्स्व दीर्घ' आगामी असोज ११ गते रिलिज हुँदैछ भने गरिमाले 'बर एण्ड बधू' मा समेत अभिनय गरेकी छन्।