प्रकाश दुतराजको पछिल्लो गीत 'करिम' युट्युबबाट हटाउन माग गर्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानमा निवेदन परेको छ।
गीतले बादी समुदायको स्वाभिमानमा ठेस पुर्याएको भन्दै हटाउन मागसहित रूकुम पश्चिमको चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादीले निवेदन दिएका हुन्।
'निवेदन केही दिनअघि आएको हो। शुक्रबार वा आइतबार दुवै पक्षलाई राखेर छलफल गराउने तयारीमा छौं,' प्रतिष्ठानका एक पदाधिकारीले भने।
दोहोरीगीत प्रतिष्ठानले गीतलाई लिएर आएका निवेदनमाथि दुवै पक्षलाई राखेर छलफल गराउँदै आएको छ।
प्रकाशले बादी समुदायको ऐतिहासिक पृष्ठभूमिमा रहेर केही दिनअघि 'करिम' गीत सार्वजनिक गरेका थिए। गीत सार्वजनिक भएसँगै केहीले यसको भिडिओलाई लिएर आलोचना गरेका हुन्। समग्रमा भने गीतलाई प्रशंसा नै मिलेको छ।
प्रकाश गीतका कारण विवादमा आएको यो पहिलोपटक हो।