पहिलो म्युजिक भिडिओबाटै चिनिएका मोडलहरू हुन् सनिशा भट्टराई र कुसुम शर्मा।
सनिशाले डेढ वर्षअघि हिमाल सागर र अन्नु चौधरीको स्वर रहेको गीत 'ए होर माया' बाट करिअर सुरू गरेकी थिइन्। यो गीत निकै चल्यो। युट्युब भ्युज हेर्ने हो भने अहिलेसम्म यसलाई २ करोड ९२ लाख बढीले हेरेका छन्।
त्यस्तै कुसुमले एक वर्षअघि प्रकाश सपुतको गीत 'सकम्बरी' बाट करिअर थालेकी थिइन्। सार्वजनिक हुनासाथ गीतले निकै चर्चा पायो। कुसुमको पनि चर्चा चुलियो। अहिले गीतको युट्युब भ्युज ६ करोड पुगिसकेको छ।
पहिलो भिडिओ रूचाइएपछि सनिशाले दर्जनौं भिडिओ एवं विज्ञापनहरूमा मोडलिङ गरिसकेकी छन्। 'साइँली, कल्ले देख्यो र?, तिमीलाई हेर्ने बानी पर्यो' सनिशामा हिट म्युजिक भिडिओहरू हुन्। पछिल्लो समय चर्चामा रहेको गीत 'ए आमा जाम भन्यो मलाई' मा सनिशा गायक एवं अभिनेता प्रकाश सपुतसँग प्रस्तुत छिन्।
सनिशाले करिअर सुरू गरेको छोटो समयमै फिल्ममा पाइला चालिसकेकी छन्। यतिबेला उनी फिल्म '१२ गाउँ' को छायांकनमा व्यस्त छिन्। अभिनेता विराज भट्टको निर्माण एवं निर्देशन रहेको फिल्ममा सनिशाले शीर्ष अभिनेत्रीको भूमिकामा अभिनय गर्दैछिन्।
त्यस्तै, कुसुमले पनि 'सकम्बरी' पछि दर्जनौं भिडिओमा मोडलिङ गरेकी छन्। उनका अन्य हिट गीतमा 'मुटु कटक्कै, जानी मायाले, धोकेबाज ३' लगायत छन्। कुसुमले पनि फिल्ममा अभिनय गरिसकेकी छन्। मिलन चाम्स निर्देशित फिल्म 'वर एन्ड बधू' मा उनी महत्वपूर्ण भूमिकामा देखिँदैछिन्।
कुसुमले अभिनेता आर्यन सिग्देलसँग अभिनय गर्ने तयारीका साथ साइन गरेको फिल्म ‘सञ्जिवनी’ को भने छायांकन सुरू हुन सकेको छैन।