गायक एवं सर्जक प्रकाश दुतराजले सोमबार राति सार्वजनिक गरेको गीत हो– करिम।
लामो समय लगाएर गीत ल्याउने र मौलिकतालाई प्राथमिकता दिने भएकाले पनि उनका सिर्जनाहरूले स्रोता–दर्शकको माया पाउँदै आएका छन्। यसअघि उनले ६ महिनाअघि ल्याएको गीत 'रिमै' ले अहिलेसम्म झन्डै ४ करोड भ्युज पाइसकेको छ।
सोही गीतपछि प्रकाशले अहिले ल्याएको 'करिम' ले पनि प्रारम्भिक चरणमा राम्रो भ्युज पाइरहेको छ। यद्यपि, यसपटक प्रकाशको गीतलाई लिएर प्रशंसासँगै कतिपयले आलोचना समेत गरेका छन्।
'करिम' गीतमा प्रकाशले बादी समुदायका महिलाको पीडा र बाध्यतालाई उठान गरेका छन्। यो समुदायका महिला तथा बालिकाले बाध्यताले यौन व्यवसायमा लाग्नु परेको कथाव्यथा भिडिओमा देख्न सकिन्छ। जसलाई लिएर गीतको आलोचना समेत सुरू भएको छ।
सुनिता परियारले गीतले नेपाली समाजलाई पुरानै स्थितिमा लिन खोजेको र बादीहरू जती पढे लेखे पनि देहव्यापारी हुन् भन्ने भाष्यलाई निरन्तरता दिन खोजेको आरोप लगाएकी छन्।
सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले भनेकी छन्, 'यस प्रकारका दृष्यहरू निर्माण गर्नु बादी जातीलाई अझै सयौं वर्ष त्यही भूमरीमा धकेल्नु होइन र?'
उनले अगाडि लेखेकी छन्, 'त्यही भूमरीमा हुर्केर, बढेर र पढेर सक्षम भएका बादी युवाहरू जति पनि पाउनु हुन्छ। उनीहरूको जीवनको बारेमा अध्ययन खै? केवल बादी महिलाको देहलाई व्यापार गर्ने मनोविज्ञानबाट प्रेरित नहुनुहोस्।'
सुनिता नेपालीले पनि फेसबुकमा स्टाटस लेख्दै गीतमा गायकले बादी समुदायलाई गलत तरिकाले प्रस्तुत गरेको बताएकी छन्। उनले भिडिओका केही दृश्यहरू तत्काल हटाउन समेत अनुरोध गरेकी छन्।
'करिम' लाई लिएर आलोचना समेत सुरू भएपछि प्रकाशले गीतमा प्रस्तुत गरिएका कथा एवं दृश्यहरू करिब २/३ सय वर्षअघि भए गरेका घटनाहरूमा आधारित रहेर बनाइएको बताएका छन्।
उनले मंगलबार बेलुका युट्युब प्रतिक्रियामा लेखेका छन्, 'आजभोलि यो कुराहरू धेरै हराइसकेको छ। प्रस्तुत समुदायका छोरीचेलीहरू आधुनिकतासँगै परिवर्तनशील भइ विभिन्न क्षेत्र तथा देश–विदेशका विभिन्न ठाँउहरूमा रही आफ्नै मेहनतले जीवन चलाइरहनु भएको सुन्न र देख्न पाउँछौं।'
प्रकाश दुतराज आफ्नो गीतलाई लिएर पहिलो पटक विवादमा परेका हुन्। केही आलोचना आएपनि समग्रमा भने गीतको शब्द, संगीत, गायनसँगै भिडिओ मेकिङमा मेहनत देखिएको भन्दै प्रशंसा मिलिरहेको छ।
'करिम' गीतमा प्रकाशसँगै शान्तिश्री परियारको स्वर छ। नवीन घर्ती मगरले भिडिओलाई निर्देशन गरेका हुन्।