गायक चिज गुरुङको गीत विवाद सहमतिमा टुंगिएको छ। उनले गत महिना आफ्नो युट्युबमा सार्वजनिक गरेको गीत 'हावा सरर' विवादमा तानिएको थियो।
उक्त गीत २०५० सालमा रेडियो नेपालमा रेकर्ड भएको चर्चित गीत 'छोडेर आए म' सँग मिल्दोजुल्दो भएको भन्दै गायक राजेन्द्र लम्सालका छोरा तथा कलाकार सागर लम्साल 'बले' ले आपत्ति जनाएका थिए।
कृष्ण उजाड पौडेलको संकलन एवं संगीत रहेको 'छोडेर आए म' मा राजेन्द्रसँगै नारायण रायमाझीले स्वर दिएका थिए।
गीत हुबहु मिलेको भन्दै सागरले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ध्यानाकर्षण गराउँदै निवेदन समेत दिएका थिए।
प्रतिष्ठानको रोहवरमा शुक्रबार भएको दुई पक्षबीचको छलफलपश्चात सहमति भएपछि विवाद मिलेको हो। प्रतिष्ठान अध्यक्ष रीता थापा मगर, पूर्व अध्यक्ष चन्द्र शर्मा, बद्री पंगेनी, सल्लाहकार नारायण रायमाझीसहितको उपस्थितिमा दुई पक्षबीच छलफल भएको थियो। त्यसक्रममा गायक चिजले संयोगले गीतको भाका मिल्न गएको बताएका थिए।
'गीतमा भाका (लय) जुधेको विषय थियो। त्यसलाई परिमार्जन गरी पुनः प्रकाशन गर्ने सहमतिसँगै उहाँहरूबीचको विवाद मिलेको छ,' प्रतिष्ठानका उप–महासचिव शिरीष देवकोटाले भने।
कलाकार सागर लम्सालले पनि गीतको भाका परिवर्तन गर्ने सहमतिसँगै विवाद मिलेको बताए।
अब चिजले उही शब्दमा भाका परिमार्जन गरेर सो गीत रेकर्ड गर्नेछन्। त्यसमा अहिलेकै भिडिओ कायम रहनेछ। परिमार्जित गीत आएसँगै अहिलेको गीत डिजिटल प्लेटफर्मबाट हट्ने जनाइएको छ।