अर्चना थापा मुलतः पुस्तक सम्पादक, समालोचक र लेखक हुन्। 'टेलिङ अ टेल', 'स्वअस्तित्वको खोज' जस्ता पुस्तकका सम्पादक थापाको पहिलो कथासंग्रह 'कठपुतला' हालै सार्वजनिक भएको छ। यसै किताबको सेरोफेरोमा रहेर सेतोपाटीले केही प्रश्न सोधेको थियो।
कठपुतली शब्द चल्तीमा थियो, तर तपाईंको कथासंग्रहको नाम त ‘कठपुतला’ पो छ। किन यो नाम छान्नुभयो र कसरी ?
कहिलेकाहीँ लाग्छ, नेपाली शब्दकोशमा संकलित शब्दहरु सर्वपक्षीय मनोभाव, दृष्टिकोण र चेतना अभिव्यक्त गर्न अपुग छन्। त्यही सीमित शब्दहरुको निरन्तरताले गर्दा अर्थहरु ‘क्लिषे’ हुँदै अन्ततः खुम्चिएर संकुचित हुँदै जान्छन्। कठपुतलीको अर्थ काठको पुतली हो, जो अरुको निर्देशनमा नाच्छे। अर्को अर्थमा भन्दा कठपुतली अरुबाट निर्देशित हुन्छे, किनकि उसको आफ्नो ‘एजेन्सी’ हुँदैन। हाम्रा परम्परागत शास्त्रहरुमा महिलालाई परनिर्भर अस्तित्व भनेर व्याख्या गरेको हुनाले कठपुतली शब्द स्वाभाविक लागेको हुनसक्छ। संस्कृतका विद्वान व्याकरण शास्त्री पाणिनी रचित अष्टाध्यायीको नाट्यशास्त्रमा ‘पुतला नाटक’ भनेर पुतला शब्दको प्रयोग गरिएको छ रे। मैले पढेकी छैन, तर पुतला अथवा कठपुतला शब्द नेपाली शब्दकोशमा किन छैन भन्ने प्रश्न मनमा थियो। सायद शब्द(ज्ञान(राजनीतिको कारण पनि यो शब्द शब्दकोशमा छैन। हाम्रा वैदिक संहिताहरुमा सर्वशक्तिमान ईश्वरको परिकल्पना पुलिंगमा गरिएको छ। त्यसैको प्रभावले होला, हिजोआज प्रचलनमा रहेका शब्दहरु ‘सुपरम्यान’, ‘हि-म्यान’, ‘महानायक’, ‘लौह पुरुष’, ‘महामानव’ जस्ता शब्दावली सबैलाई स्वाभाविक लाग्छन्। तर यी प्रचलित शब्दहरुले पुरुषपक्षीय ज्ञान प्रवद्र्धन गरेर पुरुषप्रति नै हिंसा गरेका छन्। किनकि पितृसत्तात्मक वैचारिकीले सबै पुरुषमाथि ‘मर्दपन’ र पुरुषार्थको भारी बोकाएको छ। प्रबल पुंसत्वको वैचारिक उत्पीडनले गर्दा पुरुषहरुलाई मन फुकाएर रुने स्वतन्त्रतासम्म छैन। सधैँ ‘सुपरम्यान’को अभिनय गर्दै देशको राजनीति, राष्ट्रियताको चासो र संसारका ठूला समस्याहरु सल्ट्याउनु पर्ने बाध्यता छ। क्षमता भए पनि, नभए पनि ‘महामानव’ र ‘महानायक’ जस्ता देवत्वकरणले गर्दा सम्पूर्ण मर्द-अस्तित्व नै ‘म्याजिक रियलिज्म’को ‘एबसर्ड’ प्रयोग जस्तो बनेको छ। हाम्रो रुढीग्रस्त धार्मिक अभ्यास, भष्टाचारी राजनैतिक परम्परा, पारम्परिक लैङ्गिक विभेदले महिलालाई कठपुतली बनाए जस्तै पुरुषहरुलाई पनि कठपुतला बनाएको छ। पुरुषवादी ज्ञानमिंमासाले पुरुषमाथि नै अन्याय गरेको छ। तसर्थ कठपुतला शब्द प्रयोगमा आउनुपर्छ भन्ने लाग्छ मलाई। साथै कथाको आवश्यकता अनुसार पनि यो शब्द प्रयोग भएको हो।
संग्रहभित्र आठवटा कथा छन्। यी कथा कुन समयमा लेखिएका हुन्?
कथा लेख्छु भनेर सोचेकी थिइनँ। म अङ्ग्रेजी लेखको संङग्रहमा काम गर्दै थिएँ। नजानिदो प्रकारले कथाका पात्रहरु मनमा हुर्किँदै रहेछन्। ती कथाहरुले निश्चित आकार लिँदै गए। हुर्केका पात्रहरुलाई नियन्त्रण गर्न सजिलो थिएन। उनीहरु आफैंले आफ्नो कथा बुन्दै गए र म उनीहरुले भनेका कथालाई कम्प्युटर स्क्रिनमा सँगाल्दै गएँ। यी कथाहरु बीस महिना जतिको अन्तरालमा लेखिएका हुन्।
तपाईं लामो समयदेखि महिला अधिकारबारे बोल्दै आउनुभएको छ। के यी सबै कथाले महिला अधिकारकै कुरा गर्ने हुन्?
म आफूलाई महिला अधिकारको पक्षधर भन्दा पनि लैङ्गिक समानताको पक्षधर भन्न रुचाउँछु। हाम्रो समाजमा विद्यमान रुढिवादी धार्मिक व्याख्या र अभ्यासहरुले गर्दा र संस्कृति र परम्परा धान्ने नाममा फस्टाएका कुरीति र अन्धविश्वासले गर्दा लैङ्गिक हिंसा र लैङ्गिक विभेदहरुलाई सामान्य प्रकारले स्वीकार गर्ने प्रचलन छ। म विभेदीय अभ्यासहरुलाई स्वाभाविक मानेर स्वीकार गर्न सक्दिन। म विभेद र असमानताको बिरुद्ध बोल्छु, लेख्छु। हुनसक्छ, म आफैं महिला भएकी हुनाले महिलाका विषयहरु बारे मैले धेरै लेखेँ, बोलेँ हुँला। तर, म अन्य लैंगिक समुदाय, अल्पसंख्यक र सीमान्तकृत वर्गको सम्मानपूर्ण समान अधिकारको पक्षधर पनि हुँ।
कठपुतलाका कथानकहरु महिला अधिकार र महिला विषयमा मात्रै सीमित छैनन्। संग्रहमा प्रबल पुंसत्व वैचारिकीबाट पिल्सिएका पुरुषहरुको कथा पनि छ। ‘कठपुतला’ यस्तै पुरुष पात्रको कथा हो। त्यस्तै अन्तर्दाह, परकम्पन र विमर्द कथा पनि मर्द(मानसिकताको हिंसामा परेका पुरुष पात्र प्रति छन्।
कथाहरुमा तपाईंले ‘साहित्यमा कम प्रयोगमा आउने पुराना शब्दहरुको पुनरावृत्ति गरेको र ती शब्दले निश्चित र नियन्त्रित अर्थका पर्खाल भत्काउँदै बहुल व्याख्या गर्ने सम्भावना छ’ भन्नुभएको छ। यसलाई उदाहरणसहित बुझाउनुहोस् न।
मैले अघि नै भनेँ, हाम्रो शब्दकोशमा संकलित शब्दहरु हाम्रो (महिला, अल्पसंख्यक र सीमान्तकृतहरुको) भावना, अन्तर्दृष्टी र अनुभवलाई व्यक्त गर्न अपुग छन्। नेपाली साहित्यको अभ्यास पनि पारम्परिक पुरुषपक्षीय ज्ञान, दर्शन र चिन्तनबाट प्रभावित छ। त्यसैले गर्दा फरक वैचारिकी, फरक सत्यहरु र फरक दृष्टिकोण अथवा बहुलदृष्टिकोणलाई प्रष्ट्याउनका लागि साहित्यकारहरुलाई नयाँ शब्द र नयाँ अर्थको आवश्यकता हुन्छ। समय परिवर्तनशील भए जस्तै भाषा पनि परिवर्तनशील हुन्छ। त्यही शब्दहरुको अत्यधिक प्रयोगले गर्दा ती शब्दका अर्थ पनि संकुचित हुँदै जान्छन् र अर्थमा भ्वाङ पर्न थाल्छ। संकुचित अर्थले गर्दा कथाको बहुलव्याख्याको सम्भावना कम हुन्छ। उदाहरणका लागी, कठपुतला संग्रहमा रहेको अर्को कथाको शीर्षक ‘विमर्द’ हो। यो शब्द संस्कृतबाट लिएकी हुँ। यस शब्दको बहुल अर्थ छ, संहार, संघर्ष, असहमति, सीमा उल्लघंन, अथवा अतिक्रमण। उल्लेखित बहुल अर्थमा पनि अलि नकारात्मक भाव छ। कथामा ‘विमर्द’को अर्थ सकारात्मक रुपमा प्रयोग भएको छ। अर्को कथाको शीर्षक ‘विवस्त्र’ पनि त्यस्तै हो। कथामा रहेका अरु थुप्रै शब्दहरु कथा भन्नलाई मात्रै प्रयोग गरिएका होइनन्। कुनै पाठकलाई क्लिष्ट लागे पनि ती शब्दहरुको प्रयोगमा प्रयोजन छ।
ग्लोबल ल्याङगवेज मनिटरका अनुसार प्रत्येक वर्ष विश्वभरीका भाषामा लगभग ५,४०० नयाँ शब्दहरु प्रयोगमा ल्याइन्छ र विभिन्न भाषाका शब्दकोषहरुमा ती शब्दहरुको समायोजन गरिन्छ। हामीलाई मात्रै नेपाली शब्दकोशको सीमित शब्दहरुमा आफ्नो भावना व्यक्त गर्नु पर्ने बाध्यता किन? मलाई लाग्छ, नेपालका अन्य भाषाका लेखकहरुले पनि एकपक्षीय ज्ञान, तर्क, अर्थ र व्याख्यालाई विस्थापित गर्दै बहुलज्ञान, बहुलतर्क र बहुलअर्थको सम्भावनालाई निम्त्याउँदै नेपाली साहित्यको फाँटलाई फराकिलो बनाउँदै जानु पर्छ।
आठवटा कथामध्ये आफैंलाई सबैभन्दा चित्त बुझेको कथा कुन हो र किन ?
आफूले लेखेको कथामा सबै राम्रो। चित्त नबुझेको भए संङ्ग्रहमा ठाउँ पाउँदैन थिए। कुन सबैभन्दा राम्रो भनेर सोध्दा ‘आफ्नो बच्चाहरु मध्ये कुनलाई सबै भन्दा बढी प्रेम गर्छौं’ सोधे जस्तै हो। यो प्रश्नको उत्तर मसित छैन। यसको उत्तर पाठकहरु सित हुन्छ जस्तो लाग्छ।
कथामा केही नयाँ प्रयोग गर्नुभएको छ ?
कथाको आख्यान वृतान्तमा प्रयोग छ। शब्दको पारम्परिक अर्थलाई विचलित गर्ने प्रयासले गर्दा फरक अर्थको सम्भावनालाई पनि सघाउ पु¥याओस् भन्ने चाह पनि थियो। नयाँ प्रयोगको कुरा गर्ने हो भने ‘सत्य’ कथालाई पढदा हुन्छ। त्यस कथाको पात्रको कथा भन्ने शैलीमा लुकेका ‘लुपहोल’लाई समात्न सकेन भने त्यो कथाको आयाम अर्कै हुन्छ। तर पाठकले ती ‘लुपहोल’लाई बुझ्न सके भने त्यो कथा फरक प्रकारले बुझिन्छ। कथामा रहेका बहुलआयामको सम्भावनाले गर्दा सबै पाठकले कथाको मर्म एकै हिसाबले नबुझुन् भन्ने आसय हो। अरु कुराहरु त पाठकबाट आउँछ भन्ने अपेक्षा छ।
आठवटा कथामध्ये कुनै एक कथा लेख्दाको क्षण, जुन तपाईं बिर्सनै सक्नुहुन्न।
कथा संग्रहको अन्तिम कथा ‘सेतो बास्ना’को लेखन दौरानमा म निकै दिन निराश रहेँ। अहिले सम्झँदा सायद लेख्ने दौरानमा म डिप्रेसनमा गए जस्तो लाग्छ किनकि लामो समयसम्म म घरबाट निस्किइन र कसैसित भेटघाट पनि गरिन। कथा सार्है ‘डार्क’ भयो भन्ने पनि लाग्यो। तर जे जति गर्दा पनि कथामा सुखद परिवर्तन गर्न सकिन। ‘सेतो बास्ना’ लेखिसकेपछि केही हप्तासम्म कथा लेख्न र पढन सम्म मन लागेन।
कथासंग्रहको लक्षित पाठक को हुन्?
प्रत्येक लेखकको इच्छा हुन्छ, मेरा पुस्तक सबैले पढुन्। तर पनि भन्नुपर्दा, साहित्यलाई मनोरञ्जनको साधन मात्रै नमान्ने सबै विचारशील पाठकहरु मेरा लक्षित पाठक हुन्। बिशेषगरी ती पाठकहरु, जसले कथाका पंक्तिहरुमा लुकेका प्रतिध्वनी पनि सुन्न र बुझ्न सक्छन्। ती पाठकको हातमा कठपुतला पुगोस् भन्ने चाह छ।