पर्दा पछाडिको हिरो
प्रविधिको विकाससँगै संगीत क्षेत्रमा पनि बदलाव आयो। बिक्रम सम्वत् ५० र ६० को दशकमाजस्तो सिडी–क्यासेट बोकेर हिँड्ने चलन लोप नै भयो। गीतहरू डिजिटल प्लेटफर्ममा सार्वजनिक हुन थाले।
युट्युबसहित नयाँ–नयाँ प्लेटफर्ममा अद्यावधिक हुनेको आम्दानी बढ्दै गइरहेको छ। नेपाली कला क्षेत्रमा त्यस्ता थुप्रै कलाकार छन्, जो अहिले युट्युबबाट मात्र नभई अन्य डिजिटल प्लेटफर्मबाट पनि राम्रो आम्दानी गर्छन्।
यो कथा त्यसरी आम्दानी गर्ने कुनै कलाकारको भने होइन।
एक जना यस्ता प्रविधि विज्ञको कथा हो, जो कलाकारहरूलाई यस्ता डिजिटल प्लेटफर्मबाट आम्दानी गर्न सघाउँछन्। कतिपयका त उनी पथप्रदर्शक नै हुन् भन्दा फरक पर्दैन।
उनकै सल्लाह–सुझाव अनुसार चल्दा कतिपय कलाकारको आम्दानीले गुणात्मक फड्को मारेको छ। आर्थिक रूपमा सबल बनेका छन्। सफलताले लय समातिरहेको छ।
यी सारथि हुन् राजेन्द्र अर्याल।
राजेन्द्र खासगरी संगीत क्षेत्रका कलाकारको सामाजिक सञ्जाल (सोसल मिडिया) सल्लाहकारका रूपमा काम गर्छन्। त्यसमा पनि युट्युब च्यानल र अडिओ प्लेटफर्म व्यवस्थापन गर्न सघाउनु उनको मुख्य काम हो।
कतिपयले गीत वा म्युजिक भिडिओको आम्दानीको मुख्य स्रोत युट्युब मात्र होला भनेर बुझ्न सक्छन्। तर अडिओ मात्रै राखेर आम्दानी गर्न सकिने प्लेटफर्महरू थुप्रै छन्। स्पटिफाई, युट्युब म्युजिक, अमेजन, आइट्युन्स जस्ता प्लेटफर्मबाट पनि कलाकारले कमाइ गर्न सक्छन्। टिकटक, फेसबुकले पनि सर्जकको खातामा आम्दानी पठाइराखेकै हुन्छन्।
कलाकारलाई आफ्नो सिर्जना कुन कुन डिजिटल प्लेटफर्ममा राख्दा राम्रो हुन्छ, त्यहाँसम्म पुर्याउने प्रक्रिया के हो, त्यसबाट आम्दानीको दायरा कसरी बढाउन सकिन्छ भन्ने जस्ता कुरामा अलमल हुन सक्छ। यस्तै काममा राजेन्द्रले बाटो देखाउने काम गरिरहेका छन्।
'कतिपय अवस्थामा युट्युबको ड्यासबोर्ड बनाउने, त्यसको व्यवस्थापन तथा सुरक्षा गरिदिने, करको फारम भर्न, आम्दानीको रकम निकाल्न सहयोग गरिदिन्छु,' उनले भने।

एउटा सजर्कको गीत अरू कसैले अपलोड गर्यो वा कभर भिडिओ बनायो भने त्यसको आन्दानी समेत फर्काएर ल्याउन उनले सहयोगीको भूमिका खेलिदिन्छन्। जसले गर्दा कसैको रचनाको अनधिकृत आम्दानी अर्कोको खातामा पुग्न पाउँदैन।
यसबाहेक कपीराइट 'स्ट्राइक' गर्न, कानुनी कुरामा सल्लाह दिएर कागजात तयार पार्न, रचनाहरूलाई डिजिटल आर्काइभ गर्न पनि सघाउँछन्। कसैलाई त्यस्तो सेवा चाहिए परामर्श पनि दिन्छन्।
पछिल्लो समय कलाकारको युट्युब, फेसबुक लगायत सामाजिक सञ्जाल ह्याक भएका खबर सुनिन्छन्। ह्याकरले खाता आफ्नो वशमा लिएर अवाञ्चित सामग्री हालिदिन्छन्। यस्तो समस्या आउन नदिने र आइहाले समाधान गरिदिने 'सुरक्षाकर्मी' पनि हुन् राजेन्द्र।
उसो त यस्ता कुरामा कलाकारहरू स्वयं पनि जानकार हुन सक्छन्। तर यस्ता कुराको हैरानी र बोझ धेरै बोक्दा उनीहरूको सिर्जनात्मकतामा ह्रास आउन सक्छ।
'मकहाँ आउने कतिपय कलाकारहरू यसै भन्नुहुन्छ। अनेक व्यवस्थापन र प्राविधिक पाटो आफै हेर्दा सिर्जना शक्ति घट्दो रहेछ, यसका लागि तपाईंजस्तै प्राविधिक पाटोमा सघाउने मानिस चाहिँदो रहेछ भन्नुहुन्छ,' राजेन्द्रले भने।
राजेन्द्र अहिले प्रकाश सपूत, बद्री पंगेनी, खेम सेञ्चुरीदेखि, शान्तिश्री परियार, समीक्षा अधिकारी लगायत कलाकारका प्राविधिक सल्लाहकारका रूपमा काम गरिरहेका छन्। उनी आफूले व्यवस्थापन गरिरहेका युट्युब च्यानल, सामाजिक सञ्जालका एकाउन्ट लगायतको सुरक्षाप्रति हरबखत चनाखो रहन्छन्। त्यस्तै त्यसबाट आम्दानी र स्रोता–दर्शक कसरी बढाउने भनेर पनि काम गर्छन्।
यसरी कलाकारहरूलाई पैसा कमाउन सघाइरहेका राजेन्द्र 'पर्दा पछाडिका हिरो' मानिन्छन्। अंग्रेजीमा स्नातकोत्तर गरेका उनी माइक्रोसफ्ट सर्टिफाइड प्रोफेसनल हुन्।
'सालको पातको टपरी', 'बोल माया' देखि 'अरेली काँडैले', 'कश्मिरे पछ्यौरी' हुँदै 'ढलेँ ढलेँ' सम्मका दर्जनौं गीतमा उनी प्राविधिक सल्लाहकारका रूपमा जोडिएका छन्। यी गीतलाई करोडौं स्रोता–दर्शकसम्म पुर्याउन उनको भूमिका छुटाउन मिल्दैन।
सूचना–प्रविधिको बाटोमा सर्जकहरूको सारथि बनिरहेका राजेन्द्रले यो काम गरौंला भनेर चाहिँ कहिल्यै सोचेका थिएनन्।
उनी पश्चिमी सिन्धुपाल्चोकको थकनीमा जन्मिएका हुन्। उनको गाउँ सानो मुसुरेबाट काठमाडौंतर्फ पाइला सोझ्याएकाहरू कि सेनामा भर्ती हुन्थे, कि होटल तथा औषधिको थोक बिक्रीतिर काम गर्थे।
उनले सोचेका थिए — मेरो पनि बाटो त्यतै हो। मैले पनि त्यसमै भविष्य खोज्नुपर्छ।
'काठमाडौं आएपछि मेरो बाटो मोडियो। कम्प्युटर इन्स्टिच्युटमा काम गर्न थालेँ। कम्प्युटर सिक्ने अवसर पनि पाएँ,' उनले भने।
कम्प्युटरभित्रको दुनियाँले उनमा बेग्लै अभिप्सा जगाइदियो। विभिन्न तालिम लिएर आफ्नो ज्ञान, सीप र क्षमता मस्काउँदै गए। बिस्तारै कम्प्युटर मर्मतको क्षेत्रमा पनि हात हाले। यसले उनको जीविकालाई केही सहज बनाइदियो।
यहीबीच उनले म्युजिक भिडिओ सम्पादन र एरेन्जका लागि आवश्यक सफ्टवेयरको किनबेच र सेटअपको काम पनि गरे। त्यसले उनको संगत कलाकार र सर्जकसँग गराइदिन थाल्यो।
'त्यति बेलासम्म कलाकारहरूले आफ्नै युट्युब च्यानल खोल्न थालेका थिएनन्। उनीहरू विभिन्न कम्पनीका युट्युब च्यानलमै आफ्ना सिर्जना अपलोड गर्थे। कम्पनीले दिएको रकममै चित्त बुझाउनुपर्थ्यो,' उनले भने, 'आफै च्यानल खोलेर कमाउन सकिन्छ भन्ने भन्ने विश्वास भइसकेको थिएन।'
राजेन्द्रले भने एकाध युट्युब च्यानल बनाउने काम गरिसकेका थिए।
एक दिन लोकदोहोरी म्युजिक भिडिओका चल्तापुर्जा निर्देशक प्रकाश भट्टले राजेन्द्रलाई भने, 'एक जना व्यक्तिलाई भेट्न जाऔं। अब हाम्रो पनि युट्युब च्यानल बनाउनुपर्यो। ३० हजार जति खर्च लाग्छ रे!'
प्रकाशलाई राजेन्द्रले नै युट्युब च्यानल खोलिदिन्छन् भन्ने थाहा रहेनछ। राजेन्द्रले यो त सामान्य कुरा हो भनेपछि प्रकाश उत्साहित भए। सन् २०१५ ताका प्रकाश भट्टको साई भिजन र गायिका सम्झना लामिछाने मगरको युट्युब च्यानल बनाउन राजेन्द्रले सघाए।
'त्यस बेला प्रकाश सर एकदमै स्थापित हुनुहुन्थ्यो। उहाँको च्यानल बनाउनेबित्तिकै मनिटाइज भइहाल्यो। आम्दानी पनि हुन थाल्यो। त्यसपछि लोकदोहोरी कलाकारहरूले आफ्नै च्यानल खोल्ने ट्रेन्ड नै सुरू भयो,' राजेन्द्रले सम्झिए।
पहिले म्युजिक कम्पनीलाई गीत दिने सर्जकहरूले पनि बिस्तारै आफ्नै च्यानलमा हाल्न थाले। यो क्रम बढ्यो।
राजेन्द्रले पशुपति शर्मा, रामजी खाँड, वसन्त थापा, राजु पौडेल (राजु मास्टर), खेम सेञ्चुरी, शान्तिश्री परियार, रीता थापा मगर लगायतलाई युट्युब च्यानल खोल्न, भिडिओ अपलोड गर्न सघाए। बिस्तारै फेसबुकमा ब्लुटिक, पेज भेरिभाइ, डिजिटल प्लेटफर्ममा अपग्रेड गर्ने काममा सघाउन थाले। उनको व्यस्तता बढ्यो।
यति बेलासम्म उनी विभिन्न कर्पोरेट हाउसहरूमा सिस्टम एड्मिनिस्ट्रेटरका रूपमा पनि काम गर्दै थिए। कोरोनापछि भने अरू काम छाडेर कलाकारहरूको डिजिटल प्लेटफर्म सल्लाहकारकै रूपमा बढी समय दिइरहेका छन्।
'अहिलेसम्म ६ सय जनाभन्दा बढी कलाकारहरूसँग प्रत्यक्ष जोडिएको छु,' उनले भने, 'म पनि कलाकारहरूसँगै अपग्रेड भएँ जस्तो लाग्छ। मैले आजसम्म यो काम गर्छु भनेर कसैलाई भन्नुपरेको छैन। काम गरेका कलाकारहरूले नै भन्दै जाँदा अरू जोडिँदै जानुभयो।'

पछिल्लो समय कलाकारहरूले आफ्नै च्यानल तथा डिजिटल प्लेटफर्म खोलेकोमा उनी खुसी छन्।
राजेन्द्र यो क्षेत्रमा लाग्दै गर्दा कलाकारहरूमा डिजिटल प्लेटफर्मप्रतिको बुझाइ परिपक्व थिएन। पछिल्ला वर्ष भने युट्युबसहित अन्य प्लेटफर्ममा गीत राखेर आम्दानी गर्ने सर्जक तथा कलाकारहरू बढेको उनी बताउँछन्।
'अहिले डिजिटल प्लेटफर्मप्रति कलाकारहरू पहिलेभन्दा धेरै जानकार हुनुहुन्छ। तर जति हुनुपर्ने हो, त्यो चाहिँ अझै भइसकेको छैन जस्तो लाग्छ,' उनले भने, 'यस्ता प्लेटफर्म प्रयोग गरेर नेपाली संगीतलाई अझ धेरै मानिसमाझ पुर्याउन सकिन्छ। आम्दानी पनि राम्रो हुन सक्छ।'
अहिले चल्यो भने एउटै सिर्जनाबाट पनि करोड रूपैयाँ कमाउन सक्ने अवस्था रहेको उनी बताउँछन्।
उनले कलाकार राजु पौडेल (राजु मास्टर) सँगको एउटा किस्सा सुनाए।
सन् २०१८ ताका राजेन्द्रले राजुको युट्युब च्यानल खोल्न सघाएका थिए।
केही वर्षअघि राजुले भिडिओ कल गरेर आफ्नो घर देखाउँदै भनेछन्, 'यो तपाईंले बनाइदिएको हो।'
'डिजिटल प्लेटफर्मबाट आएको पैसाले बनाएँ भनेर घर देखाउनुभएको थियो। कलाकारहरूले यसरी सम्झिँदा एकदमै खुसी लाग्छ,' उनले भने।
राजुले पनि आफूलाई युट्युब लगायतका डिजिटल प्लेटफर्मबारे सिकाउने पहिलो व्यक्ति राजेन्द्र भएको बताए।
'उहाँसँग नजोडिएको भए हामीले आफ्नै च्यानलमा सिरियल नल्याएर एजेन्सीको भरमा अल्झिरहेका हुन सक्थ्यौं। उहाँले आफ्नै च्यानलका लागि काम गर्नुपर्छ भनेर सिकाउनुभयो। च्यानल खोलिदिनुभयो। अहिले एकदमै राम्रो छ,' राजुले भने, 'सिरियलमा धेरैलाई रोजगारी दिन सकेका छौं। यसको पहिलो श्रेय उहाँलाई नै जान्छ। उहाँ हाम्रो लागि आफ्नै घरमा, आफ्नै बारीमा पैसा फल्ने रूख रोपिदिने व्यक्ति हो।'
अर्का सर्जक कस्तुप पन्त पनि राजेन्द्रलाई बेलाबेला भनिरहन्छन्, 'अहिले नै पेन्सन पाउन थालेजस्तो भइरहेको छ।'
कस्तुपका २/३ सय गीत डिजिटल प्लेटफर्ममा छन्। कतिपय गीत पछि पनि हिट भइरहेका हुन्छन्।
'ती सिर्जनाबाट पैसा आइरहेको हुन्छ। अधिकृतको पेन्सन जस्तो भन्नुहुन्छ,' राजेन्द्रले सुनाए।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर धेरै कलाकारलाई डिजिटल बजारमा जोड्नमा राजेन्द्रको अहम् भूमिका रहेको बताउँछिन्।
'लोकदोहोरी क्षेत्रका धेरै कलाकारहरू कुन कुन डिजिटल प्लेटफर्मबाट कसरी आम्दानी गर्न सकिन्छ भन्नेबारे राम्रोसँग जानकार थिएनौं। उहाँले आम्दानीको बाटोबारे बुझाउनुभयो। खटेर काम गरिदिनुभएको छ। हाम्रो क्षेत्रमा उहाँले ठूलो गुण लगाउनुभएको छ,' उनले भनिन्।
कतिपय कलाकार यसअघि डिजिटल प्लेटफर्ममा ठगिइरहेको अवस्था समेत रहेको भन्दै रिताले राजेन्द्रसँग जोडिएपछि त्यो अवस्था नरहेको बताइन्। प्राविधिक पाटोको काम ढुक्क भएर जिम्मा दिने अवस्था हुँदा कलाकारहरू स्टेज र रेकर्डिङमा निर्धक्क भएर लाग्न पाएको उनको भनाइ छ।
पछिल्लो समय कलाकारहरूले प्राविधिक कामप्रतिको महत्त्व बुझेकामा राजेन्द्र धेरै खुसी छन्। उनलाई कलाकारहरू आफै बुझेर कामको सम्मान गर्दै पारिश्रमिक दिन्छन्। कतिपय कलाकारहरू डिजिटल आम्दानीको निश्चित प्रतिशत समेत दिने गरी जोडिएको राजेन्द्रले बताए।
'पैसाभन्दा पनि सम्बन्ध पाएको छु। कलाकारहरूको माया पाएको छु। त्यही ठूलो लाग्छ,' उनी भन्छन्, 'म जोडिएका ६/७ सय जना कलाकार खुसी हुनुहुन्छ। कतिपयले देश–विदेशमा प्रस्तुति दिएर आउँदा कोसेली, सौगात ल्याइदिनुहुन्छ। यही नै आफ्नो जीवनको कमाइ हो जस्तो लाग्छ।'