फेसन र पप सँगसँगै कोरियन सिरिज पनि हिजोआज संसारभरि ट्रेन्डिङमा छ।
म कोरियन सिरिजको जबर्जस्त फ्यान हुँ। कोरियन सिरिज खासै नहेर्ने साथीहरू कुनबाट सुरू गरौं भनेर मलाई सोधिरहन्छन्। म सबैलाई एउटै जबाफ दिन्छु — स्क्वीड गेम।
यसको कारण, स्क्वीड गेम अरू कोरियन सिरिजभन्दा फरक छ। सामान्यतया कोरियन सिरिज भन्नेबित्तिकै प्रेमकथा भन्ने बुझिन्छ। प्रायः त्यस्तै हुन्छन् पनि। कतिपयमा त हिन्दी सिरियलभन्दा बढ्ता मेलोड्रामा हुन्छ। स्क्वीड गेममा भने मेलोड्रामा छैन। केटा र केटीको भावुक प्रेमकथा छैन। पारिवारिक झमेलाको कथा पनि होइन।
यो पूर्ण रूपमा थ्रिलर सिरिज हो, जसको पहिलो सिजन तीन वर्षअघि रिलिज भएको थियो।
त्यति बेला यो सिरिजले संसारभरि धूम मच्चायो। हुन पनि पहिलो सिजनका ९ एपिसोडमध्ये कुनै पनि अल्छीलाग्दो छैन। हरेक दृश्यले मुटुको धड्कन बढाउँछ। अब के होला भन्ने खुल्दुलीले एक सेकेन्ड रोकिन मन लाग्दैन। हरेक एपिसोडको अन्त्य यस्तरी हुन्छ, तुरून्तै अर्को एपिसोड नहेरी चित्तै बुझ्दैन।
समीक्षकहरूले मनपराएको र दर्शकबाट समेत वाहवाही पाएको त्यही स्क्वीड गेमको दोस्रो सिजन दुई साताअघि रिलिज भयो। दुवै सिजन नेटफ्लिक्समा हेर्न पाइन्छ।
के दोस्रो सिजन पनि पहिलो जत्तिकै राम्रो छ? पहिलो सिजन हिट हुनुको कारण के थियो?
यो स्टोरीमा म यिनै दुइटा विषयमा चर्चा गर्नेछु।
पहिला कुरा गरौं, स्क्वीड गेममा त्यस्तो के थियो, जसले यसलाई संसारभरि 'हट केक' बनायो।
मेरो विचारमा यो सिरिज हिट हुनुको एउटा मुख्य कारण त समय नै हो। सन् २०२१ सेप्टेम्बरमा जति बेला पहिलो सिजन रिलिज भयो, त्यति बेला संसारलाई कोरोना महामारीको डरले छाडेको थिएन। मान्छेहरू लकडाउनमा घरभित्र थुनिएर बस्दा बस्दा वाक्क भएका थिए। लकडाउनकै कारण सिनेमा हलहरू बन्द भएकाले घरमै बसेर इन्टरनेटमा फिल्म हेर्ने चलन बढेको थियो। नेटफ्लिक्स, अमेजन प्राइम लगायत साइटमा मान्छेको रूचि बढ्दै थियो।
यसरी सिनेमा हलबाट अनलाइन फिल्म हेर्ने चलन बढिरहेकै बेला रिलिज भएको स्क्वीड गेमले एकैचोटि संसारभरका दर्शकलाई तान्यो।
यो सिरिजमा विभिन्न किसिमका खेल खेलाइन्छ। खेलमा ४५६ जना सहभागी हुन्छन्। यी खेलहरू कति डरलाग्दा छन् भने हरेकचोटि जो हार्छ, उसको ज्यान जान्छ। खेलमा हार्नुको मतलब नै ज्यान गुमाउनु हो। तर जो विजयी हुन्छ, उसले करोडौं रूपैयाँ जित्छ।
यही क्रममा खेलाडीहरू जति अगाडि बढ्दै जान्छन्, मृत्यु हुनेको संख्या थपिँदै जान्छ। कतिपय खेलमा पराजित हुनेलाई रातो रङको लुगा र कालो मास्क लगाएको मान्छेले गोली हानेर मार्छन्। कतिपय खेलमा एउटा अटोमेटिक गुडियाले गोली हान्छ।
अनलाइन सिरिजमा यस्तो विषय कमै हेर्न पाइन्छ। त्यसैले यसले कोरिया मात्र होइन, नेपालदेखि अमेरिकासम्मका दर्शकको मन जित्यो।
यति मात्र होइन, सिरिजले देखाएको विषयवस्तुले समीक्षकहरूको प्रशंसासमेत पायो। न्यूयोर्क टाइम्स लगायत संसारका ठुल्ठूला मिडियाले स्क्वीड गेमले झल्काएको कोरियाको अर्थ-राजनीतिबारे चर्चा गरेका थिए।
कोरिया बाहिरबाट हेर्दा चमकधमक छ। हाम्रै देशबाट पनि वैदेशिक रोजगारका लागि युवाहरू ठूलो संख्यामा कोरिया जान्छन्। हरेक वर्ष कोरिया जान भाषा परीक्षा दिनेहरूको लाइन हुन्छ। तर भित्रबाट कोरियाली समाजको आफ्नै पीडा छ। त्यहाँ धनी र गरिबबीच चरम विभेद छ। धनीहरू आकाश छुने महलमा बस्छन्, गरिबहरू भने बर्खामा ढल पस्ने साँघुरो कोठाभित्र अत्यन्तै अभावमा बाँचिरहेका छन्।
स्क्वीड गेमले कोरियाको यस्तै आर्थिक विभेद झल्काउँछ। यसले त्यहाँको पुँजीवादी अर्थतन्त्र र त्यसले ल्याएको आर्थिक-सामाजिक विभेदलाई नाटकीय ढंगमा चित्रण गरेको छ।
सिरिजले भन्छ — यहाँ आममान्छे यति अभाव र बेरोजगारीमा बाँचिरहेका छन्, उनीहरू कमाइको निम्ति ज्यानको बाजी लगाउन पनि तयार हुन्छन्। आर्थिक फाइदाका लागि हरेक पाइलामा मृत्युको सम्भावना बोकेको डरलाग्दो खेलमा सरिक हुन पनि पछि पर्दैनन्।
यो सिरिज आउनुभन्दा केही अगाडि अस्कर जितेको कोरियन फिल्म 'प्यारासाइट' ले पनि यस्तै आर्थिक-सामाजिक अवस्था झल्काएको थियो।
स्क्वीड गेमका निर्देशक हुवाङ दोङ युकले सन् २००९ मै यसको स्क्रिप्ट लेखेका थिए। तर कुनै पनि फिल्म निर्माण कम्पनीले लगानी गर्न रूचि देखाएन। धेरै काटमार र हिंसाको दृश्य भएकाले दर्शकले नपचाउने राय निर्माण कम्पनीहरूको थियो। हुन पनि प्रेम र घरायसी ड्रामाले भरिएका सिरिजले बढी चर्चा कमाइरहेको त्यो समय यसको विषय फरक थियो। फरक विषयमा लगानी गरेर जोखिम मोल्न कसैले चाहेन।
दस वर्षपछि सन् २०१९ मा नेटफ्लिक्सले लगानी गर्न रूचि देखायो।
कालान्तरमा यो यस्तो सिरिज बन्यो, जसले नेटफ्लिक्सकै लोकप्रियता निकै माथि उठायो। नेटफ्लिक्स जसरी संसारभरि अनलाइन फिल्म हेर्ने माध्यम बनेको छ, त्यसमा मुख्य हात 'मनी हाइस्ट' र 'स्क्वीड गेम' कै छ। यी दुई सिरिज हेर्न संसारभरका लाखौं मानिसले नेटफ्लिक्स सबस्क्राइब गरेका थिए।
निर्देशक हुवाङ दोङ युकले स्क्वीड गेमको कथा आफ्नै व्यक्तिगत जीवनबाट प्रभावित भएको बताएका छन्। उनले आफू ऋणमा चुर्लुम्म डुबेका बेला भोग्नुपरेको मानसिक पीडा झल्काउन यो सिरिजको कथा बुनेको जानकारी एक अन्तर्वार्तामा दिएका थिए।
'ऋणमा डुबेका बेला म तुरून्तै पैसा कमाउने उपाय सोच्थेँ। त्यस्तो कुनै खेल होस्, जसबाट पैसा कमाउन सकियोस् भन्ने मेरो कल्पना हुन्थ्यो,' उनले भनेका छन्, 'बरू त्यो खेल जतिसुकै गाह्रो भए पनि म भाग लिन्थेँ र जितेर ऋण चुक्ता गर्थेँ भन्ने सपना देख्थेँ। त्यही सपनालाई मैले कथाको रूप दिएँ।'
यही अनुभवका आधारमा उनले विभिन्न पेसा र व्यवसाय गर्ने व्यक्तिहरू कसरी ऋणमा डुबेका छन् भनेर सिरिजमा देखाएका छन्। सिरिजका सबै पात्र ऋणमुक्त हुन ज्यान दाउमा राखेर खेलमा भाग लिन्छन्।
'ऋणको समस्या दक्षिण कोरियाको मात्र होइन, संसारकै हो। मैले यसमा संसारकै समस्या देखाएको छु,' उनले भनेका छन्।
उनले दोस्रो सिजनमा पनि यही विषयवस्तुलाई निरन्तरता दिएका छन्। फरक यत्ति छ, दोस्रो सिजनले पैसाभन्दा मानवीय संवेदनालाई बढी महत्त्व दिन्छ।
अघिल्लो सिजनमा जो विजयी भएका थिए, उनलाई अब पैसाको कमी छैन। उनको कोठाभरि पैसाको चाङ छ। तर जो जो व्यक्ति उनीसँग खेलमा सरिक थिए, ती कोही पनि अब यो दुनियाँमा छैनन्। ती सबैले खेलकै क्रममा ज्यान गुमाइसके।
यसबाट ती विजयी पात्रलाई अपराधबोधले थिच्न थाल्छ। अरूको प्राणको मूल्यमा आफू धनी भएको उनलाई महसुस हुन्छ। पहिले उनी ऋणले थिचिएर दु:खी थिए, आर्थिक अभावले पिरोलिएका थिए; अहिले ऋणमुक्त भए पनि र आर्थिक अभाव हटे पनि उनलाई सुखचैन छैन।
यहाँबाट कथाले नयाँ मोड लिन्छ।
अघिल्लो सिजनका ती विजयी पात्र अपराधबोधको भारबाट मुक्त हुन के गर्छन्? अथाह धनसम्पत्तिले पनि दिन नसकेको सुखचैन प्राप्त गर्न उनी कुन बाटो अपनाउँछन्?
स्क्वीड गेमको दोस्रो सिजनका सात एपिसोड यिनै प्रश्न वरिपरि घुमेका छन्।
विषयवस्तु र प्रस्तुतिका हिसाबले दोस्रो सिजन अघिल्लोजति दमदार छैन। दर्शकले जुन खालको थ्रिलर अपेक्षा गरेका हुन्छन्, त्यो दोस्रो सिजनमा खासै पाइँदैन। पहिलो तीन एपिसोड त अल्छीलाग्दा नै छन्। कथा एकै ठाउँ रोकिएको महसुस हुन्छ। चौथो एपिसोडबाट बल्ल कथाले गति लिन्छ। तैपनि थ्रिलरको अपेक्षा पूरा हुँदैन।
निर्देशकले यसपालि पनि मुटुको धड्कन बढाउने खालका खेल ल्याएका छन्। तर ती खेलमा पुरानै दृश्य र पुरानै घटनाक्रम दोहोरिएको भान हुन्छ।
यति भन्दाभन्दै हरेक एपिसोडमा केही मोडहरू चाहिँ छन्, जसले दर्शकको खुल्दुली कायम राख्छ।
दु:खद पक्ष चाहिँ, पहिलो सिजन आफैमा एउटा पूर्ण कथा थियो। दोस्रो सिजनमा निर्देशकले पूरा कथा भनेका छैनन्। उनले कथालाई एउटा रोमाञ्चक मोडमा लगेर यसै छाडिदिएका छन् र बाँकी कथा तेस्रो सिजनका लागि बचाएर राखेका छन्।
निर्माण पक्षले तेस्रो सिजनलाई अन्तिम भाग हुने बताएको छ। र, यसका लागि फेरि तीन वर्ष कुर्न नपर्ने बाचा पनि गरेको छ।
धेरै सिरिजहरू हेरेको अनुभवका आधारमा मलाई के लाग्छ भने, प्रायःको पहिलो सिजन धमाकेदार हुन्छ, दोस्रो सिजन फितलो हुन्छ र तेस्रो सिजनमा आएर सिरिजले दमदार कमब्याक गर्छ।
स्क्वीड गेम पनि लगभग त्यस्तै देखिएको छ।
पहिलो सिजन धमाकेदार, दोस्रो फितलो। आशा गरौं तेस्रो सिजनमा दमदार कमब्याक हुनेछ!
***