उनलाई सानो उमेरमै गीतसंगीतमा रूचि थियो। स्कुलमा सांस्कृतिक कार्यक्रम आयोजना हुँदा गीत गाउन र मादल बजाउन अघि सर्थे।
स्कुलका शिक्षक र साथीहरू 'कति राम्रो गाएको' भन्दै प्रशंसा गर्थे। 'गीतसंगीतमै लाग्नुपर्छ है' भन्दै हौसला दिन्थे। उनी फुरूंग हुन्थे। यस्तो हौसलाले उनको रूचि अझै गाढा हुन्थ्यो।
यस्तो पृष्ठभूमिबाट सांगीतिक क्षेत्रमा आए बुटवलका सुरेश सेन्चुरी।
'३२ वर्ष भयो, निरन्तर गीतसंगीतमा सक्रिय छु,' उनले भने।
निरन्तरको साधनाले उनी रूपन्देहीमा स्थापित संगीतकार र प्रशिक्षकका रूपमा परिचित छन्।
सुरेशको पुर्ख्यौली घर पर्वत हो। उनका बुबा श्यामलाल र आमा पवित्रादेवी भारतको गोरखपुरस्थित भारतीय सेनाको पल्टनभित्र सुन पसल चलाउँथे। सुरेश गोरखपुरमै २०२४ सालमा जन्मेका हुन्।
उनी दुई वर्षका छँदा सैनिक पल्टन गोरखपुरबाट अन्यत्रै सारियो। श्यामलाल र पवित्रादेवी छोराछोरीसहित स्वदेश फर्किए। उनीहरू पर्वत भने गएनन्, रूपन्देहीको तिलोत्तमामा बसे।
सुरेश स्कुल र कलेजमा हुने सांस्कृतिक कार्यक्रमहरूमा बाजा बजाउँथे, गीत गाउँथे।
२०४६ सालको जनआन्दोलन बुटवलमा पनि चर्किँदै थियो। दिनदिनै राजनीतिक दल र नागरिक अगुवाहरूको सभा र प्रदर्शन हुन्थ्यो। सुरेशको प्रतिभाबारे हालका एमाले नेता छविलाल विश्वकर्मा जानकार थिए।
उनकै प्रोत्साहनले सुरेश मादल र हार्मोनियम बोकेर जनआन्दोलनमा सहभागी भई गीत गाउन थाले।
'मादल र हार्मोनियम बोकेर जनवादी गीत गाउँदै जनआन्दोलनमा सहभागी हुन छविलाल विश्वकर्माले हौसला दिनुभएको थियो। जनआन्दोलनले मेरो सांगीतिक क्षमता आमरूपमा चिनायो,' सुरेशले भने।
यतिन्जेल उनी मादल र हार्मोनियम मात्र बजाउँथे। आफ्नै प्रयासले बजाउन र गाउन सिकेका थिए। जनआन्दोलनले गायकका रूपमा सार्वजनिक परिचय बनाइदिएपछि उनी संगीत सिक्न गोरखपुर गए। प्रयाग संगीतालयबाट संगीतमा जुनियर डिप्लोमा र मास्टर्स पूरा गरे।
'सर्टिफिकेट प्रयाग संगीतालयबाट लिएको हुँ तर मेरा गुरू गोखरपुरमा भएकाले त्यहीँ सिकेँ,' उनले भने।
सामान्य रहर र रूचिले लागे पनि सिक्दै जाँदा संगीत नै आफ्नो जीवन बनेको उनी बताउँछन्।
'सुरूमा संगीत सिक्दा मानिसको जीवनमा यसको कति महत्त्व छ भन्ने थाहै थिएन,' उनले भने, 'सिक्दै गएपछि महत्त्व बुझ्न थालेँ। गर्दै जाँदा संगीत नै मेरो जीवन भयो।'
उनले २०५२ सालमा बुटवलका भक्त थापा, भीम बिसी, शमशेर लगायतसँग मिलेर 'प्रकट' ब्यान्ड मार्फत लोकपप एल्बम निकालेका थिए। त्यसमा रहेको 'तिनाउ खोला बटौलीको छेउ, आऊ न नजिक माया गरिदेऊ...' बोलको गीत निकै लोकप्रिय भयो। अरू गीत पनि चर्चामा रहे।
त्यो गीतले सुरेशलाई एउटा उचाइ दियो। गीतसंगीतमा लाग्नुको सन्तुष्टि दियो।
पहिलो एल्बम नै लोकप्रिय भएपछि ब्यान्डले 'प्रकट भाग- २' बजारमा ल्यायो। यसले पनि चर्चा पायो। त्यसपछि भने ब्यान्ड छिन्नभिन्न भयो, सदस्यहरू लाखापाखा लागे।
सुरेशले भने संगीतमै आफ्नो भविष्य र जीवन देखिसकेका थिए। यसैलाई आफ्नो पेसा बनाउन अघि बढे। २०५५ सालमा साथीहरू मिलेर बुटवल अस्पताल लाइनमा कोठा भाडामा लिएर बागेश्वरी संगीतालय खोले। गीतसंगीतको प्रशिक्षण दिन थाले।
उनले करिब साढे दुई दशक बागेश्वरी संगीतालयमा वाद्यवादन, गायन र नृत्य सिकाए। दुई वर्षयता बुटवलकै सुख्खानगरमा रागश्री संगीतालय चलाइरहेका छन्।
'बिहान ६ बजेदेखि साँझ सात बजेसम्म गीतसंगीतको कुनै न कुनै गतिविधि चलिरहन्छ,' सुरेश भन्छन्, 'नृत्य र गायनसँगै तबला, हार्मोनियम, मादल, बाँसुरी, गितार लगायत वाद्यवादन म आफै सिकाउँछु। अरू शिक्षक पनि हुनुहुन्छ।'
उनका अनुसार संगीतालयमा ८० जना नियमित प्रशिक्षार्थी छन्। हालसम्म उनले चार हजार जनाभन्दा बढीलाई नृत्य, गायन र वाद्यवादन सिकाइसके। उनीसँग सिकेर गीतसंगीतमै लागेका पनि चार सय जनाभन्दा धेरै भइसके।
अहिले चर्चामा रहेका कलाकारहरू एन्जिला रेग्मी, अर्जुन कौशल, चिरञ्जीवी भण्डारी, मन्जु पौडेल, पुस्कल शर्मा, जमुना सनम लगायत धेरैलाई आफूले गीतसंगीत सिकाएको उनले बताए।
रूपन्देहीकी तेरिया फौजामगरले पनि सुरेशसँगै नृत्य प्रशिक्षण लिएकी थिइन्। उनी भारतीय रियालिटी शो 'डान्स इन्डिया डान्स' मा विजेता भइन्। तेरियाको जितले सुरेशलाई अर्को एउटा उचाइ दियो। आजकाल भारतीय युवायुवती पनि प्रशिक्षण लिन आउने गरेको उनको भनाइ छ।
'गीतसंगीत निरन्तरको प्रक्रिया हो, सिकाइ कहिल्यै पूर्ण हुँदैन, सिकेर कहिल्यै सकिँदैन,' उनी भन्छन्, 'मसँग निरन्तर आठ वर्ष सिक्नेहरू पनि छन्। अरूलाई सिकाउँदा म आफू पनि सिकिरहेको हुन्छु।'
आजकाल मन्दिरमा हुने भजनकिर्तनका लागि पाका व्यक्तिहरू पनि मादल र हार्मोनियम सिक्न आउँछन्।
हालसम्ममा उनले पाँच सयभन्दा बढी गीतमा संगीत भरेका छन्। सञ्जीवनीले गाएको 'नजरमा दोषी बनायौ...', कुमार सानु र सञ्जीवनीले गाएको 'बाँधिराख न मायाले...' बोलका गीतमा उनैले संगीत भरेका हुन्।
त्यस्तै उनले संगीत भरेका गीत रामकृष्ण ढकाल, आनन्द कार्की, यम बराल, अन्जु पन्त, राजु परियार, विष्णु माझी, रामजी खाँण, कुमार सानु, कुमार कान्छा र साधना सरगमले पनि गाएका छन्।
सुरेशका ६ जना दाजुभाइ सबै पुर्ख्यौली पेसा सुनचाँदी व्यापारमा छन्। उनले पनि आफ्ना दाजु किशोरसँग मिलेर बुटवलमा १२ वर्ष सुनचाँदी पसल चलाएका थिए। तर गीतसंगीतप्रतिको मोहकै कारण व्यापार छाडे।
'साँझबिहान संगीतालयमा संगीत सिकाएर दिउँसो पसल हेर्न पुग्थेँ। दिनभरि पसलमा बसे पनि मेरो मन संगीतालयमै हुन्थ्यो। आखिरमा व्यापार छाडेँ,' उनले भने, 'गीतसंगीत मेरा लागि पैसा कमाउने पेसाभन्दा बढी सन्तुष्टि हो। पैसा नै सबैथोक होइन रहेछ। आफ्नो रूचिको काम र आत्मसन्तुष्टि मुख्य कुरा रहेछ।'