दसैं फूलपातीको अवसर पारेर सोमबार (आज) देखि तीन नेपाली फिल्म ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ एकसाथ प्रदर्शनमा आएका छन्। यी तीन फिल्मको लागि देशभरका अधिकांश मल्टिप्लेक्सहरूले गत बुधवारदेखि नै अग्रिम टिकट बुकिङ खुलाएका थिए।
फिल्मका लागि मल्टिप्लेक्सहरूमा बिहान ५ः३० देखि मध्यरात ११ः५५ बजेसम्म शोहरू राखिएका छन्।
शोको सन्दर्भमा सन्तोष सेन निर्देशित ‘बलिदान’ ले सबैभन्दा बढी शो पाएको छ। अग्रिम टिकट विक्रीको अवस्था र बिहानी शोको दर्शक अकुपेन्सी हेर्दा यो फिल्मले ओपनिङ पनि बम्पर गर्ने देखिन्छ। एक्सन जनराको ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतको अभिनय छ। समीरको पहिलो फिल्म ‘१२ गाउँ’ नै सुपरहिट भएकाले यो दोस्रो फिल्मलाई प्रतीक्षित रूपमा हेरिएको छ।
त्यस्तै, मिलन तामाङ निर्देशित ‘माइतीघर’ र दीपेन्द्र के. खनाल निर्देशित हरिबहादुरको जुत्ता’ पनि यस वर्षका प्रतीक्षित फिल्ममध्ये पर्छन्। प्राप्त शोमा दर्शक अकुपेन्सी हेर्दा यी फिल्मले पनि सुखद ओपनिङ गर्ने अनुमान गरिएको छ।
सोसल जनराको ‘माइतीघर’ मा केदार घिमिरे, धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा लगायतको अभिनय छ। त्यस्तै, सोसल– कमेडी जनराको ‘हरिबहादुरको जुत्ता’ वरिष्ठ अभिनेता हरिवंश आचार्यको शीर्ष अभिनय रहेको फिल्म हो। यसमा हरिवंशसँगै प्रकाश सपुत, प्रियंका कार्की र स्वस्तिमा खड्का लगायतको शीर्ष अभिनय छ।
अब यीमध्ये कुन फिल्मले दर्शकहरूलाई रुचिकर हुन्छ? कुन फिल्मको ओपनिङ कस्तो हुन्छ?त्यसको नजिता आउन भने बाँकी नै छ।