हरेक सिनेमाका आफ्नै दर्शक हुन्छन्। कुन सिनेमा कस्ता दर्शकलाई मनपर्छ भन्ने थाहा हुँदैन। तर थ्रिलर विधाका फिल्म यस्ता हुन्छन्, जुन हरेक दर्शकको रोजाइ नभए पनि उनीहरूलाई बाँधेर राख्ने क्षमता हुन्छ।
राम्रो थ्रिलर फिल्मले त सुरूआती पाँच मिनेटमै दर्शकलाई यसरी अठ्याउँछ, अन्तसम्म नपुगी फुत्किन दिँदैन।
आज गुड फ्राइडे सिनेमामा दसैं बिदाको अवसर पारेर हामीले यस्तै तीन फिल्म सिफारिस गरेका छौं।
धुरूभंगल पथिनारूः तमिल (हिन्दी डब)
दुःखबाट छुटकारा कसरी पाउने?
यसका दुइटा उपाय छन्।
एउटा, त्यसका बारेमा चिन्तै नगर्नु।
अर्को, त्यो दुःखका साथ बाँच्ने बानी गर्नु।
दीपकलाई यो कुराको आभास धेरै पछि मात्र हुन्छ। पूर्वप्रहरी उनी अवकाश पाएर बसेका हुन्छन्। एउटा बैसाखीको सहारामा हिँड्छन्। त्यो बैसाखी उनलाई आफ्नो कामकै सिलसिलामा प्राप्त भएको हुन्छ।
प्रहरी छँदा भएको एउटा घटनाले उनको जीवनमा ठूलो उथलपुथल ल्याइदिन्छ। त्यसलाई उनले रत्तिभर भुलेका हुँदैनन्। भुल्नु त के, उनले हरपल त्यसको महसुससँगै जीवन बाँच्ने बानी पारेका छन्।
'हरेक दिन त्यो घटनाको सम्झना र झस्काइसँगै बाँच्नु मुखले भनेजस्तो सहज भने हुँदैन,' दीपक भन्छन्। उनको शरीरमा मात्र होइन, मनमा पनि गहिरो चोट हुन्छ।
उनका समकालीन प्रहरी साथीका छोरा उनलाई भेट्न आएका हुन्छन्। प्रहरी बन्ने सपना देखेका साथीका छोराले दीपकसँग पाँच वर्षअगाडिको त्यही घटनाबारे जिज्ञासा राख्छन्।
एक रात तीन केटाहरूको कारले एक व्यक्तिलाई ठक्कर दिन्छ। पक्राउ पर्ने डरले उनीहरूले शव गाडीको डिक्कीमा राख्छन्। अर्को दिन डिक्कीबाट शव कसैले निकालिदिन्छ। कसले, कसैलाई थाहा हुँदैन। शव गायबै हुन्छ।
भोलिपल्ट दीपकको कार्यालयमा पत्रिका पुर्याउने व्यक्ति सूचना लिएर आउँछन्— बाटामा एक मान्छे गोली लागेको अवस्थामा भेटिएको छ।
मृतक व्यक्तिसँगै आफूले सेतो कार पनि देखेको उनले बताउँछन्।
सूचना टिपाएर निस्किने बेलामा उनले प्रहरी कार्यालयमै त्यो कार देखेको पनि बताउँछन्। तर प्रहरीहरूले यसलाई खास गम्भीरतापूर्वक लिँदैनन्।
दीपक त्यो घटनाको अनुसन्धानमा लाग्छन्। ती व्यक्तिलाई अरू कसैले गोली हानेको हो आत्महत्या हो भन्नेबारे थाहा हुँदैन। पानी परिरहेकाले बन्दुकबाट सबै निसान मेटिएको हुन्छ।
एकातिर यो घटना, अर्कातिर तीन केटाहरूको गाडीले ठक्कर दिएको मानिसको शव नै गायब भएको! यही बीच अर्को वीभत्स घटना पनि खुल्छ।
यसरी खप्टिएका घटनाको गुत्थी सुल्झाउन दीपकलाई हम्मे पर्छ। भर्खर भर्ना भएका प्रहरी गौतम उनीसँगै अनुसन्धानमा खटिन्छन्। तर घटना झन् उल्झिँदै जान्छ। अपराधी खुट्याउन नसकेको अलमलमा दीपक र गौतमले ठूलो मूल्य चुकाउनुपर्छ।
के उनीहरू हत्यारासम्म पुग्लान्? यी घटना एकआपसमा जोडिएका छन्?
फिल्मले यो कथा त भनिहाल्छ, यसबीच वर्तमानको कुरा पनि खुल्छ। दीपकलाई भेट्न आएका मानिस उनका साथीका छोरा हुँदैनन्। अरू नै कोही हुन्छन्, आखिर को? किन पहिचान फेरेर आएका हुन्छन्?
यो घटनामा दीपकको प्रहरी हुनुबाहेक अरू भूमिका पनि होला कि नहोला?
यसका लागि तमिल फिल्म 'धुरूभंगल पथिनारू (डी–१६)' हेर्नुहोला। अपराध कथामा बनेको यो थ्रिलर फिल्म बक्सअफिसमा ब्लकबस्टर सावित भएको थियो।
यो फिल्मको सुरूआत रहस्यबाट हुन्छ, अन्त त्यो रहस्यबाट पर्दा उघारिएर। पूरा फिल्ममा यो रहस्यलाई बडो चलाखीपूर्वक लुकाइएको छ। दर्शकको ध्यान अरू संकेततिर मोड्दै यसले नसोचेको कथा पस्किन सफल भएको छ।
नेल पोलिस (हिन्दी)
बलिउड फिल्म नेल पोलिस सन् २०२१ मा जी५ मा रिलिज भएको थियो। सिनेमा हलमा नलागेको यो फिल्मले दुई जना बच्चाको हत्यारा पछ्याउँछ।
बलात्कार र हत्याको आरोप लागेका व्यक्ति लोकप्रिय सामाजिक अभियानी हुन्छन्।
के उनी साँच्चै हत्यारा र बलात्कारी हुन्छन्?
फिल्म जति अगाडि बढ्दै जान्छ, यो प्रश्न उति नै दर्शकको दिमागमा घुमिरहन्छ। अझै धेरै कौतुहलता जगाइरहन्छ।
थ्रिलर हुनुका साथै यो फिल्मका थप दुइटा विशेषता छन्।
यसले हिन्दी सिनेमामा बिरलै देखाइने बाल यौन दुर्व्यवहारको कथा देखाउँछ। यस्तो संवेदनशील विषयलाई मूलधारका फिल्मले हत्तपत्त टिप्दैनन्।
अर्को विशेषता भनेको अदालतभित्रको इजलासको दृश्य हो। इजलासमा हुने बहसको रोमाञ्चकता प्रहरीको अनुसन्धानभन्दा कम छैन।
यो मुद्दाले न्यायाधीशलाई समेत दोधारमा पार्छ। अन्तिममा उनले कसरी आफ्नो फैसला सुनाउलान्?
के दोषीलाई कारबाही होला? न्यायाधीशको फैसलाले पीडितलाई न्याय दिलाउला?
यो फिल्म बग्स भारगव कृष्णले लेखेका र निर्देशन गरेका हुन्। मुख्य पात्रहरू अर्जुन रम्पाल र मानव कौलको अभिनयले फिल्मलाई एकदमै सशक्त बनाउन मद्दत गरेको छ।
नेल पोलिसबारे टाइम्स अफ इन्डियाले समीक्षा गर्दै भनेको छ– उत्कृष्ट कथा र उत्कृष्ट अभिनय भएको नहेरी नहुने थ्रिलर फिल्म!
'बाइस शे श्रावोन' अर्थात् २२ श्रावणः बंगाली (हिन्दी डब)
श्रीजित मुखर्जीको निर्देशमा बनेको यो साइकोलोजिकल थ्रिलर फिल्म 'बाइस शे श्रावोन' ले रिलिज भएलगत्तै समीक्षकहरूबाट अत्यधिक प्रशंसा पाएको थियो।
त्यस्तै सन् २०११ सबभन्दा धेरै कमाउने बंगाली फिल्मको सूचीमा पनि अटायो। सिनेमा हलहरूमा १०५ दिनसम्म चलेको यो फिल्मले ४१ वटा अवार्ड जितेको थियो।
बंगाली दर्शकहरूमाझ खुब लोकप्रिय भएको यो फिल्मले लामो समयपछि बंगाली सिनेमामा थ्रिलर विधालाई पुनर्जीवित गरेको मानिन्छ।
यो फिल्मको कथा हत्याबाट सुरू हुन्छ। कोलकाताभरि पछिल्लो समय शृंखलाबद्ध हत्या गर्ने व्यक्ति एकै जना भएको अनुमान प्रहरीले गर्छ। किनभने, हत्याराले मृतकको शवसँगै बंगाली कविताका हरफ पनि लेखेर छाडेको हुन्छ।
यो मुद्दामा प्रहरीलाई निकै अलमल भइरहेको हुन्छ। मुद्दाको नेतृत्व गरिरहेका एसिपी अभिजीत यो मुद्दा सुल्झाउन संघर्ष गरिरहेका छन्। त्यसैले वरिष्ठ अधिकृत कमिस्नर अमित कुमार श्रीवास्तवले निलम्बित डिसिपी प्रोवीरलाई यो मुद्दामा काम गर्न फर्काउँछन्।
प्रोवीर हिंस्रक कार्यशैली, उग्र स्वभाव र असभ्य बोलीचाली भएका प्रहरी हुन्छन्। उनी र अभिजीतले मिलेर मुद्दा सुल्झाउने प्रयास गर्छन्।
अभिजीतकी प्रेमिका अमृता एक टिभी च्यानलमा काम गर्छिन्। उनका सहकर्मी र बाल्यकालदेखिका साथी सुरज सिन्हाले सिरियल किलरहरूको विषयमा एउटा टिभी शृंखला निर्माण गरिरहेका हुन्छन्।
अर्कातर्फ, एक अजीब स्वभावका कवि हुन्छन् निवारण चक्रवर्ती। उनी राति राति कोलकाता घुम्दै कविताहरू वाचन गर्दै हिँड्छन्।
आफ्नो अनुसन्धानका क्रममा अमृता र सुरज एउटा जेल भ्रमणमा जान्छन्। उनीहरूले रफिक अहमद र उनका १८ वर्षको जेल जीवनका एक मात्र साथी निवारण चक्रवर्तीका बारेमा जानकारी पाउँछन्। उनीहरू निवारणको घर पुग्छन् जहाँ उनका नोकर स्वपन पनि भेटिन्छन्।
निवारणले अजीबको हर्कत देखाउँछन्। रफिकका बारेमा सोध्दा रिसाउँछन्।
यसैबीच अभिजीत र प्रोवीरका कथा पनि खुल्छन्।
केही घटनापछि उनीहरूले हत्याराले प्रसिद्ध बंगाली कविहरूको पुण्यतिथिमा प्रहार गर्ने तथ्य पत्ता लगाउँछन्। उनीहरूले सम्भावित हत्याका मिति अध्ययन गर्दा अर्को मिति जुन २९ भएको पत्ता लगाउँछन्।
अमृताले पनि अभिजीतलाई निवारणको कुरा सुनाउँछिन्।
आखिर निवारण को हुन्? के शृंखलावद्ध रूपमा भएका हत्याका दोषी निवारण नै हुन्छन्?
वा, यो दोषी अरू नै कोही हुन्छ?
यो जान्न त फिल्म अन्त्यसम्म नै हेर्नुपर्छ। र, यसको अन्त्यले दर्शकलाई झस्काएरै छाड्छ।