कुनै गीत सहरमा चम्किन्छ, कुनै गाउँमा।
कुनै गीतले देश खान्छ, कुनैले विश्व।
यो स्टोरीमा हामी यस्तो गीतबारे कुरा गर्दैछौं, जसले आजको मितिमा विश्व खाँदैछ।
काठमाडौंदेखि क्वालालम्पुर, कराँचीदेखि कोलम्बो; बम्बईदेखि बैंकक, दिल्लीदेखि दोहा — यो गीत सबैतिर उत्तिकै हिट छ। संसारका धेरै मुलुक, खासगरी दक्षिण तथा दक्षिणपूर्वी एसियाली देशहरूमा युवाहरूको कुनै पनि जमघट यो गीतबिना अधुरो हुन्छ, अपुरो हुन्छ।
विश्वव्यापी 'पार्टी सङ' का रूपमा उदाएको यो गीत यस कारण पनि लोकप्रिय छ, किनभने यसका दुई सर्जकले संसारका दुई ध्रुवको प्रतिनिधित्व गर्छन्।
एक सर्जक 'के-पप' का रूपमा चर्चित कोरियन पप संगीतका लोकप्रिय गायक रोजेन पार्क (रोजे) हुन् भने अर्का सर्जक हुन् अमेरिकी गायक ब्रुनो मार्स।
रोजे सदस्य रहेको 'ब्ल्याकपिंक' संसारभरि रूचाइएको कोरियन ब्यान्ड हो। ब्रुनो मार्सले त झन् सन् २०१० देखि नै विश्व संगीतमा तहल्का पिटिरहेका छन्।
यी दुई जनाले संयुक्त रूपमा गाएर संसारभरका युवालाई झुम्न बाध्य पारेको र हातखुट्टा तरंगित बनाएको गीत हो — आपाट्यू, आपाट्यू!
यो गीतको बोलले के भन्छ? यसको अर्थ के हो?
यो गीत कस्तो सन्दर्भमा गाइन्छ? यसको जन्म कसरी भयो? दक्षिण कोरिया र अमेरिकाका हिट गायकहरू कसरी एउटा गीतमा साझेदारी गर्न आइपुगे?
यो स्टोरीमा हामी यिनै विषयमा चर्चा गर्नेछौं।
जसले स्टोरी पढ्दै हुनुहुन्छ, तपाईंहरूमध्ये धेरैले यो गीत पहिले नै सुनिसक्नुभयो होला! जसले सुन्नुभएको छैन, तपाईंहरू यसबारे पढ्नुअघि तल दिइएको युट्युब भिडिओमा एकचोटि गीत सुन्नुहोला।
पहिले सुनिसकेकाहरूले पनि दोहोर्याएर सुन्नुभए हुन्छ!
गीतको बोल र रचना-गर्भबारे कुरा गर्नुअघि यो कतिसम्म हिट छ भन्ने केही तथ्यांकबाट जानौं।
सन् २०२४ अक्टोबर १८ मा रिलिज भएको यो गीत अहिलेसम्म युट्युबमा ५७ करोड ७५ लाखभन्दा बढी पटक हेरिएको छ। रिलिज भएको पहिलो २४ घन्टामै २ करोडभन्दा बढी पटक हेरिएको थियो।
आज पनि यो संसारका लोकप्रिय १० गीतको सूचीमा पर्छ। तपाईंले यो स्टोरी पढिसक्दा कम्तिमा थप हजार जनाले पहिलोपटक वा दोहोर्याएर यो गीत हेरिसकेका हुन सक्छन्।
अब कुरा गरौं, गीतको बोलले के भन्छ?
गीत सुन्दा तपाईंहरू धेरैलाई सुरूआतका केही शब्द अर्थात् 'आपाट्यू आपाट्यू' को अर्थ के हो भन्ने लाग्यो होला। मलाई पनि पहिलोचोटि गीत सुन्दा त्यस्तै भएको थियो। कोरियन संगीत र कोरियन सिनेमाको जबर्जस्त फ्यान भए पनि म कोरियन भाषा बुझ्दिनँ। सिनेमा हेर्दा सबटाइटल पढ्छु, गीत सुन्दा त्यसको अर्थ के हो भनेर गुगल गर्छु।
यो गीत सुनेपछि पनि मैले गुगल गरेँ।
आपाट्यूको अर्थ हुँदो रहेछ, अपार्टमेन्ट। यसलाई छोटकरीमा 'एपिटी' भनिन्छ।
यो गीत कोरियनहरूले घर-घरमा खेल्ने चर्चित खेलसँग सम्बन्धित छ। यो खेल खेल्न रक्सी खानु अनिवार्य मानिन्छ। रक्सीको नसामा झुम्दै अपार्टमेन्टभित्र खेलिने एउटा विशेष प्रकारको खेललाई नै आपाट्यू अर्थात् एपिटी भनिन्छ।
त्यसैले गीतको भाव बुझ्न हामीले यो कोरियन खेलको भाव बुझ्नु जरूरी छ।
यो खेल खेल्न सबभन्दा पहिला सबै जना गोलो घेरा बनाएर बस्छन्।
सबैले आपाट्यू आपाट्यू भन्दै आ-आफ्नो हत्केला दायाँ-बायाँ हल्लाउन थाल्छन्।
त्यसपछि सबैले आफ्ना दुवै हत्केला गोलो घेराको बीचमा तेर्स्याएर राख्छन्। यसो गर्दा एउटाको हत्केला अर्कोको हत्केलामाथि खप्टिएको हुन्छ।
यति गरेपछि कुनै एक जनाले एउटा अंक भन्छ र त्यो अंक गन्न थाल्छ।
यसरी अंक गन्ने क्रममा जसको हत्केला सबभन्दा तल छ, उसले आफ्नो हत्केला सबभन्दा माथि सार्छ।
यो क्रम त्यति बेलासम्म चलिरहन्छ, जबसम्म अंकको गन्ती पूरा हुँदैन।
भन्नुको मतलब, यदि कसैले ८ अंक उच्चारण गरेको छ भने उसले १, २, ३, ४ गर्दै ८ गन्दासम्म सबैले आफ्नो हत्केला तलबाट माथि सार्दै जानुपर्छ।
अंक ८ मा पुग्दा जसको हत्केला सबभन्दा माथि पर्छ, उसलाई खेलमा पराजित मानिन्छ।
पराजित हुनेले सजायस्वरूप रक्सीको एक सट्, अर्थात् सानो गिलासको रक्सी एकै घुट्कीमा पिउनुपर्छ।
यति गरेपछि खेल फेरि सुरू हुन्छ।
खेल जति अगाडि बढ्दै जान्छ, सबैले एकपछि अर्को रक्सीको सट् खाँदै जानुपर्छ।
दसौं राउन्ड खेलिसक्दा खेलाडीहरू रक्सीको नसाले धुत्त भइसक्छन्। नसा जति बढ्छ, खेलको रौनक उति थपिँदै जान्छ। खेलको विशेषता नै यही हो।
परिवारका सदस्य वा साथीभाइ मिलेर सामाजिक रूपमा रक्सी पिउने र सँगसँगै मनोरञ्जन गर्दै जाने उद्देश्यले यो खेल सिर्जना गरिएको हो। कोरियन युवा पुस्तामा यो खेलले संस्कृतिकै रूप लिएको छ।
यो त भयो खेलको कुरा, अब कुरा गरौं — यो गीत कसरी जन्मियो? यसको बोलले के भन्छ?
रोजेले अमेरिकी पत्रिका 'भोग' सँगको अन्तर्वार्तामा भनेकी छन्, 'हामी साथीहरू आपाट्यू खेल्न एकदमै मन पराउँछौं। स्टुडियोमा गीत रेकर्ड भइरहँदा हामी फुर्सद पाउनेबित्तिकै यो खेल खेल्छौं। म अक्सर आफ्ना विदेशी साथीहरूलाई पनि खेल्न सिकाउँछु। उनीहरू हामीसँग आपाट्यू खेल्दा निकै रमाउँछन्।'
त्यही क्रममा एकदिन रोजे र उनका सहकर्मी स्टुडियोभित्रै आपाट्यू खेल्दै थिए। स्टुडियोमा केही अमेरिकी पनि थिए। उनीहरूलाई खेलबारे थाहा थिएन।
जसै रोजे र उनका साथीहरू आपाट्यू खेल्दै रक्सी घुट्क्याउन थाले, अमेरिकीहरूले छक्क पर्दै सोधे, 'ओहो! के गरेको तिमीहरूले यस्तो? के हो यो?'
रोजेले खेलको अर्थ सम्झाइन् र खेल्ने तरिका पनि सिकाइन्।
यसले ती अमेरिकी साथीहरू हौसिए र उत्साहित हुँदै भने, 'यो त गज्जबकै खेल रहेछ।'
यति भनेर उनीहरू पनि खेलमा मिसिए र एकपछि अर्को रक्सीको सट् पिउन थाले।
अमेरिकीहरूलाई आपाट्यू खेलमा रमाएको देखेर रोजेको मुखबाट अनायासै निस्कियो, 'यो खेलमाथि त गीत पो बनाउनुपर्छ कि क्या हो!'
रोजेको प्रस्ताव सबैले मन पराए।
र, यसरी जन्मियो संसारभरि धुम मच्चाएको 'आपाट्यू आपाट्यू' गीत।
ख्यालख्यालमै गीत त बन्यो, तर गाउने कसले?
त्यो बेला स्टुडियोमा रोजे र अन्य दक्षिण कोरियालीहरूसँग आपाट्यू खेल्नेमा अमेरिकी गायक ब्रुनो मार्स पनि थिए।
ब्रुनो मार्स आफ्नो कन्सर्टका लागि कोरिया आएका थिए। रोजेलाई धेरै पहिलेदेखि ब्रुनो मार्सको कन्सर्ट हेर्न मन थियो। ब्रुनो कोरिया आएको मौका छोपेर रोजे कन्सर्ट हेर्न गइन्।
कन्सर्टकै अवसरमा उनीहरूको भेट भयो।
रोजेले ब्रुनो मार्सलाई आफ्नो रेकर्डिङ स्टुडियो आउन निम्तो दिइन्।
त्यही क्रममा आपाट्यू आपाट्यू खेल खेल्ने चाँजो मिल्यो र गीत जन्मियो।
गीत लेख्न र त्यसमा धुन भर्न ब्रुनो मार्सले निकै मद्दत गरेका थिए। रोजेले दुवै मिलेर गीत गाऊँ भन्ने प्रस्ताव राखिन्।
रोजेको प्रस्तावमा ब्रुनोले सहमति जनाए।
पछिल्लो समय कोरियन ड्रामा र गीतहरूले संसार खाइरहेका बेला रोजेसँग सहकार्य गर्नु ब्रुनोको निम्ति पनि राम्रो अवसर थियो। यसबाट के-पपका प्रशंसकमाझ ब्रुनोलाई चिनिन मद्दत पुग्थ्यो।
रोजेले एक अन्तर्वार्तामा आफूलाई पहिल्यैबाट ब्रुनो मार्ससँग मिलेर गीत गाउने इच्छा भएको बताएकी छन्। तर रक्सी खाँदै खेलिने खेलमाथि गीत बनाएर गाउँदा कस्तो होला, श्रोताहरूले स्वीकार गर्लान् कि नगर्लान् भन्ने मात्र आफूलाई दुबिधा रहेको उनको भनाइ छ।
तर स्टुडियोमा रहेका सबै साथी र स्वयं ब्रुनो मार्सले पनि गीत एकदमै चाखलाग्दो भएको र संसारभरि तहल्का पिट्ने विश्वास दिलाएपछि रोजे ढुक्क भइन्।
नभन्दै आज यो गीत संसारकै 'हट-केक' बनेको छ।
रोजेले अन्तर्वार्तामा भनेकी छन्, 'ब्रुनोसँग मिलेर गीत बनाउनु र सँगै गाउनु मेरो भाग्य हो। म यसलाई जिन्दगीकै सबभन्दा रमाइलो अनुभव मान्छु।'
यी गीतमा रोजेले कोरियाली आपाट्यू खेलको धुनधान प्रचार गरेकी छन्।
गीतको बोलमा केटाले आफूलाई मनपर्ने केटीलाई अपार्टमेन्टमा डाकेर आपाट्यू खेल्न प्रस्ताव राखिरहेका छन्। यसमा केटा र केटीको प्रेम, आसक्ति र छेडछाडका शब्द प्रयोग गरिएका छन्।
गीतले भन्छ -
म तिमीलाई जति चाहन्छु, के तिमी मलाई त्यति नै चाहँदैनौ?
मलाई तिम्रो जति खाँचो छ, के तिमीलाई मेरो त्यति नै खाँचो छैन?
निदाउन त हामी भोलि पनि निदाउन सक्छौं,
तर आजको रात खेर नफालौं
क्रेजी भएर यो खेलमा रमाऔं!
गीतको म्युजिक भिडिओमा पनि आपाट्यू खेल खेलेको मज्जाले देखाइएको छ। यसबाट कोरियन रक्सी उत्पादक कम्पनीहरू निकै उत्साहित भएका थिए। कति कम्पनीले त यो गीतलाई आफ्नो मार्केटिङमा समेत प्रयोग गरे।
गीतले रिलिज भएदेखि आजसम्म इन्टरनेटमा धुम मच्चाउँदै आएको छ। विभिन्न देशका चर्चित गायकहरूले रोजे र ब्रुनो मार्सको नक्कल गर्दै आपाट्यू गीत गाएका छन्।
त्यसबाहेक टिकटक र इन्स्टाको रिलले पनि यो गीतलाई भाइरल बनाएको छ।
संसारभरका युवाले यो गीतको तालमा झुम्दै भिडिओ बनाएका छन् र त्यसलाई आफ्नो टिकटक र इन्स्टा रिलमा अपलोड गरेका छन्। यसले गीतको लोकप्रियता बढाउन झनै ठूलो भूमिका खेलेको छ।
तपाईंहरू पनि आपाट्यू आपाट्यू गाउँदै टिकटक बनाउँदै हुनुहुन्छ? कि बनाएर अपलोड गरिसक्नुभो?
कतै घरमा साथीभाइ भेला भएर आपाट्यू खेल्ने तयारीमा त हुनुहुन्न?
***