गुड फ्राइडे सिनेमा
भारतमा राम्रो फिल्म बनाउने निर्देशकको गन्तीमा आउँछन् मणि रत्नम।
मणि रत्नम पिरियड ड्रामा फिल्म बनाउन माहिर निर्देशक हुन्। तर अरू विधामा पनि उनको दखल कम छैन। हिन्दी, तेलुगू, मलयालम र कन्नड फिल्म निर्देशनमा उनी परिचित छन्। उनी व्यावसायिक रूपमा पनि सफल निर्देशक मानिन्छन्। उनका प्रायः फिल्म हिट छन्।
मनीषा कोइराला र अर्विन्द स्वामीको अभिनय रहेको 'बम्बे', मनीषा र शाहरूख खानको 'दिल से', अभिषेक बच्चन र ऐश्वर्य रायको 'गुरू' र 'रावन', ऐश्वर्य र विक्रमको 'पोन्निया सेल्वान' जस्ता चर्चित हिन्दी भाषी फिल्म उनले निर्देशन गरिसकेका छन्।
उनले निर्देशन गरेका थुप्रै दक्षिण भारतीय फिल्म पनि एकदमै हिट छन्। आज हामीले उनकै एउटा राजनीतिक विधाको फिल्म सिफारिस गरेका छौं।
फिल्म हो 'आयुथा एझुथु'।
तमिल भाषाको यो फिल्मको सुरूआत इन्बा (आर माधवन) ले माइकल (सूर्या) लाई गोली हानेपछि हुन्छ।
यसको प्रत्यक्षदर्शी हुन्छन् अर्जुन बालकृष्णन (सिद्धार्थ)।
यस घटनापछि तीन पात्रको कहानी अगाडि बढ्छ।
इन्बा गुन्डा स्वभावका हुन्छन्। कमाउने कुनै विकल्प नभएपछि उनी गुन्डागर्दीमा लागेका हुन्छन्। उनी आफ्नी श्रीमती शशीलाई माया गर्छन् तर दुर्व्यवहार पनि धेरै गर्छन्।
उनी सिफारिसमा काम चलाउँछन् र राजनीतिज्ञका लागि काम गर्छन्।
उता माइकल एक प्रभावशाली विद्यार्थी नेता हुन्। उनी खराब राजनीतिज्ञलाई कलेजको चुनावबाट टाढा राख्न चाहन्छन्। माइकल आफ्नी छिमेकी गीता (इशा देओल) सँग प्रेममा छन्, जो आफ्नो काका र काकीसँग बस्छिन्।
माइकलले विद्यार्थी चुनावमा उम्मेदवारी दिएका हुन्छन्। उनलाई राजनीतिबाट हटाउन विपक्षीले निकै प्रयास गर्छन्। विभिन्न रणनीति अपनाउँदा पनि माइकल पछाडि हट्दैनन्।
अर्जुन बालकृष्णन एक आइएएस अफिसरका छोरा हुन्। उनी राम्रो भविष्यका लागि अमेरिका जान चाहन्छन्। उनी मीरा (तृषा कृष्णन) को प्रेममा परेका हुन्छन्। एक दिन अर्जुनले मीरालाई सडकमै प्रेम प्रस्ताव गर्छन्।
अर्जुनले प्रेमको कुरा गरेपछि मीरा अटो चढेर जान्छिन्। त्यहीँ उनको भेट माइकलसँग हुन्छ। बाइकमा आइरहेका माइकललाई उनले लिफ्ट दिन आग्रह गर्छन् र मीराको पछि लाग्छन्।
मीरालाई फकाउँदै गर्दा अचानक इन्बाले माइकललाई गोली हान्छन्।
यसपछि फिल्मले अर्कै मोड लिन्छ।
यिनै तीन पात्रको कहानी हो आयुथा एझुथु।
यो फिल्म हैदरावादको उस्माजिया विश्वविद्यालयका विद्वान जर्ज रेड्डीको जीवनीमा आधारित छ। फिल्ममा सूर्या, आर माधवन, सिद्धार्थ, इशा देओल, मीरा जस्मिन, तृषा कृष्णन, श्रीमान, जनराज र भरत राजा लगायतको अभिनय छ।
सन् २००४ मा रिलिज भएको यो फिल्मले समीक्षकहरूबाट सकारात्मक समीक्षा पाएको थियो भने व्यावसायिक रूपमा पनि सफल मानिन्छ।
हेर्नुहोस् अंग्रेजी सबटाइटलसहित युट्युबमाः