गुड फ्राइडे सिनेमा
मेक्सिकोमा लागुऔषध कारोबारबारे पीडादायी कथाहरू छन्। लागुऔषध कारोबार सम्बन्धी घटनामा हजारौंले ज्यान गुमाएका छन्, धेरैको घरबार र जीवन तहसनहस भएको छ।
लागुऔषधले मेक्सिकोको जनजीवनमा पारेको प्रभावबारे संसारभर धेरै सिनेमा बनेका छन्। यी फिल्मका धेरैजसो दर्दनाक कथाहरूले वास्तविकता देखाइरहेका हुन्छन्।
तर कर्ट टुफेन्डसमको निर्देशनमा बनेको एउटा फिल्म अलि बेग्लै छ।
स्पेनिस भाषामा बनेको यो फिल्मले वास्तविक पीडाको कथासँगै आशा नमरेको कथा भन्छ।
फिल्म हो 'लस ट्राफिकेन्ट्स'। यो स्वतन्त्र फिल्म एस्टेबन मेन्डोजा क्रुजको जीवनमा आधारित छ। क्रुज टिजुआनाका लागुऔषध गिरोहका माफिया 'डन' थिए।
क्रुजको कथा अविश्वसनीय छ।
उनले ३३ वर्ष जेल सजाय भोगे। जेल सजाय काटिरहेकै बेला उनले अरूलाई लागुपदार्थको लत हटाउन मद्दत गर्छन्।
बाहिर छँदा लागुऔषधको ठूलो कारोबार गर्ने क्रुजलाई जेलभित्र केले त्यस्तो परिवर्तन गरायो? फिल्ममा क्रुजले ईश्वरमाथि विश्वास गरेपछि ठूलो परिवर्तन अनुभव गरेको देखाइएको छ।
यसभन्दा बढी केही कुराबाट छुट्कारा पाउन चाहनेले जसरी पनि सक्छन् भन्ने बलियो आत्मबल र सन्देश फिल्मले दिएको छ।
सन् २०१२ मा रिलिज भएको यो फिल्म दर्शकले धेरै रूचाएका थिए। फिल्मले आफूहरूको व्यक्तिगत जीवनमा पनि फरक पारेको उनीहरूले बताएका थिए।
थुप्रै अन्तर्राष्ट्रिय महोत्सवहरूमा देखाइएको यो फिल्मले दुइटा अवार्ड पनि जितेको छ।
एक घन्टा २२ मिनेटको यो फिल्म स्पेनिस भाषामा भए पनि अंग्रेजी सबटाइटलमा हेर्न सकिन्छ।