फिल्म 'गुडबाई काठमाडौं' बनाएपछि नवीन सुब्बा फिल्म क्षेत्रबाट गायब भए।
यो फिल्म आएको पाँच वर्षसम्म उनको अर्को फिल्म आएन।
धेरैले त सोचे पनि — कतै नवीन सुब्बाले फिल्म क्षेत्रलाई नै गुडबाई त भनेनन्?
तर त्यस्तो थिएन, उनले बाटो बिर्सिएका थिएनन्। उनी हालै फिल्म 'गाउँ आएको बाटो' लिएर फर्किएका छन्।
सिनेक्षेत्रमा आशा गरिएका निर्देशक हुन् नवीन।
लिम्बू संस्कृतिमा आधारित फिल्म 'नुमाफुङ' बनाएपछि उनले यो क्षेत्रमा उडान भरेका थिए। नुमाफुङ व्यावसायिक रूपमा असफल भए पनि समीक्षकहरूले खुब रूचाए।
उनले बनाएको टेलिशृंखला 'दलन' ले पनि राम्रो प्रतिक्रिया पायो। 'गुडबाई काठमाडौं' भने फिल्म महोत्सवहरूमा मात्र सीमित भएको थियो।
हलमा प्रदर्शन भएको 'नुमाफुङ' को बीस वर्षपछि नवीनले 'गाउँ आएको बाटो' ल्याएका हुन्। यहाँसम्मको उनको यात्रा जान्न हामी उनकै गाउँको बाटोतर्फ लम्किऔं।
नवीन ताप्लेजुङको हाङपाङमा जन्मिएका हुन्। उनका बुबा ब्रिटिस आर्मी थिए। कामको सिलसिलामा बुबा कहिले मलेसिया पुग्थे, कहिले हङकङ। उनकै पछिपछि नवीनले पनि विभिन्न देश जाने अवसर पाए।
अवकास पाएपछि बुबा धरान आए। नवीनले धरानमै पढे। उच्च शिक्षा हासिल गरे। उनलाई साहित्यप्रति विशेष रूचि थियो। साहित्यमा परिवर्तन ल्याउनुपर्छ भन्ने सोच राख्थे। यसकै लागि 'अर्को जमात' भन्ने समूह खोले। संस्थामार्फत् उनी र उनका साथीहरूले 'पर्चा कविता' आन्दोलन गरे।
बिस्तारै साहित्यबाट उनी राजनीतितर्फ आकर्षित भए। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा चुनाव लडे, जिते। तर साहित्य मोहले उनलाई राजनीतिमा अडिरहन दिएन। उनले त्यसमा रस भेटेनन्। केही समयपछि नै राजनीतिप्रति वितृष्णा जाग्यो।
'पञ्चायती व्यवस्थामा सन्तुष्ट नभएपछि मैले राजनीति छाडेँ,' नवीनले भने।
राजनीति छाडेर उनी साहित्यसँगै नाटकमा संलग्न भए। सडकदेखि महोत्सवहरूमा प्रदर्शन हुने नाटकमा संलग्न भए। नाटकलाई संगठित हिसाबले अघि बढाउनुपर्छ भन्ने सोचले साथीहरू मिलेर एउटा समूह पनि बनाए — अनाम नाट्य जमात।
समूहमार्फत् धरानसँगै काठमाडौं केन्द्रित नाटक बनाए। पहिलो नाटक 'नभेटिएको बाटो' लाई राष्ट्रिय नाचघरमा मञ्चन गरे। शारदा सुब्बाले लेखेको यो नाटकले धरानमा जति सफलता काठमाडौंमा पाएन।
बिस्तारै अनाम नाट्य जमातले बालनाट्यसँगै अरू महोत्सव गर्न थाल्यो। राम्रा राम्रा नाटक प्रतिस्पर्धामा ल्याउन थाल्यो। तर त्यो बेला नेपाली समाजको अहिलेजस्तो नाटकमा रस बसिसकेको थिएन। नाटक समीक्षा गर्ने त झन् मान्छे नै थिएनन् भन्दा पनि हुन्छ।
साहित्यमा रूचि भएको नवीनले एकदिन आफैं आँट गरे। २०४४ सालतिर 'नेपाली आवाज' नामक साप्ताहिक पत्रिकामार्फत उनले नाटकको समीक्षा लेख्न थाले।
उनले समीक्षा लेखनमै मिठास भेट्न थाले। नाटकमा काम गर्ने समय कम भयो। पत्रकारितामै केन्द्रित भएका उनले बिस्तारै फिल्मको समीक्षा पनि गर्न थाले। २०४६ सालको जनआन्दोलनपछि देशान्तर पत्रिकामा गए। त्यहाँ फिल्म समीक्षालाई अझ जोड दिए। भरपुर विदेशी फिल्म हेर्न थाले।
'बलिउड फिल्म त पहिल्यैदेखि हेर्थेँ। अंग्रेजी, इरानी, फ्रेन्च लगायत पनि हेर्न थालेपछि त फिल्म यस्तो पनि हुँदो रहेछ भन्ने भयो। संसारमा यस्ता फिल्म बन्ने, हामीले चाहिँ बनाउन किन नसक्ने भन्ने लाग्थ्यो। हाम्रो फिल्म पनि यसरी आउनुपर्छ भनेर समीक्षा लेख्न थालेँ,' उनले भने।
नवीनले नेपाली फिल्मलाई बाटो देखाउन खोजेका थिए, तर उल्टै विरोध खेपे।
फिल्मकर्मीहरूले उनलाई हाकाहाकी भनिदिए, 'आलोचना गर्नेले आफैं फिल्म बनाए भयो त!'
नवीनको मनमा यो कुरा गढ्यो। बारम्बार यस्तै टिप्पणी आउन थालेपछि उनी घोत्लिए। अनि एक दिन फिल्म बनाउने निधो गरे। समीक्षा लेखे पनि फिल्म कसरी बनाइन्छ भन्ने उनलाई थाहा थिएन। यो काम सिक्न उनी राजेन्द्र शलभको फिल्म 'भाउजू' मा सहायक निर्देशक भए। निर्देशक शलभसँगै नवीन र देशभक्त खनालले फिल्मको कथा लेखे।
'तर न मैले सोचेजसरी कथा लेख्न पाएँ, न फिल्म बनाउन पाएँ। निर्माताहरूले तीन-चार वटा सिडी ल्याएर दिन्थे। त्यही सिडी हेरेर कथा निर्माण गर भन्थे। त्यसरी न कथा राम्रो बन्थ्यो, न फिल्म,' नवीनले भने।
उनले 'परिभाषा' फिल्ममा पनि सहायक निर्देशककै रूपमा काम गरे। त्यसमा पनि आफूले सोचेजस्तो भएन। एकै सूत्रमा बनिरहेका फिल्मबाट उनी बिचलित भए। छट्पटाहट बढिरहेको थियो।
त्यही समयमा एक दिन एक टेलिभिजन च्यानलसँग उनको कुराकानी भयो। च्यानलको योजना भाषागत टेलिशृंखला बनाउने थियो। नवीनले लिम्बू भाषामा 'तरेवा' बनाउने जिम्मा लिए।
लिम्बू भाषामा पाहुनालाई 'तरेवा' भनिन्छ। यो टेलिशृंखला दुई भाग प्रसारण भयो। यसमा लिम्बू जातिमा प्रचलित केटी मनपर्यो भने तानेर बिहे गर्ने कथा देखाइएको थियो।
टेलिशृंखला हेरेपछि साथी सुन्दर जोशीले भनेछन्, 'ओहो, यस्तो पनि हुँदो रहेछ! ल, फिल्म चाहिँ हामी मिलेर बनाउनुपर्छ।'
सुन्दरको कुरा नवीनलाई ढुंगा खोज्दा देउता मिले जस्तै थियो। सुन्दर शेर्पा समुदायमाथि फिल्म बनाउन चाहन्थे। नवीनले अनुसन्धान बढाए। हिमाल चढेका, मृत्यु भएकाको तथ्यांक संकलन गरे। यही विषयमा सुन्दरले कथा लेखे। २०५२ सालतिर उनीहरूले फिल्म 'खाङ्ग्री' बनाए।
उनीहरूले च्यारिटीमार्फत काठमाडौंमा यो फिल्म देखाए।
कार्यक्रममा एक जना साथीले नवीनलाई बुकलेट थमाएका थिए। पछि हेर्दा उनले थाहा पाए, त्यो अन्तर्राष्ट्रिय फिल्म महोत्सवको रहेछ।
बुकलेट हेरेपछि उनले 'खाङ्ग्री' लाई महोत्सवमा सहभागी गराउन आवेदन भरे, छनौट भयो। 'खाङ्ग्री' इटालीमा मञ्चन भयो।
'यसरी अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा निजीतर्फबाट सहभागिता जनाउने पहिलो नेपाली फिल्म खाङ्ग्री नै हो,' उनले भने।
इटाली पुगेपछि उनीहरूले थाहा पाए, फिल्मको आर्काइभ बिक्री हुन्छ। उनीहरूले चार हजार डलरमा आफ्नो फिल्म बेचे।फिल्म बनाउँदा उनीहरूको खर्च पनि चार लाख रूपैयाँ भएको थियो। यसरी अन्तर्राष्ट्रिय स्तरमा फिल्म बिक्री हुने थाहा पाएपछि उनीहरूलाई अझै राम्रो फिल्म बनाउने भोक जाग्न थाल्यो।
त्यसपछि २८ लाख रूपैयाँमा बनाउने योजनासहित 'नुमाफुङ' लेख्न थाले। फिल्म हलमा चल्दैन भन्ने पिर हटिसकेको थियो। च्यारिटी शो गर्ने र अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा देखाएर लगानी उठाउने उनको योजना थियो। फिल्म बनाउँदै जाँदा ३४ लाख रूपैयाँ खर्च भयो।
नेपालमा प्रदर्शन हुनुअघि 'नुमाफुङ' भारत, जापान, फ्रान्स, जर्मनी लगायत ४० देशका फिल्म महोत्सवमा प्रदर्शन गरियो। विभिन्न देश चहारेपछि बल्ल नेपालमा प्रदर्शन गर्ने तर्खर भयो। तर यहाँ यस्तो फिल्म चलाउने वातावरण बनिसकेकै थिएन।
त्यो बेला काठमाडौंमा भएका सात हलमध्ये तीन हलमा फिल्म प्रदर्शन हुने भयो।
अब दर्शक कसरी ल्याउने?
नवीनले जुक्ति लगाए — विद्यार्थीहरूलाई फिल्म देखाउने।
यसका लागि सहयोग माग्न उनी तत्कालीन प्याब्सनका अध्यक्ष उमेश श्रेष्ठकहाँ पुगे। उमेशले प्रिमियरकै दिन फिल्म हेरेका थिए। नवीनको अनुरोध स्वीकार गरे। हरेक दिन तीन–चार सय विद्यार्थीलाई फिल्म हेर्न पठाए। फिल्म एक महिनासम्म हलमा चल्यो।
जतिले हेरे, फिल्मको प्रशंसा गरे, समीक्षकहरूले पनि रूचाए। आमदर्शकले भने कुनै रूचि देखाएनन्।
एक जना दर्शकले त हलमा चिच्याउँदै भनेछन्, 'मेरो पैसा खाइदियो!'
'त्यति मेहनत गरेर बनाएको फिल्ममाथि यस्तो प्रतिक्रिया पाएपछि साह्रै खल्लो लाग्यो,' उनले भने।
यो २०६० सालतिरको कुरा हो।
त्यति बेला डकुमेन्ट्री शैलीका फिल्म हेर्ने आमदर्शक थिएनन्। दर्शकलाई यस्ता फिल्मको महत्व बुझाउनुपर्छ भन्ने नवीनलाई भयो। यसनिम्ति नेपालमै फिल्म महोत्सव हुनुपर्छ भन्ने उनलाई लाग्यो।
महोत्सवमा कस्ता फिल्म देखाउने भनेर फिल्मकर्मीहरूलाई उनले प्रशिक्षण दिए। पहिलो ब्याचमा प्रशिक्षण लिनेहरू माओत्से गुरूङ, रामबाबु गुरूङ लगायत अहिले चल्तीका निर्देशक हुन्। नवीनले महिलाहरूका लागि भनेर छुट्टै प्रशिक्षण दिए। प्रशिक्षण दिँदा दिँदै सात वर्ष बित्यो। त्यसबीच उनले 'दलन' मात्रै निर्देशन गरे।
'आफू हराएँ कि भन्ने महसुस भएपछि फिल्म गुडबाई काठमाडौं निर्देशन गरेँ,' उनले भने।
यो फिल्ममा नवीनले तीन पात्रको कथा समेटेका छन्। यसैबाट उनले फिल्म क्षेत्रमा पुनरागमन गर्ने सोचेका थिए। तर यो फिल्म काठमाडौं अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा मात्र सीमित भयो। पाँच वर्षमा बनेको यो फिल्म पुरानो प्रविधिको थियो। अहिलेको डिजिटलमा ढाल्नै समय लाग्ने भएकाले हलमा प्रदर्शन गर्ने उनको सोच छैन।
यसलाई थन्क्याएर उनले 'गाउँ आएको बाटो' बनाए। यो फिल्म २०८१ साल जेठ १८ गतेदेखि प्रदर्शन हुँदैछ।
'गाउँ आएको बाटो' को कथा नवीनलाई फिल्म लेखन कार्यशाला चलिरहेका बेला फुरेको थियो। फिल्मको कथा महेश राईले लेखेका हुन्। करिब सात वर्ष लेखनमै बित्यो। कथा तयार भएपछि नवीन निर्माणमा जुटेका हुन्।
फिल्मका निम्ति अमेरिका, अस्ट्रेलिया, हङकङ लगायत विभिन्न देशमा बस्ने व्यक्तिले आर्थिक सहयोग गरेका छन्। निर्माता भने अमोद राई हुन्।
'गाउँ आएको बाटो' भोजपुरमा छायांकन भएको छ। भर्खरै मोटर पुगेको बाटो खोज्दै उनीहरू संखुवासभा, भोजपुर, खोटाङ लगायत विभिन्न ठाउँ पुगेका थिए। दक्षिणी भोजपुरमा भनेजस्तै ठाउँ भेटे।
टोरोन्टो, बुसान लगायत प्रतिष्ठित फिल्म महोत्सवमा प्रदर्शन भइसकेको यो फिल्ममा दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसान राईको मुख्य भूमिका छ। गाउँको बनोट कस्तो हुनेदेखि कपडाको रङ, राईको लवज, गीत लगायत विषयमा उनीहरूले मेहनत गरेका छन्। पात्र सुहाउँदो हुन दयाहाङ र पशुपतिले आफ्नो तौल १० केजीसम्म घटाएका थिए।
नवीनले भने, 'फिल्मको मुडअनुसार रङ संयोजन गरिएको छ। जस्तो, गाउँमा मोटर बाटो नआउँदा कपडाको रङ एउटा हुन्छ, बाटो आएपछि अर्काे हुन्छ।'
फिल्म छायांकनमा केही समय लकडाउनले बाधा पुर्याए पनि उनीहरूलाई गाउँमा भएकाले खास समस्या भएन।
यसरी सरसर्ती हेर्दा नवीन सुब्बाले औंलामा गन्न सक्ने फिल्म बनाएका छन्। तर उनको जीवन फिल्म र कला क्षेत्रमै समर्पित छ।
'म महोत्सव र नयाँ जनशक्ति निर्माण गर्न नलागेको भए धेरै फिल्म निर्देशन गर्न सक्थेँ कि भन्ने लाग्छ कहिलेकाहीँ। तर त्यो नगरेको भए फिल्मको अवस्था परिवर्तन हुँदैन थियो होला,' नवीनले भने, 'मौलिक फिल्म बन्नुपर्छ र हाम्रा फिल्मको आफ्नै आवाज हुनुपर्छ भनेर जसरी स्थापित गर्न सक्यौं, त्यसमा म सन्तुष्ट छु। सूत्र भत्काउँदै नेपाली फिल्मलाई यहाँसम्म ल्याउन केही न केही योगदान गरेको छु भन्ने सोचेर खुसी लाग्छ।'
दर्शकले हलदेखि महोत्सवसम्म माग गर्ने गरी नेपाली फिल्मले 'हाइप' सिर्जना गर्न सक्नुपर्ने उनी बताउँछन्।
'अहिलेसम्म हाम्रो फिल्म त्यो स्तरमा पुगेको छैन,' उनले भने, 'धेरैले आर्ट र कमर्सियल फिल्म भनेर छुट्ट्याउन खोज्नुभएको छ तर कला नभए सिनेमा कसरी हुन्छ? मलाई आर्ट र कमर्सियल फिल्म भन्ने हुन्छ भन्ने लाग्दैन। लगानी भएपछि फिल्म दर्शकसम्म पुग्नुपर्छ। फिल्म कति दीर्घकालीन र मूल्य मान्यता राख्ने छ भन्ने चाहिँ फरक पर्छ। अहिले रमाइलो लागेको फिल्म २० वर्षपछि पनि त्यस्तै हुन्छ त, यो फिल्मकर्मीले आफूलाई गर्नुपर्ने प्रश्न हो।'
नवीन हरेक दर्शकले रूचाउने फिल्म बनाउन जोड दिनुपर्ने बताउँछन्। दर्शकले मनपराउने र महोत्सवमा रूचाउने फिल्मको सन्तुलन मिल्यो भने फिल्म क्षेत्र अगाडि बढ्छ भन्ने उनलाई लाग्छ।
फिल्म 'गाउँ आएको बाटो' मा आफूले यी दुई कुरा मिलाउने प्रयास गरेको उनले बताए।
'हाम्रो फिल्मकर्मीले मलाई पैसा कमाउन फिल्म बनाइरहेको भन्छन्। तर अन्तर्राष्ट्रिय बजारमा नपुगी हाम्रो बजार विस्तार हुँदैन,' नवीनले भने, 'हाम्रो सिनेमाले पहिचान बनाउन नसके कुनै पनि बेला ध्वस्त हुन सक्छ।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी