कलाकार माओत्से गुरूङको नाम नै रोचक छ।
धेरैले उनलाई सोध्छन् पनि — यो नाम कसरी राख्नुभयो?
स्कुल पढ्ने बेलामा शिक्षकहरूले उनलाई माओत्से तुङ भनेर जिस्काउँथे पनि। उनी त्यसलाई सामान्य रूपमा लिन्थे। के भनेको हो, खासै बुझ्थेनन्।
आठ कक्षामा पढ्दाताकाको एक दिन उनलाई थाहा भयो — उनको नाम त चिनियाँ नेता माओत्से तुङको प्रभावबाट राखिएको रहेछ!
यो नाम उनका बुबाले राखिदिएका थिए।
कास्कीको रूपा गाउँपालिका श्याक्लुङमा जन्मिएका उनको नाम चिनियाँ नेताको नामबाट कसरी रह्यो?
माओत्सेले हाँस्दै भने, 'बुवा ब्रिटिस सेना हुनुहुन्थ्यो। हङकङमा काम गर्ने समयमा माओत्से तुङबारे धेरै चर्चा सुन्नुभएको रहेछ। अनि आफ्नो छोरो पनि त्यस्तै प्रभावशाली होस् भन्ठानेर नाम राखिदिनुभएछ।'
परिवारका तीन छोरामध्ये कान्छा हुन् माओत्से। उनका बुबालाई प्रभावित पारेका माओत्से तुङको जस्तो राजनीति क्षेत्रमा उनी लागेनन्। तर जुन क्षेत्रमा प्रवेश गरे, त्यसमा उनले बलियो प्रभाव छाड्न सफल भएका छन्।
माओत्से अब्बल कलाकारका रूपमा परिचित छन्। निर्देशक तथा लेखक समेत हुन्।
सानो छँदा उनको रूचि खेलकुदमा थियो। स्वभाव अलि चकचके थियो। आफ्नो बाल्यकाल फर्किएर हेर्दा माओत्से आफूलाई कलाकारिता क्षेत्रमा पनि रूचि भएको बताउँछन्।
'हामी सानो हुँदा खुब भाँडाकुटी खेल्थ्यौं। त्यसमा बिहे, व्रतबन्ध, कसैसँग झगडा गर्नुपर्ने जस्ता क्रियाकलाप हुन्थे। अगुवा म नै हुन्थेँ,' उनले भने, 'सबैलाई यस्तो गर, यसरी गर भनेर सिकाउँथेँ। त्यो बेलादेखि नै मभित्र कला रहेछ भन्ने अहिले महसुस गर्छु।'
माओत्सेका गाउँले साथी ओमप्रकाश गुरूङ पोखरामा पढ्थे। बेलाबेला गाउँ आउँदा स्कुलमा सिकेको नाच र नाटक माओत्से र अरू साथीलाई सिकाउँथे। माओत्सेले पनि स्कुलमा नाटकहरू खेले। पछि एसएलसी परीक्षा दिन उनी पोखरा गएका थिए। त्यहाँबाट उनी फर्किएनन्।
उनी पोखरामै बसेर अभिनय सिक्न थाले। त्रिवेणी कल्चर सेन्टरमा अनुप बरालसँग अभिनय सिके।
त्यसै समय दीपकमान उदास 'परित्याग' नामक नाटक बनाउँदै थिए। यसमा उनले खलपात्रको भूमिका निर्वाह गर्ने अवसर पाए। परित्याग नाटक गरेपछि उनले केही साथीभाइसँग मिलेर दीर्घजीवी नाट्य समूह गठन गरे। यो समूहले विभिन्न ठाउँमा नाटक गर्थ्यो। अरू नाट्य समूहसँग सहकार्य गरेर पनि नाटक देखाए।
माओत्सेको अभिनयप्रतिको भोक र रूचि झनै बढ्दै गयो। २०५१ सालतिर उनले 'काँडा' नामक भिडिओ फिल्ममा अभिनय गरे। यसपछि गुरूङ संस्कृतिका फिल्ममा पनि अभिनय गरे। 'रि–च्ह्मे' उनको पहिलो गुरूङ संस्कृतिको फिल्म हो।
उनको अभिनयको 'टर्निङ प्वाइन्ट' भने २०६० सालमा हो।
त्यो बेला गायक कर्ण दासको नयाँ गीत सार्वजनिक भयो — पुरानो डुंगा...पानीको छाल... पार गरूँ कसरी...।
यो गीत निकै चर्चित भयो। माओत्सेले उक्त गीतमा अभिनय गरेका थिए।
यसको केही समयपछि नै उनले नवीन सुब्बा निर्देशित टेलिशृंखला 'दलन' मा अभिनय गरे। पोखरा रंगमञ्चको पृष्ठभूमिबाट आएका उनी यस टेलिशृंखलाबाट धेरै दर्शकमाझ परिचित भए। त्यसपछि उनलाई ठूलो पर्दाको फिल्मका प्रस्ताव आउन थाल्यो।
रामबाबु गुरूङले 'कबड्डी' मा खेल्न प्रस्ताव गरे। यति बेलासम्म उनी आफ्नै फिल्म निर्देशनमा व्यस्त थिए। उनले अहिलेसम्म 'अचम्मै भो', 'कृपा', 'तीन हाँगा' लगायत नेपाली र गुरूङ भाषा मिश्रित ८ वटा फिल्म निर्देशन गरिसकेका छन्।
आफ्नो व्यस्तताका कारण उनले फिल्म खेल्न अस्वीकार गरे। फेरि रामबाबुले उनलाई 'कबड्डी २' मा प्रस्ताव गरे। यही फिल्मबाट उनले ठूलो पर्दाको फिल्ममा अभिनय यात्रा सुरू गरे।
त्यसपछि उनले 'पुरानो डुंगा, कबड्डी ३, चंगा चैट, पानी फोटो, कबड्डी-४, दोख, सेतो सूर्य' लगायत थुप्रै फिल्ममा अभिनय गरिसकेका छन्। अब उनी आफूले निर्देशन गरेको फिल्म 'दयारानी' प्रदर्शनको तयारीमा छन्।
यो फिल्म माघ २६ गतेदेखि देशभरका हलमा प्रदर्शन हुँदैछ।
फिल्म प्रदर्शन मिति नजिकिँदै गर्दा उनको मनमा भने एउटा कुरा खड्किरहेको छ। उनले सुनेका छन् — दयारानी माओत्सेको डेब्यू फिल्म हो!
'मैले माओत्से गुरूङको यो डेब्यू फिल्म हो भन्ने सुनेँ। यसअघि मैले भाषिक र क्षेत्रीय फिल्म निर्देशन गरिसकेको छु। त्यस हिसाबले यो मेरो डेब्यू फिल्म भन्न मिल्दैन। यसमा किन अलमल भइरहेको छ भन्ने बुझिरहेको छैन,' उनले भने, 'मैले कर्म त पहिल्यै गरेको हो। स्थानीय र जातीय फिल्मलाई फिल्म नै नमानेको जस्तो देखियो।'
दयारानीलाई आफ्नो डेब्यू फिल्म भनिँदा यसलाई सहर्ष स्वीकार गरौं कि नगरौं भन्ने उनलाई भइरहेको छ।
उनले थपे, 'यो ठूलो बजारमा रिलिज हुने मेरो पहिलो फिल्म हो भने म मान्न तयार छु। ठूलो बजार भए पनि स्थानीय फिल्मका जति पनि दर्शक आएनन् भने के गर्ने?'
दयारानी फिल्मको कथा माओत्सेले हालसालै बुनेका पनि होइनन्, सात वर्षअघि नै हो।
उनले आफ्नो वरपरका केही निःसन्तान दम्पतीलाई नियालेका थिए। पुरूष आफूमा कुनै दोष छैन भन्ने मानसिकता बोकेर हिँडिरहेको देखे। महिलाहरूलाई सबै दोष लगाएको देख्दा उनी बिचलित हुन्थे।
'ओहो, म पनि पुरूष नै हुँ। मेरो जीवनमा पनि यस्तो घटना भएको भए मेरो पुरूष मानसिकताले यस्तै भन्थ्यो कि भन्ने डर मनमा बस्यो। आफ्नो कमजोरी लुकाउन पुरूषहरूले कतिसम्म गर्न सक्छन् भनेर देखाउन यो फिल्म बनाएँ,' उनले भने।
फिल्मको कथा तयार भएपछि उनले केही निर्मातालाई सुनाए। उनीहरूले फिल्मप्रति रूचि देखाएनन्। अनि माओत्सेले आफ्नै ब्यानरबाट फिल्म बनाउने निर्णय गरेका हुन्। अमेरिका, बेलायत, हङकङ, जापानमा बस्ने साथीभाइले उनलाई फिल्म बनाउन पैसा हालिदिए।
गुरूङ समुदायबाट कथा भन्ने भएपछि फिल्मका लागि मंगोलियन अनुहार भएको अभिनेता खोजी भयो। माओत्सेले दयाहाङको विकल्पमा अरू अभिनेता सोच्नै सकेनन्। दीया पुनलाई उनले 'मिस्टर झोले' को सुटिङ सेटमा आफ्नो फिल्ममा खेल्न प्रस्ताव गरे। दीयाले सहजै स्वीकार गरिन्।
माओत्सेकी भतिजी नयन गुरूङले दयाहाङकी सालीको भूमिकामा अभिनय गरेकी छन्। भतिजी भए पनि नयनले तीन महिना अभिनय तालिम लिएपछि मात्रै फिल्ममा लिएको माओत्सेले बताए।
'यो फिल्म पूरा गर्न मैले दोस्रो भाग बनाउनुपर्छ। बन्ला, नबन्ला थाहा छैन। तर दोस्रो भाग नबनाई दयारानीको कथा टुंगिँदैन,' उनले भने।
उनले दयाहाङलाई प्रस्ताव गर्दा दोस्रो भागको कथा सुनाएका थिए। तर छायांकनमा गयो पहिलो भाग।
दयाहाङ अहिले पनि माओत्सेलाई भनिरहन्छन्, 'दाइलाई मैले दोस्रो भाग बनाऔं भनेको, मान्नु भएन।'
यसमा माओत्से भरोसा दिलाउन भन्छन्, 'यसको दोस्रो भाग पनि बन्छ। चिन्ता नगर न!'
यो फिल्म पाँच वर्षअघि नै तयार भएको थियो। ठूला ब्यानरको फिल्मको चेपुवामा परेर माओत्सेले चार पटकसम्म प्रदर्शन मिति सारे। यसपटक पनि एकल रिलिज हुने छैन। 'दयारानी' सिमोस सुनुवार निर्देशित फिल्म 'हात्तीछाप' सँगै रिलिज हुँदैछ।
बारम्बार प्रदर्शन मिति परिवर्तन भइरहँदा एक समय माओत्सेलाई यो फिल्म नै चलाउँदिनँ भन्ने पनि लागेको थियो।
'हामी पाँच वर्षअघि फिल्म बनाएर बसेका छौं। अरूले फिल्म नबनाई प्रदर्शन मिति घोषणा गरिदिन्छन्। हामी जस्ता फिल्मकर्मीले कहाँ गएर फिल्म देखाउने? दसैंतिहार हेर्ने हो भने एक वर्ष पछिसम्मको मिति अहिले कब्जा भइसक्यो। बारम्बार सार्दा पनि हामीले कहिल्यै उचित मिति पाएनौं। अहिले अनि साथीभाइको फिल्मसँग जुध्न पुग्यो,' उनले भने।
अहिले फिल्म रिलिज गर्न उनलाई वितरक प्रचण्डमान श्रेष्ठले घच्घच्याएका हुन्। एउटा फिल्मकर्मीलाई चित्त नबुझ्ने धेरै ठाउँ हुन्छ, तर फिल्म बनाइसकेपछि प्रदर्शन गर्नुपर्छ भनेर प्रचण्डमानले उनलाई भनिरहे। त्यसपछि चलाउने निर्णय गरेको माओत्से बताउँछन्।
'यो फिल्मले रेकर्ड राख्छ भन्ने कुनै आशा छैन। करोडौं कमाउनुपर्छ भन्ने दबाब पनि छैन। अरूका फिल्मले १०/२० करोड कमाउँदा मेरो फिल्मले दुई करोड कमाए पनि पुग्छ। त्यसैले फिल्म चल्ला कि नचल्ला भनेर मैले दबाब महसुस गरेको छैन,' उनले भने।
क्षेत्रीय र ठूलो बजारमा फिल्म रिलिज गर्दाको फरक बताउँदै माओत्सेले थप भने, 'सामुदायिक र क्षेत्रीय फिल्म बनाउँदा हामी घरघरै गएर टिकट बेच्छौं। फिल्मको प्रचार आवश्यक हुँदैन। तर दयारानी जस्तो फिल्म दर्शकले आफ्नो इच्छाले गएर टिकट काटेर हेर्नुपर्ने हुन्छ। प्रचारमा दौडधुप हुन्छ। तर मैले त्यस्तो केही गरेको छैन। फिल्म कति चल्छ भन्ने त रिलिजपछि थाहा होला!'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी