'तिमी लुगा बनाउँछौ?'
'होइन म लुगा बनाउँदिनँ, म स्टाइलिस्ट हो।'
'एउटै होइन र?'
यस्तै सवालजवाफमा बेलाबेला उल्झिरहन्छन् फेसन स्टाइलिस्ट अनुश श्रेष्ठ।
धेरैले उनलाई सोधिहाल्छन्- फेसन डिजाइनरसम्म त सुनेको हो, स्टाइलिस्ट भनेको चाहिँ के नि?
फेसनअनुसार लुगा लगाउने सेलेब्रेटीहरूका सारथि अनुशलाई कहिलेकाहीँ त बुझाउनै मुस्किल हुन्छ।
उनका अनुसार फेसन डिजाइनर र फेसन स्टाइलिस्टमा धेरै फरक छ। डिजाइनरले लुगा डिजाइन गर्छन् भने स्टाइलिस्टले कसलाई कुन लुगा कसरी लगाउँदा उपयुक्त हुन्छ भनेर सिकाउँछन्।
अरूले डिजाइन गरेको लुगा कसरी मिलाएर लगाउने, त्यसमा सुहाउँदो कपाल कस्तो हुन्छ, हिल कत्रो र कस्तो लगाउने, कसलाई कस्तो लुगा सुहाउँछ, कुन कार्यक्रममा जाँदा कस्तो रूपमा जाने जस्ता हरतरहका उल्झनको उपाय फेसन स्टाइलिस्टसँग हुन्छ।
विगत पाँच वर्षदेखि अनुश यही काम गरिरहेका छन्। यस अवधिमा उनले अभिनेत्री प्रियंका कार्की, आँचल शर्मा, स्वस्तिमा खड्का, अश्मी श्रेष्ठ, नीति शाह लगायत थुप्रै कलाकार र मोडलहरूको स्टाइलिङ गरिसकेका छन्।
'मेरो मुख्य काम भनेको सेलेबेट्री स्टाइलिङ, हाई-प्रोफाइल स्टाइलिङ र कमर्सियल स्टाइलिङ हो,' अनुशले भने।
सेलेबेट्री स्टाइलिङ भन्नाले व्यक्तिगत रूपमा कलाकारहरू कुनै फिल्मको प्रचारप्रसार या अन्तर्वार्तामा जाँदैछन् भने गरिने स्टाइलिङ हो।
हाइ-प्रोफाइल स्टाइलिङ म्यागजिनको आवरण पृष्ठ (कभर) का लागि तयार पारिने स्टाइल हो। त्यस्तै कमर्सियल स्टाइलिङ कुनै पनि ब्रान्डको लागि विज्ञापन गर्दा गरिने स्टाइल हो।
अनुशले सेलेब्रेटी स्टाइलिङमा सबभन्दा चर्चा पाएका अभिनेत्री स्वस्तिमा खड्कामार्फत हो। उनले केही समयअघि अभिनेत्री स्वस्तिमाको स्टाइलिङ गरेका थिए। स्वस्तिमा आफूलाई सिम्पल लुक्समा देख्न चाहन्थिन्।
'उहाँको इच्छाअनुसार मैले सेतो सर्टमा फोटो सुट गराएँ। त्यो लुक्समा स्वस्तिमा खुसी हुनुभयो,' उनले भने।
त्यस्तै अभिनेत्री आँचल शर्मालाई 'वाउ' म्यागजिनका लागि अनुशले ब्राइडल लुक्स दिएका छन्। पछिल्लो समय ब्राइडल लुक्समा रातो रङको मात्र नभई अन्य रङका लुगा पनि लगाउने चलन छ। त्यसैले उनले आँचललाई नीलो लुगामा प्रस्तुत गरे।
कमर्सियल स्टाइलमा भने उनले चर्चा कमाएको लुक्स हो पूर्वमिस नेपाल अश्मी श्रेष्ठको। गहनाको विज्ञापनमा अश्मी मोर्डन लुक्समा देखिएकी छन्।
'अलि फरक खालको देखाउने उद्देश्यले आधुनिक लुक्स दिइएको हो,' उनले भने।
अश्मीले उक्त विज्ञापनमा तेन्जिङ छेतेन भुटियाले डिजाइन गरेको लुगा लगाएकी छन्।
अनुश नाम चलेका फेसन डिजाइनरबाट मात्र नभई हरेक पसलबाट कपडा छान्छन्।
यसरी आवश्यकता अनुसार विभिन्न लुक्समा कलाकारहरूलाई चिटिक्क पार्ने अनुशले यसबारे पढेका भने होइनन्। उनका अनुसार नेपालमा यसबारे पढ्ने कुनै कोर्स पनि छैन।
'आजको दिनमा स्टाइलिस्टको पनि धेरै महत्त्व छ। म यस क्षेत्रमा प्रवेश गर्दा यो काम गर्ने दुई-तीन जना थिए। अहिले त्यो संख्या बढ्दै गएको छ,' अनुश भन्छन्, 'तर अझै पनि मलाई १० जना स्टालिस्टको नाम भन्न मुस्किल पर्छ। यो विषयमा पढाइ हुने भएको भए नयाँ पुस्ताले झनै राम्रो काम गर्थे होला। तर कतिपयले फेसन डिजाइनिङ पढेर पनि स्टाइलिङ गरिरहेका छन्।'
अनुशलाई सानै उमेरदेखि राम्रा र विभिन्न रङका लुगा लगाउन रूचि थियो। स्कुल पढ्दा साथीहरूसँग कतै घुम्न गए भने पोज दिँदै आफ्नो फोटो खिच्न लगाइहाल्थे।
उनलाई साथीहरूले 'पोजे' भन्दै जिस्काउँथे पनि।
खासमा उनलाई मोडलिङ क्षेत्रको चमकले आकर्षित गरिरहेको थियो। त्यसैले कलेज पढ्दै गर्दा मोडलिङ सुरू गरे। उनको पहिलो फोटोसुट आयुष श्रेष्ठले गरेका थिए।
'उचाइ कम भएकाले म र्याम्पमा हिँड्न भने नपाउने भएँ। त्यसपछि मैले मोडलिङमा आफ्नो भविष्य देख्न छाडेँ,' अनुशले सुनाए।
त्यसपछि उनलाई लाग्यो– विज्ञापनमा मात्रै सीमित भएर यो क्षेत्रमा लामो समय टिक्न सकिँदैन।
मोडलिङ क्षेत्रमा छिरेपछि यसका अरू विधा पनि हुने रहेछन् भन्ने उनलाई थाहा भयो; फोटोग्राफर, मेकअप आर्टिस्ट, फेसन स्टाइलिस्ट।
फोटोग्राफर मिलन लामाले सुझाएअनुसार उनले फेसन स्टाइलिस्ट बन्ने निर्णय लिए। स्टाइलिस्टका रूपमा उनले पहिलो पटक 'लिभिङ' म्यागजिनका लागि काम गरेका थिए। जसमा उनले मोडल सोनी श्रेष्ठलाई स्टाइल गरे।
अनुशले आइटी (इन्फरमेसन टेक्नोलोजी) मा स्नातक गरेका छन्। उनले स्टाइलिस्टको यात्रा सुरू गरेसँगै आइटी पढ्न थालेका थिए। सुरूआतमा उनलाई दुवैतिर समय दिन गाह्रो भयो।
फेसन क्षेत्रमा रूचि भएकाले उनलाई आइटीमा किन दुःख गरिरहनु भन्ने सोच नआएको होइन। तर यो क्षेत्रमा सधैं जम्न सकिएला भन्ने ढुक्क पनि भएन। त्यही डरले उनले पढाइ पूरा गर्ने अडान लिए।
अर्कातिर कामको चाप बढ्दै गयो। उनले आफूलाई आएको कामको सबै प्रस्ताव स्वीकार गरे।
कामको व्यस्ततामा उनकी आमाले धेरै साथ र सहयोग दिइन्। अनुश दिनभर काम गरेर थकित हुँदै घर फर्किन्थे। सुटिङबाट ल्याइएका लुगा लथालिंग हुन्थे। त्यी सबै समेट्ने काम उनकी आमाले गरिदिइन्।
'सुट सकिएपछि पनि हाम्रो काम सकिँदैन। हामीले भाडामा ल्याएको कपडा फिर्ता गर्नुपर्ने हुन्छ। यसरी हामी अरूभन्दा धेरै खटिरहेका हुन्छौं। तर हामीलाई दिने पारिश्रमिक कम छ,' अनुश भन्छन्, 'मेकअप आर्टिस्टको जति पनि पैसा दिँदैनन्। फेरि यो क्षेत्रमा केही समय आराम गर्छु भन्यो भने मान्छेले बिर्सिन्छन्। लगातार काम गरिरह्यो भने यसले नि राम्रो काम गर्छ है भन्ने हुन्छ। नत्र दुई महिना घरमै आराम गर्छु भनेर बस्यो भने त्यो स्थान अरूले नै लिइसकेका हुन्छन्।'
उनी आफ्नो नाम स्थापित गर्न निकै कसरत गरिरहेका थिए। न पढाइ छोड्न सके, न काम।
एक समय आयो जब हरेक मोडल र अभिनेत्रीको तस्बिरको तल 'स्टाइल बाई अनुश श्रेष्ठ' आउन थाल्यो। यो देखेर उनी मख्ख परे, आफ्ना सारा दुःखकष्ट भुले।
अनि यही यात्रामा जमेर लागे उनी।
अब अनुश फिल्ममा पनि स्टाइलिङ गर्ने तयारीमा छन्। उनले अनमोल केसी र आना शर्माको फिल्म 'जेरी अन टप' मा स्टाइलिङको अवसर पाएका छन्।
'मलाई फिल्ममा स्टाइलिङ गर्न त खासै रूचि छैन। एउटै फिल्ममा तीन महिना समय दिनुपर्छ। त्यसमाथि पारिश्रमिक पनि कम हुन्छ। यतिका समय स्वतन्त्र रूपमा काम गर्यो भने धेरै पैसा कमाइन्छ। तर यो फिल्ममा फेसनलाई राम्रोसँग देखाउने ठाउँ देखेको छु। नयाँ अनुभव हुन्छ भनेर गर्न लागेको हुँ,' उनले भने।
उनलाई यसअघि पनि थुप्रै फिल्मको अफर आएको थियो। उनले अस्वीकार गरे।
'जेरी अन टप' को प्रस्ताव आउँदा पनि गर्ने कि नगर्ने भनेर दुबिधा भइरहेको थियो। मेकअप आर्टिस्ट श्रद्धा मास्केले उनलाई 'नआत्तिनु, म छु' भन्दै हौसला दिएको उनी बताउँछन्।
'केही समयअघि हाम्रो कलाको कुनै महत्त्व थिएन। हामीलाई त लुगा बोक्ने भरिया सम्झिन्थे,' अनुश भन्छन्, 'अहिले केही परिवर्तन आउन थालेको छ।'
उनलाई अब आउने नयाँ पुस्ताका लागि यो क्षेत्रमा सजिलो हुन्छ जस्तो लाग्छ। कतिपटक उनले पारिश्रमिकबिनै काम गरेका छन्। तर अब राम्रो पारिश्रमिक नभएसम्म काम गर्न सक्ने अवस्था नभएको उनले बताए।
'म यति चाहिँ गर्वका साथ भन्न सक्छु कि मैले आफूसँगै यस क्षेत्रलाई पनि अगाडि बढाएँ। चाहे त्यो पारिश्रमिकको मामिलामा होस्, या क्रेडिट लिने,' उनी आत्मविश्वाससाथ भन्छन्, 'अहिले मैले चाहेका मान्छेसँग काम गर्न पाइरहेको छु। त्यसैले एकदमै खुसी छु।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी