गुड फ्राइडे सिनेमा
जीवनजस्तै जीवन्त हुन्छन् इरानी फिल्महरू।
आममान्छेको दैनिक जीवनका मसिना घटनाक्रम जोड्दै व्यावहारिक र दार्शनिक विषयमा घोत्लिन बाध्य पार्नु इरानी फिल्मका विशेषता हुन्।
सामान्य घटनाक्रम, थोरै लगानी तर यथार्थपरक र कलात्मक फिल्मका लागि इरानी सिनेमा संसारभरका दर्शकमाझ प्रख्यात छ।
आज गुड फ्राइडे सिनेमामा हामीले यस्तै एउटा उत्कृष्ट इरानी फिल्म सिफारिस गरेका छौं।
उराठलाग्दा र अग्ला पहाडबीच विद्यार्थी खोज्दै एक हुल शिक्षक काँधमा ब्ल्याकबोर्ड बोकेर हिँडेका छन्। शिक्षाको उज्यालो बाँड्न विद्यार्थी खोज्दै हिँडेका ती शिक्षकको भेट गाँस, बास र सुरक्षाको ठेगान नभएका युद्धबाट विस्थापित पात्रहरूसँग भइदिन्छ। यहीँबाट नयाँ यात्रा सुरू हुन्छ।
यो यात्रा कहाँ पुग्छ भन्ने थाहा पाउन हेर्नुहोस् 'ब्ल्याकबोर्ड्स'।
सन् २००२ मा बनेको यो फिल्म इरान–इराक युद्धका क्रममा शरणार्थी भएका कुर्दिश समूहमा केन्द्रित छ। आकाशमा बेलाबेला गुञ्जिने हेलिकप्टरको आवाजले उनीहरूमा युद्धको त्रास हटेको छैन।
युद्ध र शिक्षाका अँध्यारा-उज्याला पक्ष जोडिएको ब्ल्याकबोर्ड्सका घटनाक्रम यथार्थको नजिक छ।
निर्देशक समिरा मखमलबाफले २१ वर्ष उमेरमा बनाएको यो फिल्म कान फेस्टिभलमा उत्कृष्ट जुरी अवार्ड पाउन सफल भएको थियो।
त्यस्तै युनेस्को पेरिसबाट दुइटा, इटालीमा भएको जिफोनी फिल्म फेस्टिभलमा दुइटा र अमेरिकन फिल्म इन्स्टिट्युटबाट एउटा अवार्ड पनि जितेको छ।
फिल्म कुर्दिश भाषामा भए पनि युट्युबमा अंग्रेजी सबटाइटलमा हेर्न सकिन्छ।