कलाकारको अभिनयको जति महत्त्व हुन्छ, त्योभन्दा बढी पात्र अनुसारको रूपरंगको हुन्छ।
पात्र सुहाउँदो बनाउन होस् वा आकर्षक बनाउन, यो काममा महत्त्वपूर्ण भूमिका भने मेकअप आर्टिस्टले निर्वाह गरेका हुन्छन्।
यस्तै मेकअप आर्टिस्ट हुन् श्रद्धा मास्के।
विगत सात वर्षदेखि उनी तल्लीन भएर यो काममा लागेकी छन्। यस अवधिमा उनले प्रियंका कार्की, स्वस्तिमा खड्का, अनमोल केसी, साम्राज्ञी राज्यलक्ष्मी शाह, आँचल शर्मा, आयुष्मान देशराज जोशी, शिल्पा मास्के, जसिता गुरूङ लगायत अधिकांश कलाकारको मेकअप गरिसकिन्।
अभिनेत्री प्रियंका कार्की त सधैंजसो श्रद्धालाई नै खोज्छिन्। फिल्मदेखि वेबसिरिज, रियालिटी शो, फेसन शो, म्युजिक भिडिओ, विज्ञापन, अन्तर्वार्ता, पारिवारिक समारोहसम्म उनको सिँगारपटारमा श्रद्धा नै खटिएकी छन्।
श्रद्धाले फिल्ममा धेरै काम गरेकी छैनन्, औंलामा गन्न सकिने छन्। उनलाई हरेक कलाकारसँग जोड्ने कडी भनेको विज्ञापन हो। ठूला कम्पनीका धेरै नेपाली विज्ञापनमा काम गरेकी छन्।
बिहेको सिजनमा उनी निकै व्यस्त हुन्छिन्। तर पनि उनलाई खोज्ने कलाकार उनैलाई कुरेर बस्छन्। श्रद्धा कहिले उनीहरूको समय अनुसार चल्छिन्, कहिले कलाकारहरू उनको समयअनुसार।
'अहिले मेकअप आर्टिस्ट सबैलाई चाहिन्छ। मै हुँ भनेर घमन्ड गरेर हिँड्नेले काम पाउँदैनन्,' ऋद्धाले भनिन्, 'सधैं काम पाउन राम्रो सम्बन्ध स्थापित गर्नुपर्छ भन्ने मेरो बुझाइ हो।'
कलाकारहरूको सुन्दरताको राज बनिसकेकी श्रद्धाले यसबारे पढेकी नै भने होइनन्।
न कुनै विशिष्ट तालिम लिएकी छन्। लन्डनमा केही समय आफैं काम गर्दै सिकेकी हुन्।
मेकअपमा भने उनको रूचि सानै उमेरदेखि थियो।
अभिनेत्री शिल्पा मास्केकी दिदी हुन् श्रद्धा। शिल्पा विद्यालयमा हुने हरेक नृत्य कार्यक्रममा सहभागी हुन्थिन्। त्यो बेला उनलाई सिँगार्ने जिम्मा श्रद्धाकै हुन्थ्यो।
'बहिनीलाई सिँगार्दै यो यात्रा सुरू गरेकी थिएँ,' उनले भनिन्।
अहिले उनकी बहिनी शिल्पा कलाकार भइसकिन्। श्रद्धा सबैजसो कलाकारको मेकअप गर्ने भइसकिन्।
'मलाई फाइन–आर्ट्स पढ्ने रहर थियो। बीस वर्षअघि आर्ट्स विषय कमजोर विद्यार्थीले मात्र पढ्छन् भन्ने धारणा थियो,' उनले भनिन्, 'यही धारणा ममा पनि हाबी भयो। त्यसैले व्यवस्थापन पढेँ।'
कक्षा १२ पढेपछि उनी लन्डन गइन्। त्यहाँ पनि सिँगारपटारकै काममा व्यस्त भइन्। नेपालीहरूको बिहेमा मेकअप गरिदिन्थिन्। एक मुख, दुई मुख गर्दागर्दै 'श्रद्धाले राम्रो मेकअप गर्छिन्' भनेर फैलिन थाल्यो।
यसले उनको हौसला बढायो। इन्टरनेटमा हेरेर थप सिक्दै गइन्, नयाँ नयाँ प्रयोग गरिन्।
रहरले सुरू गरेको कामबाट उनले पैसा कमाउन थालिन्। उनी जति पैसा कमाउँथिन्, त्यति नै मेकअपका सामान किन्थिन्। यस्तै किनमेलमा उनको रमाइलो अनुभव पनि छ।
'एकपटक मैले आइल्याशेस (परेला) किनेकी थिएँ। तर त्यो लगाउन ग्लु चाहिन्छ भनेर थाहै थिएन। धेरै समयपछि मात्र थाहा पाएँ,' उनले भनिन्।
लन्डनका सडक सँगैका भित्तामा कोरिएका कलाले उनलाई आकर्षित गर्थ्यो। त्यो हेरेर उनी सोच्थिन् — भित्तामा गर्न मिल्ने कुरा अनुहारमा किन नगर्ने!
त्यसपछि उनी इन्टरनेटमा बडी-पेन्टिङबारे खोज्न थालिन्। सिकेका कुरा आफैंमा प्रयोग गरिन्।
एक दिन ऋद्धाले आफ्नो अनुहारमा पेन्टिङ गरेकी थिइन्।
उनकी साथीले देखेर भनिन्, 'कस्तो राम्रो गरेको! फेसबुकमा फोटो हाल न!'
श्रद्धा फोटो खिच्न हिच्किचाउँथिन्। फेसबुकमा आँखाको मात्र फोटो हालिन्। मान्छेहरूले उनको कलाको प्रशंसा गरे।
यसैबीच उनले पहिलोपटक फेसन शोमा मेकअप गर्ने अवसर पाइन्। उनलाई यो अवसर 'पर्छ प्रोडक्सन' ले दिलाएको थियो। पर्याप्त सामान नभए पनि उनले १६ जना मोडलको मेकअप गरिदिइन्। यसपछि उनको व्यस्तता झनै बढ्यो।
२०७१ सालमा उनले छोरालाई जन्म दिइन्। उनी एकल आमा हुन्।
'मेरो आमाबुवाको साथमा छोरा हुर्काउन सजिलो हुन्छ भनेर म नेपाल फर्किएँ,' उनले भनिन्।
फर्केर उनले चल्तीका पत्रपत्रिकाका लागि कभर-मेकअप गर्न थालिन्। त्यति बेला नेपालमा मेकअप गर्नेहरू आर्टिस्ट हुन सक्छन् भनेर धेरै फैलिएकै थिएन।
'लिपस्टिकले ओठको आकार बनाउँदा त के गरेको होला भन्थे। त्यसमाथि म अनुहार र शरीरमा पनि आर्ट गर्थेँ। राम्रा, नराम्रा दुवैखाले प्रतिक्रिया आउँथे। मैले त्यति बेला गरेका प्रयोग बल्ल अहिले सामान्य लाग्न थालेका छन्,' उनले भनिन्।
छोटो समयमा कामैले प्रभाव पार्न सफल श्रद्धा पछि फेरि लन्डन गइन्। त्यहीँ पहिलोपटक नेपाली फिल्मी कलाकारको मेकअप गरिन्, अभिनेत्री सृष्टि श्रेष्ठको। 'गाजलु' फिल्मको प्रिमियरमा सृष्टि लन्डन आउँदै छिन् भन्ने थाहा पाएपछि उनले आफैं म तिम्रो मेकअप गरिदिन्छु भनिन्। सृष्टिले पनि श्रद्धाको प्रस्ताव सहजै स्वीकार गरिन्।
केही समयपछि उनलाई एउटा सन्देश आयो — तपाईं कहिले आउने, मेरो विवाह छ, तपाईं आउन भ्याउनुहुन्छ?
नेपालबाटै माग आएपछि उनलाई लन्डन छाड्न कठिन भएन। २०७३ सालमा फर्किइन्।
फोटोगाफर संजोग राईसँग मिलेर उनले कुपन्डोलमा 'एक्जिभिट स्टुडियो' खोलिन्। एक म्यागेजिनमा पनि आबद्ध भइन्। यहाँ काम गर्दा हरेक साता नयाँ कलाकार वा मोडलसँग जोडिने अवसर पाइन्।
'मैले लन्डनबाट मेकअप सामान ल्याएकी थिएँ। श्रद्धाले राम्रो सामान प्रयोग गर्छिन् भनेर कलाकारहरूले मलाई खोज्न थाल्नुभयो। त्यसैले मलाई नेपालमा स्थापित हुन धेरै समय लागेन,' उनले भनिन्।
विज्ञापनमा श्रद्धाको एकछत्र राज जस्तै हुन थाल्यो। नागढुंगामा उनले मेकअप गरिदिएका कलाकारको तस्बिर होर्डिङ बोर्डमा राखिएको हुन्थ्यो। नागढुंगा पुगेपछि उनी टक्क अडिएर आफ्नो काम नियाल्थिन्।
उनले मेकअप आर्टिस्टका रूपमा काम गरेको पहिलो फिल्म हो 'द ब्रेकअप'। यस फिल्ममार्फत उनकी बहिनी शिल्पाले अभिनयमा डेब्यू गरेकी हुन्।
फिल्ममा धेरै मान्छेलाई मेकअप गरिदिनुपर्ने हुँदा उनी के हुन्छ भनेर सुरूमा अत्तालिएकी थिइन्। छायाँकन सेटमा कलाकारको अनुहार चिल्लो देखिनु हुँदैन। नभए लाइटिङ मिलाउ समस्या हुन्छ।
'सुरूको दिन आफूले गरिदिएको मेकअप चित्तै बुझेन,' उनले भनिन्।
उनले छायाँकार नरेन्द्र मैनालीलाई भनिन्, 'दाइ मलाई आजको काम चित्त बुझेन। भोलि म आफ्नै तरिकाले गर्छु। तपाईंलाई चित्त बुझेन भने म गर्दिनँ।'
नरेन्द्रले हुन्छ भने।
त्यस दिन उनले आफ्नै हिसाबले काम गरिन्। बेलुका कस्तो भयो भनेर सोधिन्। नरेन्द्रले सजिलो भयो भनेपछि उनी ढुक्क भइन्।
फिल्मको सम्पूर्ण छायाँकन सकिएपछि भने उनले भनेछन्, 'श्रद्धाजी, तपाईंले गर्नुभएको मेकअपले गर्दा मलाई लाइटिङमा निकै सहज भयो।'
'यो मेरा लागि निकै महत्त्वपूर्ण प्रतिक्रिया थियो। फिल्ममा काम गर्दा मैले धेरै कुरा सिक्ने अवसर पाएँ,' श्रद्धाले भनिन्, 'छोटो समयमा काम गर्नेदेखि धैर्यसम्म सिकेँ।'
यसपछि उनले 'सानो मन', 'घामड शेरे',' छक्का पन्जा ४' लगायत फिल्ममा काम गरिन्। अहिले अनमोल केसीको 'फर्की फर्की' मा काम गर्ने तयारीमा छिन्।
श्रद्धाले नयाँ पुस्ताका युवायुवतीलाई काम सिकाएकी पनि छन्। उनीहरूलाई आफ्नो सहयोगी बनाइन्। अहिले उनको टिममा तीन जना छन्। गीत छायाँकन हुँदा भ्याएनन् भने मात्र अरूलाई बोलाउँछन्।
अचेल श्रद्धा मेकअप भने सिकाउँदिनन्।
कारण खुलाउँदै भनिन्, 'गलत प्रयोग पनि हुन थाल्यो। अफिस जाँदा होस् या बिहेमा एकै खालको मेकअप गरिदिने! यसले मलाई दिक्क लाग्यो अनि सिकाउन छाडेँ।'
श्रद्धालाई अब आफ्नै लगानीमा सौन्दर्य सामान उत्पादन गर्ने रहर छ।
भन्छिन्, 'दुई-तीनवटा सामान नेपालमा बन्ने सम्भावना देखेकी छु। त्यसैले आफ्नै ब्रान्डको सामान निकाल्न मन छ। तर अहिले अनुसन्धान नै गरिरहेकी छु।'