गुड फ्राइडे सिनेमा
विश्व सिनेमामा इटालीको अलग शैली र त्यसकै जगमा बनेको पृथक पहिचान छ। अस्कर, कान र अन्य ठूला मानिने महोत्सवहरूमा इटालियन फिल्मकर्मीको दबदबाले पनि यो कुरा पुष्टि गर्छ।
आज गुड फ्राइडे सिनेमामा हामीले यस्तै इटालियन फिल्म सिफारिस गरेका छौं। अस्करमा सर्वश्रेष्ठ संगीतको पुरस्कार पाएको यो फिल्मको संगीत पनि विशेष छ।
फिल्म हो निर्देशक माइकल रेडफोर्ड र मास्सिमो त्रोइसीको 'इल पोस्तिनोः द पोस्टम्यान'।
इटालीको एउटा विरानो गाउँमा शरण लिन आइपुगेका चिलीका विश्व चर्चित कवि पाब्लो नेरूदा र उनकी श्रीमती आएपछि स्थानीय मारियोको जीवन फेरिन्छ।
नेरूदाका लागि हुलाकीको काम गर्ने मारियो नेरूदाबारे स्वाभाविक जिज्ञासु हुन्छन्। नेरुदालाई आउने धेरै चिठीको खाममा महिलाको नाम देख्दा भने उनी अचम्म पर्छन्। उनको कवितामा केही त जादू छ, जसले महिलालाई आकर्षित गर्छ भन्ने सोच्न थाल्छन्।
नियमित भेटले मारियो र नेरूदा नजिकिन्छन्। प्रभावशाली कविको व्यक्तित्वको प्रभाव मारियोमा पर्छ। तर योभन्दा बढी उनी बेत्रिस नामकी महिलासँग एकोहोरो प्रेममा पर्छन्। ती महिलाबारे आफ्नो भावना साट्ने क्रममा उनी नेरूदासँग झनै नजिकिन्छन्।
संसारभरका पाठकमा प्रभाव पार्ने कवि नेरूदाको कविताले मारियोको संसार र जीवन हेर्ने दृष्टि फेर्दै ल्याउँछ। मारियो कविता सिकेर बेत्रिसलाई प्रभावित पार्ने प्रयासमा लाग्छन्। यसका लागि उनी नेरूदालाई बेत्रिसलाई सुहाउने विम्ब रचिदिन आग्रह गर्छन्।
के मारियोले मनपराएकी बत्रिसलाई प्रभावित पार्ने कविता लेख्न सक्लान् नेरूदाले? भेट्नुअघिका मारियो र पछिका मारियोमा के-कस्तो फरक आउँछ?
फिल्ममा यी दुई पात्रको सम्बन्ध चित्रण गर्दै उनीहरूको मित्रताको असाधारण कथा बुनिएको छ। फिल्ममा मारियोको भूमिका निर्वाह गर्ने मेसिमो ट्रोसी चर्चित इटालियन अभिनेता हुन्। यसमा उनको अभिनयले मन जित्छ भने फिलिप नोरेटसहज र मारिया ग्रेजिया आदि पनि आफ्नो भूमिकामा मजाले जमेका छन्।