अभिनेता विपीन कार्कीलाई फिल्म क्षेत्रमा पहिचान दिलाउने पात्र हो 'भष्मे डन'।
स्वर भासिएको आवाज निकाल्ने भष्मे डनले दर्शकको मन-मस्तिष्कमा गहिरो छाप छाडेको छ। आज पनि विपीन कुनै कार्यक्रममा गए भने 'भष्मे डनको आवाज निकाल्नु न' भन्ने प्रस्ताव आइहाल्छ।
यो पात्रका रूपमा परिचित हुन पाउँदा आफूलाई पनि खुसी लाग्ने बताउँछन् विपीन।
फिल्म 'पशुपति प्रसाद' को पात्र भष्मे डन विपीनको जीवनसँगै जोडिएर आउने पात्र हो। उनले कहिल्यै बिर्सिन नसक्ने पात्र!
'भष्मे डनले मेरो पहिचान स्थापित गरायो। मैले धेरै समयअगाडि देखि फिल्ममा अभिनय गरिरहेको थिएँ। पुग्न चाहेर पनि पुग्न नसकेको ठाउँमा भष्मे डनले पुर्यायो,' उनले भने, 'यसमा मेरो पनि निकै मेहनत थियो। यसले कुनै पनि पात्रमा तपाईंले काम गर्न चाहेर मेहनत गर्नुभयो भने सफल हुनुहुन्छ भन्ने पाठ पनि सिकायो।'
यो पात्रलाई विशेष बनाउने पनि उनी आफैं हुन्।
विपीनले पशुपति प्रसादभन्दा अगाडि 'लुट', 'छड्के', 'तान्डव', 'सुन्तली' र 'कालो पोथी' जस्ता फिल्म खेलिसकेका थिए। दर्शकका नजरमा भने उनी 'छड्के' का बिन्दु पात्रकै रूपमा मात्र बढी चिनिन्थे।
उनलाई फिल्म क्षेत्रमा आफ्नो प्रभाव छोड्नुपर्छ भन्ने भान भइरहेको थियो। त्यसैले उनी ऐनामा हेर्दै विभिन्न पात्रको नक्कल गर्ने प्रयास गर्थे।
आफू फरक पात्रमा देखिन संघर्ष गरिरहेका बेला उनलाई पशुपति प्रसादको प्रस्ताव आयो।
उनलाई लाग्यो — यो मेरो लागि सुनौलो अवसर हुन सक्छ!
भूमिका निर्वाह गर्न तीन-चार तरिकाबाट तयारी गरे। त्यसमध्ये उनले भष्मे डन पात्रका लागि भासिएको स्वर निकाल्ने निधो गरे। तर निर्माता र निर्देशकलाई भनिहाल्ने हिम्मत जुटाउन सकेनन्।
एक दिन निर्देशक दीपेन्द्र के खनाल र लेखक खगेन्द्र लामिछानेले स्क्रिप्टबारे छलफल गर्ने ककनी जाने योजना बनाए। त्यो दिन पानी परिरहेको थियो। विपीन स्कुटर चढेर पानीमा भिज्दैभिज्दै गएका थिए।
निर्माण टिम उनकै पर्खाइमा थियो।
पुगेपछि विपीनले भने, 'दाइ जाऔं। ढिला भयो।'
यसो भन्दा उनको स्वर सधैं बोल्नेभन्दा फरक थियो। विपीनले भासिएको स्वरमा बोलेको सुनेर दीपेन्द्र र खगेन्द्र छक्क परे।
एकै स्वरमा सोधे, 'के भयो तिम्रो स्वरलाई?'
'पानीले भिजेर र दिनरात काम गर्दा यस्तो भयो,' विपीनले जवाफ दिए।
केही दिनसम्म उनले टिमसँग त्यही स्वरमा कुरा गरे। दीपेन्द्र र खगेन्द्र उनको स्वर ठीक नभएकाले चिन्तित थिए। फिल्म छायांकन गर्नु थियो, विपीनको स्वर भासिएको!
विपीनले भने यही मौकामा आफ्नो भासिएकै स्वरमा बोलेर छायांकन गर्ने प्रस्ताव राखे।
दीपेन्द्रलाई अर्को चिन्ता भयो। विपीनको स्वर छायांकनभर यही रहे त कुरा मिल्थ्यो। निको भएपछि त फेरि समस्या हुने भइहाल्यो।
दीपेन्द्रको चासो सुनेपछि विपीनले ढुक्क हुँदै भने, 'दाइ, मैले यो पात्रको स्वर यस्तै निकाल्ने प्रयास गरेको थिएँ। अभ्यास भएको छ।'
उनले विश्वास दिलाएपछि चिन्तै रहेन। भष्मे डन पात्र भासिएको स्वरमै बोल्ने पक्का भयो। यसैबीच उनको पात्रले मिल्दो नयाँ 'लुक्स' पनि पाइहाल्यो।
यो फिल्म छायांकनअघि विपीन मह-सञ्चारको टेलिशृंखला 'विष' मा काम गरिरहेका थिए। त्यसमा उनले कपाल मुन्डन गर्नुपरेको थियो। त्यसैले पशुपति प्रसादमा पनि उनी कपाल मुन्डन गरेकै रूपमा देखिए।
भासिएको स्वर, मुन्डन गरिएको कपाल — यति हुँदा पनि विपीनको चित्त बुझिरहेको थिएन। उनी अझै फरक देखिन विभिन्न प्रयास गरिरहेका थिए। उनले आँखामा लेन्स लगाउने प्रस्ताव गरे। निर्माण टिमले सहजै स्वीकार गर्यो।
तर छायांकनको दिनमा लेन्स उपलब्ध भएन।
निर्देशक खनाललाई उनले भने, 'दाइ लेन्स नै ल्याइदिएनन्। के गर्ने अब?'
खनालले उपाय सुझाइदिइहाले, 'तिमीले लगाएको चस्मा ठीक छ। यही लगाऊ न!'
अनि बल्ल भष्मे डनको अवतार पूर्ण भयो।
यो रूपलाई दर्शकले कसरी लिने हुन् — विपीनको धुकचुकी भने बाँकी नै थियो।
जब फिल्म रिलिज भयो, उनको मेहनतले पनि पूर्णता पायो। दर्शकले भष्मे डनलाई निकै रूचाए। विपीनले बोलेका संवाद दर्शकहरूका मुखबाट सुन्न थाले। आफ्नो प्रयास सफल भएकामा उनको खुसीको पारा एक बिन्दु थप चढ्यो।
यो उनको सात वर्षअघिको अनुभव हो। त्यही मीठो अनुभव र मेहनतका साथ विपीन फेरि भष्मे डन बनेर सिनेमा हलमा फर्किँदै छन्।
र, यसपालि उनी सहायक पात्र होइन, मुख्य पात्र बनेका छन्।
फिल्म 'पशुपति प्रसाद २ः भष्मे डन' कात्तिक ४ गते, फूलपातीदेखि प्रदर्शन हुँदैछ।
सात वर्षपछि भष्मे डन पात्रलाई ब्युँताएर हलमा ल्याउन लाग्दा उनी उत्साहित छन्। दर्शकले सहायक पात्रका रूपमा भष्मेलाई जति मनपराएका थिए, अब मुख्य पात्रमा अझै बढी माया दिनेछन् भन्ने विश्वास उनको छ।
'अहिले पनि मलाई धेरै दर्शकले तपाईंको फिल्म पशुपति प्रसाद मात्रै हेरेको छु भन्छन्। कुनै कार्यक्रममा गएँ भने भष्मे डनकै आवाज निकाल्न भन्छन्,' विपीनले भने।
सामाजिक सञ्जालले पनि भष्मे डनलाई बिर्सिन दिएको छैन। बेला बेला विभिन्न प्रसंग र यसै पनि भष्मेका मिम बनिरहेका हुन्छन्।
आफूभित्रै समाहित पात्र भएकाले होला, विपीनलाई पनि यतिका समयपछि फेरि यो कठिन भूमिका निर्वाह गर्दा खासै चुनौती भएन।
'मैले बिर्सिन नसकेको पात्र भएकाले अहिले पनि काम गर्न सहजै भयो। सुरूमा एक-दुई दिन चाहिँ स्वर फर्काउन अलि गाह्रो भएको थियो,' उनले भने।
पात्र पुरानो भए पनि 'पशुपति प्रसाद २ः भष्मे डन' मा दर्शकले भष्मे डनका फरक रूप र पाटो देख्ने उनी बताउँछन्।
पहिले उनले भष्मेको एउटा पाटोमा मात्रै काम गर्न पाएका थिए। अहिले हरेक प्रकारको भावनात्मक पाटो देखाउने प्रयास गरेको उनले बताए।
'साँच्चै भन्दा मैले दर्शकलाई ट्वाँ पार्ने खालको पाटो खोजेको छु। स्वर र लुक्समा फरक नभए पनि भष्मे यस्तो पनि छ र भन्ने लाग्नेछ,' विपीन भन्छन्, 'दर्शकले पहिलेभन्दा अझै बढी रूचाउने छन् भन्नेमा ढुक्क छु।'