नोचपुर टोलमा एक युवती सडकमा हिँड्दै गर्दा एक युवकले उनलाई यौन दुर्व्यवहारको प्रयास गरे।
युवती बेस्सरी चिच्याइन्।
आसपासका घरबाट मान्छेहरू आए र युवतीको कुरा सुनेर दुर्व्यवहार गर्ने युवकमाथि मुक्का बर्साए।
त्यसपछि टोलवासीहरूले ती युवकलाई कानुनी कारबाही निम्ति प्रहरीको जिम्मा लगाइदिने कुरा गरे। त्यही क्रममा युवकले युवतीको छोटो लुगा देखेर जिस्क्याएको बताए। यस्तो जवाफ सुनेर टोलवासीले फेरि दुई-चार मुक्का हाने।
यो घटना जनकपुरधाम उपमहानगरपालिका– २५ मा बनाइएको एउटा कृत्रिम टोलको हो, जहाँ समाजका समसामयिक घटनाहरू झल्काउने भिडिओ कार्यक्रम सुटिङ हुँदै छ। यही सुटिङका लागि उक्त टोलको नाम नोचपुर राखिएको हो। नोचापोखरी नजिकै रहेकाले टोलको नाम नै नोचपुर राखिएको निर्माण पक्षले जनाएको छ।
मैथिली भाषाको यो भिडिओ कार्यक्रममा गायक अरूणकुमार यादवको लगानी छ भने एक दर्जन स्थानीय कलाकारहरूले काम गरेका छन्। अधिकांश कलाकार अतिविपन्न तथा पिछडिएको समुदायका छन्।
तिनैमध्ये एक हुन् अभिनाश, जसले निर्वाह गर्ने महिला पात्र 'कलकतियावाली' यहाँ निकै चर्चित छ।

अभिनाशको कला यात्रा गायनबाट सुरू भएको थियो। उनी गीत सिक्न गाउँबाट जनकपुर आएका थिए र मिथिला नाट्य कला परिषद (मिनाप) मा आबद्ध भएका थिए।
उनले मिनापमा तीन महिना गायन सिके, तर निरन्तरता दिन सकेनन्। आर्थिक संकटले गायन अघि बढाउन नसकेको उनी बताउँछन्।
'क्यासेट बनाउन दुई–अढाई लाख रूपैयाँ चाहियो। त्यो मेरो हैसियतको कुरा थिएन,' उनले भने, 'तर गीत-संगीतको भूत उत्रिएको थिएन। त्यही देखेर मिनापका मान्छेले रेडियोतिर जाऊ भनेर सल्लाह दिए।'
अभिनाश २०६६ सालमा जनकपुरकै 'रेडियो टुडे' मा काम गर्न पुगे।
त्यहाँ कलाकार बिएन पटेलसँग उनको भेट भयो। अभिनाशले 'मिथिला मन परैय' नामको रेडियो नाटकमा काम गर्ने अवसर पाए। सहकर्मीहरूलाई उनको आवाज र अभिनय राम्रो लाग्यो। उनले त्यसपछि 'स्टेज शो' हरूमा पनि काम पाए।
लगातार आठ वर्ष 'रेडियो टुडे' मा काम गर्दा उनी कलाकारका रूपमा परिचित भइसकेका थिए।
रेडियोमा अभिनयबाहेक अरू काम पनि गर्नुपर्थ्यो। पारिश्रमिक भने थोरै थियो। रेडियोले दिने पारिश्रमिकले जनकपुरमा बस्न र पढ्न पुग्थेन।
अभिनाश अरू रेडियोमा पनि गए, तर दैनिक खर्च चल्ने गरी पारिश्रमिक पाउने छाँट देखेनन्।
'रेडियोमा आठ वर्ष काम गर्दा कहिल्यै घरमा पैसा दिन सकिनँ। एउटा साइकल किन्न पनि सकिनँ। पुरानो साइकल बिग्रिँदा मर्मत गराउने पैसा पनि हुँदैनथ्यो। त्यो अवस्थाले म कहिलेकाहीँ निराश हुन्थेँ,' उनले त्यो समय सम्झँदै भने, 'रेडियोबाट समयमा तलब पाइँदैथ्यो। स्टेज शोबाट पैसा पाउन पनि वर्षदिन कुर्नुपर्थ्यो।'
उनको यस्तो अवस्थाले घरमा आमाबुबा चिन्ता गर्न थाले। अभिनाशलाई भने अर्को कुनै उपाय सुझेको थिएन।
उनले विदेश जाने तयारी गरे। पासपोर्ट बनाएर एजेन्टलाई दिए। भिसा आएको थिएन। त्यसैबीच उनलाई गायक अरूणकुमार यादवको फोन आयो।
अरूण सकेसम्म कलाकारहरूलाई आफैं अवसर दिन्छन्। उनले अभिनाशलाई पनि आफूले निर्माण गर्ने भिडिओ कार्यक्रमहरूमा काम गर्न आग्रह गरे।
'अहिले महिनाको १० हजार तलब दिन्छु, त्यसपछि कामअनुसार बढाउँदै जान्छु भनेपछि म तयार भएँ,' उनले भने, 'मैले मौका आएको ठानेँ। त्यसमा भविष्य देखेँ। एक वर्ष प्रयास गर्छु भनेर घरमा समय मागेँ। एजेन्टलाई दिएको पासपोर्ट पनि फिर्ता लिएँ।'
अरूणले बनाउने भिडिओ कार्यक्रमहरू युट्युबमा प्रसारण गरिन्थ्यो। काम गर्दै जाँदा अभिनाशको रूचि बढ्दै गयो। पैसा पनि भयो।
अभिनाशले कामबाट सन्तुष्ट भएर विदेश जाने योजना पूरै त्यागिदिए।
'अहिले म पनि खुसी छु, परिवार पनि खुसी छ,' उनले भने, 'हाम्रो समूहमा एक दर्जनभन्दा धेरै कलाकार छन्। हामी सबै एउटै परिवारजस्ता छौं।'
अभिनाशले पहिलो भिडिओमा तेस्रोलिंगी पात्रको भूमिका निर्वाह गरेका थिए। त्यो भिडिओ दर्शकले खुब मन पराए। उनको चर्चा चुलियो।
यही क्रममा 'गोदनावाली' नामको भिडिओमा उनी महिलाको भूमिकामा देखिए। त्यसमा उनले पहिलोपटक साडी लगाए।
अभिनाशले महिलाका रूपमा अभिनय गरेको त्यो भिडिओ तीन दिनमै युट्युबमा तीस लाखभन्दा बढीले हेरे।
'सुरूमा हामीले महिला कलाकारलाई नै गोदनावालीको भूमिकामा परीक्षण गरेका थियौं, तर त्यति जमेन,' उनले भने, 'म गीत पनि गाउँथे। मलाई गोदनाको गीत गाउन पनि आउँथ्यो। त्यसैले त्यो भूमिका मलाई जम्यो।'
यसरी महिला पात्रका रूपमा अभिनय गर्दै जाँदा अभिनाशले 'कलकतियावाली' को नयाँ परिचय पाए। दर्शकहरूले उनलाई महिला पात्रकै रूपमा बढी रूचाउन थाले।
भिडिओका निर्माता तथा निर्देशक अरूण आफूले नौ लाख रूपैयाँ लगानीमा 'नोचपुर टोल' को सुटिङ सेट बनाएको बताउँछन्। उनले यसका लागि एक बिघा जग्गा भाडामा लिएर गरिब बस्ती झल्कने छवटा घर बनाएका छन्।
'पहिले हामी सुटिङ गर्न सप्तरीसम्म जन्थ्यौं। स्रोतसाधन बढी चाहिन्थ्यो तर आम्दानी थोरै हुन्थ्यो। कहिलेकाहीँ खानपिनमा पनि समस्या हुन्थ्यो,' अरूणले आफ्नो अनुभव सुनाए, 'अर्काको घरमा सुटिङ गर्नुपर्दा आफूले भनेजस्तो कहिल्यै हुँदैन थियो।'
यही दुःखले जनकपुरधाममै सानो टोलसहितको सुटिङ स्टुडियो बनाएको उनी बताउँछन्।

कलाकारहरूले एक बिघा जग्गामध्ये छ कट्ठामा धान रोपेका छन्। एउटा पोखरी खनेका छन्। अरू केही बाली लगाएका छन्। गाई पनि पालेका छन्।
यो सुटिङ सेटमा लगभग हरेक दिनजसो कुनै न कुनै भिडिओ कार्यक्रमको सुटिङ चलिरहेको हुन्छ। एक महिनामा डेढ सय वटासम्म भिडिओ बनाएर युट्युबमा राख्ने गरेको अरूणले बताए।
भारतको मुम्बईमा संगीत सिकेका अरूणले गीत मात्र गाएर घरव्यवहार नचल्ने भएपछि युट्युब च्यानल बनाएर भिडिओ निर्माण गर्न थालेका हुन्। उनले भिडिओ सिरियल (शृंखला) पनि बनाउन सुरू गरेका छन्। उनले 'ससुराल एक श्राप' र 'रिस्ता के जाल' नामका दुईवटा सिरियल बनाएका छन्। अहिले तेस्रो सिरियल 'कजरी' को सुटिङ चल्दैछ।
'दुईवटा सिरियलबाट राम्रो प्रतिक्रिया आएपछि तेस्रो ल्याउन लागेका हौं,' उनले भने, 'भविष्यमा फिल्म बनाउने योजना पनि छ।'
अरूणको भिडिओ कार्यक्रमको थालनीबाट धनुषाका स्थानीय कलाकारहरूले राम्रो अवसर पाइरहेका छन्। अभिनाशजस्तै धनुषाधामकी अनिता सदाले पनि युट्युब भिडिओबाट चर्चा कमाइरहेकी छन्।
'घरबाट बाहिर निस्केर काम गर्ने महिलाहरूलाई अहिले पनि गाउँमा राम्रो मान्दैनन्। आमाबाबुमा छोरीको कमाइ खानु हुँदैन भन्ने धारणा छ। गाउँलेहरू मेरा आमाबुबालाई यही भनेर होच्याउँथे,' अनिताले भनिन्, 'मैले धेर्य राखेर काम गरेँ। साथीहरूले पनि सम्झाए। अहिले त समय फेरियो।'
पिछडिएको मुसहर समुदायकी अनिताले अभिनयमा राम्रो परिचय बनाएकी छन्। उनैलाई देखेर धनुषाधामकै मनीषा सदा पनि अभिनयमा आइन्। उनले पनि सडक नाटक र युट्युब भिडिओबाट स्थानीय स्तरमा राम्रो परिचय बनाएकी छन्।
आफूले कला क्षेत्रमा केही नयाँ काम गर्ने प्रयास गरेको भए पनि सरकारी निकायबाट कुनै सहयोग नपाएको अरूणको गुनासो छ।
'हामीले अस्थायी स्टुडियो बनाएका छौं। स्रोतसाधनको अभावमा पनि काम गर्दै छौं,' उनले भने, 'सरकारले व्यवस्थित स्टुडियो बनाउन सहयोग गर्ने हो भने कलाकारहरूले रोजगारी पाउँछन्, सरकारलाई राजस्व प्राप्त हुन्छ।'
सरकारी निकायले मर्म बुझेर सहयोग गर्न चाहे स्वीकार गर्ने, नत्र आफ्नै प्रयासले अघि बढ्ने उनी बताउँछन्।