सानै उमेरदेखि नाच्न-गाउन रूचाउँथे अभिनेता सलोन बस्नेत। पढाइमा औसत भए पनि अतिरिक्त क्रियाकलापमा अब्बल थिए। स्कुलमा हुने नाटकमा पनि सहभागी हुन्थे।
एक दिन उनको स्कुलमा कार्यक्रम थियो। अभिनेता भुवन केसी अतिथि बनेर पुगे। त्यति बेला केसी फिल्म 'नेपाली बाबु' को तयारीमा थिए। कार्यक्रममा मन्तव्य दिँदै उनले फिल्ममा सलोनलाई लिने बताए।
यो सुनेर सलोन अलमल्ल परे। जम्मा ६ वर्षका उनलाई फिल्मका बारे के थाहा र!
'त्यति बेला मेरो वरिपरि के भइरहेको छ, म के गर्दैछु भन्ने केही थाहा थिएन,' सलोन भन्छन्, 'बिस्तारै माहोलमा भिज्दै गएँ।'
उगेन छोपेलले निर्देशन गरेको नेपाली बाबु २०५४ सालमा प्रदर्शन भएको थियो।
छायांकन क्रमका केही क्षणहरू सलोनको मस्तिष्कमा अहिले पनि प्रस्ट छन्।
पहिलो दिन आश्रमको दृश्य थियो, उनलाई खासै गाह्रो भएन। यस्तै त रहेछ नि फिल्म भनेजस्तो लाग्यो। दोस्रो दिन रातिको दृश्य खिचिँदै थियो। माघको जाडोमा, राति, पानी पारिएको। कलिला सलोनलाई कम्ता सकस भएन।
त्यसमाथि उनलाई सलले बाँधेर गाडी छेउमा राखियो र भनियो– ल अब तँ यहाँ सुत्, गाडीले तँलाई घिसार्छ।
यो सुनेर सलोन एकछिन त झसंग भए। के भनेको होला!
साना बालक सलोनलाई डर भए पनि उनको सुरक्षाका लागि फिल्म निर्माण टिमले सबै बन्दोबस्त गरेको थियो।
तैपनि ठूला मान्छेहरूले भनेपछि सलोन तयार भए। सोचे– एकपटक त गर्ने होला, घिस्रिदिन्छु नि!
उनले सोचे जस्तो भएन। अर्काे टेक लिनुपर्ने भयो। सलोन यति आत्तिए, फिल्म खेल्दिनँ भन्दै धरधरि रून थाले।
निर्माण टिमले फकाइफुल्याइ अर्काे टेक दिन लगाए। यो सिलसिला दुई रातसम्म चल्यो।
'त्यसपछि त मैले यो फिल्म भन्ने चिज कहिल्यै खेल्दिनँ भन्ने सोचेँ,' सलोनले त्यो बेलाको आफ्नो मनस्थिति सुनाए।
फिल्मी माहोलमा हुर्केका उनी फिल्मबाट सधैं टाढिन भने सकेनन्। उनका बुबा सोभित बस्नेत निर्माता, निर्देशक र अभिनेता हुन्। सलोनको हुर्काइसँगै बुवाको कामको प्रभाव परिहाल्यो। समय बित्दै जाँदा सलोन फिल्म क्षेत्रमा रमाउन थाले।
आफूसँगै काम गरेका कलाकारलाई पोस्टरमा देख्दा सलोन दंग पर्थे। केही समयपछि त्यही भित्तामा आफूलाई पनि देख्न थाले। उनी कलाकारका रूपमा चिनिँदै गए।
उनी फिल्ममा काम गर्छन् भन्ने थाहा पाएपछि स्कुलका साथीहरू उनलाई 'श्रीकृष्ण श्रेष्ठ कस्तो खालको मान्छे हो, निरूता सिंह कस्तो हो, भुवन केसी कस्तो छ, शिव श्रेष्ठ कस्तो छ' भनेर सोध्थे।
उनी पनि के कम, स्कुलमा हिरो बन्ने मौका जो थियो!
फूर्तिका साथ भनिदिन्थे, 'यो कलाकार यस्तो हो, हामी यसरी काम गर्छाैं।'
कहिलेकाहीँ निर्माण टिमका मान्छे छायांकनका लागि उनलाई लिन स्कुलै पुग्थे। त्यस्तो बेला सलोन महँगा चकलेट कोसेली पाउँथे। चकलेटमा लोभिएर पनि उनी छायांकनमा जान तयार हुन्थे।
'म बालकलाकार हुनु मेरो जीवनको सबभन्दा मीठो अनुभव हो। मैले दर्शकको धेरै माया पाएँ। त्यो समय जतिपटक सम्झिँदा पनि गर्व महसुस हुन्छ,' सलोन भन्छन्।
नेपाली बाबुपछि उनले आफन्त, हामी तीन भाइ, आफ्नोपन, अनमोल, आर्मी, कर्णवीर, मन लगायत थुप्रै फिल्ममा बालकलाकारका रूपमा काम गरे। छ–सात वर्ष अवधिमा ४० वटा फिल्ममा काम गरेको उनको अनुमान छ।
'हामी तीन भाइ' पछि भने उनले बालकलाकारका रूपमा काम नगर्ने निधो गरे।
अहिलेसम्म कुनै अभिनय प्रशिक्षण नलिएका उनी बाल्यकालमै धेरै कुरा सिक्न पाएको बताउँछन्।
'मैले दिग्गज कलाकारहरूसँग काम गर्ने मौका पाएँ। उहाँहरूले यस्तो गर भन्दै सिकाउनु हुन्थ्यो। कहीँ न कहीँ उहाँहरूले गर्दा नै अहिले मेरो अभिनय यात्रा सहज भइरहेको हो,' उनले भने।
सलोनले सोची-बुझी फिल्म क्षेत्र रोजेका थिएनन्। उनले त आफ्नो भविष्य कुन क्षेत्रमा होला भनेर सोच्नसमेत पाएनन्।
भविष्यबारे सोच्ने उमेरको हुनुभन्दा धेरै अगाडिदेखि नै सबैले भनिरहेका हुन्थे– तँ पछि गएर फिल्म नै खेल्छस्!
सबैले भनेपछि उनलाई पनि आफू फिल्मकै लागि जन्मिएको रहेछु जस्तो लाग्थ्यो। परिवार पनि फिल्म क्षेत्रमै आबद्ध भएकाले झन् यसबाहेक अरू कुरै देखेनन् उनले।
बेला बेला जब उनी आफ्नो रूचि सम्झिन्थे, तब भने उनी यो काम गर्दिनँ भन्थे।
उनलाई गीत-संगीतमा रूचि छ।
बालकलाकारको यात्रा टुंग्याएपछि सलोन आफ्नो बुबाका सह–निर्देशक भएर काम गर्न थाले। यही क्रममा उनले फिल्म 'सायद' बाट संयम पुरीले अभिनेताका रूपमा डेब्यु गर्न लागेको जानकारी पाए। निर्देशक नारायण पुरीका छोरा संयम र सलोनले बालकलाकारका रूपमा सँगै काम गरेका थिए।
सलोनलाई साथी मुख्य अभिनेता भएको फिल्म हेर्न मन भयो। पोखरामा भएका बेला हेर्न गए, हलमै संयम र निर्माता सुनिल रावललाई पनि भेटे। उनीहरूबीच कुराकानी भयो।
केही समयपछि सुनिलले फोन गरेर सलोनलाई 'होस्टल' फिल्म बनाउन लागेको सुनाए। त्यसमा एउटा भूमिका खेल्ने प्रस्ताव पनि गरे। अचानक आएको प्रस्तावले सलोनलाई के गरौं, कसो गरौं भयो। तुरून्तै परिवारलाई सुनाए। सबैले कुराकानी अगाडि बढाउन सुझाए।
होस्टलका निर्देशक हेमराज बिसीले भेट्नेबित्तिकै भने, 'तिमी जंगे हौं। जंगेको भूमिका तिम्रो भयो।'
सलोन बालकलाकारपछि पहिलोपटक पर्दामा देखिए। सहायक अभिनेताका रूपमा डेब्यू गरेका उनलाई दर्शकले रूचाए। त्यसपछि केही फिल्ममा उनले सहायक अभिनेताकै रूपमा काम गरे।
मुख्य अभिनेताका रूपमा भने उनको पहिलो फिल्म हो 'बाबु कान्छा'।
बालकलाकारका रूपमा र मुख्य अभिनेताका रूपमा डेब्यु गरेका दुवै फिल्मको नाममा 'बाबु' शब्द संयोगवस जुरेको उनी बताउँछन्। पछि उक्त फिल्मको प्रचार 'नेपाली बाबुदेखि बाबु कान्छासम्म' भन्दै गरिएको थियो।
तर बाबु कान्छा सफल भएन।
यसपछि उनले 'सुश्री सम्पत्ति' र 'डाँडाको वरपीपल' मा काम गरे। यी पनि चलेनन्। कमाइ नभए पनि दर्शकको मायामा फरक नपरेको उनी बताउँछन्।
'अब त मलाई सहायक भूमिका नै सजिलो लाग्छ। जिम्मेवारी कम हुन्छ। एउटा फिल्मबाट अर्का फिल्ममा सजिलै जान सक्छु। फुक्काफाल भइन्छ जस्तो लाग्छ,' उनी भन्छन्, 'अर्को कुरा के पनि हो भने, मलाई दर्शकले भूमिकाका आधारमा भेदभाव गर्नुभएन। बालकलाकारदेखि सहायक, मुख्य, भिलेन; जुन भूमिकामा पनि दर्शकले उत्तिकै माया दिनुभयो। त्यसैले मैले पनि सबै भूमिकामा समान मेहनत गरेँ। म आफ्नो तर्फबाट उत्कृष्ट दिने प्रयास गरिरहेको छु।'
यही प्रयास उनले फिल्म 'जय हो' मा जारी राखेका छन्। यही भदौ ८ मा प्रदर्शन हुन लागेको यो फिल्ममा सलोनको मुख्य भूमिका छ। यसमा उनले केकी अधिकारी, अपर्ण थापा, माओत्से गुरूङ लगायतको साथ पाएका छन्।
टेक पौरखी राईले निर्देशन गरेको जय हो मनोरञ्जनात्मक फिल्म हो। यसमा मान्छेको भावनात्मक यात्रामा आउने उतारचढावको कथा छ। सलोनका अनुसार यसमा उनले एउटा गीत पनि गाएका छन्, संगीत र संयोजन पनि उनकै हो।
तर फिल्मको नाम सार्वजनिक भएदेखि नै यसले आलोचना खेपिरहेको छ। बलिउड अभिनेता सलमान खानको फिल्म 'जय हो' छँदैछ। नाम चोरेको आरोप लाग्ने नै भयो।
यसबारे सलोन भन्छन्, 'यो चोर्न पर्ने चिज होइन। हाम्रो फिल्ममा सलमान खान आएर खेल्ने होइन। यही नाम किन राखेको भन्ने चाहिँ दर्शकले फिल्म हेर्दा पाउनु हुनेछ।'
जय हो सलोन-सलिना फिल्मस् प्रोडक्सनबाट प्रदर्शन हुन लागेको पहिलो फिल्म हो। सोभित बस्नेतले हालसालै आफ्नो प्रोडक्सन हाउस 'मन' को नाम फेरेर सलोन-सलिना राखेका छन्।
परिवार नै फिल्मी दुनियाँको भएपछि यो क्षेत्रमा काम गर्न सलोनलाई सहज महसुस भएको छ। उनको रहर भने म्युजिकल फिल्ममा अभिनय गर्ने हो।
'संगीत मेरो रूचिको विषय हो। त्यसैले मैले खोजेजस्तो कथा भएको म्युजिकल फिल्म भए अहिलेसम्मकै राम्रो काम गर्थेँ होला जस्तो लाग्छ,' सलोन भन्छन्।