चर्चित गायक तथा पर्फमर दुर्गेश थापा दोस्रो सन्तानको पिता बनेका छन्।
उनकी पत्नी प्राची लामाले पाँच/छ महिनाअघि दोस्रो सन्तानका रूपमा छोरालाई जन्म दिएकी भए पनि दुर्गेशले यसबारे जानकारी भने ढिलो गरी सार्वजनिक गरेका हुन्।
यसै साता छोराको अन्नप्राशन अर्थात् पास्नीको अवसर पारेर दुर्गेशले पहिलो पटक दोस्रो सन्तान लाभको खुसी सार्वजनिक गरेका हुन्।
बिहीबार छोरासँगको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गर्दै दुर्गेशले लेखेका छन्, 'आज मेरो जीवनको अर्को सुन्दर अध्याय सार्वजनिक गर्दै छु। मेरो दोस्रो छोरा— नाम मात्र होइन, मेरो पहिचानको निरन्तरता।'
दुर्गेशले पहिलो छोराको नाम दक्षित र दोस्रो छोराको नाम देवांश थापा रहेको समेत उल्लेख गरेका छन्।
दुर्गेशले आफ्नो विवाहको खबर पनि ढिलो गरी सार्वजनिक गरेका थिए।
'दुश्मन हेरेको हेर्यै' गीतको अपार सफलतासँगै दुर्गेश स्टेज कार्यक्रममा निकै खोजिएका छन्।