गत बिहीबारदेखि प्रदर्शनमा आएको फिल्म 'अभिमन्युः च्याप्टर १' ले दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया पायो। फिल्म हेरेका दर्शकहरूबाट यसले सकारात्मक प्रतिक्रिया बटुले पनि बक्स अफिसमा भने सुरूआती व्यापार निराशाजनक देखिन्छ।
कामेश्वर चौरासिया र लक्ष्मी वर्देवा अभिनीत फिल्म क्राइम सस्पेन्स विधामा बनेको छ। कथावस्तु, प्रस्तुति, कलाकारको अभिनय र प्राविधिक पक्ष राम्रो रहेको भन्दै प्रिमियर शोदेखि नै यसको तारिफ भइरहेको छ। फिल्मले दर्शकलाई सुरूदेखि अन्त्यसम्म बाँधेर राख्ने प्रतिक्रिया आएको छ।
यद्यपि, राम्रो प्रतिक्रियाका बाबजुद फिल्मको व्यापार निराशाजनक देखिएको हो। प्रदर्शनको सुरूवाती दिनदेखि नै हलमा दर्शकको उपस्थिति कमजोर देखिन्छ। अपेक्षित दर्शक नआएपछि सिनेमा हलहरूले शो कटौती गर्न थालेका छन्। क्युएफएक्स चेन अन्तर्गत काठमाडौं उपत्यकामा सोमबारका लागि फिल्मले जम्मा २ शो मात्र पाएको छ। अन्य शोमा पनि अकुपेन्सी न्यून देखिन्छ। यसले पनि फिल्मको व्यापारिक अवस्था कमजोर रहेको संकेत गर्छ।
फिल्ममा दर्शक उपस्थिति सुखद् नहुँदा राम्रो सिर्जना यत्तिकै उत्रिने जोखिम देखिएको कतिपयले बताएका छन्।
सुशान्त गौतमको डेब्यु निर्देशन रहेको फिल्मले तराई-मधेसको परिवेशमा दाइजो प्रथा र त्यसले निम्त्याउने अवस्थालाई रोचक तरिकाले पर्दामा उतारेको छ। फिल्ममा कामेश्वर र लक्ष्मीसहित किरण श्रेष्ठ, गौमाया गुरूङ, सरिता गिरी, प्रकाश दाहाल, शिशिर बाङदेल लगायतका कलाकारको अभिनय छ। अभिनेत्री रेखा थापा अतिथि भूमिकामा छिन्।
मुकेश खनालको लेखन रहेको फिल्मको ‘क्रिएटिभ डिरेक्टर’ मदन थापा हुन्। फिल्मको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्।