लोकदोहोरी र लोक संगीतकर्मीहरूलाई पछ्याउनुहुन्छ भने तपाईंलाई जानकारी हुनुपर्छ- गायिका शान्तिश्री परियार र गायक तथा संगीतकार खेम सेञ्चुरीबीच नयाँ सहकार्य हुन नसकेको धेरै समय भइसकेको छ।
लोक दोहोरीका यी दुई चर्चित कलाकारहरूले 'अरेली काँडैले', 'खोली तारी देउन माझी दाई', 'तल्लो बाटो' लगायतका सुपरहिट गीतमा सहकार्य गरेका छन्।
'अरेली काँडैले' यता भने खेम र शान्तिश्रीबीच नयाँ सहकार्य हुन नसकेको हो। दुवै जनाले विभिन्न अन्तर्वार्ताहरूमा एकअर्कामा केही 'चित्त बुझाइ नभएको' स्वीकार गरेका थिए। यद्यपि, लोकसंगीतका श्रोता तथा दर्शकहरू भने यी दुईबीच आगामी दिनमा फेरि सहकार्य हुने अपेक्षा राख्छन्।
यसैबीच, गायिका शान्तिश्री परियारले आफूबाट सहकार्यको सम्भावना जहिले पनि खुला रहेको बताएकी छिन्। बुधबार काठमाडौंमा आयोजित फिल्म 'वरिष्ठ बलराम' को गीत सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीबाट सोधिएको प्रश्नको जबाफमा शान्तिश्रीले भनिन्, 'सहकार्य गर्नका लागि मबाट केही आपत्ति छैन। एकअर्कामा चित्त बुझाइ नभएको कुरा यहाँहरूलाई थाहा छ। मबाट केही समस्या छैन। मेरो तर्फबाट सहकार्यका लागि सम्भावना जहिले पनि खुला छ।'
यस भनाइले यी दुई कलाकारहरूबीच भविष्यमा पुनः सहकार्य हुने सम्भावनालाई बलियो बनाएको छ। हाल खेम र शान्तिश्री दुवैले आफ्नै ढंगले सांगीतिक यात्रालाई अगाडि बढाइरहेका छन्। खेमले पनि आफ्ना नयाँ गीतहरूमा अन्य गायिकाहरूसँग सहकार्य गर्दै आएका छन्।