'अर्हत्' बुद्धले प्राप्त गरेको उच्चतम पद हो। अर्हत् पदमा पुग्न रूपराग, अरूपराग, मान, औद्धत्य र अविद्या; यी पाँच बन्धनबाट मुक्त हुनुपर्छ।
पाँच बन्धनको मुक्तिसँगै साधकमा रहेका दुःख र तृष्णाको क्षय हुन्छ। समस्त दुःख र तृष्णाको क्षयबाट साधक निर्वाणमा पुग्छ। निर्वाणप्राप्त साधक अर्हत् कहलाउँछ।
यही 'अर्हत्' नामबाट युवा आख्यानकार शैलेन्द्र अधिकारीले लेखेको उपन्यास बुद्ध जीवनीमा आधारित छ। यो उपन्यास नयाँ विषयमा लेखिएको नभएर बौद्ध साहित्यमा प्रचलित बुद्ध जीवनीको पुनर्व्याख्या हो।
बौद्ध साहित्यमा बुद्ध जीवनीबारे मतैक्य पाइँदैन। कुनै एउटा परम्पराको बुद्ध जीवनी पढेको पाठकलाई अर्हतले सन्तुष्टि दिन नसक्ला। तर उपन्यासकारले आफ्नो कृतिमा बौद्ध परम्पराको पालि साहित्यमा प्रचलित सबैजसो बुद्ध जीवनीका अतिप्रख्यात विषय, पात्र र घटना समेटेका छन् र त्यसलाई मिठासपूर्ण शैलीमा प्रस्तुत गरेका छन्। उपन्यास बुद्ध जीवनी र बुद्धोपदेशका माध्यमबाट बौद्ध दर्शनका मूलभूत मान्यता पाठकसमक्ष पस्कन सफल बनेको छ।
बुद्धले ज्ञान प्राप्त गरेपछि विभिन्न स्थान र व्यक्तिलाई दिएको उपदेशका आधारमा बौद्ध दर्शन विकास भएको हो। यो उपन्यासमा बुद्ध जीवनीसँगै उनका उपदेश र विचार समेटिएकाले बौद्ध दर्शनका अनेक सिद्धान्त उपन्यासभित्र समेटिएका छन्। यसमा प्रयुक्त बौद्ध दर्शनका प्रमुख केही सिद्धान्तको चर्चा यहाँ गरिएको छ –
लेखकले उपन्यासको प्रारम्भ परिनिर्वाणपछि गौतम बुद्धको अन्तिम संस्कार के कसरी गर्ने भन्ने प्रसंगबाट गरेका छन्। बुद्ध जीवनीको प्रारम्भ भने गौतम बुद्धको प्रथम वार्षिकीको पुण्यतिथिमा बुद्धको स्मृतिका रूपमा राजगृहमा बनाइएको बौद्ध विहारको समुद्घाटन समारोहबाट हुन्छ। त्यहाँ उपस्थित भिक्षु संघलाई गौतम बुद्धका प्रमुख शिष्य आनन्दले बुद्धको सान्निध्यमा रहँदा बुद्धबाट आफूले सुनेका कुरा सुनाउँछन्।
लेखकले उपन्यासमा बौद्ध साहित्यभित्रका आगम तथा पारमिता ग्रन्थको लेखन परम्परा अनुसरण गरेका छन्। पारमिता ग्रन्थमा पहिले अध्येषणा अर्थात् प्रार्थना र त्यसपछि पापदेशना, अनुमोदना आदिको क्रम सुरू हुन्छ। उपन्यासमा पनि पृष्ठ १–१४ सम्म बुद्धको महापरिनिर्वाणपछि अन्तिम संस्कारका लागि भिक्षु आनन्दसँग गरिएका प्रार्थाना र बौद्ध विहारको समुद्घाटनपछि बुद्धका विचारको उपदेशका लागि आनन्दसँगै गरिएको अध्येषणा आएका छन्।
त्यसपछि उपन्यासको मूल विषय प्रारम्भ हुन्छ। मूल विषयको प्रारम्भमा आगम ग्रन्थहरूको जस्तो शैली देख्न सकिन्छ। बौद्ध साहित्यमा बुद्धका उपदेश समेटिएका प्राय: आगम ग्रन्थहरूको प्रारम्भ 'अथ' वा 'एवं मया श्रुतम्' बाट गरिएको हुन्छ। जसको तात्पर्य अथ = त्यसपछि भगवानले यसो भन्नुभयो वा एवं मया श्रुतम् = त्यस ठाउँमा भगवानबाट मैले यस्तो सुनेँ भन्ने रहेको हुन्छ। त्यसपछि वक्ता स्वयंले बुद्धजस्तो बनेर प्रथम पुरूषात्मक शैलीमा बुद्ध विचार प्रकट गर्छ। यो उपन्यासमा पनि बुद्धका शिष्य आनन्दले स्वयं बुद्धजस्तो बनेर बुद्धका विचार प्रकट गरेका छन्।
यसलाई उपन्यासमा यसरी देखाइएको छ – 'आनन्दका मुखाविवरबाट वाणीका धारा प्रवाहित हुन थाले। शनैः शनैः आँखा बन्द भए। यस्तो लाग्न थाल्यो, यी आनन्द होइनन्, स्वयं गौतम बुद्ध हुन्।' पृ.१७
चार आर्यसत्य बौद्ध दर्शनको आधार हो। यो बुद्धले साक्षात्कार गरेको आद्य ज्ञान पनि हो। यसै आधारमा बौद्ध दर्शनका अनेक सिद्धान्त बनेका छन्। चार आर्यसत्य भन्नाले संसार दुःखमय छ, दुःखको कुनै न कुनै कारण छ, दुःखको निवारण हुन्छ, दुःख निवारणका लागि मार्ग छ भन्ने हुन्छ।
हरेक सांसारिक वस्तु दुःखयुक्त छन्। प्रिय वस्तुको संयोग वा वियोग पनि दुःख हो। राज्य, सम्पत्ति, जरा मरण पनि दुःख नै हो। यही दुःखको बोधबाट गौतम बुद्धले सर्वजन हिताय, सर्वजन सुखाय दु:ख निवारणको मार्ग पहिल्याउन बोधि मार्गमा लागेका थिए। उपन्यासले दुःखबोध भागमा बुद्धले यही दुखको बोध गरी अभिनिष्क्रमणको बाटोमा हिँडेको कुरा उल्लेख गरेको छ।
दुःखको प्रमुख कारण अविद्या हो। अविद्याको अर्थ कुत्सित ज्ञान हो। अविद्या बढाउने कार्य तृष्णाले गरेको हुन्छ। स्वयं बुद्धका सौतेनी भाइ नन्दराज ऐश्वर्यरूपी अज्ञानले वेष्टित थियो। उसको अविद्या बढाउने काम मादक पदार्थ, गणिका र नर्तकीसँगको विषय वासना एवं कामोपभोगमा डुबिरहने तृष्णाले गरेको छ भन्ने उपन्यासमा वर्णित छ।
तृष्णा अधिक हुँदा लोभ, मोह र इर्ष्या उत्पन्न हुन्छ। लोभ, मोह, र इर्ष्याले मानिसलाई कर्तव्य र अकर्तव्यको ज्ञानबाट विमुख गराउँछ। गौतम बुद्धका नातामा भाइ पर्ने देवदत्तले भिक्षुत्व ग्रहण गरे पनि बुद्धभन्दा ठूलो बन्ने इर्ष्या कारण आफै पतन भएको प्रसंग उपन्यासले प्रस्तुत गरेको छ। अविद्याले कुसंस्कार जन्माउँछ, कुसंस्कारले पुनर्जन्मको गर्भ बिगार्छ। कुत्सित गर्भबाट जन्मिएको प्राणी तृष्णाको जालमा फस्छ। तृष्णा, लोभ, मोह र इर्ष्याले कुकर्म गराउँछ। कुकर्मले प्राणीलाई जन्म र मृत्युको भवचक्रमा फसाइरहन्छ। यो नै बौद्धहरूको प्रतीत्यसमुपादको सिद्धान्त हो।
अज्ञानबाट उत्पन्न तृष्णाको परित्याग नै दुःख निरोध हो। दुःख निरोधबिना बुद्धत्वको मार्गमा प्रवेश सम्भव छैन। अतिवादी मार्गको साधनाबाट सिद्धि प्राप्त गर्ने अभिलाषा लिएका कौडिन्यायन अतिवादी मार्ग छाडेर बुद्धत्व प्राप्तिमा लागेको प्रसंग, इर्ष्याका कारण कुत्सित कर्ममा लागेको अंगुलिमालले आफ्ना कुकर्म त्यागेर बुद्ध मार्गमा प्रवेश गरेको प्रसंग आदि अनेक प्रसंगबाट दुःख निरोधबिना बुद्धत्वको मार्गमा प्रवेश गर्न सकिँदैन भन्ने तथ्य देखाउँदै उपन्यासले दुःख निरोधसम्बन्धी सिद्धान्त आत्मसात गरेको छ।
तृष्णाको परित्यागबाट बुद्धत्वको मार्गमा लागेको साधकले दुःखनिरोध मार्गको अनुसरणबाट बुद्धत्व प्राप्त गर्छ भन्ने बौद्ध दर्शनको सिद्धान्त हो। यो सिद्धान्त बौद्ध दर्शनमा अष्टाङ्गिक मार्गका नामले पनि चिनिन्छ। बुद्धले यिनै अष्टाङ्गिक मार्गको साक्षात्कार गरेका थिए। बुद्धले कौडिन्यादि पञ्च ब्राह्मणलाई अष्टाङ्गिक मार्गको उपदेश दिएको प्रसंग उपन्यासले यसरी समेटेको छ – 'मैले समग्र मानव जातिले नै सांसारिक दुःखबाट मुक्ति पाऊन् भन्नाका खातिर अष्टाङ्गिक मार्गको चयन गरेको छु। यसलाई ज्ञान, शील र समाधि गरी तीन भागमा बाँडेको छु।'
अष्टाङ्गिक मार्गका आठ मार्गमध्ये सुरूका सम्यक् दृष्टि र सम्यक् संकल्प ज्ञानसँग सम्बन्धित छन्। सांसारिक वस्तु र कर्मप्रति सही दृष्टि राख्नु सम्यक् दृष्टि र त्यसमा आफू दृढ हुनु सम्यक् संकल्प हो। तेस्रो मार्ग सम्यक् वाणी, चौथो सम्यक् कर्म र पाँचौं सम्यक् आजीविका शीलसँग सम्बन्धित छन्। शीलको अर्थ आचरण हो। साधकले भनाइ र गराइमा एकरूपता ल्याएर, सत्कर्मको आचरण गरेर, कर्ममा स्थिरता अपनाएर शीलको अनुसरण गर्नुपर्छ।
छैठौं मार्ग सम्यक् व्यायाम, सातौं मार्ग सम्यक् स्मृति र आठौं मार्ग सम्यक् समाधिसँग सम्बन्धित हुन्छन्। समाधिको अर्थ चित्तको एकाग्रता हो। स्थविरवादी सिद्धान्तअनुसार समाधि वा ध्यानका स्रोतापन्न, सकृतगामी, अनागामी र अर्हत् गरी चार अवस्था वा ध्यान भूमि रहेका हुन्छन् भने महायानीहरूले ध्यानका दस अवस्था वा भूमिको परिकल्पना गरेका छन्। यस उपन्यासले भने बुद्धले ध्यानबाट अर्हतपद प्राप्त गरेको प्रसंगमा स्थाविरवादी सिद्धान्त आत्मसात गरेको छ।
बुद्धले बुद्धत्व प्राप्तिको अभिलाषा गर्ने अनुयायीका लागि त्रिशरणमा जानुपर्ने उपदेश दिएका थिए। त्रिशरण भनेको बुद्ध, धर्म र संघको अनुसरण हो। बुद्ध भनेको संसारको दुःख बुझेर ज्ञानको अनुसरणमा जानु भन्ने हो। दुःख निरोधका लागि अहिंसा, सत्य, अस्तेय (चोरी र झूटको परित्याग) ब्रह्मचर्य, मादक पदार्थको असेवन आदि पञ्चशीलको पालना, भिक्षाबाट भोजन ग्रहण, सुवर्ण, रजत, महर्घ शैय्याको परित्याग आदि धर्मको अनुपालन नै धर्म हो। ज्ञान र धर्मको पालनका लागि संघमा प्रवेश गर्नु नै त्रिशरणमा जानु हो। उपन्यासमा बुद्धले संघको महत्त्वका साथै भिक्षु धर्म र भिक्षुणी धर्मबारे दिएका उपदेश विस्तृत रूपमा आएका छन्।
संसारका हरेक वस्तु परिवर्तनशील छन्। बुद्धत्व प्रातिको मार्गमा लागेको साधक पनि परिवर्तनकै कारण 'अर्हत्' पदमा पुग्छ। त्यसैले बुद्धले 'सर्वं क्षणिकम्' को उपदेश दिए। क्षणिकत्वकै कारण नवजात शिशु बालक, युवा हुँदै वृद्ध बन्दछ। 'अर्हत्' पद पनि त्यसरी नै प्राप्त हुने हो। यो नै प्रतीत्यसमुत्पादको सिद्धान्त पनि हो। बुद्धले अजर अमर रहिरहने आत्मतत्त्व स्वीकार गरेनन्। उनका विचारमा आत्मा भनेको रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान यी पाँच स्कन्धको संघात मात्र हो।
रूपको सम्बन्ध प्राणीको शरीरको भौतिक भागसँग र नामको सम्बन्ध मानसिक प्रवृत्तिहरूसँग रहेको हुन्छ। पञ्चस्कन्धका विज्ञान, संज्ञा, संस्कार र वेदना नामसँग सम्बन्धित छन्। रूप वा शरीर र नाम वा मानसिक प्रवृत्तिहरूको परस्परको संयोगबाट प्राणीको स्थिति सिद्ध हुन्छ। त्यसैले बुद्धले आफ्ना उपदेशमा क्षणिकत्व र अनात्मवादको उपदेश दिए। उपन्यासले कौडिन्यादि पञ्च ब्राह्मणको प्रसंगमा बुद्धले क्षणिकत्व र अनात्मको उपदेश दिएको उल्लेख गरेको छ।
बुद्ध अनीश्वरवादी थिए। उनले जगतको कर्ता एवं मालिकका रूपमा ईश्वरको अस्तित्व स्वीकार गरेनन्। बुद्धका विचारमा जगत् पृथ्वी, जल, तेज र वायुधातुको समष्टि हो। यी चार महाभूत हुन्। यिनै चार महाभूतको अनिदर्शन (उत्पति–स्थिति–लय विरहित अवस्था) मा निरोध हुन्छ। त्यो नै निर्वाणावस्था हो। अतः जगतको कर्ताका रूपमा ईश्वर सिद्ध नहुने बुद्धको तर्क थियो।
बुद्धले वेदलाई प्रमाणका रूपमा स्वीकार गरेनन्। उनी तर्कवादी भएकाले स्वसंवेध र तर्कबाट पुष्टि हुने विषय मात्र स्वीकार गरे। उनले आफ्ना अनुयायीलाई अत्त दीपो भव भन्दै पहिले आफै प्रकाशित हुन उपदेश दिए। उनले तर्क मात्र गरेनन्, चार आर्यसत्यको साक्षात्कार, क्षणिकत्व, अनात्म, अनीश्वरवाद जस्ता विषयको बोध र अनुपालनबाट अर्हत् बने अनि त्रिशरणमा आएका आनन्द लगायत अनगिन्ती आफ्ना अनुयायीलाई अर्हत् बन्ने बाटो देखाए।
२९९ पृष्ठमा मूल विषय रहेको यो उपन्यासमा जीवनी र आख्यानको सम्मिश्रण पाइन्छ। मूलपाठभन्दा पछि बौद्ध साहित्यमा प्रचलित पारिभाषिक शब्दको अर्थ र पात्रहरूको परिचय दिएकाले बौद्ध साहित्यसँग अपरिचित पाठकका लागि पनि उपन्यासमा वर्णित विषय सुबोध्य बनेका छन्।
तत्सम शब्दको अधिक प्रयोगले सामान्य पाठकलाई शाब्दिक अर्थबोधमा केही कठिनता भए पनि जीवनी र आख्यानको सहज प्रस्तुतिले त्यसलाई ढाक्ने काम गरेको छ। विशेषतः पालि साहित्यमा वर्णित बुद्ध जीवनी र बुद्धसम्बद्ध आख्यानको गहन अध्ययन गरेर लेखकले यो उपन्यास तयार पारेको देखिन्छ।
उपन्यासका ठाउँ ठाउँमा प्रयोग गरिएका प्रसंगानुसारका पालि गाथाहरूले उपन्यासका वर्ण्य विषयलाई अझ प्रामाणिक बनाउने काम गरेका छन्। स्थविरवादी मूलभूत मान्यता र दार्शनिक सिद्धान्तको अधिक प्रभाव उपन्यासमा छ। अर्हतमा बौद्ध दर्शनभित्रका जटिल विषयलाई पात्र र आख्यानसँग जोडेर सरल एवं सर्वगम्य रूपमा प्रस्तुत गरिएको छ। अतः दर्शन प्रयोगका दृष्टिमा उपन्यास उत्कृष्ट छ।
(लेखक वाल्मीकि क्याम्पस, बौद्धदर्शन विभागका उपप्राध्यापक हुन्।)