काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा लेखक वसन्त बस्नेतद्वारा लिखित पुस्तक 'सिमसारा' को विमोचन हुन लागेको थियो। अध्येता तथा 'बुकहलिक्स समूह' की संयोजक सगुना शाहले सोधिन्– सिमसारा भनेको के हो?
मलाई पनि थाहा थिएन, सिमसारा भनेको के हो!
मलाई त 'सिमसार' मात्रै थाहा थियो – धाप, दलदल, पानी नसुक्ने र अलि अलि झार हुने जमिन!
हुन त भोजपुरको हतुवागढी गाउँपालिका–६, होम्ताङमा प्रसिद्ध धार्मिक देवस्थल 'सिमसारा जलकन्या' पनि छ तर वसन्तको 'सिमसारा' भोजपुरको नभई इलामको 'सिमसारा' को कथा हो।
पुस्तक विमोचन भयो, पढियो। थाहा भयो, धाप र दलदलकै कुरा रहेछ तर त्यो धाप र दलदल जमिनको नभई घरको रहेछ। परिवारका सदस्यहरूको रहेछ। विश्वासघात र पारिवारिक विखण्डनको कथा रहेछ।
उपन्यासकारले पुस्तकलाई पनि किन स्त्रीलिंगी नै बनाइदिए थाहा भएन, सायद कथा नै एउटी महिलाको आत्मसम्मान र स्वाभिमानको लडाइँसम्बन्धी भएर होला कि!
किताबप्रतिको दृष्टिकोण पनि आ-आफ्नै हुने रहेछ। विमोचनको दिन, सिनेमा निर्माता मीनबहादुर भाम भन्दै थिए – पुस्तक संवत क्षेत्रीको कथा हो।
यो पंक्तिकारको बुझाइमा संवत कथावाचक बढी र मूलपात्र कम हो।
यथार्थमा वसन्तको 'सिमसारा' नमिलेको परिवार गाडिँदै गएको धापको हिलो पानी सुकाएर सुग्घर जीवन सुरू गर्ने आशामा कोसिस गरिरहेकी एक्ली महिलाको प्रयास हो।
झनझन् गाडिँदै गएको दलदलमा पण्डित, बिजुवा, जोगी ज-जसको जसरी सहयोग लिएर भए पनि घरको मुलखाँबो ठीक पारेरै छाड्ने दृढनिश्चयी महिलाको कथा हो। त्यसपछि मात्रै ती सबैबाट दिक्दार एउटा तन्नेरीको मनोलय अर्थात मनभित्रको गुनगुनको कथा हो। कथा प्रेममय र सुखी घरबाट सुरू हुन्छ।
भर्खरै नयाँ घर बनाएर घरको मजा लिन लागेको जोडी, उनीहरूको मायाको संसारमा फुरफुर गर्दै जीवन बिताइरहेको छोरो, एउटा खुसी संसार र परिवार; खुसीको अनुमान गर्न नपाउँदै कथाले पल्टा खाइहाल्छ, घरमुलीको सरूवा हुन्छ।
स्वाभाविक नै हो, पतिले एक्लै छाडेर जान लाग्दा पत्नीलाई नराम्रो लाग्छ नै।
लोग्ने जागिरको निहुँमा टाढा जानु श्रीमतीलाई जति दुःख लागे पनि भर्खरै १३/१४ वर्षको (अन्दाजी) किशोरवयमा प्रवेश गर्नै लागेको छोरालाई बाबुले किनिदिने सामानको मोहबाहेक अरू कुराको मतलब देखिँदैन।
उसलाई त बाबुबाट मिल्के घडी र चौधकाँटे जुत्ता चाहिएको छ, आमाबाट स्विटर। कथा यसैगरी बग्छ। पानाभरि छोरा र उसको भावना छचल्किन्छ। उसलाई के मनपर्छ, के मनपर्दैन यसैमा कथा बगिरहन्छ।
उसको सौन्दर्य चेतले वर्णन गरेको हिमाल अनि आमाको नाकको बुलाकी आदिको वर्णनले पाठकलाई तानिरहन्छ। भाषा सललल बगेको र मिठासयुक्त छ, पढ्न सुरू गरेपछि, छाड्नै मन नलाग्ने। कथामा पुरूषसत्ताको सोच हाबी हुँदै जान्छ।
संवत आफ्ना बुबालाई सम्झिँदै भन्छ, 'बुबा भन्नुहुन्थ्यो, घर हुनलाई एउटा बलियो पुरूष चाहिन्छ। अब मैले पनि कति न आफूलाई बुबाझैं बलियो पुरूष ठान्न थालेको थिएँ। भनिसकेँ त, बुबा हुँदासम्म डरको घर, बुबा हिँडेपछि घरको डर।'
ऊ आफूलाई जतिसुकै बलियो लोग्नेमानिस प्रमाणित गर्न मनैमन लागे पनि, बाबु नभएको घरमा डराएको छ; शून्य हृदय लिएर बाँचेको छ तर बेलाबखत आफूलाई जन्माउने, हुर्काउने र पाल्ने आमालाई उपदेश दिन छाड्दैन।
आमाले आफ्नो अस्तित्वको लडाइँ गर्न खोज्दा नकारात्मक हुन पनि छाड्दैन।
हाम्रो समाजको बनोट, महिलाप्रति समाजको दृष्टिकोण, लोग्नेबाट परित्यक्त महिलामाथि गरिने अपहेलनाको व्यवहार आदि पक्षमा सूक्ष्म विश्लेषण पाइन्छ सिमसारामा। लेखकले यी पक्ष यति यथार्थपरक ढंगले पस्केका छन् कि लाग्छ, 'म' पाठककै जीवनको कथा टिपोट गरेर मिठो साहित्यिक भाषामा बयान गरिएको छ।
संवत आमा र बाबुको केन्द्रबिन्दुको परिकल्पनामा आफूलाई मात्र राख्न चाहन्थ्यो। उसलाई आमाबाबु धेरै मिलेको पनि मनपर्दैन थियो।
त्यसैले त ऊ भन्थ्यो, 'बुबा र आमा मिल्दा खेरी मलाई निकै रमाइलो लाग्थ्यो। नमिलेको भन्दा चाहिँ मिलेकै जाती। उहाँहरू धेरै मिलेको चाहिँ मलाई मज्जा लाग्दैन थियो।'
उपन्यास स्वैरकल्पनाले परिपूर्ण छ। संवतका बुबा एकपटक छुट्टीमा आउँदा एउटी सानी केटी साथमा ल्याउँछन्। ती केटी केही दिन संवत र उसका बाबु आमासँगै त्यही घरमा बस्छिन्। ती को थिइन्, किन आइन्, बाबुले केही बताउँदैनन्।
संवतभन्दा एक कक्षा तल पढ्ने ती केटीलाई आमा भन्छिन्, 'लु नानी, राम्रो गरी पढ्दै गर्नू। पछि ठूली भएपछि हाम्रोमै बस्नुपर्छ संवतेलाई साथी हुन्छ।'
त्यहाँबाट किशोर संवत सपना देख्न थाल्छ। हरेकपटक घरको दुःखबारे सोच्दा, बिग्रिएको घर सपार्ने सपना देख्दा, अनेक समस्याबाट मुक्त हुने समाधानको बाटो कल्पना गर्दा ऊ त्यही केटीलाई मनमनै निर्णयमा सामेल गराउँछ।
मनैमन साक्षी राख्छ, सवालजबाफ गर्छ।
ऊ मनोवाद गर्छ, 'कुनै दिन इस्वी सेतो टिसर्ट, नीलो फ्रकमा आउनेछे। या ऊ रातो मिडीमै चिया बगानको बाटो हुँदै आउली। उसले सम्झाउनेछे मेरा झगडालु बाउआमालाई। उसले जमाउनेछे यो चिसो घरमा अधिकार। अनि मायाको न्यानो सबै कुना, दलान र कोठाचोटामा व्याप्त हुनेछ। यो घर फेरि बस्न लायक हुनेछ। म इस्वीलाई धेरै माया गर्नेछु। ऊ मलाई त्यसैगरी माया दिनेछे। त्यो दिन कहिले आउला?'
साँच्चै त्यो दिन कहिले आउला? वा कहिले पनि नआउला? यो जान्न पाठकहरूले पुस्तक नै पल्टाउनुपर्छ।
अमेरिकी लेक्सिकोग्राफर डेभिड गुर्नालिकले 'वेस्टर्स न्यु वर्ल्ड डिक्सनरी' मा भनेका छन् – लामो काल्पनिक गद्यात्मक विवरण नै उपन्यास हो; त्यसमा मानिसहरूको जीवन, भावना, विचार, वस्तु र घटनाहरूको विवरण हुन्छ।
अर्का विद्वान क्लारा रिब्सको परिभाषाअनुसार वास्तविक जीवन, चालचलन र आफ्नो समयको तस्बिर नै उपन्यास हो।
यो विचारलाई सिमसाराले निकै राम्ररी चित्रण गरेको छ।
त्यसको चित्रण संवतकी आमा मन्दाक्रान्तालाई लोग्नेले छाड्दा उनले आफ्नो हकका लागि संघर्ष गरेकोमा उनकै बाबु मात्रै होइन, संवतलाई पनि मन नपरेको विवरणमा प्रस्टै भेटिन्छ।
सबैको विचार मन्दाक्रान्ताले सहनुपर्छ, उनले सबै सहेरै बस्नुपर्छ भन्ने देखिन्छ। कसैले पनि उनलाई 'तिम्रो पीडामा मह्लम लगाउन म साथ दिन्छु' भन्दैन।
एकल आमा भएर हुर्काएको छोरालाई समेत आफ्नी आमा अभिभावक दिवसको दिन आफ्नो स्कुल आएको मनपर्दैन। स्कुलका हेडमास्टरलाई मनपर्ने त कुरै भएन। उनीहरू सबै पहिली श्रीमती छाडेर दोस्री श्रीमती लिएर बसेको बाबु नै अभिभावक दिवसमा आए हुन्थ्यो भन्ठान्छन्। यो स्थिति अहिले पनि हाम्रो समाजमा विद्यमान छ।
यसरी हेर्दा सिमसारा विद्रोही चेत भए महिलाको संघर्षको यथार्थपरक कथा हो।
उपन्यासको अर्को सबल पक्ष संवत र इस्वीको प्रेमकथाले कौतुहल जगाएर बाँधिराख्न सक्नु हो। पढ्दै जाँदा उनीहरूको भेट कहिले होला भन्ने रहस्यले किताबबाट आँखा हटाउन मन लाग्दैन। कथा भन्ने यो शैलीले पाठकलाई सन्निवेश गराउने काममा कमी हुन दिएको छैन।
उपन्यास अपायक बराँठ, बिजोडी, साक्षी सदर, स्वप्नभंग र निधो शीर्षक दिएर विभिन्न अध्यायमा बाँडिएको छ। थुप्रै अन्धविश्वासका कुरामा प्रश्रय दिइएको छ।
अहिलेको कानुनले बहुविवाह बन्देज गरेको भए पनि सिमसारा बहुविवाहको पनि कथा हो। माओवादी आन्दोलनको समयको जनअदालत छ। यो हिसाबले यसको कथा कम्तीमा पनि साठीको दशकभन्दा यताको होइन।
अर्को चासो, गाउँको एउटा स्कुलमा पढ्ने संवत जसको उमेर सुरूमा १३/१४ वर्षको मान्ने हो भने त्यति परिपक्व भएर सोच्न सक्ने कसरी भयो होला? यो प्रश्न पनि मनमा नआएको होइन।
उपन्यासकारले पात्रहरूको नाम पनि गजबले छानेछन्, संवत त इस्वीभन्दा सधैं अगाडि हुन्छ भनेरै त यसरी नाम राखेको त होइन? यसको जबाफ पनि पाठकहरूले नै खोज्नुहोला!
समग्रमा सिमसारा उपन्यास निकै चाखलाग्दो छ। फाइन प्रिन्टद्वारा प्रकाशित पुस्तकमा २६५ पृष्ठ छन्।
यसअघि वसन्त बस्नेतका '७२ को विस्मय' र 'महाभारा' का आएका थिए।