लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण भएको छ।
प्राध्यापक डा.दयाराम श्रेष्ठ, प्राध्यापक डा.गोविन्दराज भट्टराई, समालोचक द्वय डा. अशोक थापा तथा अनुपमा रेग्मी, साहित्य अकादमी पुरस्कार (भारत) बाट पुरस्कृत समालोचक ज्ञानबहादुर क्षेत्री तथा लेखकले संयुक्तरूपमा कृतिको अनावरण गरेका हुन्।
कृतिको लोकार्पण कार्यक्रममा बोल्दै प्राध्यापक डा.श्रेष्ठले नेपाली साहित्यमा वियोगीको नयाँ कथा कृति ‘सत्यम्’को जन्म भएकोले कृतिको संख्या थपिएको मात्रै नभई एक उत्कृष्ठ कथाहरूको सङ्ग्रह आएकको बताए। उनले यी कथाहरूले पाठकमा नयाँ छाप छोड्न सक्ने बताए।
प्राध्यापक डा.भट्टराईले नेपाली साहित्यमा एक प्रखर र उत्कृष्ट कथासङ्ग्रहको रूपमा सत्यम् आएको बताए। यसले साहित्यानुरागीबीच नयाँ छाप छोड्ने अपेक्षा रहेको पनि बताए।
समाचोलक डा. थापाले पत्रकारिता पेशामा रहेका वियोगीले समाचार तथा फिचरमा लेख्न नमिलेका र लेख्न नसकेका विषयसमेत उनको कथाकृतिमा झल्किने गरी उतारेको बताए।
समालोचक अनुपमा रेग्मीले वियोगीको कथाकृति ‘सत्यम्’मा विगतको माओवादी द्वन्द्व, स्थानीय भाषिकाको प्रयोग, पश्चिमेली लोकगीत तथा संस्कृति, प्रेम, पर्यावरणजस्ता विषयको मिहिन भावसहितको चित्रण पाइने बताइन्।
यसैगरी, समाचालेक तथा साहित्य अकादमी पुरस्कारबाट पुरस्कृत क्षेत्रीले वियोगी ‘हिमाललाई ढाक्यो कान्छा हिउँको पछ्यौरीले..’ बोलको गीतबाट यसअघि नै सफल गीतकारको रूपमा स्थापित भइसकेको प्रसंग सुनाएका थिए।
उनले वियोगीको बहुविधात्मक प्रतिभा अहिले कथामार्फत प्रस्फुटित भएको धारणा राखेका थिए।