समीक्षा
डायस्पोरिक साहित्यमा आफ्नो स्थान कायम गरिसकेका व्यक्तित्व हुन् दाजु गुरूङ। टाँकीका फूल र लाई–सी दुई कथा संग्रहले उनलाई आख्यानकारका रूपमा स्थापित गराइसकेको छ। उनको ‘निरजोया’ पहिलो उपन्यास हो। हङकङमा बसेर उनले नेपाली भाषा साहित्यको सेवा गरिरहेका छन्।
दाजु गुरूङ जहाँ रहेका छन् त्यहीँको स्थान, परिवेश र घटनालाई उनले साहित्यको विषय बनाएका छन्। अनि उनका पात्रहरू पनि त्यहीँका छन्। प्रवासमा रहेर ‘यो मन त मेरो नेपाली हो’ भन्ने बोलको सार्थकतामा आख्यान रच्न उनी सिपालु छन्। जहाँ रहे पनि नेपालीपन उनमा स्पष्ट देखिन्छ। नेपाली मन र नेपाली भावमा शब्दहरू खेलाउँछन्। प्रवासमा बसेर त्यहीँका विविध सन्दर्भहरूमा आफू डुबेर लेख्ने जुन प्रयास गरेका छन् त्यो एकदमै सम्मानयोग्य छ।
निरजोया उपन्यासको कथावस्तु पनि प्रवासीकै छ, प्रवासीको मन छुने कथा छ, प्रवासीको जीवन छ। बडो जटिलपूर्ण जीवन संघर्षको कथा छ निरजोयामा। प्रवासको सिङ्गो चित्र छ यसमा। दुई दशक अघिको परिवेशबाट कथन सुरू भएको छ। एउटा युवा विवश छ, लाचार छ, परदेशी बन्न बाध्य छ। प्रमुख पात्र निरोज गरिब त थिएन नै तर ऊ विदेश जान बाध्य हुन्छ। बुवाआमाको दबाब छ।
देशमा माओवादी द्वन्द्व चर्किएको छ। ज्यान खतरामा छ। सुरक्षाकै लागि बाबुआमा उसलाई विदेश पठाउन चाहन्छन्। मलेसियामा जे भए पनि छोरो सुरक्षित हुने आश छ उनीहरूको। निरोजका सामु अनेकन चुनौतीका पहाड छन्। उमेर ढल्किँदै गएका बाआमालाई सुखसँग पाल्ने ऊसँग एउटा मीठो सपना छ। अनि उसका आफ्नै रङ्गीन सपनाहरू विविध छन्। यस्ता अनेकौं सपना उसले पूरा गर्नु छ। तिनै अज्ञात सपनाले उसलाई मलेसिया पुर्याउँछन्।
निरोज नेपालको पूर्वी पहाडको ठिटो। अभावको घाउ उसलाई खासै थिएन। तर पनि देशमा दन्कँदो थियो सशस्त्र द्वन्द्वको आगो। दिनहुँ मानिस मारिएका खबर आउँथे अथवा आफ्नै आँखा वरिपरि पनि त्यस्तै भयावह परिवेश बेहोरेको थियो उसले। आख्यानकार दाजु गुरूङले उतिबेलाको दशवर्षे जनयुद्धताको भयभीत गर्ने त्रासद अवस्थालाई यहाँ सत्यापन गरेका छन्। उमेर पुगेका स्कुले केटाहरूलाई जबरजस्ती युद्धमा बन्दुक बोकेर सहभागी हुन गरेका उर्दी निरोजले पनि सुनेको थियो। त्यसैले जंगल जानुपर्ने मनोवैज्ञानिक त्रासमा थियो ऊ। उसका बाबु पनि लाहुरे थिए। उसलाई जस्तै डर उसका बाबुलाई नभएको कहाँ हो र? यस्तै आतङ्कित परिस्थितिमा निरोजको बिहे भैसकेको थियो। ऊ पढाइमा कमजोर थियो, अझै भनूँ उसको पढाइमा रूचि थिएन। ऊ आखिर अल्लारे माहिलो न थियो। यस्तै परिस्थितिमा ऊ बिदेसिन्छ।
विदेश आफ्नो गाउँ ठाउँ जस्तो कहाँ हुन सक्छ? त्यहाँ निरोजले अनेकौं हण्डर ठक्करहरू खान्छ। उसमाथि मलेसियाको भूमि विशेषतः नेपालीहरू शारीरिक श्रम गर्न त्यहाँ जान्छन्। निरोजले त्यहाँ खाएका दुःख, कष्ट र हण्डरहरूबाट आख्यान अघि बढ्छ। ऊ एक प्रतिनिधिमूलक पात्रका रूपमा मञ्चित छ। त्यसको उसका साथीहरू पनि उसको जस्तै जीवन भोगेका छन्। लेखक गुरूङले यहाँ विदेशिएका नेपालीको अवस्थालाई यति जीवन्त चित्रण गरेका छन् भने नि ती दुःखी पात्रप्रति अनायास आँसु झर्छ। संवेदना उर्लिएर आउँछ। मलेसियाको प्रशासनले दिएको अमानवीय यातना भनौं नारकीय जीवन बाँच्न बाध्य प्रवासीहरूको पीडालाई यहाँ छर्लङ्ग पारिएको छ।
निरोजसँगै जोया अर्की मुख्य पात्र हुन्। यी दुईको प्रेमी प्रेमिकाको अनुपम कथा छ निरजोयामा। यी दुई बीचको प्रणय कथा बडो उत्सुक बनाइराख्ने खालको छ। यस्तो प्रेम जुन भाषा, धर्म,भूगोल तथा भिन्न संस्कृतिबीच कसरी अङ्कुराएको छ, अनि त्यो प्रेम दिगो नभई वियोगान्तमा टुङ्गिएको छ। हिन्दू संस्कार तथा संस्कृतिमा जन्मे हुर्केको निरोज र मलेसियन मुस्लिम परिवारकी जोया बीचको सम्बन्ध बडो जटिल छ।
प्रवासको जिन्दगी कहाँ सोचेजस्तो हुन्छ र ? कहाँ सुनेजस्तो हुन्छ र? यथार्थमा भोगाइ अर्कै छ। फरक छ। त्यो कठिन जिन्दगी जान्न एकचोटि निरजोया पढ्नु पर्नुपर्ने खालको छ। हामीले सुन्दै आएका छौं। समाचार हेर्दै आएका छौं मलेसियामा काम गर्न गएको मान्छे बेपत्ता भयो रे। मृत भेटियो रे। यस्तै त्यस्तै। यस्ता कुरा सुनेका हामीलाई निरजोया पढेपछि मथिंगल हल्लाउँछ। हेर्दा कतै नियात्राको झल्को दिने उपन्यासले मलेसियाका विभिन्न स्थानको यात्रा गराउँछ। घर परिवार छोडेर प्रवासमा साथी बनाएर रम्नेहरूको दुर्दशाले—प्रवासिएका हाम्रा नेपालीलाई सजग गराउँछ, सचेत गराउँछ। यस अर्थमा पनि उपन्यास सन्देशदायी छ। हिन्दू पुरूष र मुस्लिम केटीको प्रेम प्रसङ्गले आख्यानमा महत्व पाएको छ। विवाहित केटोले आफ्नो अर्धाङ्गिनी जसमायालाई भुलेको छ। चार वर्ष जति ऊ जोयाको मायामा, गोलचक्करमा फस्छ उत्रन नसक्ने गरी। उसैकै घरमा उसकै मर्जी मुताविक चल्छ मानौं ऊ जोयाको गुडिया हो। भौतिक आवश्यकताका सब चिज उसका निम्ति जोयाकहाँ उपलब्ध छन्।
आत्मपरक शैलीको उपन्यासमा प्रवासको गैह्रकानूनी बसाइ र मलेसियाको जेलमा कैदीहरूको कठिनतम दैनिकी, अमानवीय तथा क्रूर यातनाको दृश्याङ्कन गरिएको छ निरजोयामा। वैदेशिक रोजगारीमा जाने आम युवाहरूको वास्तविकतालाई सत्यापन गरेको छ यसले। जेलभित्र अत्यन्तै दर्दनाक स्थितिमा पिल्सिएको बेला—इण्डियन मूलका भारतीय पंजावी (जेलर मनजित सिंह) को हिन्दू धर्मप्रतिको मोह, पशुपतिनाथको महिमा र हिन्दी भाषाप्रतिको प्रेमले समेत उपन्यासमा स्थान पाएको छ। जेलरले निरोज लगायत नेपाली कैदी जीवन भोग्नेहरूलाई स्वदेश फर्काइदिने आश्वासन दिएपछि—बन्दी जीवन भोगका नेपाली युवा अत्यन्तै आशावादी हुन्छन्। उनै जेलरको प्रयासमा निरोज लगायत उसका साथीहरू नेपाल फर्किन सम्भव हुन्छ। आफ्नो दोजिया भएकी श्रीमती छोडेर प्रवासिएका युवाहरूको मनस्थिति चित्रण गरिएको उपन्यास बडो कारूणिक छ, पीडादायी छ, मार्मिक छ। ती पात्रका अनुभव र अनुभूतिहरू एकदम दर्दनाक छन्।
उपन्यासकारले पात्रहरूलाई न्याय गरेका छन्। सकारात्मक भावको डम्बर दाइ, मनकुमार सोल्टी, काइँला लगायतका चरित्रहरू पटक पटक पात्रत्वमा आइरहन्छन्। त्यस्तै राई भाइ, शम्भु तामाङ, मिलन, डिकबहादुर जस्ता पात्रहरूले पनि अन्त्यमा विशेष भूमिका खेलेका छन्।
त्यस्तै मले भाषाहरूको प्रयोगले उपन्यासमा नवीनताको छाँट अनि पात्रहरूको चरित्रमा न्याय गर्न सकेका छन्। वास्तवमै हङकङमा बसेर मलेसियाको प्रवासी जीवन उतार्नु निक्कै कठिन काम हो। यही कठिनतामा लेखक गुरूङले सफलता हासिल गरेका छन्। मुस्लिम समाजमा नारीको अवस्थालाई पनि उपन्यासले जीवन्तता दिन सकेको छ। कुनै पनि स्रष्टाको कृति आफैमा पूर्ण हुन सक्दैन केही त्रुटि र रिक्तता त अवश्य भइहाल्छ। निरजोयामा पनि त्यस्तै केही कमीकमजोरीहरू छन्। एउटै वाक्यांश बेला बेला दोहोरिनु, यदाकदा भाषिक त्रुटिहरू पाइनु जस्ता सामान्य कमजोरी उपन्यासमा देखिएका छन्। व्याकरणीय त्रुटि पनि कतै कतै भेटिन्छन्। यस्तै केही अप्रासङ्गिक कुराहरू पनि यसमा छन्। तर उठान गर्न खोजिएका र चित्रण गरिएका प्रवासी जीवनका यथार्थताहरू उच्च कोटीका छन्। काल्पनिकताको केही प्रयोग भए पनि वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक तथा मलेसिया जानेहरूको यथार्थतालाई उपन्यासले सजीवता दिन सकेको छ।
प्रवासी जिन्दगीका सकसहरू, त्यहाँको परिवेश तथा भूगोल, डायास्पोरिक मनस्थितिले रूग्ण दैनिकी अनि मनोदशा, अभिशप्त जीवन,समग्र प्रवासीको भोगाइ अभिव्यञ्जित उपन्यास त्रासदीय भावले भरिएको छ।
यसले वैदेशिक रोजगारीमा जानेहरूलाई खबरदारी गरेको छ, सावधान हुन अनुरोध गरेको छ। निरजोया उपन्यासको केन्द्रीय सन्देश पनि यही हो। त्यस्तै सकारात्मकता पनि यसको अर्को पक्ष हो। परिवेश, घटना र परिस्थितिको भुक्तभोगी पात्रलाई मञ्चित गरी प्रवासको अवस्था चित्रण गराउन सक्नु उपन्यासकारको खुबी देखिन्छ। यहाँ जोयामार्फत् नारीहरूको मनोदशालाई पनि चित्राङ्कन गरिएको छ। युवाहरूको उत्कट यौन चाहनालाई पनि उस्तै कलात्मक तरिकाले देखाएको छ। विदेशमा सजिलो छैन गरिखान भन्ने सन्देश पनि उपन्यासले दिएको छ।
सारमा भनौं प्रवासीहरूको युगीन पीडा, दुख, बेथा र वेदना अनि दुरूह दैनिकी त्यस्तै नियतिलाई छर्लङ्ग पार्न दाजु गुरूङ सफल भएका छन्। छरितो र नयाँ शैलीको उपन्यास बान्की परेको छ। फिनिक्स बुक्सले यस कृतिलाई प्रकाशित गरेको छ। कृतिको लागि दाजु गुरूङलाई हार्दिक बधाइ तथा शुभकामना।