केही समयअघि माधव चौलागाईं काठमाडौंका किताब पसलहरू चहार्दै थिए।
कर्णालीको जुम्लामा जन्मिएका उनी आफ्नो ठाउँबारे प्रकाशित किताब खोजिरहेका थिए।
काठमाडौंका पसलेहरू प्रायःले उनलाई एउटै जबाफ फर्काए, 'कर्णाली ब्लुज खोज्नुभएको हो?'
लेखक बुद्धिसागरले लेखेको किताब 'कर्णाली ब्लुज' आख्यान हो। त्यसका पात्रहरू मात्र कर्णाली केन्द्रित हुन्। यसले समग्र कर्णालीको इतिहास, समाज र भूगोल बताउँदैन। माधवलाई चाहिएको यिनै विषय समेटिएका गैरआख्यान किताब थियो।
कर्णालीलाई केन्द्रमा राखेर लेखिएका किताबको संख्या कम छ भन्ने थाहा पाएका उनले यसपछि आफै किताब लेखे — सपादलक्ष कर्णाली।
सपादलक्षको अर्थ हो — सवा लाख (एक लाख २५ हजार) पर्वतहरूको क्षेत्र।
'पुराना ताम्रपत्र, शिलापत्र, स्तुति गान अनि हस्तलिखित ग्रन्थमा मैले यो शब्द धेरै प्रयोगमा आएको देखेको थिएँ। त्यहीँबाट यो नाम लिएको हुँ,' माधवले भने, 'कर्णाली भाषा, संस्कृति, नदी, मस्टो लगायत सवा लाख विशेषता भएको ठाउँ हो। कर्णाली यति विशाल र सम्पन्न छ भन्ने हिसाबले यो नाम राखेको हुँ।'
हालै प्रकाशित यो किताब कर्णालीको इतिहासदेखि वर्तमान बुझ्न उपयोगी छ। किताबले कर्णालीको अभावदेखि अवसरसम्म औंल्याएको छ।
यो किताब तीन खण्डमा विभाजन गरिएको छ — मइडो, काँचुली र सुइना।
'मइडो' जुम्ली शब्द हो। यो भनेको घरको चुह्लो वा अँगेना वरिपरि बस्ने ठाउँ हो। मइडो परिवारका सदस्यहरू सँगै बसेर खाना खाने ठाउँ मात्र होइन, विभिन्न विषयमा कुराकानी र वैचारिक छलफल गरिने ठाउँ पनि हो।
'हाम्रोतिर खाना खाइसकेपछि मइडो वरिपरि सुत्ने चलन पनि छ। त्यो प्रतीकात्मक रूपमा एकदम चाखलाग्दो शब्द पनि हो,' माधवले भने, 'यो खण्डमा मैले कर्णालीको इतिहास उजागर गर्ने प्रयास गरेको छु। अहिले हामी जे छौं, त्यसमा इतिहासले केही न केही भूमिका निर्वाह गरेको छ।'
मइडो खण्डमा खस सभ्यताको इतिहास, कथ्य इतिहास, त्यहाँका सम्पदाको अवस्था, भूकम्प, महामारी लगायतले पारेको प्रभावको वर्णन छ। त्यसैगरी, कुलो, रूख, मस्टो, मार्सी धान/चामलको महत्त्वदेखि सम्पदा 'ट्रेल' का कुराहरू छन्। यसरी इतिहास उजागर गर्दै जाँदा माधवले आममानिस अनि प्रकृतिमा रहेका अन्य कुराको इतिहास पनि महत्त्वपूर्ण हुने वर्णन गरेका छन्।
'इतिहास भन्नेबित्तिकै हामी राजा-महाराजाहरूलाई सम्झिन्छौं। तर इतिहास आममानिसको पनि हुन्छ जुन कसैले लेख्दैन। मैले यसमा आफ्नै इतिहास पनि खोतल्ने प्रयास गरेको छु,' उनले भने, 'इतिहास रूख, कुलो, मन्दिरहरूको पनि हुन्छ। भूकम्प, महामारीको पनि हुन्छ। यति धेरै कुराको इतिहास हुन्छ कि मानिसले बोल्दा बोल्दै पनि इतिहास बोलिरहेको हुन्छ।'
किताबको दोस्रो खण्ड 'काँचुली' मा वर्तमान अवस्थाको कर्णाली भेटिन्छ। सरकारी निकायले गरेका कामहरूको विश्लेषण माधवले यसमा गरेका छन्। गएको पाँच वर्षमा कर्णालीको सामाजिक, आर्थिक अनि सांस्कृतिक पक्षमा भएको अध्ययन अनि सरकारले निकालेको प्रतिवेदनका आधारमा उनले यो खण्डका लेखहरू तयार पारेका हुन्।
नेताहरूका भाषणमा माधवले धेरै सुन्दै आएको कुरा हो, 'हामी कर्णालीको काँचुली फेरिदिन्छौं।'
तर भनेजस्तै कर्णालीको काँचुली उनीहरूले कति फेर्न सके? कि उनीहरू आफैं फेरिए? आफ्नो भाषणमा उनीहरू कहाँ चुके?
छलफलमा उनीहरूको कुरा ल्याउनुलाई पनि इतिहास सुरक्षित राख्नु बराबर ठान्छन् माधव।
'सरकार, सत्ता, शक्ति, भाग्य निर्माता भनेर जो जो आए; उनीहरूले जे गर्न सक्थे, त्यो गरेनन्। पाँच वर्षसम्म काम गर्न नसकेका नेताहरूले आफूलाई शिशु अवस्थामा छौं भनेर बहाना मात्र बनाइराखे,' काँचुली खण्डको 'शिशु संघीयता' अध्यायमा यिनै प्रसंग विश्लेषण गरेका माधवले भने, 'संघीयतामा सबभन्दा अस्थिर त कर्मचारीतन्त्र हो। सरकारी काम, कहिले जाला घाम भनेझैं कर्मचारीतन्त्रले हामीलाई अल्झाइ राख्यो।'
काँचुलीमा माधवले कानुनका कुरा पनि गरेका छन्। 'टेको' शीर्षकमा कर्णालीजस्तो भौगोलिक रूपले पिछडिएको ठाउँमा सरकार कति आड-भरोसा बन्न सक्यो कि सकेन भन्ने कुरा उनले गरेका छन्।
'हामीलाई रूपान्तकारी विकास चाहिएको हो। तर गरेजस्तो गर्ने खालको विकासले कसरी बिगारिरहेको भन्ने कुरा मैले यसमा उजागर गर्न खोजेको छु,' उनले भने।
अन्तिम खण्ड 'सुइना' शब्दको अर्थ हो सपना। यसमा माधवले कर्णालीको भविष्य र अवसरहरूको कुरा गरेका छन्। कर्णालीमा भएका सम्भावना, क्षमता, सांस्कृतिक पक्षदेखि लगानीका कुरा उनले औंल्याएका छन्। कर्णालीलाई लिएर देशभर नराम्रो वा पिछडिएको बिम्ब बनेको छ, त्यसलाई परिवर्तन गर्न के कस्ता काम भइरहेका छन् भन्नेबारे पनि चर्चा गरेका छन्।
'कर्णाली भौगोलिक रूपमा जटिल छ भन्ने सत्य हो। तर जटिल हुनुको पनि केही फाइदा त होला,' माधवले भने, 'कुनै पनि ठाउँ भौगोलिक रूपले कहाँ छ भन्ने कुराले त्यो ठाउँ पछाडि पर्ने होइन। त्यो ठाउँमा अवसर नपुग्नुले पछाडि पर्ने हो। हामी सबै त्यो अवसर पर्खिरहेका छौं।'
माधवले भने आफूले पाएको अवसर गुम्न दिएनन्। जुम्लामा कक्षा १२ सम्मको पढाइपछि उनी स्नातक पढ्न सुर्खेत आए। त्यसपछि छात्रवृत्तिमा स्नातकोत्तर पढ्न थाइल्यान्डको बैंकक गए। त्यहाँ उनले जनस्वास्थ्य विषय पढे। पढेर आएपछि सोही क्षेत्रमा कर्णालीका लागि काम गरे। अहिले उनी मानवशास्त्रमा एमफिल गरिरहेका छन्। विद्यावारिधि गर्ने पनि सोचमा छन्।
'जुम्लाबाट अन्यत्र पढ्न जाँदा सुरूमा त मलाई झट्का लागेजस्तो हुन्थ्यो। म मानिसहरूसँग बोल्दिन पनि थिएँ। नेपालका साथीहरूले त मलाई जुम्ली भनेर होच्याउँथे। बिस्तारै सबै डर र होच्याउने कुराबाट माथि उठ्दै गएँ,' माधवले भने, 'कर्णाली कति अगाडि र पछाडि छ भन्ने कुरा यहाँको मानिस कतै पुग्दा उसको आत्मसम्मान कहाँ छ र उसलाई कत्तिको साहस आइरहेको छ भन्ने कुराले पनि निर्धारण गर्छ होला।'
कर्णाली पछाडि पर्नुका पछाडि ऐतिहासिक, भौगोलिकदेखि महामारी, द्वन्द्व, भूकम्प लगायत कारण त छन् नै, सरकारको बेवास्ता र अवहेलना पनि रहेको माधवको बुझाइ छ। तर समग्र देशको विकास गर्न कर्णालीलाई अछुतो राख्न सकिँदैन।
'यदि कुनै दौडमा नेपाल सहभागी छ भने कर्णालीलाई अलग पारेर सफल हुनै सकिँदैन। कर्णालीको समय धिमा छ भने नेपालको समय छिटो हुँदैन। कर्णालीको समय छिटो बनाउनु भनेको नेपालको समय पनि छिटो बनाउनु हो। कर्णालीलाई विशेष चासो दिएर त्यसको विकासमा जोड दिने हो भने समग्र देशकै गति छिटो हुन्छ,' माधवले भने।
कर्णालीको धिमा गति छिटो बनाउन सकारात्मक विभेद आवश्यक भएको उनी देख्छन्। विशेष कोटाको आवश्यकतालाई उनले औंल्याउन खोजेका हुन्। त्यसका साथै कर्णालीको इतिहास पनि कर्णालीकै मान्छेले लेख्न जरूरी भएको उनी देख्छन्।
माधवले पढेका धेरै इतिहासमा विजय हासिल गर्नेहरूको देवत्वकरण र उनीहरूको गुलामी गरेर लेखिएको भेटेका छन्। त्यस्ता अतिशयोक्तिपूर्ण इतिहास नभइ अहिलेको समयमा तथ्यपूर्ण इतिहास लेखिनु पर्नेमा उनको जोड छ।
'तर अहिलेसम्म कर्णालीकै मानिसले आफ्नो इतिहास लेख्ने वातावरण भएन। जब कर्णालीका मानिसले शिक्षादीक्षा पाउने वातावरण बन्यो, तब शिक्षाभन्दा आर्थिक उपार्जनको चिन्ता थियो। इतिहास लेख्नेभन्दा आर्थिक रूपमा बलियो हुने पिरले इतिहासमा हाम्रो सधैं गतल व्याख्या भइरह्यो। त्यसलाई सुधार्ने समय आइसकेको छ,' उनले भने।
माधवको किताब 'सपादलक्ष कर्णाली' कर्णालीको इतिहासलाई सही तरिकाले देखाउने प्रयास पनि हो। यो किताबले सुरूमा त कर्णालीलाई चिनाउन सहायता गर्छ। कर्णालीलाई आलोचनात्मक दृष्टिकोणले हेर्ने वातावरण सिर्जना गर्छ। कर्णालीका मानिसले यो किताब पढ्ने हो भने उनीहरूले आफ्नो ठाउँमा अनन्त सम्भावना देख्न सक्छन्। आफ्नो कथा आफै लेख्नुपर्छ भन्ने कुरामा प्रेरित पनि होलान्।
कर्णाली बाहिरका मानिसलाई त कर्णाली बुझ्न सहयोगी हुने भइहाल्यो।
'कर्णालीको उत्पादन भनेर जसरी काठमाडौं र अन्य ठाउँमा स्याउ, मार्सी चामल, ओखर, यार्सागुम्बा लगायत सामग्री बेचविखन हुन्छ, यो किताब पनि कर्णालीकै अर्गानिक खुराक हो,' माधवले भने।
यो किताबका लेखक मात्र होइन, किताबको आवरण डिजाइन गर्ने, सम्पादन गर्ने, प्रकाशन गर्ने सबै कर्णालीकै मानिस हुन्। किताब विमोचन पनि सुर्खेतमा भएको थियो जसमा माधवकी आमासमेत सहभागी भइन्।
'म मेरो परिवारको पहिलो साक्षर व्यक्ति हुँ। मेरी आमाले प्रौढ शिक्षाबाट आफ्नो नाम मनोशोभा लेख्न सिक्नुभएको थियो। किताब विमोचनमा आमाले आफ्नो नामको हस्ताक्षर गर्नुभएको थियो,' माधवले खुसी हुँदै सुनाए।
किताब 'सपादलक्ष कर्णाली' मा माधवले आगामी किताब आफ्नी आमा र उनीजस्तै महिलामा केन्द्रित भएर लेख्ने घोषणा समेत गरेका छन्।
अन्तिममा उनले किताबमा आएका मान्छेहरूको नामसूची बनाएका छन्। त्यसमा झन्डै सबै पुरूषहरूको मात्र नाम छ।
त्यसले उनलाई सोचमा पार्यो — अहिलेसम्म कर्णालीका महिलाहरू कहाँ थिए? उनीहरू इतिहासमा के गरिरहेका थिए? के उनीहरू सधैं पितृसत्ताकै दबदबामा बसिरहेका थिए? पुरूषहरू घर बाहिर हुँदा, महिलाहरूको घरभित्र के भूमिका थियो?
यी प्रश्नहरूबारे घोत्लिँदै गर्दा उनले आफ्नी आमालाई सम्झिए। आफ्नी आमालाई विषयवस्तु बनाएर मानवविज्ञानमा स्नातकोत्तर गरिरहँदा उनले एउटा लेख पनि यसैबारे लेखेका थिए।
अब उनले महिलाका कुरा उनीहरूकै दृष्टिकोणबाट लेख्ने सोच बनाएका छन् — संकटको समयमा महिलाहरूले सन्तानलाई कसरी सुरक्षा दिइरहेका छन्? महामारी, द्वन्द्व लगायत समयमा उनीहरूको भूमिका के थियो होला?
'आमाहरूको जीवन हेरे पनि नेपालमा चलिरहेको ऐतिहासिक परिवर्तनले कर्णालीजस्तो ठाउँमा के गर्यो भन्ने कुरामा फरक दृष्टिकोण बन्छ होला,' उनले भने।
किताबबाहेक माधव 'कुडा कर्णाली' नामक वैचारिक छलफलको उत्सवमा सक्रिय छन्। यो उत्सवले बहसमार्फत कर्णाली चिन्ने र चिनाउने प्रयास गरिरहेको छ।
कर्णालीलाई मानिसहरूले सधैं पिछडिएको र अभावमा रहेको ठाउँ भनेर चिने। यस्तै कुनै कुरालाई बिम्ब दिनुपर्दा 'कर्णाली जस्तो' भनिरहे। यो बिम्ब सकारात्मक बनाउने अभियानमा छन् माधव।
'कर्णालीको युग अब डरलाग्दो नभइ जुर्मुराएको युग हो भन्नेमा म विश्वस्त छु,' उनी भन्छन्।
किताबको अन्त्यमा माधवले कविता नै लेखेका छन् —
ए देश!
मैले पनि बुझेँ
अब म पनि बिउँझेँ र उठेँ!
माण्ठ डराएको जुग रहेन अब
माण्ठ जुर्मुराएको जुग हो यो
मैले चिनेको बाटो म सिकाउँछु तिमीलाई
तिमीले बोकेको सामल देऊ मलाई पनि
र, हिँडौंला हामी सँगसँगै
सपादलक्ष शिखरिणी यात्रामा...।