शून्य, अंकको सुरुको अक्षर। तर गुमनाम शून्य। अर्थहीन शून्य। लुकेको शून्य। हरेक कौतुहलताका बीच शून्यको मूल्यको पाना पल्टाउँदै गएँ। लेखक परिचित। बालरोग विशेषज्ञ। म आफैं धेरै पटक आफन्तका र आफ्नै बच्चा लिएर उपचार गराउँदा भेटिएका डाक्टर नवराज केसी।
उनी त डाक्टर हुन्। यो किताब पनि उपचार र स्वास्थ्यकै होला। किताबको पाना पल्टाउँदै गएँ। बुधेकी फुपूआमालाई पढ्न थालेँ। फुपूआमाको विषयमा कोरिएका हरेक शब्दमा आफैंलाई पाउँथें। पढिरहँदा धेरै भावुक बनायो।
बच्चाले बच्चा जन्माएको ती कथाहरू मेरै जस्ता लाग्थे। सयौं पटक बच्चाको उपचार गराउन चिप्लिने पहाड उक्लेर, ओर्लेर, बगाउने नदी तरेर, हराउने जंगल काटेर अस्पताल धाएका ती भुनभुनेका आमाको कथा बिल्कुल मेरै जस्ता थिए। अनि म र मेराजस्तै कर्णालीका आमाहरूको जीवन्त कथा थिए उस्तै-उस्तै।
किताबका पाना पल्टाउँदै जाँदा छटपछी र हुटहुटी दुवै बढ्यो। ती मैले भोगेका कथा थिए। कर्णाली कुनाका आमाहरूका कथा थिए। आआफ्ना फरकफरक रङ्गी–बेरङ्गी कथा थिए। सायद म पनि त्यही कर्णाली पारिकी भएर होला।
वास्तवमा शून्यको मूल्य मैले पढिनँ। अनुभूत गरें। अनि आफैंलाई खोजें। यो किताबमा नेपालको सुदूर कर्णालीभित्रको पनि कुनोमा सङ्घर्ष गरिरहेका आमाहरूको वास्तविकता भेटें। ती शून्यको मूल्यमा डाक्टर केसीको आफ्नै आमाको सास, साहस र स्नेहको कथा पाएँ। त्यसमा डाक्टर लेखक मात्र हैनन्, एक पात्रको रूपमा उपस्थित थिए।
धेरैले धेरै विषयमा विद्यावारिधि गरे। धेरै थरिका सर्टिफिकेटहरू जम्मा पारे। विद्यालय, विश्वविद्यालय र कलेजहरूका अनगिन्ती किताबी ज्ञानहरू प्राप्त गरे। तर जब हामीले समाज पढ्दैनौं, बुझ्दैनौं तबसम्म हाम्रो पढाइ अपुरो नै हुन्छ। त्यस्तै अपुरो पढाइलाई केही हदसम्म पूरा गर्ने हिम्मत यो उपन्यासले गरेको छ।
कर्णाली आफैंमा एउटा विश्वविद्यालय हो। कर्णालीको कन्दराका आवाजहरू धेरै उपन्यासमा कोरिएका छन्। त्यस्तै यो शून्यको मूल्यमा कर्णालीको साहसी आमाहरूको कथा छ। यथार्थ कथा। कर्णालीका सबै आमाहरू यस उपन्यासका पात्र हुन्। भेडिनी कान्छी, फुपूआमा, भुनभुनेकी आमा, नानीआमा, पुतलीआमा, कर्किनी बज्यै र जुम्ल्याहाकी आमा जस्तै।
आमाहरूको श्रमको पसिनाको मूल्य शून्य छ। जसले बीउ जोगाउँछ। जसले मानव र प्रकृतिको स्याहार गरेको छ। जसले परिवारमा डाक्टरको भूमिका निभाइरहेको छ। अर्थ व्यवस्थामा परिवारलाई मात्र हैन राज्यलाई योगदान गरिरहेको छ। ती कर्णाली आमाहरूको मूल्य शून्य छ। यस कृतिमा कर्णालीका ती आमाहरू भित्र भएको शून्यको मूल्य खोजी गरिएको छ।
राज्यले आफ्नै देशको एक भागका नागरिकको जीवन अवमूल्यन कतिसम्म गरेको छ, त्यसमा पनि मूल्य कर्णालीका आमाहरूले कसरी चुकाइरहेका छन्? सास, सहास र स्नेहको मूल्यमा कर्णालीका आमाहरूले चुकाएको मूल्यको उजागर गरिएको छ।
सहरका ठूलाठूला विश्वविद्यालयहरूमा पढाइने किताबका पाना। ती पाना पल्टाउने आत्माहरू सहरमै छोडेर गाउँ पसेका डाक्टर। स्कुल कलेजका मोटामोटा किताबका अनुहार नै नदेखेका जिन्दगीको पढाइमा धेरै-धेरै जीवनवारिधि गरेका कर्णाली समाजका प्रोफेसर आमाहरूको बारेमा डाक्टर केसीले प्राक्थानमा प्रकट गरेका छन्। यो गहिरो कुरो थाहा पाउन पनि डाक्टरलाई वर्षौं लाग्यो। यो सामाजिक विश्वविद्यालयभित्र जीवनवारिधिको यात्राको पुछारमा हराएको आफूलाई नदेखिएको आफ्नो समाज र नभेटिएको देश भेटेको थियो।
कर्णालीका कुनामा सिटामोलहरू थिएन। र, अझै पनि मुस्किलले पाइन्छ। डाक्टरले सिटामोल नभेट्ने समाज र बिरामीले भेट्न नसकेको डाक्टर कर्णाली आमाहरूको अनुभवहरू ताजै छन्। ज्वरो बिसेक हुने दिन र जोडले खोकेर खोकीलाई केहीपर धकेल्ने बिरामी हामी नै हौं। किताबका कुनामा कोरिएका यस्ता शब्दले राज्यले कर्णालीलाई कसरी हेरेको छ? शासकहरूले कर्णालीमाथि कसरी शासन गरिरहेका छन् भन्ने प्रश्नहरू उब्जन्छ।
कर्णालीका आमाहरूले आफ्नो बच्चा बचाउन, सासू-ससुरा बचाउन र आफू बाँच्न धेरै संघर्ष गरेका दुःखका कथाहरू पुस्तकमा फक्रिएका छन्। नजिक अस्पताल र औषधि नभएपछि डाक्टर भेट्न सहज नभएका दूरदराजका आमाहरूले घर, आँगन र करेसामा पाइने झार जराले उपचार गर्थे। त्यसैले यी डाक्टर आमा हजुरआमाहरूको जीवनी यो किताबमा चित्रण गरिएको छ।
किताबका पाना पल्टाउँदै गर्दा नदीको बीच छिप्पिएको पत्थर जस्तो विभिन्न विकृति र बिसंगतीको जन्जीरले बाँधिएका आमाहरूका कथा छन्। यसले हाम्रो समाजमा भएका अन्यायहरूलाई उजागर गरिएको छ। अझ भन्ने हो भने च्याउ सरी उम्रिएको र दिगो विकासका लक्ष्य बोकेर हिँडेका एनजिओ र आइएनजीओहरूको सामाजिक कामप्रतिको हविगत पनि प्रष्ट पार्न खोजिएको छ।
सुदूर कर्णाली कुनाका हरेक नागरिकले उपचार नपाएर अकालमै जीवन समाप्त पार्नु परेको पीडाहरू छरपस्ट छन्। सास थाम्नको लागि सम्पुर्ण जीविका गुमाउनु परेको पीडाहरू यस किताबमा आँसु सरी बगेका छन्। जुन कर्णालीका हरेक भिरपाखा, ओरालीमा आमाहरूले बगाएका दुःखका पसिना जस्तै तप-तप।
बुधे र मिना जस्तै खान, पढ्न र बढ्नका लागि सानै उमेरमा संघर्ष गर्नुपरेको कर्णालीका बालबालिकाको कथाहरू अहिले पनि जीवितै छन्। बुधे र मिनाको कथाले उरल–धुरल गरेर बाँचेकाहरूलाई अभावमा हुर्केको जीवन कस्तो हुन्छ? चियाउने दुलो बनाइदिएको छ। जसबाट समाज पढ्न रूचि राख्नेहरूका लागि थोरै गोरेटो कोरिदिएका छन् डाक्टर केसीले।
शून्यको मूल्य जति पल्टाउँदै गएँ, म हरेक उकाली ओरालीमा भेटिएका दाजुभाइको ताँती देख्थें। जो आफ्नो भविष्य खोज्नको लागि इण्डिया पुग्थे। त्यहाँ पुग्ने र फर्कनेहरू भूमिलाई माया गर्नेहरू नै हुन्थे। आफ्नो नाममा जमिन नभएकाहरू खेतीको समय गाउँ फर्कन्थे। नागरिकता नभएका भूमि नभएकाहरूले पनि देश र माटोप्रति गर्ने मायाको माला उनेका थिए। र, यस्ता भावले भन्न खोजेको थियो- सरकारका ठेकेदारहरू हो, सत्ताका शासकहरू हो केही नपाएर पनि माटोलाई मनमा सजाएर देशलाई माया गर्नेहरूलाई देशले कहिले सजाउला?
किताबका पाना पल्टाउँदा आफ्नै जीवनको पाना पल्टाए जस्तै लाग्यो। पेज नं. ८३ मा बुबालाई चिठी शीर्षकको अर्को कथा थपियो। जहाँ एउटा समाजमा आमाहरूकै अनगिन्ती पीडाहरू देखा पर्छ। महिलाको गर्भमा भएको बच्चाको तर्फबाट आफ्ना हुनेवाला पिताको लागि डाक्टरले लेखी पठाएको चिठी आफैंमा एउटा छुट्टै किताब थियो। चिठीले पारिवारिक सम्बन्ध र प्रेमले जीवन फक्रिएको छ।
डाक्टर केसीले बच्चा र आमा बीचको जैविक सम्बन्ध, बच्चा जन्मना साथ किन रून्छ वा किन रूनुपर्छ जस्ता बालरोगविशेषज्ञका कुराहरू पनि कर्णालीको गरिबका कथाका पात्रहरूसँग जोडेका छन्। कथामा कर्णालीका गरिबी मात्र छैनन्। मानव जीवनका सम्बन्ध र सकरात्मक वा प्रेरणादायी सन्देश पनि प्रवाह गरेका छन्।
डाक्टर केसीले सन् २०१४ मा बेलायतका तत्कालीन प्रधानमन्त्री डेबिड क्यामरूनले हजुरआमाले जीवनको अन्तिम समयमा पनि नातिनातिनीको हेरचाह गरेर देशलाई करिब सात बिलियन बेलायती डलर वार्षिक रूपमा कमाएर दिने गरेको उल्लेख गर्नुभएको छ। बालबच्चाको सुसारेको काम उहाँहरूले निःशुल्क गरिदिँदा देशलाई भएको फाइदाको कुरा थियो यो। यस्तै अनगिन्ती यथार्थ कथा नेपाल र कर्णाली कन्दाराका आमा, हजुरआमाहरूको छ।
त्यति मात्र हैन, किताबका हरफहरू मिले झैं कर्णालीका हरेक बच्चाहरूको पहिलो शिक्षक आमाहरू हुन्। छोरी र बुहारी पनि हरेक बुढाबुढीको अन्तिम नर्स हुन्। यस्तै रोचक कुराहरूले यो किताब कथा, उपन्यास मात्र हैन कर्णाली समाज पढेर गरिएको एउटा विशाल अख्यान पनि हो।
किताबको अन्तिम कथा पुतली आमा। पुतली आमाको साहस, स्नेह र इमान्दारीताको कथा छ। कर्णाली कन्दराबाट काठमाडौंको कोलाहालमा उनले गरेको संघर्ष, उपचारको लागि भोग्नु परेको सकस र बाँच्नको लागि भोगेको दुःखका अनगिन्ती कथा। डाक्टर केसीले पुतली आमाको कथामा असमानता र विभेदहरूलाई औँल्याएका छन्।
भेडिनी कान्छी, मृत्युपछिको जीवन, कर्किनी आमा यी थप तीन कथामा पनि समाज, राजनीति, बालबालिका, गरिबी, रोजगारी, महिला, सामाजिक जीवनका सबै पक्षको चित्रण गरिएको छ। पाठकहरूका लागि कथा उपन्यासजस्ता आख्यान भित्रका रोचक सन्दर्भ बनेर आएका यी प्रसंग आकर्षक र ग्रहणयोग्य छन्।
हिम्मतबहादुरको कथा, भेडिनी कान्छीको बाल मनोविज्ञान, खरायोको मातृत्व प्रेम, हजुरआमा र आमाहरूको आर्थिक योगदान, मानसिक, शारीरिक तथा आध्यात्मिक स्वास्थ्य, भेडिनी कान्छीको तीनखुट्टे भेडीसँगको मितिनी साइनोको आत्मीयता, पटुकी बैंक, मृत्युको क्षण पहिलेको मानिसको दिमागी प्रक्रिया आदि यस्ता कति धेरै सन्दर्भहरू छन्। यिनिहरू आफैंमा अर्को एउटा समाज हो। जसले पाठकहरूको मन मस्तिष्क छुन्छ।
भेडिनी कान्छी, बुधेकी फुपूआमा, पुतली आमा, जुम्ल्याहाकी आमा जस्तै नामबाट कर्णालीका आमाहरूको परिचय खुल्छ। यो नै उनीहरूको परिचय हैन। शून्य भित्र लुकेका हजारौं परिचयहरू छन् कर्णालीका आमामहरूको। जुन कुरा डाक्टर केसीले मनमा सजाएर किताबका पानामा उतारेका छन्।
जानेर, नजानेर आफ्नो सन्तानका लागि मरिमेट्ने सबै आमाप्रति गहिरो सम्मान अनि सबै आमाको वेदनालाई बुझेर स्वास्थ्य सेवा प्रवाह गर्ने र शून्यको मूल्यमार्फत हामी सबैमाझ पस्किनुहुने डाक्टर नवराज केसीको यो प्रयासले विकासलाई एउटा नयाँ ढङ्गले हेर्नुपर्नेमा जोड दिएको छ।
हामीले शून्य भनेर गन्तिमै नराखेको आमामा लगानीको विषय कसरी सबैभन्दा महत्वपूर्ण कुरा हो भन्ने थाहा पाउन एकपटक यो पुस्तक पढ्नै पर्छ।