सूचना प्रविधिको विकासले आजको संसार साँघुरो भइसक्यो। अहिले विश्व नै एउटा गाउँजस्तो बनेको छ। हामी परदेशमा छँदा गाउँमा टेलिफोन थिएन। इमेल, इन्टरनेटको जमाना सुरू हुनै बाँकी थियो। हामीले हुलाकीको भर पर्नुपथ्र्यो। गाउँमा चिठीपत्र पुग्न महिनौं लाग्थ्यो।
हामी भर्तीमा हुँदा ‘फलानो समयमा घर आउँदैछौं’ भनेर ६ महिनाअगाडि नै चिठी पठाउँथ्यौं। कहिलेकाहीँ त हामी नेपाल आएर दुई चार महिना बसेर उता फर्केपछि मात्र गाउँमा चिठी पुग्दो रहेछ!
तीन वर्षमा एक पटक अनिवार्य घरबिदामा बस्नुपर्ने नियम थियो। त्यसैले १५ वर्षको नोकरी जीवनमा म चार पटक घरबिदामा आएँ। पहिलो पटक वि.सं.२०३३ सालमा आएको। त्यतिबेला हाम्रो पल्टन बेलायतमा थियो। हिउँदमा आएकाले चार महिना छुट्टी पाएँ। बर्खामा आउनेले अझ धेरै समय छुट्टी पाउँथें।
सुरूका दिनमा हवाई जहाजमा ८० पाउन्ड सामान ल्याउन पाइन्थ्यो। साथमा तीन तोला सुन र तीन वटा घडी पनि, त्यसको भन्सार शुल्क तिर्नु पर्दैनथ्यो। बिदामा आउँदा हामी घडी र सुन ल्याउँथ्यौं। अनि बेचेर नाफा निकाल्थ्यौं।
हामी बेलायतबाट पहिला हङकङमा आयौं। त्यहाँ किनमेल गर्यौं र नेपाल पस्यौं। उताबाट आउँदा सरासर पक्लिहवा क्याम्पमा हाजिर हुनुपथ्र्यो। त्यहाँ बल्ल छुट्टीको कार्ड पाइन्थ्यो। सोझै घर आउन मिल्दैनथ्यो।
हामी भैरहवाबाट गाडीमा पोखरा आयौं। गाडीको मतलब सामान बोक्ने ट्रकमा। त्यसले महेन्द्रपुलमा ओरालिदियो। हामी ६ भाइ लाहुरे सँगै आएका। मोहरिया टोलमा गाउँकै काका पर्नेको होटल थियो। हामी त्यहीँ बस्यौं।
भोलिपल्ट बजारमा किनमेल गर्यौं। मैले सबैभन्दा महँगो चामल किनें, पाथीको १० रुपैयाँमा। चिनी, मसला र मिठाइ पनि किनें। हामीलाई होटलवालाले नै भरिया खोजिदिए।
पर्सिपल्ट मैले दुई जना भरियालाई सामान बोकाएँ। मोटर बाटो नभएकाले हिँडेरै गाउँ जानु पथ्र्यो। हामी पहिलो बास नौडाँडामा बस्यौं। गोरेटामा मान्द्राले बारिएका भट्टी हुन्थे। त्यहाँ तात्तातो भात र ढिँडो पाइन्थ्यो। रक्सी, सुकुटी र सिकार त हुने नै भयो।
एउटै भेकका साथीहरू मिलेर बिदामा घर आउने चलन थियो। पल्टनले त्यसरी बिदा पनि मिलाइदिन्थ्यो। समूहमा हिँड्दा बाटोमा चोर लाग्ने सम्भावना पनि हुँदैनथ्यो।
सम्झिँदा पनि हाँसो उठ्छ, हामी लाहुरेको लवाई झिल्के पाराको हुन्थ्यो। टे«किङ बुट लगाउँथ्यौं। क्याप छुट्ने कुरा भएन। घाम नलागे पनि कालो चस्मा लगाएर ठाँटिन्थ्यौं। मान्छेका नजर हामीतिर परुन् भनेर ठाँट्टिएर हिँड्थ्यौं।
हामी दोस्रो बास तिखेढुङ्गामा बस्यौं। अर्को दिन उल्लेरीको उकालो चढेपछि साथीहरू बाँडिए। कोही नागी गाउँतिर, कोही सिख गाउँतिर लागे। हामी दुई जना लाहुेर चाहिँ एउटै गाउँ भएकाले मोहरेडाँडातिर सोझियौं। त्यो दिन हामी उल्लेरीभन्दा माथि उकालीमा बस्यौं। फटाफट हिँडेको भए गाउँमै पुग्थ्यौं होला, साथमा भरिया भएकाले तिनकै तालमा हिँड्यौं।
पोखराबाट हिँडेको चौंथो बिहान खाना खान घरमै पुगियो। आमा र बहिनी धेरै खुसी भए। मभन्दा पछि भर्ती भएका माइला दाइ मभन्दा एक हप्ताअगाडि छुट्टीमा घर आइसकेका रहेछन्!
विदेशबाट आएको केके खायो होला, केके छोयो होला भनेर आमाले सोझै घर पस्न दिइनन्। सुनपानी छर्केर धुप हालेर पहिला शुद्ध बनाइन् अनि घरमा प्रवेश गराइन्।
बिदामा घरको काम गरियो। गाउँ डुलियो। पहिलो पटक बिदामा आउँदा मङ्सिर महिना थियो, गाउँलेहरू गोठ सारेर बेसीमा झरिसकेका थिए। त्यसैले थोरै मान्छे मात्र गाउँमा थिए।
पहिलो बिदामा गाउँघरका चार ओटा मेला भर्ने मौका पाएँ। आएको केही दिनमै बेनी बजार नजिकै गलेश्वर मन्दिरमा मेला लाग्यो। त्यतै गइयो। त्यहाँ मन्दिरबाहेक बस्ती थिएन। मेलामा मान्छे नै मान्छे मात्र थिए।
गाउँघरमा छेलो खेल्ने चलन थियो। जसले टाढासम्म ढुङ्गा हुत्याउन सक्थ्यो ऊ छेलोको विजयी हुन्थ्यो। उसलाई फेटा गुथेर बाजा बजाएर घुमाइन्थ्यो। उसको ठूलो इज्जत हुन्थ्यो।
मलाई सानैदेखि मेलापर्व एकदमै रमाइलो लाग्थ्यो। हाम्रो गाउँमा साउने सङ्क्रान्तिमा डोथा मेला र मङ्सिरे पूर्णिमामा बराह मेला लाग्थ्यो। वरपरका गाउँमा विभिन्न समयमा मेला लाग्थ्यो। मौका मिलेसम्म हामी त्यहाँ पुग्थ्यौं।
मासु खान चाडपर्व नै कुर्नुपर्ने जमाना थियो। मासु खान पाइने भएर होला, मेलाको तिथि कहिले आउँछ भनेर औंला भाँचिराख्थें। हामी दिनभर काम गरेर बेलुकी मेला भर्न जान्थ्यौं। मेलामा पुग्ने बित्तिकै पहिला एक माना मासु किनेर खान्थें। एक मोहोर अर्थात् ५० पैसामा एक माना मासु पाइन्थ्यो। भोलिपल्ट नरिवल, मिश्री, मिठाई किनेर चौरको डिलमा बसेर खाँदै भलिबल हेथ्र्यों। अनि साँझपख घरमा फर्किन्थ्यौं।
पल्टनबाट बिदामा आएका बेला गाउँको मङ्सिरे मेला, फागुन ७ गते गलेश्वरमा मनाइएको मेलामा पनि भलिबल खेलें। बाँसखर्कको मेला पनि भरें। भलिबलको टोलीमा अधिकांश लाहुरे हुन्थे। आखिर तिनैले खेल जित्थे।
अर्को कुरा, लाहुरे भनेपछि तरुनीहरू भुतुक्कै हुने। मलाई तिनले सोझै प्रस्ताव त गरेनन्, आशाको नजरले चाहिँ हेर्थे। बरु भर्ती नहुँदै केही तरुनीले प्रस्ताव गरेका थिए। त्यो बेलाको कुरा, मेलामा भलिबल खेल्ने दाजुहरूसँग छिमेकी गाउँमा गइन्थ्यो। तरुनीहरूले अर्नी खुवाउँथे। उनीहरूले घरबाटै कसैले सेल रोटी, कसैले पुलाउ, कसैले खिर आदि खाजा ल्याउँथे। त्यही खाजालाई अर्नी भनिन्छ। खाजा खाएपछि दाजुहरूले उनीहरूका मजेत्रोमा नरिवल, मिश्री आदिको पोका राखिदिन्थे।
सानैदेखि म राम्रोसँग भलिबल खेल्थें। दाइहरुले मलाई छानेर मिठामिठा खाना खुवाउँथे। उनीहरू मसँग पैसा पनि उठाउँदैनथे। दाइहरूसँग हिँड्ने भएकाले मलाई तरुनीहरूले पनि चिन्थे।
खेल न हो कहिले हाम्रा दाजुहरू जित्थे, कहिले हार्थे। यसरी नै मेलापर्वको रमाइलो चल्थ्यो। १६ वर्षको उमेर पुगेपछि मैले पनि भलिबल खेल्न थालें। केही समयपछि मलाई पनि तरुनीहरूबाट चिठी आउन थाल्यो । कतिले ठिकै लेखेका थिए, कतिले भावुक बनेर लेख्थे।
आहा, कति राम्रा अक्षर! हृदय छुने गीत, सायरी र कविता लेखेर पठाएका हुन्थे। म कनीकुथी लेख्न र पढ्न जान्दथें। त्यसैले मनमा इच्छा हुँदाहुँदै पनि जबाफ लेख्न सकिनँ। हो, उनीहरुलाई मैले पत्र पठाउन सकिनँ। त्यो सम्झिँदा पछिसम्म पनि मुटु कटक्क हुन्थ्यो।
म १६ वर्षको हुँदा, भर्खर बैंस चढ्दै थियो। मलाई केही तरुनीले चिठी लेखेका थिए। उनीहरू व्यक्तिका हातमा चिठी पठाउँथे। चिठी लेख्नेहरू कोही त मभन्दा जेठा पनि थिए। एक मनले जबाफ दिऊँ कि जस्तो लाग्थ्यो। तर तिनले जस्तो कविता मिसाएर मिठो जबाफ लेख्न सक्दिनथें। त्यसैले जबाफ फर्काइनँ।
भेट हुँदा उनीहरू सोध्थे, ‘चिठ्ठी पठाएका थियौं। पाएनौ र ?’
‘अहँ पाइनँ’, म मुन्टो हल्लाएरै ढाँटिदिन्थें।
कसैसँग मायाजालमा नपरी एकै पटक मैले वि.सं. २०३६ सालमा पोखराकी एउटी युवतीसँग बिहे गरें। दोस्रो छुट्टीपछि श्रीमती लिएर पल्टनमा जान पाइन्थ्यो। त्यही भएर हिउँदे बिदामा बिहे गर्न भनेर आएँ।
हाम्रो एक छोरा र एक छोरी जन्मिए। अहिले छोरा हङकङमा छन् भने छोरी बेलायतमा।
हाम्रो सम्बन्ध धेरै वर्ष टिकेन। बिग्रियो। त्यसैले पेन्सनबाट फर्केपछि मैले दोस्रो विवाह राधासँग वि.सं. २०४५ मा गरें। उनी पोखरामा बस्थिन्, पुर्ख्यौली घर हाम्रै राम्चे गाउँमा हो। राधाबाट पनि एक छोरा छन्।
बेलायतले पूर्व गोर्खा सैनिकलाई आफ्नो देशमा बस्ने सुविधा दिएपछि हामी पनि वि.सं. २०६३ मा बेलायत बसाइँ स¥यौं। हाम्रो परिवार बेलायतमै बस्छ। म चाहिँ वर्षका ५–७ महिना स्वदेशमा बस्छु। करबाकेली क्षेत्रको धार्मिक, सामाजिक र सांस्कृतिक काममा खटिन्छु।
सामाजिक काममा मेरो परिवारको ठुलो साथ छ। राधा बेलायतमै काम गर्छिन्। उनी आफैं पनि सामाजिक अभियन्ता हुन्। छोराबुहारी पनि उतै व्यस्त छन्। उनीहरूले मलाई निर्धक्क नेपालमा बसेर समाजसेवामा लाग्न मद्दत गर्दै आएका छन्। एकदम प्रोत्साहन दिइरहेका छन्।
परिवारको सहयोगबिना म यहाँसम्म आइपुग्ने थिइनँ। सायद जन्मथलोमा फर्कने पनि थिइनँ। परिवारको प्रेम नै मेरो ऊर्जा हो। लाग्छ, संसारमा प्रेमभन्दा ठूलो कुरा केही रहेनछ!
(करबाकेली क्षेत्रका सामाजिक अभियन्ता चामबहादुर पुनको प्रकाशोन्मुख पुस्तक ‘लाहुरेको सङ्घर्ष, करबाकेलीको सेवामा दुई दशक’को एक अंश।)