निक्खर मधेसका तप्ततालाई जीवनदायिनी मानेर लहलहाउँदा धानका गाँजमा भविष्य देखेर खेल्दा कुइना र घुँडाहरू तछारिएको परवाह नगरी रमाएर अलमस्त हुर्किएको मान्छे हुँ म।
म सम्झिरहेको छु, आकाश छर्लंग उघ्रिएको बेला मेरो मधेसबाट धेरै टाढा पहाडमा सेतो टोपी लाएको जस्तो टक्रक्क पहाड देखिन्थ्यो।
आमा भन्नुहुन्थ्यो– त्यो हिमाल हो।
हिमाल र मेरो बाल्यकालको चिनारी, बस् त्यत्ति हो। उमेरले पढाइ र जागिर दियो। कतै जागिरले कतै रहरले कतै लहडले नेपालका केही पहाड घुमायो। तिनै पहाडमा यदाकदा हिउँ पनि देखायो। संयोग परेका बेला जुत्ताका तलुवामा हिँउ पनि पर्यो।
क्षणिकै भए पनि हिमाल त यसै आएर आँखामा ठोक्किइहाल्थ्यो।
धौ फुकाएर पैतालालाई हिउँमा टेकाउन र आँखाको रउस मरुन्जेल हिमालकै छातीमा टाँसिएर चिस्सिन त कहाँ पाइएको छ र! घुँडामा पानी सुक्दै गएको वर्तमानले आँत मार्दै गरेको आँट बोकेर अब त्यो रहर पूरा हुने सम्भावना मैले बोक्नु पनि बेकार छ।
यही मनोदशाबीच नियात्राकार राजेन्द्रमान डंगोलकृत 'पैतालामा हिउँ आँखामा हिमाल' हात पर्यो। गत साल नेपाल पुगेका बखत नियात्राकार उनीसँग भौतिक चिनाजानी भयो। आत्मीयता बढ्यो। कोसेली पाएँ नियात्राकृति।
'कुखुरा खान्छस् गोहोरा, बोक्रैसँग' भन्ने आहानजस्तै भएको छु यति बेला। र, म सोही नियात्राकृतिका हिउँमा टेक्दै छु, आँखामा हिमाल ल्याएर उभ्याएको अनुभूति गर्दै छु।
पुस्तक आवरणको कलेबर नीलाम्य छ। नीलो आकाशमा श्वेत हिँउका विम्बमा पुस्तकको नाम सेतो अक्षरमा लेखिएको छ। हिमाल चढिरहेका एक जोडी पैतालाका मुन्तिर एउटा अमूर्त मानव आँखामाथि हत्केला राखेर सायद हिमाल हेरिरहेको छ।
यो कृति फिनिक्स बुक्सले २०७८ कात्तिकमा प्रकाशन गरेको हो। नियात्राकार राजेद्रमानको नियात्रासम्बन्धी यो दोस्रो पुस्तक हो।
'राजेन्द्रका नियात्रामा देश दर्शन र चिन्तन' शीर्षकमा भूमिकाकार आरएम डंगोलले कृतिको शैलीगत, भावगत तथा बुनोटशिल्पको अन्तर्यभित्र पसेर समुद्रको मणि झिकेका छन्। कृतिकारको व्यक्तित्व तथा कृतित्वको स्वभाव, परिवेश, अवसर तथा चुनौतीका बारेमा पनि रौंचिरा केलाएका छन्।
यात्रा साहित्यमा धेरै शब्दावली प्रचलनमा छन्। काव्यमा, नाटकमा, निबन्धमा र आख्यानमा यात्रा साहित्यको निर्माण भएको परिप्रेक्ष्यमा नियात्रा शब्दको विनिर्माण भएको छ।
यात्रा संस्मरणमा यात्राको कैरनका साथमा व्यक्तिगत क्रियाकलापको प्रधानता रहन्छ। नियात्रामा भने व्यक्तिको यात्राकैरनमा प्रयोग भएको निजात्मकता वा वैयक्तिक चिन्तन प्रधान हुन्छ।
नियात्रालाई आख्यानको छुट्टै उपविधाका रूपमा स्थापना गर्ने प्रयत्न पनि भइरहेको छ। सो मान्यता स्थापना नहुन्जेलका लागि नियात्रा भन्नु निबन्ध हो। निबन्धमा विचारको प्रधानता हुन्छ।
त्यसैले नियात्रामा पनि नियात्राकारको निजत्व अनुभूतिको प्रधानता रहन्छ। यात्रा, गन्तव्य स्थानको महत्ता तथा निजात्मक अनुभूति नियात्राका तीनपांग्रे तत्त्व हुन्।
यसैका राजेन्द्रमानको नियात्राकृति 'पैतालामा हिउँ आँखामा हिमाल' माथि पाठक्यौली राख्न थालेको छु।
यात्राका क्रममा उनी हेलम्बु पुगेका छन्। हेलम्बुका क्रममा ग्रेटवाल पुगेका छन्। बादलमाथिको मन्दिर मुक्तिनाथमा पाइला टेकेका छन्। थाकखोला, धुम्बाताल पुगेका छन्। हिउँमाथि खेलेका छन्। हिउँकै सिराने लगाएका छन्। नारपाभूमिको आतिथ्यमा रमेका छन्। खम्पा विद्रोहको मुहानमा पुगेर तस्बिर खिचेका छन्। काङ्–ला पुगेर पैतालामा हिँउ आँखामा हिमाल उतारेर रमाएका छन्।
ल्हो–मान्थाङ तथा लुरिगुम्बाको परिभ्रमण गरेका छन्। पिके पिकको झलक पाउन पिके पिकको यात्रा गरेका छन्। हिमालकै काखमा रहेको रूबी भ्याली, तिप्लिङ, चालिस गाउँको हिमसौन्दर्यको रसपान गरेका छन्। त्यो रसपानलाई दृश्यात्मक रूपले पाठकमाझ वितरण गरेका छन्।
त्यसो त नियात्राकार राजेन्द्रमानले यो कृतिमा हिमाली क्षेत्रको मात्र भ्रमण गरेका छैनन्। काठमाडौं वरिपरिका गन्तव्यहरूमा पनि पाइला राखेका छन्। इन्द्रदहमा पुग्छन् र पाँगा कल्पिन्छन्। कालु पाँडेको सालिकका वरिपरि दृष्टि पुर्याउँछन्।
पोखरापल्तिरको पन्चासे डाँडाको यात्रामा रमाउँछन्। हात्तीवाङ हुँदै सिराइचुलीमा चुलिएका छन्। काठमाडौंको काँठतिर भन्दै कुन्चेप्वाकल हाइकिङ गर्छन्। तारकेश्वर महादेव मन्दिर पुग्छन्। शिवपुरी, जामाचौक (नागार्जुन) तथा लाँकुरी भञ्ज्याङमा श्वास फेर्छन्। टुरिज्म फ्याम ट्रिप–२०२१ नामकरण गर्दै सेल्फी डाँडा सिन्धुली पुगेर माझी दाइको रमण हेर्छन्।
यसरी नियात्राकार राजेन्द्रमान आफ्ना यात्रामा चहक पार्छन् र कृति जन्माउँछन्। हिमालदेखि पहाड तथा काठमाडौं उपत्यका र उपत्यका बाहिर पनि पुगेर आफू मात्र रमाउँदैनन्, पाठकलाई पनि सँगै डोर्याउँछन्।
'पैतालामा हिउँ आँखामा हिमाल' नियात्राकृतिभित्र उधिन्यो उति विविध ज्ञानको खानी भेटिन्छ। कृति अनेकन विशेषताले सुसज्जित छ। कृतिको शीर्षक नियात्रात्मक छ। वर्तमान नेपाली साहित्यिवृत्तमा कृतिको आवरणमा विधा उल्लेख नगर्ने प्रचलन छ। कृतिको शीर्षकले विधा बुझाउनुपर्छ भन्ने मान्यता जायज लाग्छ मलाई।
यस कृतिको ज्यादै अनुपम र महत्त्वपूर्ण विशेषता भाषाको सुन्दर सम्प्रेषण हो। कृतिभरि कवितात्मक शैली छ। स्थानीयताको लेपन तथा झर्रा–ठेट शब्दहरूको प्रयोगले कृति सुन्दर भएको छ। नेपाली, अंग्रेजी तथा अन्य विदेशी भाषाका शब्दहरूको पनि सुन्दर प्रयोग छ।
नेपाली शब्दसंसारबाट लोप हुँदै गरेका शब्दहरू प्रयोग गरेर नेपाली साहित्यवृत्तलाई गुन लगाएका छन्। उनमा शब्दसँग खेल्ने–खेलाउने अद्भूत क्षमता देखिन्छ।
अर्को बेजोड विशेषता भनेको नियात्राकारको कल्पनाशीलता हो। कल्पनाका माध्यमबाट यथार्थ उजागर गर्ने शैली बेजोड छ। हिमाल घुम्दाको कल्पनाशीलता नेपालको राजनीतिक विसंगतिमा मात्र सीमित हुन्न, बरू विदेशका चालचलनका बारेमा पनि उजागर गर्न पुगेको देखिन्छ।
यात्राका दृश्य र घटना अगाडि राखेर आफ्नै मनसँग द्वन्द्व गर्ने शैली देखिन्छ। रोपाइँ, हिमाल, पहाड अनेकन दृश्यहरू चित्रमा झैं सरर्र आएका हुन्छन्।
नियात्राको ज्यादै महत्त्वपूर्ण पक्ष यात्राको अविच्छिन्नता र गतिमयता हो। बाटोको गतिमयता, चालकको व्यवहार, पहाडी बाटोमा जिपयात्राको कहर, हिँडाइमा निस्कने पसिनाको गन्ध सबै अनुभव हुन्छन्।
अर्को प्रधान कुरा यात्रा गरेको बाटोको कैरन पनि हो। यस्तो कैरन मिहिन छ। बाटाको स्वरूप, स्वभाव, समस्या र सद्भाव लेखनमा समावेश छन्।
राजेन्द्रमा यात्रामा गीत, गजल, कविता गुनगुनाउँदै हिँड्छन्। लेखनमा गतिमयता छ। सुसेलीले कण्ठ मिसाउँछन्। गीत र कविताको लयमा थकान मार्छन्। यसै कारण नियात्रामा स्थानीयता अति सुललित प्रकट भएको छ। स्थानीयताको दर्शन हुन्छ। 'बाटोमा भेटिए कोही बाख्रा चराउँदै, कोही घाँस काट्दै गरेका स्थानीय महिला' भन्दै स्थानीयता बटुल्छन्। स्थानीय लवाइखुवाइ मात्र होइन, स्थानविशेषको विशिष्ट महत्त्व पनि उजागर गर्छन्।
नियात्रा भन्नु आख्यान होइन तर आख्यानको गुण भयो भने सुनमाथि सुगन्ध हुन्छ। उनका नियात्रामा जब्बर खाले आख्यानात्मकता पाइन्छ। उपन्यासझैं लाग्ने आख्यानीकरण र परिवेश निर्माण गर्दै उपन्यासको शैलीमा नियात्रा निर्माण गर्नु उनको विशेषता हो।
आख्यानमा झैं विम्बको प्रयोग मोहक छ। 'हाम्रो नेवारी संस्कारमा बाह्रा बसेका किशोरीहरूलाई सूर्यदर्शनका लागि निकाल्दा सुनौला गुन्युचोलीमा सिँगारेझैं सिँगारिएका थिए हिउँचुलीहरू' भनेर विम्बात्मक प्रयोग गरेका छन्।
ठाउँ, नाउँ, संस्कृति चालचलन, रहनसहन आदिका बारेमा उत्सुक हुने तथा ती कुरा टपक्क टिपेर नियात्रामा उतार्ने स्वभाव देखिन्छ। नियात्राले यात्राको र गन्तव्यको बारेमा विविध सूचना पस्किनु पनि हो। सूचनाको विश्वसनीयतामा लेखक आफैं जिम्मेवार हुनुपर्छ।
कृतिभित्र अस्मेल सूचनाहरू छन्। निजात्मक बान्कीमा सूचनाको प्रयोग भएको छ।
राजराजेश्वरीको इतिहास, घोप्टे भिरमा सन् १९९२ मा भएको थाई एयर बस दुर्घटना, तिब्बती शरणार्थी तथा खम्पा विद्रोह, शालीग्रामको महत्त्व, चेपाङको नालीबेली, परित्यक्त गाउँको चर्चा, यार्सागुम्बा, टेथिस सागर र हिमाल, शिवपुरी बाबा लगायतका अनेकन अतिरिक्त सूचना कृतिभित्र समेटिएका छन्।
राजेन्द्रमान यात्रामा जीवनदर्शन अनुभूत गर्छन्। र, ठाउँठाउँमा भन्छन्– अलिखित पाठ्यपुस्तक हो जीवन आफैंमा, मनमा शान्ति हुनुपर्छ, त्यति भए पुग्ने रहेछ, सम्झिएँ, एउटा ठूलो पहाड चढेपछि बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाड बाँकी छन्। जीवन भनेको पीडा सहनु पनि त हो नि।
उकाली र ओह्रालीका स्याँस्याँमा जीवनबोध गर्नु–गराउनु नियात्राकारको विशेषता हो।
नियात्रा भन्नु मूलतः निबन्ध हो। निबन्ध भन्नु विचारको केन्द्रीय भागलाई वरिपरि परिपुष्टि गर्ने सुन्दर आलेख हो। यसर्थ नियात्रामा वैचारिक पक्ष पनि आउनु पर्ने हुन्छ। यो कृतिभित्र वैचारिक खुराक पर्याप्त छ तर दुरूहता छैन।
यात्राका क्रममा उनी अनेकन विसंगतिहरू देख्छन् र टिप्छन्। नदीलाई क्रसरले लुटेको, सामाजिक धार्मिक विसंगति (पाल्चौक देवीको सन्दर्भमा)– देवीले रक्षा गर्ने भए २०७२ सालको महाभूकम्पमा किन त्यति धेरै मान्छे मरे त सिन्धुपालचोकमा?
बलिप्रथामा मान्छेको निर्ममता, अन्धविश्वासको कैरन, पर्यटन क्षेत्रमा रहने गरेको असाध्य महँगी, पर्यटकीय क्षेत्रको फोहोर नियम पालन गर्न नरूचाउने नेपाली प्रवृत्ति, वागमती प्रदूषणको कहर जस्ता विसंगतिमाथि प्रहार गरेका छन्।
राजेन्द्रका नियात्रामा प्रकृतिको चित्रणमा माधुर्य देखिन्छ। उनी वनजंगल, पहाड, खोलानाला, हिमाल तथा बस्तीका प्राकृतिक सौन्दर्यमा मोहित देखिन्छन्। यहाँसम्म कि जंगलका बुटाहरूको कैरन, जडीबुटीको महत्त्व, प्रकृति पूजा परम्परा मा सुदृष्टि पुर्याएका छन्। प्रकृतिकको चित्रण गर्दा विकासले प्रकृतिमाथि बोलेको धावा पनि उजागर गरेका छन्।
लेख्छन्– चौडा सडक आएको छैन र त अस्तित्वमा छन् यहाँका चौतारीहरू, कति चौतारीहरू उखेलिए आफ्नै आँखा सामुन्ने।
उनी विकास, संस्कृति, पर्यटन र पर्यावरणका कुरा पनि गर्छन्।
नियात्रा लेखनमा राजेन्द्रमान इतिहासकार व्यक्तित्वमा पनि देखापरेका छन्। जातको तथा ठाउँको नामको समेत व्युत्पत्ति केलाउँदै हिँड्छन्। थकालीको, पृथ्वीनारायण शाहको, कालु पाँडेको, ठाउँठाउँको, जंगबहादुरको ऐतिहासिक कैरन गरेका छन्।
उनले संस्कृति, सभ्यता, संस्कार, कला, धर्म, चलनमा पनि मिहिन नजर पुर्याएका छन्। नेपालको धार्मिक सहिष्णुता, खैंजडी भजन, अन्तरक्षेत्रीय तथा अन्तरजातीय बिहेको कुरा, हिमाली भेगको घिउ-नुन चिया, मित लाउने परम्परा, नेपाली थांका र शालीग्रामको कुरा पनि छ।
नियात्राकार मूलतः पर्यटनकर्मी हुन्। उनको लेखनमा पर्यटनको सूचना र महत्त्व अधिक मात्रामा हुनु स्वाभाविक पनि हो। उनले हिमालको नाम तथा तिनका उचाइसमेत प्रस्तुत गरेका छन्। दिगो पर्यटनको सूत्र लेखेका छन्। पर्यटन विकासमा होमस्टेको बयान गरेका छन्।
यात्राका क्रममा फेला पारेका लोककथा, दन्त्यकथा र मिथकको समेत चर्चा गरेका छन्। किम्बदन्ती, संकलन, इन्द्रदहको लोककथा, श्रवणकुमारको मिथक, रामायण र महाभारतका मिथक प्रयोग गरेर नियात्राको आयाम फराकिलो पारेका छन्।
कहिलेकाहीँ यात्रामा मानवीयता खिएको पनि देख्छन्।
भन्छन्– कति निर्दयी मान्छे! बल छउन्जेल जोत्नुसम्म जोते र खानुसम्म बाली खाए। बूढो भएपछि तिनको रक्षा गर्नु त कता हो कता उल्टै वनमा छाडिदिने!
लेखनमा उनी इमानदार देखिएका छन्। घटना, दृश्य तथा विचारलाई उदात्त भएर हेर्ने जमर्को गरेका छन्।
त्रिशूलीको कहर यसरी लेख्छन्– कानमा ठोक्किइरहेको छ, मैलो त्रिशूली नदीको कल्लोल आवाज। त्रिशूलीले सुनाइरहेकी छे, तुइन तर्नेहरूको कथा, माझीहरूको कथा र आफ्नै कथा।
यात्राका क्रममा भेटिने होटलवालाका चिप्लामिठा कुरा मात्र छैनन्, रूखो वचन पनि छन् नियात्रामा। हिमालको सुन्दरताको मात्र होइन; हिउँको क्रुरता, निष्ठुरता र विशिष्टताका बारेमा पनि प्रष्ट छन्। यसैगरी गृह जीवन त्यागेर आनी हुनेहरूको तस्बिर मनोविज्ञान पनि समेटेका छन्।
नियात्रा लेखनमा पाठको सुरूमा अनुसन्धानमा जस्तो सारसंक्षेप हाल्ने शैली देखिन्छ। पूर्वदीप्ति शैलीमा पहिलेका भ्रमणहरू र आफ्नो बालापनको सम्झना पनि गरेका छन्।
नेपालको मात्र होइन; यात्रामा समावेश भएका वा भेटिएका विदेशीसँगको सान्निध्यले विदेशको चलन तथा संस्कृति पनि छुस्स समावेश गर्ने प्रवृत्ति देखिएको छ। 'बिहे हुनु, बच्चा जन्मनु र परिवार टुक्रिनु सामान्य कुरा हो युरोपमा' ले यही कुराको झल्को दिन्छ।
कृतिभित्र नियात्राकारको धेरै सिप, समय र सौजन्य परेको छ। मिहीन बुनौट छ।
तथापि प्रकृतिको नियम नै अपूर्णता हो। ज्ञान असीमित छ। विचार अनियन्त्रित छ। यही सीमाभित्र बसेर सोचिरहेको छु कि यति सुन्दर आवरणको कृतिमा कृतिकारको नाम भने किन धमिलो धमिलो बनाएको होला!
नियात्रा पढिरहँदा लामो उपन्यास पढेजस्तो महसुस हुन्छ। यात्रालाई भन्दा अन्य विषयका कैरनलाई धेरै महत्त्व दिएको जस्तो लागेर पनि होला।
नियात्राका पाठभित्र एउटै खाले स्वाद फेला पर्छ।
कृतिको शीर्षक 'पैतालामा हिउँ, आँखामा हिमाल' अलग्गै सुन्दा नियात्रा बुझाउने ज्यादै आकर्षक शीर्षक हो। कतिपय यात्राले हिउँको सुइँकोसम्म पाएका छैनन्।
कतिपय उपशीर्षक नियात्रात्मक छैनन्। 'कल्पनामा डुब्दै, भावले नुहाउँदै', फुको कथा, फिलिपको कथा, फिलिपलाई बज्रपात, बाबाजीसँगको अन्तरंग कुरोकन्थो, आफ्नै दिन आफ्नै मर्जी, अन्त्यहीन दृश्य, नियात्रात्मक शीर्षक होइनन्।
सन्दर्भहरूको पुनरावृत्ति पनि छ। देन्डीले मिठो खाना बनाउने भन्ने कुरा असाध्य धेरै ठाउँमा आउँछ।
कृतिभित्र असाध्य हिज्जेको ख्याल गरिएको छ।
नियात्राभित्र यति धेरै लोककथा सुनाइएका छन् कि नियात्रा कम लोककथा बढी लाग्छन्। एउटै स्वादको बयान पनि धेरै छ।
यही दौरान मैले थाहा पाएको छु कि नियात्राकार राजेन्द्र पेसाले, कर्मले, चेतले, सिपले, अभिध्येयले स्वभावले पर्यटनकर्मी हुन् हुन्। खाँटी यात्रु हुन्। त्यसमाथि यात्राअनुभूति उद्घोष तथा कुशल विनिर्माण गर्न सक्ने अब्बल कालिगढ पनि हुन्। त्यसैले कृतिभित्र रहेका सबै खाले अन्तर्य उधिन्न गाह्रो छ।
सूचना र सम्भावना पत्रैपत्र भएर आएका छन् कृतिकार खाँटी यात्रु भएकाले उनमा यात्राजन्य गुणहरू बग्रेल्ती पाइन्छ। जहाँजहाँ पुग्छन्, तत्तत् ठाउँका कला, संस्कृति, संस्कार, पर्व, प्रकृति, इतिहास, विकास, विनास लगायतका सबै कुरा नियात्राभित्र खिप्छन्। चिनियाँ सीमा स्तम्भ पनि पुगेका छन्।
बुद्ध धर्मसँग दर्शनगत तादात्म्य राख्छन्। त्यसकारण उनका नियात्रामा पारदर्शिता, विश्वसनीयता पाइन्छन्। र, त उनी यात्राको अर्थ 'यात्रा भनेको निस्संग भएर एकोहोरो हिँडिरहनु मात्र होइन; नयाँनयाँ मान्छेहरूसँग परिचय गर्नु पनि हो। जीवनको संयोग मात्र होइन; अकस्मातको भेट पनि हो' भन्छन्।
नियात्रा लेखनमा नियात्राकार राजेन्द्रमान डंगोलको शिल्पले अझ विस्तारित आयाम ओगटोस्। नियात्रा लेखनको नयाँ धार पन्पियोस्। शुभकामना!