पब्लिकेशन नेपालयले दुई कृति सार्वजनिक गर्ने भएको छ।
केही समयको अन्तरालमा कविता संग्रह ‘अमे पेङ्दोर्जे’ र लघुकथा ‘मुसुक्क म’ प्रकाशन गर्न लागेको हो।
राजु स्याङ्तानले लेखेका कविता संग्रह ‘ओ पेङ्दोर्जे’ मा छ वटा फरक खण्डमा ५१ वटा कविता अटाएका छन्।
समाजशास्त्रका विद्यार्थी राजु पेशाले कलमजीवी हुन्। पत्रकारिता, लेखन तथा सामाजिक राजनीतिक आन्दोलनमा उनको सक्रियता रहँदै आएको छ। उनको यो पहिलो कविता संग्रह हो।
यो पुस्तकलाई पब्लिकेशन नेपालयले एकसाथ छापा, इ-बुक र ‘अडियो बुक’ का रूपमा सार्वजनिक गर्ने तयारी गर्दैछ। ‘अडियो बुक’ मा कवि राजु र गायक तथा संगीतकार आभाषको धुन रहने छ।
यो कविता संग्रह सार्वजनिक भएपछि अनलाइनमाध्यम अमेजनबाट किन्न सकिनेछ।
त्यस्तै नेपालयले तयार पारेको अर्को पुस्तक हो हिरण्य भोजपुरेको लघुकथा संग्रह ‘मुसुक्क म’।
यस पुस्तकमा सय वटाभन्दा बढी लघुकथाहरू संग्रहित छन्। तीमध्ये अधिकांश कथाहरू एउटै पानामा सकिएका छन्।
भोजपुरेकृत लघुकथा संग्रह ‘मुसुक्क म’ पनि एकैसाथ भौतिक पुस्तक, इ-बुक र अडियो बुकका रूपमा आउँदैछ भने यो पुस्तक पनि अमेजनबाट खरिद गर्न सक्नेछन्।
यी दुवै पुस्तक छिट्टै सार्वजनिक गर्ने पब्लिकेशन नेपालयका प्रमुख कार्यकारी सैजन मास्केले जाकारी दिइन्।