म क्याम्पसमा के गर्दै थिएँ अचानक मोबाइलमा अपरिचित व्यक्तिको फोन आयो- ‘म कृष्ण बानियाँ, सरसँग भेट्ने काम थियो’।
उनीसँग पहिलो पटक क्याम्पसमै भेट भयो। आफ्नो परिचय दिँदै उनले भने- ‘मेरो संस्मरण शिखा बुक्सले प्रकाशन गरेको छ। सरको फुर्सदको दिन पारेर लोकार्पण गर्ने हो, जसरी पनि आउनुपर्छ’।
आफ्नो झोलाबाट उनले एकप्रति पुस्तक मेरो हातमा थमाइदिए। मैले पुस्तक ओल्टाइपल्टाइ हेरेँ। पुस्तकको लेखक परिचयमा उनको नाम, जन्मस्थान, हालको थातबास, शैक्षिक योग्यता, पेसा, प्रकाशित कृति, आवद्धता र पाएको पुरस्कारसमेत उल्लेख भएको रहेछ। यसले लेखकप्रतिको धारणा बनाउन सजिलो भयो।
पुस्तकको आमुखमै ‘आफ्नो कुरा’ लेखिएको रहेछ। भनिएको रहेछ– ‘अवकाशपछि संस्मरण लेख्ने रहर जाग्यो। लेखन कार्य सोचेजस्तो सहज रहेनछ। लेखन शैली लालित्यविहीन र विवरणात्मक प्रतिवेदन बन्न पुग्यो।
यद्यपि यो मेरो जागिरे जीवनको भोगाइ र कर्तव्य निर्वाह गर्ने सन्दर्भमा खट्केका घटनाहरूको संस्मरण लिपिबद्ध गर्ने कोसिस हो। लामो जागिरे जीवनको कमाइ हो। कृतिको शीर्षक ‘विसंगत अभिरुचि’ र लेखक नेपाल सरकारको सेवा निवृत्त मालपोत अधिकृत भएको खुल्ने परिचयले गर्दा पनि यो पुस्तक सरसर्ती पढ्ने रुचि जगायो।
पुस्तकको विषयसूचीमा शीर्षकीकरण भएका २८ वटा संस्मरणहरू १८६ पृष्ठमा हिमाल, पहाड र तराईका डेढ दर्जन मालपोत कार्यालयका प्रत्यक्ष अनुभव, तीन दर्जन जिल्ला भ्रमणका संस्मरण र करिब चार दशक लामो सरकारी सेवामा रहँदाका तितामिठा अनुभवहरूलाई समेटिएको रहेछ।
हरेक शीर्षकमा तथ्यपरक घटना, ‘किर्ते रजिस्ट्रेसन, नक्कली स्रेस्ता, हाकिमको हैकम, नागरिकताको मोल, मार्ने धम्की, महंगो सरुवा, नेताहरूको नियत, अवकाश अनुभूति’ जस्ता शीर्षक पढ्दै जाँदा पढेर मात्रै धित मरेन। पढ्ने क्रियाले प्रतिक्रिया लेख्न उद्धत गरायो।
अरुले लेखेका संस्मरणहरू पढ्न त साह्रै मज्जा आउँछ तर आफूले लेख्न र अरुका कृतिको समीक्षा गर्न सजिलो छैन। निबन्ध, नियात्रा, यात्राअनुभव, यात्रावर्णन, यात्रावृत्तान्त र संस्मरण सुन्दा त उस्तै-उस्तै लाग्छ। तर निबन्ध, नियात्रा र संस्मरण एउटै विधा भने होइनन्।
निबन्ध साहित्यको मूर्धन्य विधा नै भयो। संस्मरणले पनि नियात्रासँग निकटवर्ती साइनो राख्छ। नियात्रा पछिल्लो समयमा मौलाउँदै गएको साहित्यको एउटा नयाँ विधा पनि हो। नियात्रा लेखन कलाले यात्राको गति र कलात्मक प्रस्तुति खोज्दो रहेछ। संस्मरण त पुरानो घटना वा सम्झनाको पुनर्ताजकीकरण मात्र पनि हुनसक्छ।
लेखकले आफ्नो कृतिलाई नियात्रा नभनी ‘संस्मरण’ भन्नुको तात्पर्य पनि आफ्नो कृतिमा यात्रा, अनुभव, दृश्यसंयोजन, लालित्य र निजात्मक प्रस्तुतिको कमी महसुस गरेरै होला।
नियात्राले शीर्षक सुहाउँदो समय, स्थान, दृश्य, घटना, पात्रसंवाद, यात्राको प्रकृति र लेखकीय धारणा वा विचार पनि खोज्दो रहेछ। बानियाँजीका यी संस्मरणहरूमा नियात्राको छनक नै नभएको त होइन। लेखकले दावी नगरेको ‘निबन्ध वा नियात्रा’ को पगरी गुथाउनु पनि भएन।
नियात्रा यात्राअवधिमै टिपेका टिपोटका आधारमा वा वर्षौंपछि उनै टिपोटका आधारमा पनि लेख्न सकिन्छ। बानियाँजीको यस कृतिमा आफूले जागिरे जीवनमा भोगेका, स्मरणमा आएका र डायरीमा टिपोट गरेका घटनालाई समावेश गरी सेवानिवृत्त भएपछि संस्मरणका रुपमा यहाँ प्रस्तुत गरिएको रहेछ।
तसर्थ यस कृतिलाई संस्मरण भनिएको होला। तर लेखन शैलीका दृष्टिले संस्मरण र नियात्रा दुवैलाई यसमा समावेश गरिएको रहेछ।
संस्मरणसँगै ‘तकमेलीहरूको बहुदलप्रेम, बत्तिमुनि अँध्यारो, धुन्चेको रुन्चे बसाइँ, नवलपुरको नयाँ बस्ती’ लगायतका सिर्जनाहरू नियात्राकै कोटिमा आएका छन्। यसमा घटना, दृश्यहरू, पात्र र विषयवस्तुलाई सशक्त बनाइएको छ।
लेखकका निम्ति मालको जागिर, कर्मचारी सङ्गठनको नेतृत्व, वैचारिक आस्था र भूमिप्रशासनसम्बन्धी कार्यदक्षता आफ्नै लागि वरदान होइन अभिशाप सावित भएको छ।
लेखकको भुक्त जीवनवृत्तान्त (ट्राभलग) वा स्थलगत अनुभूति र अभिरुचिमा कत्ति मेल खाँदैन। यही सिद्धान्त र व्यवहारमा तालमेल नखाएको विषयलाई शीर्षक बनाइएको रहेछ। विसंगत पेसा, सङ्गाती र समाजप्रति धनुको ताँदोमा कलमको वाण चलाउने अभिरुचि जागृत भएको रहेछ।
‘विसंगत अभिरुचि’ शीर्षकको संस्मरणले अभिधार्थ वा वाच्यार्थमा लेखकले आस्था राखेको संगठन र नेताको कार्यशैलीमा संगत नमिले पनि प्रगतिशील वैचारिक एकताप्रतिको अभिलाषा तीव्र भएको भाव प्रकट गरेको छ।
समग्र कृतिले बुढो ताक्छ मुढो, बञ्चरो ताक्छ घुँडो भनेझैँ जीवनभर मालअड्डामा निष्ठापूर्वक जागिर खाएर पनि अपमान, अभाव र विसंगत जीवन भोग्नु परेको यथार्थलाई यहाँ उजागर गरिएको छ।
‘विसंगत अभिरुचि’ ले लेखकीय इमान्दारिता र सूक्ष्म घटनालाई उधिन्ने काम गरेको छ। यसमा आफ्ना निजी अनुभवलाई मुख्य प्राथमिकता दिएको हुनाले कुनै भूगोल, जात, वर्ग, लिङ्ग र राजनीतिक आस्था वा विचारप्रति रिस, द्वेष नराखी आफूप्रति अन्याय गर्ने, कर्तव्यबोध नगर्ने र हैकमवादी सोच राख्ने प्रवृत्तिलाई उदाङ्गो पारिएको छ।
भ्रष्ट, अविवेकी, घिनलाग्दो कर्मचारीतन्त्र, माफिया संयन्त्र, सामन्ती र अन्धविश्वासी संस्कारप्रति व्यङ्ग्य गरिएको छ।
समग्र लेखनमा निष्ठावान राष्ट्रसेवक, सेवाग्राही, निमुखा, असहाय र गरिब वर्गप्रति सहानुभूति दर्शाइएको छ। निःस्वार्थ सेवाभाव प्रकट गरिएको छ। आफू सत्यको पक्षमा चट्टानी अडान लिँदा न्याय र अन्याय, थिति र बेथिति, जिम्मेवारी र गैरजिम्मेवारी, शोषक र शोषित, प्रोत्साहित र हतोत्साहित प्रवृत्तिबीचको द्वन्द्व सिर्जना भएको छ। आफ्नो निष्पक्षता, तटस्थता, नैतिकता र वस्तुगत अवस्थाप्रति लेखकीय इमान्दारिता कायम गरिएको छ।
लेखनमा सरल र संक्षिप्त भाषाशैलीका साथै सन्दर्भानुकूलको उखान र टुक्काको प्रयोगले गर्दा पनि लेखन शैली मौलिक बन्न पुगेको छ। भ्रमार उखान टुक्काको प्रयोगले अभिव्यक्तिलाई सुबोध्य बनाएको छ।
पात्रानुकूलको भाषा, भाषिका र मातृभाषाको प्रयोगले लेखन शैलीमा मौलिकता थपिएको छ। ‘चैटको चर्को घाममा ठारै उकालो हिँडिर आनु भैच, टिर्खाउनु भाको होला। चलिए अन्दर हाकिम साहेबके कक्षमे बैठ के छलफल गरेँ। दमडी नै खे तो कैसे होई तुरा काम? ये अड्डा है अड्डा तुम्हार बापके घर नहीँ। रिव रियानी बिल्ली खम्बा नोचे। सत्यं ब्रूयात्, प्रियम् ब्रूयात्, नब्रूयात् सत्यम् अप्रियम्। लोकेकृति कुलेवृत्ति। सर्वधनम् विद्याधनम् प्रधानम्’ जस्ता युक्तिहरूको प्रयोगले संस्मरणलाई थप ओजिलो र बोझिलो पनि बनाएको छ।
विषयानुकूलका सन्दर्भपरक शब्द चयनले सङ्कथनलाई सुबोध्य बनाउनुका साथै आकर्षक पनि बनाएको छ।
‘अश्रुपुरित नेत्र, चाप्लुसी, घुसखोरी, गुन्डागर्दी, कालोबजारी, दलाली, सुद्खोरी, चाकडी, भ्रष्टाचार, पापाचार, दुराचार, भूमाफिया, आच्छादित, सुकुमबासी, हुकुमबासी, सेवाग्राही, हरिलट्ठक, पौँठेजोरी, बिचौलिया, टोलेदादा, फाँटवाला, स्रेस्तेदार, तामेली, मिसिल, लिखत, रैतान, नम्बरी, गुठी, मुद्दाफाँट, लालपुर्जा, मोठफाँट, बिलेबन्दी लागत, साविक दर्ता, तहरिर (दोस्रो दर्जाको हाकिम), बज्रठिङ्गा, कठबाँस, घँस्याइलो, कन्ल्याहा, च्वाँ च्वाँ र चुँ चुँ, कोको होलो’ आदि भाषिक शब्द चयनले संस्मरणलाई जीवन्त बनाएको छ। नौला शब्द चयनले लेखाइमा मिठास पनि थपेको छ।
लेखकको ध्यान स्थूल घटनाप्रतिमात्र सीमित नभइ सूक्ष्म घटनाप्रति पनि सचेत रहेको देखिन्छ। यात्रा स्थलको रीतिरिवाज, भाषाशैली, इतिहास, परिस्थिति, प्रकृति, स्थानीय धारणा र स्थानीय जीवन शैलीको चित्रणले पनि कृति रोचक बन्न पुगेको छ।
संस्मरणमा बिम्ब, प्रतीक, अलङ्कार र भाषिक शुद्धताको उचित संयोजन नभए पनि अनुकूल तर्क, दृष्टान्त र प्रमाणलाई स्वानुभूतिसँग जोडेर प्रस्तुत गरिएको छ।
समग्र कृतिमा ३७ वर्षे जागिरे जीवनले भोगेका, देखेका, प्रत्यक्ष अनुभव गरेका र सम्बन्धित स्थानबाट प्राप्त गरेका ज्ञान, सीप, बोध र धारणालाई उजागर गर्ने जमर्को गरिएको छ। नियात्रालाई कसरी रोचक, मनोरञ्जक र ज्ञानवर्द्धक बनाउनेभन्दा पनि घटनालाई कसरी सत्यतथ्यमा आधारित र यथार्थपरक बनाउन सकिन्छ भन्ने ध्याउन्नमा लेखक लागेको देखिन्छ।
अहिले यो राज्यको उपरी संरचनामा रमाउने र अवैध धन्दाबाट धन कमाउनेहरूका लागि अदृश्य वा छाया लेखक (घोस्ट राइटर) राखेर लेखक, साहित्यकार, विद्वान् कहलिने युग हो।
लेखकको आमुख (आफ्नो कुरा) मा भनिएको छ– ‘उच्च तहका अधिकारीहरूले सेवा निवृत्तिपछि राज्यको उपरी संरचनामा रहेर बटुलेको आफ्नो प्रशासनिक अनुभवलाई समेटेर संस्मरण लेखेको प्रशस्त देखिन्छ। तल्लो तहका कर्मचारीहरूले आफ्नो भोगाइ र वास्तविकता उजागर गरेका उदाहरण बिरलै छन्। हिम्मत नगरेका हुन् कि जरुरत नठानेका हुन्।’
हुन पनि हो, घोस्ट राइटर नहुँदा हुन त को कति पानीमाथि छ थाहा हुन्थ्यो।
लेखकको भनाइ छ– ‘जागिरे जीवन भोगाइमा खट्केका घटनाहरूको संस्मरण लिपिबद्ध गर्ने कोसिस हो।’
यी भनाइबाट पनि लेखकको हिम्मत र हठी स्वभावको पुष्टि हुन्छ। यसमा लेखकको पृथक शैली, नौलो विषय, व्यावहारिक अुनभव, मौलिकपन, इमानदारिता र सुपाच्य भाव त झल्किन्छ नै। समग्रमा साहित्यको चस्माले हेर्दा लेखन शैली र सम्पादन कलामा सत्यापन, संशोधन, परिमार्जन, भाषिकशुद्धता, अरुको उपोद्धात (भूमिका) आदि शिल्पकलामा अझै परिपाक आउन सकेको छैन।
झर्रा नेपालीपनको कसीमा केलाउँदा समग्र संस्मरणमा कर्ता रहितका कर्तृवाच्यको प्रयोग, वर्णसङ्कर/ठिमाहा शब्द (अंग्रेजी, संस्कृत, हिन्दी) चयन र विशृङ्खल घटना संयोजनले गर्दा पनि यो कृति छाया लेखकको आँखा नलागेको वा कुमारी लेखनमा आधारित छ भन्ने प्रतीत हुन्छ। किनकी यसमा परीक्षण, सम्परीक्षण, पठन, पुनःपठन, टाइपिङ, वर्णविन्यास, सत्यपरीक्षण जस्ता केही आधारभूत विषयको अझै निखार आउन सकेको छैन।
बानियाँजीको यो कृति यात्रासंस्मरणमा आधारित आत्मवृत्तान्त हो। यसमा आफ्नो जागिरे जीवनका विसंगत अभिरुचिलाई विषयवस्तु बनाइएको छ। जागिरे जीवनका दुःखकष्ट, कठोर संघर्ष र कर्तव्य निर्वाहका सन्दर्भलाई उजागर गरिएको छ।
अधिकांश घटनाहरू तथ्यमा आधारित छन्। सत्य र तथ्यपरक घटनालाई निर्भिकतापूर्वक पस्किएको छ। अनेक हन्डर र ठक्कर खाएर पनि अनेक अपमान सहेर पनि आफ्नो निष्ठा र कर्तव्यबोधलाई बिर्सिएको छैन।
संस्मरणमा कतै आफ्नै स्वाभिमानले अपमान निम्त्याएको छ भने कतै आफन्त, सहकर्मी, तैनाथवाला, सेवाग्राही, भूमाफिया, नेताजी हरेक क्षेत्रबाट प्रताडित हुनु परेकका सन्दर्भहरू आएका छन्। आफ्नो राजनीतिक आस्था र सङ्गठन पनि आफैलाई अभिशाप सावित भएको छ।
लेखकलाई मालअड्डाको जागिर ‘नखाउँ दिनभरको शिकार, खाउँ त कान्छो बाबाको अनुहार’ भएको छ। स्वाभिमानका सामु प्राज्ञिक उन्नयन, आर्थिक प्रगति, घरपायक जागिर, पुरस्कार/प्रशंसा, समयमा बढुवा आकाशको फल सावित भएको छ।
समग्रमा लेखकको अभिरुचि नै मालअड्डाप्रतिको नजरिया, भ्रष्ट प्रशासनिक संयन्त्र, गुमेको विश्वास, स्वाभिमान राष्ट्रसेवकका पीडा, निष्ठाको अपमान, चाकरी प्रथा, विभेद र अन्यायको उजागर गर्नु रहेको छ।
लेखकलाई यस्तै भ्रष्टाचार, दुराचार, अत्याचार र अनैतिक गतिविधिको पर्दाफास गर्ने आँट, साहस र उत्प्रेरण मिलोस्। पाठकवृत्त, कर्मचारी संयन्त्र र प्रशासक वर्गमा नैतिक बल र कर्तव्यबोधभन्दा ठुलो अरु (अर्थ, आभूषण, सुखभोग र शक्ति) केही हुँदो रहेन्छ भन्ने प्रेरणाको स्रोत बन्न पुगोस् यो कृति। शुभकामना!