जीवा लामिछाने लिखित नियात्रा कृति 'अक्षत अन्टार्कटिका' लाई २०८१ सालको सर्वश्रेष्ठ गैरआख्यानात्मक कृतिका रूपमा 'उत्तमशान्ति पुरस्कार' प्रदान गरिने भएको छ।
'उत्तम कुँवर स्मारक पुरस्कार गुठी' ले यो पुरस्कार प्रदान गर्न लागेको हो। वर्षभरि प्रकाशित निबन्ध, संस्मरण, जीवनी, आत्मकथा लगायतका आख्यानमुक्त गद्य विधामा रचना गरिएका गैरआख्यानात्मक कृतिमध्ये एक उत्कृष्ट कृतिलाई 'उत्तम कुँवर स्मारक पुरस्कार गुठी' ले पुरस्कार प्रदान गर्दै आएको छ। गुठीले २०४४ सालदेखि १ लाख राशीको 'उत्तमशान्ति पुरस्कार' प्रदान गर्दै आएको हो।
पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको पुरस्कार चयन समितिले २०८१ सालको सर्वश्रेष्ठ गैरआख्यानात्मक कृतिका रूपमा 'अक्षत अन्टार्कटिका' लाई 'उत्तमशान्ति पुरस्कार' प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कार जेठ १२ गते वितरण गरिनेछ।
'स्रष्टा र साहित्य' नामक अन्तर्वार्ता कृतिका लागि २०२३ सालमा मदन पुरस्कार प्राप्त गरेका 'रूपरेखा' का सम्पादक तथा निबन्धकार उत्तम कुँवरको २०३९ सालमा ४३ वर्षको उमेरमै मृत्यु भएको थियो।
उनको स्मृतिमा उनकी श्रीमती शान्ति कुँवरले यो पुरस्कारको स्थापना गरेकी हुन्। उनको पनि देहावसान भएपछि यस पुरस्कारलाई 'उत्तम पुरस्कार' लाई 'उत्तमशान्ति पुरस्कार' भनेर पुनर्नामाकरण गरिएको हो। विगतमा यस पुरस्कारबाट मन्जुल, सत्यमोहन जोशी, अम्बर गुरुङ, देवीचन्द्र श्रेष्ठ, दुर्गा घिमिरे, इल्या भट्टराई, सरुभक्त, भुपिन, शारदा शर्मा, जगदीश घिमिरे, कर्ण शाक्य, भैरबबहादुर थापा, झमक घिमिरे, परशु प्रधान, देवेन्द्र भटटराइ, गिरीश गिरी, टुकराज मिश्र, कृष्णचन्द्रसिंह प्रधान, निर्मोही व्यास लगायत पुरस्कृत भइसकेका छन्।